site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
सुन प्रकरणमा हामीले गरेका सबै कामको टुँडीखेलमा बसेर जवाफ दिन सक्छौँ
Ghorahi CementGhorahi Cement

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते हङकङबाट स्कुटरको ‘ब्रेक सु’मा तस्करी गरी ल्याइएको सुन बरामद गर्‍यो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भइसकेको अवस्थमा विभागको टोलीले उक्त सुन बरामद गरेको थियो । 

सुनसहित ब्रेक सु को तौल १५५ केजी ४६८ ग्राम रहेको छ ।  त्यसमा सुनको मात्रा कति छ भन्ने हालसम्म खुलेको छैन । ब्रेक सु मा एक सय केजीभन्दा बढी सुन रहेको अनुमान छ ।  सुन बरामद गरिएको दुई साता बितिसकेको छ । 

सुन तस्करीमा संलग्न रहेको आरोपमा विभागले हालसम्म १८ जनालाई पक्राउ गरिसकेको छ । तर सुन मालिक अझै पक्राउ परेका छैनन् ।  अनुसन्धान पनि तीव्ररुपमा अघि बढिरहेको छैन । यस्तै क्रियाकलापले गर्दा अनुसन्धानमाथि शंका गर्नेहरुको संख्या बढ्दै गएको छ । 

Dabur nepal
Agni Group

यसैविषयमा केन्द्रित रहेर राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानासँग बाह्रखरीका सुरेन्द्र पौडेलले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :

सुन बरामद गरेको दुई हप्ता बितिसक्यो, अनुसन्धान कहाँ पुग्यो ? 

अनुसन्धान मध्य भागतिर पुगेको छ । विभिन्न चरणहरुमा हेर्दाखेरी व्यवस्थापकीय चरणमा आइपुगेका छौं । अब यी कुराहरुलाई प्राविधिक रुपले पुष्टि गर्नेगरी हामीहरुको अनुसन्धान, प्राप्त सूचना र प्राविधिक पक्षको विष्लेषण गरेर हेर्ने काम भइरहेको छ । 

अनुसन्धानको गति किन सुस्त भएको ? 

हामीलाई अनुसन्धानको गति सुस्त भएजस्तो लाग्दैन ।  हामी तीव्र गतिमै छौं । अनुसन्धानमा दिन प्रतिदिन सर्वसाधारणको पनि चासो बढ्दो छ । 

स्वाभाविकरुपले चासो हुन्छ पनि । तर हामीले के गर्नुपर्ने हुन्छ भने प्राप्त उपलब्धिहरु, हामीले अनुसन्धानका क्रममा देखेका कुराहरु, प्राविधिक पक्ष, ‘फ्याक्ट वेस एनलाइसिस्’ सबै कुराहरु गर्नुपर्ने हुनाले हामी क्रियाशील छौं । 

सुन प्रकरणमा उच्च राजनीतिक नेतृत्त्वको संलग्नता भएकोले अनुसन्धानले गति लिन नसकेको हो ? 

यदि यस्तो भएको भए यो तहसम्म अनुसन्धान जाने नै थिएन ।  राजनीतिक संलग्नता र राजनीतिक पहुँचका कारण अनुसन्धानमा कुनै पनि बाधा पुगेको छैन ।  सामान्यतया तपाईँहरुको मिडियामार्फत् के पनि आग्रह गर्छु भने हामीले गरेका प्रत्येक कामको हामीले टुँडीखेलमा बसेर जवाफ दिन सक्छौं । 

जसले जसरी आशंका व्यक्त गरिराख्नु भएको छ त्यस विषयमा उहाँहरुलाई पनि पुष्टि गर्न आग्रह गर्छु । 

हामी के अनुरोध गर्दछौं भने यो डाइभर्ट भएको छ, सुस्त भएको छ, यसले उसलाई जोगाउन खोजेको छ, कसैलाई के गर्न खोजिएको छ भन्ने लाग्छ भने हामी यसको एक एक जवाफ टुँडीखेलको खुलामञ्चबाट दिन सक्छौँ । 

तर अनुसन्धान गरिराखेको कर्मचारीतन्त्र स्वभावले संवेदनशील संरचना हो ।  अनुसन्धान गरिराखेको विषयमा तथ्यभन्दा बाहिर गएर आएका टिकाटिप्पणीहरुले अनुसन्धान प्रभावित भएको छ ।  काम गर्ने साथीहरुको मनोबल कमजोर भएको हामीले देखेका छौं । 

के जनताले शंका गर्न नपाउने हो ? 

