काठमाडौं । पछिल्ला दुई महिनायता डेंगी संक्रमण तीव्ररूपमा फैलिइरहेको छ । सातै प्रदेशका ७५ जिल्ला डेंगी प्रभावित भएका छन् ।
संक्रमितको संख्या गत वर्षको तुलनामा तीन गुणाले बढेको छ । यो अवस्थाले तीन तहको सरकार र जनस्तरको प्रतिकार्य कहाँनिर पर्याप्त भएन भन्ने प्रश्न पैदा भएको छ ।
तीन गुणाले बढ्दै संक्रमण
गतवर्ष सन् २०२२ को तुलनामा योवर्ष डेंगी संक्रमण तीन गुणाले बढिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकले देखाएको छ ।
इडीसीडीले योवर्ष संक्रमण कम हुने आँकलन गरेपनि संक्रमितको संख्या तेब्बरले बढिरहेको छ ।
गतवर्ष जुलाईमा ७२० र अगष्टमा तीन हजार ७०८ जना संक्रमित भएकोमा योवर्ष जुलाईमा ६ हजार ६९ र अगष्टका २२ दिनमा नौ हजार ५६६ जना संक्रमित भएका छन् ।
गतवर्ष सबैभन्दा बढी सेप्टेम्बर (२७,५२९) र अक्टोबरमा (१७,८८९) देखिएको संक्रमण नोभेम्बरमा मात्रै ओरालो लागेको थियो ।
यस हिसाबले अझै दुई महिना संक्रमण निरन्तर उकालो लाग्ने देखिएको छ ।
पोष्ट मनसुनसम्म रहन्छ संक्रमण
डेंगी संक्रमणको यो अवस्था हेर्दा संक्रमण गत वर्षभन्दा बढी संख्यामा नफैलेला भन्ने अवस्था नरहेको विज्ञहरू बताउँछन् ।
वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पोष्ट मनसुनसम्म नै संक्रमण फैलिरहने विगतका तथ्यांकहरूले देखाएको बताउँछन् ।
“यसअघिका वर्षहरूमा पनि कुनै एक निश्चित क्षेत्रमा पोष्ट मनसुनमा पनि डेंगी फैलिएको देखिएको छ, योवर्ष पनि नियमित संक्रमण बढ्ने र वर्षात्को अन्तिमसम्म नै रहने सम्भावना हुन्छ”, उनी भन्छन् ।
अघिल्लो वर्ष वा तीन वर्षअघि संक्रमण देखिएकै ठाउँमा फेरि उच्च भने नहुने विश्वभरकै तथ्यांकले देखाएको उनी बताउँछन् ।
“गतवर्ष देखिएकै ठाउँमा फेरि संक्रमण उच्च नहोला तर नयाँ ठाउँमा फैलिँदा संक्रमितको संख्या गत वर्षहरूमाभन्दा उच्च नहोला भन्ने अवस्था चाहिँ रहँदैन,” डा. पुनले भने ।
नेपालमा पहिलोपटक सन् २००४ मा एकजनामा डेंगी देखिएको थियो । त्यसयता २००६ मा ३२, २००७ मा २७, २००८ मा १०, २००९ मा ३०, २०१० मा ९१७, २०११ मा ७९, २०१२ मा १८३, २०१३ मा ६८६, २०१४ मा ३५६ जनामा देखिएको थियो ।
त्यस्तै, २०१५ मा १३५, २०१६ मा एक हजार ५२७, २०१७ मा दुई हजार १११, २०१८ मा ८११, २०१९ मा १७ हजार ९९२, २०२० मा ५३०, २०२१ मा ५४० र २०२२ मा ५४ हजार ७८४ जना संक्रमित भएको तथ्यांक छ ।
संकलन नै...
