कास्की । पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठाइँदा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्यान्डफिल साइट बनाएको वडा नम्बर–३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहर उठाउन नसकिएको हो ।
पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुंगा, महेन्द्रपुल, न्युरोड, नयाँबजार, सिर्जनाचोकलगायत क्षेत्रको सडकमै फोहर थुपारिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थलनजिकको वर्षौँदेखिको ल्यान्डफिल साइटमा फोहर लैजान रोकिएको थियो । त्यसपछि महानगरले अस्थायी रूपमा वडा नम्बर–३२, लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहर व्यवस्थापन गर्दै आएको थियो ।
स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन् । महानगरले ६ महिनाभित्रमा फोहर व्यवस्थापनका लागि स्थायी व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै काम अघि नबढाएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयको अवरोधपछि पर्यटकीय सहरको फोहर सडकबाट नउठाइँदा बजार दुर्गन्धित भएको हो ।
पुस दोस्रो सातादेखि लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले फोहरमैला व्यवस्थापन गर्दै आएको छ । वडा नम्बर–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयका माग पूरा गरी सहज रूपमा फोहर लैजान छलफल भइरहेको बताए । ल्यान्डफिल साइटको सही ढंगले व्यवस्थापन नहुँदा वरपर दुर्गन्ध फैलिएको र फोहर बोक्ने गाडीका कारण बाटो हिलो तथा जीर्ण भएकाले मर्मत गर्नुपर्ने माग स्थानीयको रहेको वडाध्यक्ष कार्कीले बताए ।
उनले भने, “राम्रोसँग फोहर व्यवस्थापन हुनुपर्छ भन्ने र सडक राम्रो बनाइदिनुपर्दछ भन्ने मुख्य माग स्थानीय जनताको छ, हामीले त्यसका लागि प्रतिबद्धता जनाएका छौँ । महानगर प्रमुखले स्थानीयलाई छलफलमा बोलाउनुभएको छ, आइतबारसम्म सहमति हुन्छ होला ।”
महानगर प्रमुख धनराज आचार्यले ल्यान्डफिल साइट क्षेत्रका स्थानीयसँग संवाद भइरहेको बताए । उनले बजार क्षेत्रमा सडकमा ल्याएर फोहर नफाल्न पोखरावासीमा आग्रह गरेका छन् ।
उनले भने, “ल्यान्डफिल्ड साइटमा फोहर लैजान केही अवरोध भएकाले चार दिनदेखि फोहर उठाउन सकिएको छैन । हामी संवादमा छौँ । डेंगु बढिरहेको अवस्थामा फोहर उठाउन नपाउँदा दुखित भए पनि आशा गरौँ, छिटोभन्दा छिटो समस्या सामाधान हुनेछ । फोहर उठाउने गाडी नआउँदासम्म प्रतिक्षा गरौँ र सडकमा फोहर नफाल्न आग्रह गर्दछु ।”
पोखरा महानगरले यसअघि गएको पुसमा ६ महिनाका लागि भनेर लामेआहालमा अस्थायी फोहर व्यवस्थापन सुरु गरेको हो । महानगरले वडा नम्बर–३३ को पूँडीटारमा ८५० रोपनी क्षेत्रफल जमिनमा फोहर व्यवस्थापनका लागि स्थायी संरचना बनाउने तयारी गरेको छ । रासस