स्वाभाविकरुपले गर्न पाउँछन् । प्रत्येक नागरिकले गरेका आशंकाको चित्तबुझ्दो जवाफ हामी समयक्रममा नै दिनेछौं । 

राजनीतिक दल, नेता र अन्य प्रभावशाली व्यक्तिले अनुसन्धान रोक्न दबाब दिएका हुन् ? 

मैले अहिलेसम्म यस्तो दबाब अनुभव गरेको छैन । प्रधानमन्त्रीज्यूको एउटा मात्र निर्देशन छ– यसलाई जसरी पनि टुङ्गोमा पुर्‍याउनुहोस्, राज्यका सबै संयन्त्रहरुबाट आवश्यक परेका सबै सहयोग लिनोस्, तर यो टुङ्गोमा पुग्नुपर्छ भन्नेबाहेक अरु कसैले यो विषयमा केही कुरा गरेको छैन । 

यो कस्तो खालको अपराध हो ?

यसमा धेरै कुराहरु जोडिन्छन् । यसमा विशुद्ध वैध व्यापारभित्र भएका अवैध खालका कुरा छन् । 

वैद्य व्यापार भित्रका विभिन्न हाम्रो सिस्टम, पोलिसी, प्राक्टिसका कुराहरुमा देखिएका कमजोरीहरु, लुपहोलहरुको प्रयोग गरेर यो खालको तस्करी भएको देखिन्छ । यो अवस्थामा हामी सबै निकायहरुबाट र पक्षहरुबाट सहयोगको अपेक्षा गरेका छौं । 

सुन प्रकरण राजस्व छलीसँग मात्र सम्बन्धित छ कि अन्य अपराधसँग पनि जोडिन्छ ? 

निःसन्देह योसँग क्रस बोर्डर क्राइम (अन्तरदेशीय अपराध) पनि जोडिन्छ ।  क्रस बोर्डर क्राइमको अनुसन्धान कसरी गर्ने, कुन तहसम्म हामीले गर्ने र कुन तहमा पुगेपछि अरुलाई दिने भन्ने हामीले सोचिरहेका छौं ।  क्रसबोर्डर क्राइम वा अहिले हामीले देखिरहेको संगठित अपराधका कुराहरु नोटिसमा राखेका छौं । तर अहिले प्रधान कुरा के हो भन्ने हामीले हेरिराखेका छौं। 

के तपाईँले एक लेभलको अनुसन्धान सकेपछि प्रहरीलाई सुम्पिन्छौं भन्न खोज्नु भएको हो ?

यो चाहिँ अनुसन्धानको क्रममा कस्तो अवस्था आउँछ त्यो हेरेर सुम्पिने, समन्वय गर्ने, सहकार्य गर्ने, साझेदारी गर्ने कुन मोडालिटी हुनसक्छ त्यसमा हामी छलफल गर्छौं । 

यो अनुसन्धानमा गृह प्रशासनलाई किन टाढा राख्नु भएको हो ? 

सुरुवातको दिनदेखि नेपाल प्रहरीसँग हामीले समन्वय गरिराखेका छौं ।  तर एउटा यसको वास्तविकता के हो भने राजस्व अनुसन्धानमा सशस्त्र प्रहरी बलको एउटा छुट्टै टिम नै क्रियाशील छ । कतिपय कामहरुमा उहाँहरुको पनि सहभागिता छ । 

नेपाल प्रहरीको पनि सहभागिता छ । प्रहरीका सबै संयन्त्रहरु हामीले प्रयोग गरेका छौं । आवश्यकताअनुसार यो बढ्दै पनि जानेछ । 

सुन गाल्ने मेसिन किन्न लागिएको हो ? 

