अहिले सुन्दा सामान्य लाग्ने घटनाले पनि युग र चेतना परिवर्तनको दरिलो सन्देश दिएका हुन्छन् । त्यस्तै घटनालाई ऐतिहासिक भनिन्छ, क्रान्ति पुकारिन्छ । यस्तै घटनामध्ये ७४ वर्षअघि प्रगतिशील परिवर्तनको सन्देश दिइएको थियो – लमजुङको दुराडाँडाबाट ।
त्यो परिवर्तनको सन्देश त्यहाँ सुरु गरिएको 'हलो जोत्ने' कामबाट गएको हो । त्यसैलाई अहिले 'हलोक्रान्ति' भनिएको छ । क्रान्तिको पर्याय परिणाम परिवर्तन हो । परिवर्तन प्राकृत एवं शाश्वत पनि हुन्छ र चेतनशील मानिसको देनले समेत परिवर्तन ल्याउँछ ।
क्रान्ति भन्नेबित्तिकै मानिसमा कुनै प्रभावले हिंसात्मक छायाछवि उत्पन्न हुन्छ । तर, हिंसा क्रान्ति होइन । अहिंसात्मक क्रान्तिको प्रमाणित प्रयोग महात्मा गान्धीले भारतको स्वतन्त्रता आन्दोलनमा सफलतापूर्वक गरे । प्रक्रिया अहिंसात्मक थियो तर प्रहार रुढ परम्पराप्रति लक्षित रह्यो । त्यसैले ‘हलोक्रान्ति’ नाम, काम दुवै अर्थमा सार्थक भयो ।
घटना त्यति बेलाको हो जति बेला नेपाली समाजमा हलो जोत्नु कसैको लागि सामान्य कर्म र कसैको लागि सामाजिक अपराध (पाप) सरह मानिन्थ्यो । कट्टर जातीय जमाना थियो दुराडाँडामा हलो क्रान्तिको बेला । कामको विभाजनसमेत जातीय मान्यताले प्रभावित थियो ।
हलो जोत्ने परम्परा सुम्पिएको जातिले खेतबारी हलोले जोत्नु सामान्य वा स्वीकृत सामाजिक कर्म, धर्म मानिन्थ्यो । त्यो जमानामा ब्राह्मण (बाहुन) जातिले हलो जोत्नु भने कर्म नाश, धर्म नाश र जाति च्युत हुने कर्म गनिन्थ्यो ।
यस्तै रुढ बेला अर्थात् चौहत्तर वर्षअघि २००६ साउन ११ गते (आजकै दिन) बाटेगरा, दुराडाँडाका २७ भाइ बाहुनले सामूहिक हलो जोतेर नयाँ सन्देश दिएका थिए । त्यो त्यस्तो बेला हो – बाहुन जातिले हलो समात्न पनि तर्सनुपर्ने हुन्थ्यो ।
पच्चीस सालतिरको कुरा हो । चुँदी रम्घा, आदिकवि भानुभक्तको गाउँमा उद्भट विद्वान् रुद्रनाथ गुरुले ‘त्रैलोक्यले हलो जोत्न थाल्यो’ भनेको सुनेको थिएँ । त्रैलोक्य बाहुन हुन् । उनले बेसी गरामा जोत्दा गोरुलाई हप्काएको आवाज सुनेपछि, गामको घर पिंढीमा बसेर गुरुले यस्तो टिप्पणी गर्नुभएको थियो । उहाँको टिप्पणीमा त्रैलोक्य ‘हलो जोत्न नहुने बाहुनको छोरो’ भन्ने तात्पर्य लुकेको सुन्दै जाँदा पछि बुझें । त्यहाँ पढ्न बस्दाको सम्झना रह्यो ।
मेरै समयको पच्चीस सालतिर त हलो नसमाउन तर्साइन्थ्यो वा जोत्न नहुने अर्ती दिइथ्यो भने २००६ सालमा दुराडाँडाका बाहुनले जोत्ने क्रान्ति आरम्म गर्नु चानचुने बात थिएन । ‘जात जान्छ’ अर्थात् स्खलित हुन्छ भनिने त्यो बेला ब्राह्मण जातिको लागि यो कामसमेत ‘अछुत’ भनिन्थ्यो ।
काठमाडौँ आएपछि कुनै दिन मासिक प्रकाशन ‘गरिमा’ हात परेको थियो । घरेलु वातावरणका कारण हुनसक्छ सानैबाट म पाएका पत्रपत्रिका पढ्न सौखिन भएँ । काठमाडौँको सुलभताले थप प्रोत्साहित गर्ने नै भयो । साझा प्रकाशनले प्रकाशित गर्ने 'गरिमा' किन्थेँ ।
यसपटकको अंकमा त्यही हलोक्रान्ति सम्बन्धी आलेख पढ्न पाएँ । विषय केही याद रह्यो जसले जिज्ञासा जगायो । लेखक को हुन् ? ठ्याक्कै बिर्सिएँ । तर त्यसमा उद्धृत श्लोकको एक पंक्ति भने अझै कण्ठस्थ छ – ‘... तोयानाथ तिघ्रे ... हलो जोती बिग्रे ।’ जिन्दगीमा यी हरप बिर्सिनसक्नु बने ।
हलोक्रान्तिको नायक रहेछन् – तोयानाथ अधिकारी । उनीलगायत २७ भाइले यो विद्रोहमा सँगै हलो जोते । ‘हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठान’ले दिएको जानकारीअनुसार शेषकान्त अधिकारी, हरिभक्त पौडेल, श्रीकान्त अधिकारीसमेतको अगुवाइमा हलोक्रान्ति गरिएको थियो । यस विषयमा समाजसेवी, दाइ पत्रकार शशिकान्त अधिकारीसँग पनि केही सोधपुछ गरेको थिएँ । उहाँ तोयानाथकै खलकका हुनुहुन्छ ।
हलोक्रान्ति राजनीतिक चेतनाले सिर्जित प्रगतिशील विद्रोह हो । सामाजिक विद्रोह । रुढ परम्परा विरुद्ध विद्रोह । विसं २००७ सालमा क्रान्ति भयो, प्रजातन्त्र ल्याइयो । त्यही क्रान्तिको जग बसाल्न यस्ता सामाजिक ‘पूर्वक्रान्ति’ भएका हुन् । हो कि होइन ? किं वदन्ति बने छ – त्यतिबेला ‘जनै पनि हलोको अनौमा झुण्ड्याएर बाहुनले खेत जोते रे !’
महामना बीपीले आफ्नो जीवनीमा लेख्नुभएको छ–लमजुङ दुराडाँडाको कोइराला फाँट आफ्नो पुर्ख्यौली थलो हो । यही कारण थर ‘कोइराला’ राखियो ? भनिन्छ – जस्तै कस्मीरका मोतीलाल (नेहरु) जब दिल्लीको यमुना नदीको नहर किनारामा घरबास थाले, तब नहर शब्दको अपभ्रंश ‘नेहरु’ थर पहिचान बन्यो, बनाइयो । मोतीका छोरा जवाहरलाल नेहरु ।
बीपी कोइरालाको पुर्ख्यौली थलो दुराडाँडा त्यतिबेला पश्चिम भनिने यो क्षेत्रको शिक्षित, पठित र जागरुक गाउँ, ठाउँ हो । दुराडाँडा जातीय पहिचान दिने नाउँ हो । तनहुँको चुँदी रम्घा अर्थात् कवि भानुभक्त आचार्यको गाउँ त्यसअघि नै यहाँको क्रान्तिचेत र जागरुक ठाउँ मानिन्छ । खासगरी भाषा, साहित्यमा ।
हलोक्रान्ति नेपाली कांग्रेसले चलाएको प्रजातान्त्रिक आन्दोलनको ऊर्जा थियो । त्यही क्रान्ति ऊर्जाले परिवारमा निहित राणा शासनको अन्त्य र नेपालमा प्रजातन्त्र अभ्युदय गराएको हो । यसै क्रान्तिका नायकमध्येका एक नेपाली कांग्रेसका नेता श्रीकान्त अधिकारी यही क्षेत्रबाट २०१५ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो ।
हलोक्रान्ति बाहुनले खेतबारी जोत्नुमा मात्रै सीमित भएन । यसको सन्देश राजनीतिक, प्रभाव सामाजिक र सांस्कृतिकसमेत रह्यो । बाहुनले गोरु नारेर, हलोको अनौ समाएर खेत जोतेकै कारण विद्यमान रुढ परम्परा, कामप्रति छुवाछुत, कट्टरता र अन्ततः जातीय विभेदप्रति पनि चोटिलो प्रहार भयो । प्रगतिशील परिवर्तनको सन्देश फैलायो । तत्कालीन समाजमा हल्लीखल्ली मच्चियो रे !
त्यसपछि सुरु भयो बहिष्कार । हलो जोत्नेका छोरी, ज्वाइँ, दिदी, बहिनीको घरमाइती नै बन्द गरियो । मामली, ससुराली आउजाउ नै रोकियो । ती जोताहा परिवारका सदस्य अछुत, बहिस्कृत मानिए । यसरी प्रताडित गरियो दुरडाँडाको चेतना, परिवर्तनको सन्देश र प्रजातन्त्रको प्रगतिशील प्रयत्नलाई । तर, अन्ततः यही उज्यालो चेतनाले जित्यो । यही धारले सामाजिक रुढता क्रमशः भत्किँदै, खिइँदै र सकिँदै संस्कृतिमा नयाँ आयम पनि थपियो । सामाजिक संस्कृतिले नयाँ बाटो देख्यो ।
हलोक्रान्ति यस्तो चेतना थियो जसले यस ठाउँमा विशाल प्रभाव राख्यो नै । जहाँ जहाँ खबर पुग्यो यसले देशभरि नै प्रजातन्त्रको आन्दोलनलाई ऊर्जा थप्यो, उज्यालो देखायो । त्यतिबेला तनहुँमा नेपाली कांग्रेसका नेता श्रीभद्र शर्मा, नेता गोवर्धन पोखरेललगायत सयौँ क्रान्तियोद्धा राष्ट्रिय चेतनाका संवाहक थिए ।
यहीबेला तनहुँको कलेस्ती वरपर खेतमा हिउँदे बाली लगाउन सुरु गरियो । नेतृत्व खासगरी गोवर्धन पोखरेलको रह्यो । यसअघि खेतमा एक बाली धानमात्र रोपिन्थ्यो । असारतिर रोप्ने, मंसीरतिर धान थन्क्याउने । बाँकी महिना खेत चरीचरनको लागि खुला छोड्ने । भनिन्छ- हिउँदे बाली लगाउने प्रयत्नको पनि यतातिर चर्को विरोध भएको थियो ।
नेता श्रीकान्त अधिकारी स्वयं दुराडाँडाकै हुन् । प्रजातन्त्रको पदचापलाई पछि पञ्चायतकालमा यहाँका लेखनाथ अधिकारी, हरिभक्त अधिकारी, रामचन्द्र अधिकारी आदिले अघि बढाए । तनहुँको पुलीमर् याङ त शहीदहरुको गाउँ नै हो । शहीद लालध्वज, धर्भध्वज गुरुड्. । ती क्रान्तियोद्धा प्रजातान्त्रिक, प्रगतिशील र नवीन समयका सन्देश बने । नेपाली समाजको लागि स्मरणीय इतिहास बने, बनाए । उज्यालो चेतनाको मसाल बने ।