इडीसीडीको तथ्यांकमा सन् २०२३ को जनवरीयता २२ अगष्टसम्म १७ हजार ४०९ जना डेंगी संक्रमित भएको देखिएको छ । यो हालसम्म संक्रमण फैलिएका ७५ जिल्लाको तथ्यांक हो ।
यो वर्ष सबैभन्दा धेरै संक्रमण फैलिएको सुनसरीमा नौ हजार १५९ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ । धरान उपमहानगरपालिकामा मात्रै अगष्ट २२ सम्म १३ हजार २१० जनामा संक्रमण पुष्टि भइसकेको छ ।
सो संख्यामा संक्रमित भएको र १२ जनाको मृत्यु भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेता बताउँछन् ।
यता दोस्रो धेरै संक्रमण फैलिएको धादिङमा २२ अगष्टसम्म एक हजार ८९० जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ । बुधबारसम्म धादिङका १२ पालिकामा गरी दुई हजार १०२ जना संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङको तथ्यांक छ ।
जिल्लाको ज्वालामुखी गाउँपालिकामा डेंगी संक्रमणका कारण एकजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले पुष्टि गरेका छन् ।
यसबाहेक मकवानपुरका एक पुरुषको डेंगीका कारण मृत्यु भएको चिनवन मेडिकल कलेजले पुष्टि गरिसकेको छ ।
पाल्पाकी एक महिलाको डेंगीबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले पुष्टि गरिसकेको छ । योसँगै योवर्ष डेंगी संक्रमणका कारण १५ जनाको मृत्यु भइसकेको छ । तर, इडीसीडीको तथ्यांकमा भने हालसम्म १३ जनाको मात्रै मृत्यु भएको उल्लेख छ ।
त्यसो त गतवर्ष ५४ हजार ७८४ जनामा डेंगी संक्रमण भएको इडीसीडीको तथ्यांक थियो । तर समुदाय र अस्पतालमा बिरामीको चापका आधारमा करिब दुई लाखको नागरिक संक्रमित भएको विज्ञहरूले दाबी गरेका थिए ।
इडीसीडीले अर्लि वार्निङ एण्ड रिपोर्टिङ सिस्टम इवार्समार्फत् देशभरको तथ्यांक संकलन गर्ने गरेको छ । गतवर्षको अन्त्यसम्म यो सिस्टममा ११८ वटा अस्पताल तथा स्वास्थ्य संस्था जोडिएका थिए ।
यो वर्ष पनि ११८ वटाबाट नै तथ्यांक आइरहेको इडीसीडीका निर्देशक डा. रुद्र मरासिनी बताउँछन् । यो संख्या थप नहुँदा कतिपय निजी अस्पतालहरूको तथ्यांक इडीसीडीमा आइ नपुगेको देखिन्छ । यसले संक्रमणको वास्तविक अवस्थालाई बाहिर ल्याउन सकेको छैन ।
नियन्त्रणमा कुन तह चुक्यो ?
हरेक वर्ष डेंगीबाट हजारौँ संक्रमित भइरहँदा पनि सरकारको तर्फबाट नियन्त्रणका लागि बलियो र प्रभावकारी कार्यक्रम अघि सारेको देखिँदैन ।
योवर्ष पनि सरकारले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना ल्याएको छ । यसमा तीन तहका जिम्मेवारी र अधिकार प्रष्ट उल्लेख छ ।
तर, केन्द्र सरकार र स्थानीय तहहरूबीच समन्वय नहुँदा डेंगी नियन्त्रणका कार्यमा कठिनाइ भएको देखिन्छ ।
“केन्द्र सरकारको काम नीति नियम बनाउने, तालिम प्रदान गर्ने र बनेका नीतिलाई लागु गर्न पैरवी गर्ने हो बाँकी प्रदेश र स्थानीय तहलो गर्नुपर्ने हो” इडीसीडी निर्देशक डा. मरासिनी भन्छन् ।
यता स्थानीय तहहरूले संक्रामक रोगको रोकथाम तथा पूर्वतयारीलाई प्राथमिकतामा नराखेको देखिन्छ । संघीयतापछि अधिकार र जिम्मेवारी बाँडफाँट नहुँदा पनि प्रत्येक वर्ष डेंगी र अन्य संक्रामक रोगहरू प्रकोपको रूपमा फैलिइरहेको तर्क गर्छन् जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी ।
पछिल्लो समय दोस्रो बढी संक्रमण फैलिइरहेको धादिङमा पूर्वतयारीकै अभावमा संक्रमण गत वर्षभन्दा तीव्ररूपमा फैलिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. झाको बुझाइ छ ।
डेंगी संक्रमणको अवस्था भयावह हुन नदिन सरकार र समुदाय दुवैको तर्फबाट सन्तुलित प्रतिकार्य आवश्यक हुने जनस्वास्थ्य विज्ञहरूको अनुभव छ । महामारी नियन्त्रणमा सरकार वा समुदाय मात्रैको प्रयास पर्याप्त नहुने तर्क राख्छन् जनस्वास्थ्यविद् डा. शरद वन्त ।
“जनस्तरबाट हामीले गर्नसक्ने सरसफाइ, लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, टोकाइबाट बच्नेजस्ता स–साना तर प्रभावकारी उपाय अपनाउन सकिन्छ । किटनाशक प्रयोग गर्ने समुदायस्तरमा लामखुट्टे नष्ट अभियान नै चलाउनेजस्ता काम त सरकारको तर्फबाट हुनुपर्यो नि” डा. वन्त भन्छन् ।