यो राष्ट्र बैंकको टीओआर भित्रको कुरा हो, त्यसैले त्यता हामी प्रवेश गर्दैनौं ।  कतिपय अवस्थामा हामी यसको तौल लिने तयारीमा थियौं तर केही प्राविधिक कारणले गर्दा, राष्ट्र बैंकसँग जोडिएका इस्युले गर्दा रोकिएको हो । 

बाहिर देखिएका गोदामहरु, त्यहाँ भेटिएका वस्तु र मुद्दाको संवदेनशीलतालाई पनि हेरेका छौँ । सुन राष्ट्र बैंकमा सुरक्षित छ । शंका गर्नुपर्ने कुनै कारण छैन ।

१८ जना पक्राउ परिसक्दा पनि सुनको मालिक किन अहिलेसम्म पत्ता नलागेको होला ?

अनुसन्धानअनुसार मालिक पक्राउ पर्ने दिशामा छ ।  त्यसतर्फ हामी अगाडि बढिरहेका छौं । यो विषयमा हामी अनुसन्धानकै क्रममा छौं । पछि अनुसन्धानले नै देखाउँछ । 

साउन ३ गते बरामद गरिएको सुन अहिलेसम्म गाल्न र यति छ भन्न नसक्नुको कारण के हो ? 

मुद्दासँग जोडिने बाहिर कयौं ठाउँमा हामीले छापा मारिरहेका छौं ।  बाहिर देखिएका प्रमाणहरु तिनीहरुसँग टाइअप र ट्याली गर्नुपर्छ । 

भोलि नयाँ अभियुक्तहरु पक्राउ पर्दा, मालिकहरु पक्राउ पर्दा पनि उनीहरुको संलग्नताको विषयमा प्रमाणबाट पुष्टि गर्नुपर्ने कारण रहेकोले सुन गाल्न ढिलाई भएको हो । तर हामी लामो समयसम्म राख्दैनौं, सकेसम्म छिट्टै हुन्छ। 

छिटो भन्नाले कहिलेसम्म गालिन्छ सुन ? 

सयम अहिले यकिन नभनौं । सकेसम्म छिटो गर्ने प्रयासमा छौं । 

केही व्यवसायीको घरमा पनि छापा मारियो, भएको के थियो ?

केही व्यक्तिहरु हाम्रो निगरानीमा छन् । हामीले शंका गरेका छौं । अरु कुरा तथ्यहरुले जतातिर ड्राइभ गर्छ त्यतैतिर जाने कुरा हो ।  केही व्यवसायीको घरमा सर्भिलेन्स भएको हुन सक्छ, हामीले हेरेको हुन सक्छौं र केही खानतलासी गरेको पनि हुन सक्छ । 

हामीले व्यक्ति केन्द्रित भन्दा पनि अनुसन्धानमा तथ्य र प्रमाणहरुले जता लैजान्छ त्यता केन्द्रित गरेका छौँ ।

सुन बरामद भएको एक सातापछि मात्र सुन मगाउने कम्पनीको कार्यालय/गोदाममा छापा मारियो, के उनीहरुलाई भाग्न र सुन लुकाउन अवसर दिइएको हो ? 

पक्कै पनि छापा मार्न ढिला भएको हो । तर त्यहाँ गोदाम छ भन्ने कुरा कसले बताइदिने ? जो मान्छेलाई हामीले पक्राउ गर्‍यौँ, प्राविधिक अनुसन्धान गर्दा उनीहरुको उपस्थिति त्यो क्षेत्रमा देखियो । यस्ता अन्य ठाउँ अनुसन्धान गर्दै जाँदा भेटिन सक्छन् । त्यो थाहा भयो भने भोलि पनि छापा मार्छौं । 

सुन प्रकरणको अनुसन्धान कहाँ पुगेर अन्त हुन्छ ? 

हाम्रो अनुसन्धानले जहाँ लैजान्छ, जोसम्म पुर्‍याउँछ त्यहीँ पुगेर अन्त हुन्छ, डाइभर्ट हुँदैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu