साहित्य
गजल – १
उता आधा यता पनि आधा राखियो
मलाई आज मबाट नै टाढा राखियो
उता सिन्दूर पुछे यता लाश रंगाए
मर्ने रंगिन बाँच्नेलाई सादा राखियो
मानिस अनि पत्थरबीच यही हो लडाइँ
मन्दिर काखमा झुपडी चाहिँ पाखा राखियो
मायाको मूल बगी कतै खेर नजाओस्
आमाको त्यो छातीबीचमा धारा राखियो
परदेशमा छोरो बित्यो कोठीभित्र छोरी
दुई सन्तान गुमाएर छाना राखियो ।
000
गजल – २
नजानी या जानी जानी बद्लिएन
आफ्नै मन छ बेइमानी बद्लिएन
संसारमा हावापानी बद्लियो रे
आँखाबाट बग्ने पानी बद्लिएन
फूल बनेँ, काँडा बनेँ, पत्थर बनेँ
जे गर्दा नि जिन्दगानी बद्लिएन
दुःखको हो सागर भन्छन् जिन्दगी यो
बाँच्नलाई खिचातानी बद्लिएन
कोमल फूलसँगै हुँदा पनि सधैँ
काँडाको चाहिँं घोच्ने बानी बद्लिएन ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० ०७:५९
प्रतिक्रिया दिनुहोस्