site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा धारिलो हतियार प्रहार गरी हत्या
प्रतीकारात्मक तस्बिर ।

झापा । झापाको मेचीनगरमा ४३ वर्षीय सुन्दर किसानको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

मेचीनगर नगरपालिका–८ निवासी सामान्य मजदुरी गर्दै आएका किसान बुधबार साँझ नजिकैको विद्यालयमा फुटबल हेर्न जान्छु भनी हिँडेपछि घर फर्किएका थिएनन् ।

Argakhachi Cement Island Ad

आज बिहान घरदेखि डेढ किलोमिटरको दूरीमा खेतको पैनीमा झाडीले छोपेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए।

प्रहरीले किसानको हत्या भएको उल्लेख गर्दै घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । परीक्षणका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धानका लागि आज तालिमप्राप्त कुकुरको प्रयोग गरेको थियो ।

स्थानीय वडाध्यक्ष गिरिराज धमलाले बुधबार साँझदेखि हराइरहेका किसानको हत्या भएको प्रष्ट सङ्केत देखिएको बताए । “शवको घाँटी र टाउकामा धारिलो हतियार प्रयोग भएको चोट प्रष्ट देखिएको छ”, वडाध्यक्ष धमलाले भने, “हिजो फुटबल खेल हेर्न जान्छु भनेर घरबाट निस्कनुभएको रहेछ । कसैले हत्या गरेर खेतको पैनीमा शव फालेको अवस्थामा उहाँलाई आज बिहान मात्र भेटियो ।”

हत्याको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा, झापा जिल्ला प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी कार्यालयको टोलीले संयुक्तरूपमा अनुसन्धान सुरु गरेको छ । स्थानीय मेची विद्योदय आधारभूत विद्यालयको मैदानमा फुटबल खेल हेरेर उनी मेचे गाउँ पुगेकोसम्म जानकारी गाउँलेले दिएका छन् । त्यसपछि कसले र कसरी हत्या गर्‍यो भन्ने केही खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालका अनुसार हिजोदेखि हराइरहेका किसानलाई खोज्ने क्रममा आज बिहान सडकमा चप्पल र रगतको टाटा फेला परेको थियो । त्यसैलाई आधार मानेर पछ्याउँदै जाँदा खेतको पैनीमा झाडीले छोपछाप पारेको अवस्थामा शव फेला परेको थियो ।

वडाध्यक्ष धमलाले गाउँमा मजदुरी गरेर जीवनयापन गर्दै आएका किसान अत्यन्तै सरल, सोझो र इमान्दार रहेको बताए । उनले भने, “उहाँ जस्तो सिधा मान्छेलाई कसले कुन उद्देश्यले मार्यो, अचम्म लागिरहेको छ । प्रहरीले हत्यारा चाँडै पत्ता लगाओस् भन्ने सबैको माग छ ।” रासस

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्