site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक वर्षमा युद्धग्रस्त युक्रेनबाट १८ अर्ब र रुसबाट २३ करोडको सामान भित्रियो

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा युद्धग्रस्त युक्रेनबाट ५७ किसिमका विभिन्न वस्तु नेपाल आयात भएको छ । एक वर्षमा युक्रेनबाट १८ अर्ब ४३ करोड ४६ लाख ८३ हजार रुपैयाँ बराबरको सामग्री नेपाल भित्रिएको हो । 

नेपालबाट भने एक करोड आठ लाख ७१ हजार रुपैयाँको सामान युक्रेन निर्यात गरिएको छ । यसरी युक्रेनसँगको व्यापार घाटा १८ अर्ब ४२ करोड ३८ लाख रुपैयाँभन्दा बढी रहेको छ । युक्रेनबाट सबै भन्दा बढी आयात हुनेमा खाने तेल रहेको छ ।

युक्रेनसँगको व्यापार

Dabur Nepal
NIC Asia

युक्रेनबाट सबैभन्दा बढी आयात हुने वस्तुमा क्रुड सनफ्लावर तेल रहेको छ । एक वर्षमा १४ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ बराबरको सात करोड ७७ लाख ६ हजार ५०० लिटर क्रुड सनफ्लावर तेल नेपाल भित्रिएको छ । यसबाट सरकारले दुई अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

युक्रेनबाट सबैभन्दा बढी भित्रिने सूचीको दोस्रो नम्बरमा खाने तेल बनाउन प्रयोग हुने 'लो युरेसिक एसिड रेप' (कोल्जा बिउ) नेपाल भित्रिएको छ । तीन अर्ब २० करोड रुपैयाँ बराबरको दुई करोड ९९ लाख २८ हजार किलोग्राम कोल्जा बिउ भित्रिएको हो । जसबाट सरकारले ५० करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

युक्रेनबाट सबैभन्दा बढी भित्रिने सूचीको तेस्रो नम्बरमा क्रुड सोयाबिन तेल रहेको छ । एक वर्षमा ५० करोड ७९ लाख रुपैयाँ बराबरको ३१ लाख ६७ हजार लिटर तेल नेपाल भित्रिएको हो । यसबाट सरकारले आठ करोड ६४ लाख रुपैयाँ राजस्व उठाएको छ ।

यीबाहेक युक्रेनबाट जिउँदा जनावर, क्रुड पाम र सनफ्लावर तेल, सनफ्लावरको बिउ र तेल, भेटेरेनरी खोप, सर्जिकल टेप, पर्फ्युम र ट्वाइलेट तेल, आँखाको र अन्य मेकअप सामग्री, टाउकोमा लगाउने तेलजस्ता वस्तु आयात भएका छन् ।

नेपालले युक्रेनमा डोरी, कार्पेट र अन्य टेक्सटायल, महिलाका लागि कटनको ड्रेसजस्ता वस्तु निर्यात गरेको छ ।

रुससँगको व्यापार

रुस र युक्रेनबीच भइरहेको युद्धका बेला रुसबाट पनि विभिन्न किसिमका ५० वस्तु नेपालमा आयात भएको छ । एक वर्षमा रुसबाट २३ करोड ६० लाख ९२ हजार रुपैयाँ बराबरको सामग्री नेपाल भित्रिएको छ ।

नेपालले रुसमा १५ करोड ६० लाख ७३ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । यसरी रुससँगको नेपालको व्यापार घाटा करिब आठ करोड रुपैयाँ रहेको छ ।

रुसबाट प्रोपेलर्स र रोटर्स, क्रुड सनफ्लावर तेल, जहाज, हेलिकप्टर र ड्रोका पाटपुर्जा, मेसिनरी, सोडियम ट्राइफोस्फेटजस्ता वस्तु आयात भएका छन् । 

नेपालले रुसमा कार्पेट, उन, अन्य टेक्सटायल, ब्लयाक टी र ग्रिन टी जस्ता वस्तु निर्यात गरेको छ ।

आयातमा युक्रेनबाट तीन अर्ब र रुसबाट पाँच अर्बको गिरावट

आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा रुस र युक्रेन दुवै देशबाट नेपालमा हुने आयात ठुलो मात्रामा घटेको छ । यसले रुस–युक्रेन युद्धले यी दुवै देशको व्यापारमा पुर्‍याएको क्षतिको संकेत गर्छ ।

०७९ फागुन १२ मा (२०२२ को फेब्रुअरी २४) मा रुसले युक्रेनमा आक्रमण गरेको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा युक्रेनबाट नेपालमा २१ अर्ब २२ करोड ९५ लाख रुपैयाँ बराबरको सामग्री आयात भएको थियो । नेपालले १९ लाख २९ हजार रुपैयाँको सामान मात्रै निर्यात गरेको थियो ।

यसको तुलनामा गत आर्थिक वर्षमा युक्रेनबाट भएको आयात झन्डै तीन अर्बले घटेको हो ।

यस्तै, रुसबाट आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा पाँच अर्ब ६४ करोड २८ लाख रुपैयाँको सामान आयात भएको थियो । नेपालले १९ करोड ८३ लाख रुपैयाँको सामग्री रुसमा निर्यात गरेको थियो ।

तर, गत आर्थिक वर्षमा रुसबाट करिब २३ करोडको मात्रै सामग्री आयात भएको छ । यसरी युक्रेनसँग जारी युद्धपछि रुसले नेपालमा गर्ने निर्यात पाँच अर्बले घटेको देखिएको हो । 

रुसबाट हुँदै आएको क्रुड सनफ्लावर तेलको आयातमा सबैभन्दा धेरै गिरावट आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro