site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
क्षीण हुँदै लघुकथाको शक्ति !

नेपाली आख्यानजगत्मा सबैभन्दा लघुतम विधाका रूपमा लघुकथालाई लिइँदै आएको छ । लघुकथा लेखनको प्रारम्भ आठ दशकअघि नै भएको मानिन्छ । तर, कृति प्रकाशनका हिसाबले २००७ सालमा साहित्यकार पूर्णप्रसाद ब्राह्मणको ‘झिल्का’लाई पहिलो भनिएको छ ।

यस हिसाबले ७३ वर्ष बितिसकेको छ, लघुकथाको पहिलो कृति सार्वजनिक भएको । यति पुरानो लेखनी भए पनि लघुकथाले विधागत मान्यता पाउन प्रशस्त संघर्ष गर्नुपरेको यसमा कलम चलाउनेहरू बताउँछन् ।

प्रारम्भिक चरणमा ब्राह्मणका अतिरिक्त डा. जयनारायण गिरीले पनि लघुकथा लेखेका थिए । उनीहरू दुवैले आधुनिक लघुकथा लेखनको बिउ छरेका थिए भन्न सकिन्छ ।

Dabur Nepal

पछिका दिनमा कतिपय साहित्यकारले फुटकर रूपमै भए पनि लघुकथा लेखे । लघुकथा सशक्त विधा भएको चिन्तनलाई स्थापित गर्दै आए ।

अशेष मल्ल, सरुभक्त, किशोर पहाडी, अनिता तुलाधर, धु्रव मधिकर्मी, नारायण तिवारीलगायत साहित्यकारले तत्कालीन अवस्थामा आख्यानमा लघुकथा पनि छ है भन्ने सन्देश फैलाएका थिए ।

यसरी अप्ठेरो अवस्थाबाट माथि उठेको लघुकथा लेखनले अहिले विधाको रूप लिइसकेको छ । यसले पार्ने प्रभाव र लघुतम आकारका कारण लघुकथा लेखनतर्फ सर्जकको रुचि बढ्दो देखिन्छ ।

तर, लघुकथामा हुनुपर्ने संरचनागत आयाम र त्यसले प्रवाह गर्नुपर्ने शक्ति क्षीण हुँदै गइरहेको कतिपय सर्जकको ठहर छ ।

लघुकथा समाज नेपाल विगत १५ वर्षदेखि यसको उन्नयनमा क्रियाशील छ । हेय दृष्टि पाउँदै आएको यस विधालाई स्थापित गर्न यो संस्थाले उल्लेख्य भूमिका निर्वाह गरेको स्वयम् साहित्यकार बताउँछन् ।

समाजले लघुकथा लेखनका क्षेत्रमा विभिन्न सम्मान तथा पुरस्कारको व्यवस्था गरेको छ । यो विधामा समर्पित स्रष्टालाई हौसला दिँदै आएको छ ।

यति हुँदाहुँदै पनि आजको समयमा लघुकथा जति शक्तिशाली हुनुपर्ने हो, जति प्रभावशाली हुनुपर्ने हो, त्यो नभएको साहित्यकार अशेष मल्ल र ‘लघुकथाको रचनाविधान’का सर्जक प्रा. डा. लक्ष्मणप्रसाद गौतमको ठम्याइ छ ।

चर्चित नाट्यकर्मी तथा साहित्यकार मल्ल लघुकथा आफैँमा प्रभावकारी रचना भएको बताउँछन् । नाममै आकारमा यो छोटो हुने स्पष्ट रहेको उनको भनाइ छ ।

साहित्यकार मल्ल भन्छन्, “लघुकथाको सबैभन्दा ठूलो प्रभावकारिता भनेको यसको भाव, शक्ति र प्रस्तुति नै हो । लघुकथा प्रभावशाली हुनुको अर्थ नै त्यहाँ भेटिने कथानकताको शक्ति हो, जसले पाठकको मनलाई भित्रैसम्म छुने सामर्थ्य राख्छ ।”

कुनै बेला सशक्त लघुकथा पाठकलाई सुम्पिएका मल्ल अक्षर, शब्द र वाक्य मात्र नभइ विषयवस्तु र भाव नै यसको मूल शक्ति भएको बताउँछन् । उनी भन्छन्, “यिनै भावले लघुकथालाई सानो भए पनि शक्तिशाली र प्रभावशाली बनाउँछ ।”

पछिल्लो समय नेपाली लघुकथा लेखनमा बाढी नै आएको देखिन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले यसले मञ्च पाए पनि, संख्यात्मक वृद्धि भए पनि गुणात्मक रूपमा कमजोर रहेको मल्ल औँल्याउँछन् ।

“लघुकथा लेखनमा सर्जकहरूको संख्या बढ्नु नराम्रो होइन । निश्चय नै यो सकारात्मक पक्ष हो । यसले लघुकथा लेखनप्रतिको जागरण र रुचि बढ्दो अवस्थामा रहेको देखाउँछ,” उनी भन्छन्, “तर, लघुकथा लेखनमा देखिएको गुणात्मकभन्दा संख्यात्मक वृद्धिले लघुकथाको मर्म नै हराउने हो कि भन्ने डर छ । यसले लघुकथाको प्रभावकारिता र शक्तिलाई नै क्षीण बनाउने हो कि !”

यस्तै धारणा व्यक्त गर्छन्, प्रा. डा. गौतम पनि । लघुकथाको संख्यात्मक वृद्धि अत्यधिक र गुणात्मक अनुपात निकै कम भएको आफूले पाएको उनी बताउँछन् ।

गौतम भन्छन्, “लघुकथाका क्षेत्रमा अनेकानेक गतिविधि भएका छन् । प्रकाशन पनि प्रशस्त हुँदै आएका छन् । लघुकथा लेख्न पनि सिकाइँदै छ । तर, लघुकथा लेखकमा जुन रूपमा धैर्य र साधना हुनुपर्ने हो, त्यो कम पाइएको छ ।”

उनी अगाडि थप्छन्, “लघुकथा लेखन आफैँमा जटिल काम हो । किनभने, यसमा थोरैमा धेरै कुरा अटाउनुपर्छ । थोरै शब्दमा धेरै कुरा भन्नुपर्छ । तसर्थ, यहाँ साधनाको अभावले समग्र लघुकथा लेखनलाई अप्ठेरोमा पार्न सक्छ ।”

०६५ साल भदौ ५ गते लघुकथा समाजको स्थापना गरिएको थियो । सोही दिनलाई केही सर्जकले विगत डेढ दशकदेखि लघुकथा दिवसका रूपमा मनाउँदै आएका छन् ।

यसै सन्दर्भमा लघुकथाको प्रभावकारिताबारे साहित्यकार मल्ल र समालोचक प्रा. डा. गौतमसँग गरिएको कुराकानी उनीहरूकै शब्दमा–

अशेष मल्ल
धेरैभन्दा धेरै लेखेर मात्रै लघुकथाको उन्नति, समृद्धि हुन्छ भन्ने होइन । गुणात्मकभन्दा संख्यात्मक वृद्धिले लघुकथा मन पराउने पाठकहरूको रुचिमा कमी आउन सक्ने मैले देखिरहेको छु । यही डरले मलाई घेरेको छ ।

हरेक लेखकले विचार पुर्याउनुपर्छ कि छोटो लेख्नु मात्रै लघुकथा होइन । यसको प्राण भनेकै भाव र प्रस्तुति हो ।

विद्वान् भाषासेवी महानन्द सापकोटाले भन्नुहुन्थ्यो— अचारले अघाइँदैन, तर खान सघाउँछ ।

लघुकथा पनि त्यही हो । जसरी रातको अँध्यारोमा एक झिल्को चट्याङले सर्वत्र उज्यालो फैलाउँछ, लघुकथामा पनि त्यही चमक र उज्यालो छर्न सक्ने शक्ति र सामर्थ्य हुनुपर्छ ।

लघुकथा पाठकको मन–मस्तिष्कलाई हल्लाउने खालको हुनुपर्छ । बरु, थोरै लेखियोस् बलियो र सामर्थ्यवान् लेखियोस् भन्नेतर्फ यस विधाका लेखकहरू जागरुक हुनु आवश्यक छ ।

लघुकथा, मुक्तक, कविता यी लेखिने कुरा होइनन् । यी आफैँ सिर्जना हुने विषय हुन् । कुन क्षणमा यी विषय मन–मस्तिष्कमा प्रस्फुटन हुन्छन्, त्यो लेखकलाई पनि थाहा हुँदैन । यो त समय र सन्दर्भले जन्माउँछ ।

म लेखक हुँ कि होइन भन्ने कुरा एउटा लेखक आफैँले बुझेको हुन्छ । उसलाई थाहा हुन्छ, म के हुँ भन्ने । यदि, म लघुकथाकार होइन भन्ने लाग्छ भने त्यो बाटो छोडिदिनु नै उत्तम हुन्छ ।

जस्तो, मलाई थाहा छ– म गीतकार होइन । मैले चाहेँ भने गीत लेख्न सक्छु होला, तर म गीतकार होइन भन्ने थाहा छ भने मैले गीत लेख्ने कुरै आउँदैन ।

आजको डिजिटल युगमा लघुकथा लेखन अझै प्रभावकारी हुनसक्छ । मोबाइलको स्क्रिनमा अट्ने र क्षणभरमै पढ्न सक्ने शक्तिशाली साहित्यिक सामग्री लघुकथा नै हो । डिजिटल ग्याजेटले यसको उन्नयनमा ठूलो योगदान दिएको छ ।

पहिलेपहिले हामीले लेख्दा पाठकसम्म पुग्न बडो गाह्रो थियो । आज डिजिटल मिडिया र सामाजिक सञ्जालले प्रकाशन सजिलो गरिदिएको छ । तर, सजिलो छ भन्दैमा जे पनि लेख्नु त भएन नि !

लेख्नेहरूले पनि लेखिसकेपछि केही समय त्यसलाई थन्क्याएर राख्ने र महिना÷दुई महिनापछि मात्रै त्यो पढेर सम्पादन गर्दा उत्कृष्ट लघुकथा जन्मिन सक्छ ।

मैले माथि नै भनेँ– लघुकथाको अधिक संख्याले यसको लोकप्रियतामै खलल पार्ने हो कि ! धेरै बाढीले खती गर्न सक्छ भन्नेतिर पनि हामीले ध्यान दिनुपर्छ ।
०००
प्रा. डा. लक्ष्मणप्रसाद गौतम
फेसबुकलगायत सामाजिक सञ्जालमा लघुकथा पोस्ट गर्ने चलन बढ्दो छ । ‘आज मैले यतिवटा लघुकथा लेखेँ’ भनेर फेसबुकमा लेखेको कताकति मैले पाएको छु । यसबाट लघुकथाको संख्यात्मक वृद्धि त होला, तर गुणात्मक वृद्धि हुँदैन ।

एउटा कुरो स्पष्ट के हो भने इतिहास संख्याले बनाउने होइन, गुणले बनाउने हो । त्यसैले मलाई लाग्छ, लघुकथा लेखनमा लाग्ने स्रष्टाहरू गम्भीर हुनुपर्ने अवस्था छ ।

लघुकथा सर्जकले गुणात्मक सिर्जनातर्फ ध्यान पुर्याउने हो भने यसले लघुकथाको उन्नयनमा ठूलो भूमिका खेल्न सक्छ ।

यहाँ मैले भन्नैपर्छ– कुनै पनि सर्जकले सिद्धान्त पढेर वा बुझेर सिर्जना गर्दैन । तथापि, सर्जक÷स्रष्टाले सिद्धान्त पनि राम्ररी पढेको छ भने उसले अब्बल दर्जाको लघुकथा सिर्जना गर्न सक्छ ।

सिर्जना गर्नेहरूले एकपटक यसको सैद्धान्तिक स्वरूप के हो भन्ने विषयमा सोचिदिने हो भने त्यसले लघुकथालाई बलियो बनाउँछ । यो यस विधाको उन्नयनका लागि राम्रो नै हुनेछ ।

यसो गर्नु किन आवश्यक छ भने, लघुकथामा मितव्ययी भाषामा, मितव्ययी शब्दमा, एउटा सिंगो महाकाव्य वा उपन्यासले दिने कुरो प्रस्तुत गर्न सकिन्छ ।

पछिल्लो समय लघुकथा सिर्जनातिर प्रवृत्त हुने जो स्रष्टाहरू हुनुहुन्छ, उहाँहरूलाई एकपटक सिद्धान्तको अध्ययन गर्न म सुझाव दिन्छु ।

आजका दिनमा लघुकथा व्यापक रूपमा लेखिँदै आएको छ । तर, यो भीडमा सम्झनलायक लघुकथा कमै मात्र पाइन्छन् । लघुकथामा आएको यो बाढीले यसको इतिहास नै हराउँछ कि भन्ने मलाई डर छ ।

म थोरै लघुकथा समाज नेपालको कुरा गर्छु, अब समाजको भूमिका फरक हुनुपर्छ । लघुकथाका स्रष्टाहरूलाई समाजले एउटा मञ्च दिएको छ, जुन आफैँमा राम्रो कुरा हो ।

पहिलेपहिले समाजले लघुकथाका कृति प्रकाशनपूर्व छलफल, अन्तरक्रिया कार्यक्रम गरेर कमी–कमजोरीलाई सच्याउन सरसल्लाह दिन्थ्यो । यसरी सार्थक कृति प्रकाशनमा मद्दत मिल्थ्यो ।

यस्ता अन्तरक्रियामा म पनि पटकपटक उपस्थित छु । तर, आश्चर्य ! सल्लाह, सुझाव कतिपय सर्जकहरूलाई मन नपर्ने रहेछ । त्यसैले त्यस किसिमको कार्यक्रमको प्रावधान नै हटेर गयो ।

लघुकथा समाज ठूलो छ । सातै प्रदेशमा समाजका समितिहरू छन् । यस हिसाबले यो राष्ट्रव्यापी संस्थाका रूपमा फैलिएको छ, जुन आफँैमा सुखद पक्ष हो ।

त्यसैले प्रदेश समितिहरूको माध्यमबाट कम्तीमा लघुकथा प्रकाशनपूर्व यस क्षेत्रका विज्ञहरूलाई राखेर पाण्डुलिपिमाथि अन्तरक्रिया गराउने हो भने राम्राराम्रा कृतिहरू प्रकाशनमा आउन सक्छ । यसका लागि लघुकथा समाज अगाडि बढ्नैपर्छ ।

समाज नसुस्ताओस् । यसको एउटा इतिहास छ, गरिमा छ । त्यसैले समाजले अझै बढी गतिशील हुनुपर्ने मैले देखेको छु ।

समाजले लघुकथा क्षेत्रका नयाँ संस्थाहरूसँग समन्वय गर्दै जानु आजको आवश्यकता हो । समाज यसरी अगाडि बढ्ने हो भने लघुकथा प्रवद्र्धनमा ठूलो योगदान पुग्न सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro