site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपाली चलचित्रमा कमेडीकै राज, बर्सेनि कुल कलेक्सनमा दुई सिनेमाकै आधा हिस्सा  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पछिल्लो समय कमेडी जानराका चलचित्रले तुलनात्मक रूपमा उत्साहजनक व्यापार गरिरहेका छन् । लभ, एक्सन, सोसल ड्रामालगायत विभिन्न जानरामा सिनेमा बनाइए पनि तुलनात्मक रूपमा कमेडीको व्यापार धेरै राम्रो हुने गरेको छ । गएको आर्थिक वर्षको बक्सअफिस रिपोर्टले पनि यसलाई पुष्टि गर्छ ।

गएको आर्थिक वर्षमा नेपालमा ५७ स्वदेशी चलचित्र रिलिज गरिए । त्यसबाट ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँ ग्रस कलेक्सन भएको थियो । यसको आधाभन्दा धेरै कलेक्सन कमेडी जानराका सिनेमाले गरेका थिए ।

‘छक्का पञ्जा’ले १७ करोड ५२ लाख, ‘जारी’ले १७ करोड १७ लाख, ‘महापुरुष’ले सात करोड ३८ लाख, ‘दुई नम्बरी’ले तीन करोड ८४ लाख, ‘के घर के डेरा’ले दुई करोड ६५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेका थिए । यीबाहेक गएको वर्ष अरू कमेडी सिनेमा पनि रिलिज भए र कलेक्सन गरे । कमेडी जानरा नभए पनि कमेडीलाई नै बेस बनाएर निर्माण गरिएका चलचित्रमा दर्शक रहेको रिपोर्टले पुष्टि गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसले दर्शक सिनेमाबाट मनोरञ्जन खोजिरहेको पुष्टि हुने कलाकार, निर्माता तथा निर्देशकहरूले बताएका छन् । कलाकार तथा निर्माता दीपकराज गिरी दर्शकको पहिलो रोजाइ नै मनोरञ्जन हुने बताउँछन् ।

“बक्सअफिस रिपोर्ट हेर्दा अरू जानराका सिनेमाभन्दा कमेडी चलचित्र चलेको देखिन्छ । यसको भित्री अर्थ भनेको मान्छे चलचित्रबाट मनोरञ्जन खोजिरहेको छ भन्ने हो,” उनी भन्छन्, “कमेडी चल्यो भन्छन्, तर म त्यसरी हेर्दिनँ । यसको उदाहरण छक्का पञ्जा–४ नै हो । हाम्रो यो सिनेमा कमेडी जानराको होइन ।” 

Global Ime bank

‘छक्का पञ्जा–४’ मिक्स जानराको चलचित्र भएको उनी बताउँछन् । यसलाई दीपक पोलिटिकल ड्रामा भन्न रुचाउँछन् । “तर, हाम्रो चलचित्र कमेडी बेसमा थियो । कमेडी फ्लेवरमा थियो,” उनी भन्छन्, “यसको मुख्य पात्र राजा कहिल्यै हाँस्दैन । र, अरूलाई कहिल्यै हँसाउँदैन पनि ।”

यसको अर्थ जुनसुकै कथा भने पनि मनोरञ्जन दिने काम छोड्नु हुन्न भन्ने दर्शकको सन्देश रहेको दीपक सुनाउँछन् । 

बक्सअफिस रिपोर्टमा समावेश भएभन्दा बाहिर पनि सिनेमाको कमाइ हुन्छ । बक्सअफिस रिपोर्ट नेपालका हल – जो चलचित्र विकास बोर्डको सर्भरमा जोेडिएका छन्, त्यसको मात्र कलेक्सन हो । यसबाहेक मेकरले डिजिटल राइट्स र फरेन राइट्सबाट केही रकम प्राप्त गर्छन् । 

किन कमेडी सिनेमा मात्र रुचाइए ? 
“सायद हामीले आफ्नै कुरा देखाउन सकेनौँ कि ! पक्कै पनि अहिले लभस्टोरी सिनेमा चलेका छैनन् । यसमा हामीले आफ्नै पन दिन सकेनौँ । बलिउडे लभ देखाएर कसले हेर्छ सधैँ ?, दीपक प्रश्न गर्छन्, “बलिउडे लभ होइन, हाम्रो आफ्नो अर्ग्यानिक लभ देखाउनुपर्‍यो । प्रेम गर्ने हाम्रो आफ्नै शैली छ । हाम्रो कल्चरअनुसार प्रेम गर्ने आफ्नै विशिष्टता छ ।”

भ्यालेनटाइन डेमा युवतीलाई रोज दिएर उसका अगाडि घुँटा टेकेर प्रपोज गर्ने नेपाली युवायुवतीले प्रेम गर्ने शैली नभएको दीपकको तर्क छ । “यो त हामीले बलिउड र हलिउडका सिनेमामा दशकौँदेखि हेर्दै आएका छौँ । प्रेम गर्ने हाम्रो आफ्नै शैली छ, त्यसमा काम गरौँ । हाम्रोमा युवतीलाई प्रपोज गर्ने तरिका छुट्टै छ, त्यसलाई देखाउन आफ्नै कथ्यशैली प्रयोग गरौँ ।”

लभ होस् वा ट्रयाजिडी नेपालीको आफ्नै शैली भएको तर त्यसलाई नदेखाएर बलिउड र हलिउडको नक्कल गर्दा दर्शकले तिरस्कार गरेको हुन सक्ने दीपकको भनाइ छ । सबै जानराको सिनेमा नचलेसम्म नेपाली चलचित्र उद्योग नाफामा नजाने दीपक बताउँछन् । 

अभिनेता खगेन्द्र लामिछाने पछिल्लो समय विश्वभर नै कमेडी जानराको सिनेमा रुचाइने गरेको बताउँछन् । बलिउड यसको राम्रो उदाहरण भएको उनको भनाइ छ ।

“जुन जानराको सिनेमा दर्शकले रुचाइरहेका हुन्छन्, त्यही जानरामै मेकर केन्द्रित भएको देखिन्छ,” लेखक समेत रहेका खगेन्द्र भन्छन्, “जुन जानराको सिनेमा धेरै बन्छ, स्वाभाविक रूपमा त्यही जानराको सिनेमामध्येबाटै केही चलचित्र चल्ने हो । यति हुँदाहुँदै पनि चल्ने चलचित्रमा कमेडी जानराकै सिनेमाको बाहुल्यता रहेको छ अहिले ।”

यद्यपि, अरू सिनेमामा रिस्क छ भन्ने बुझ्न नहुने खगेन्द्रको तर्क छ । तर, मेकिङ ‘रिच’ हुनुपर्नेमा उनको जोड छ । तुलनात्मक रूपमा प्रोडक्सन भ्यालु कमेडी जानरामा भन्दा लभस्टोरी र त्योभन्दा पनि धेरै एक्सन मुभीमा हुने उनी बताउँछन् ।

“एक्सन, लभस्टोरी र सोसल ड्रामा मेकिङका हिसाबले ठूलो बजेट लाग्छ । त्यसैले यी जानराभन्दा कमेडी सिनेमामा कम लगानी हुने भएकाले केही सहज छ,” उनी भन्छन्, “सानो बजार भएकाले ठूलो बजेटमा एक्सन, सोसल ड्रामा तथा क्राइम थ्रिलर सिनेमा बनाउन प्रोडक्सनका हिसाबले अलि बढी चुनौती छ ।”

अझै केही वर्ष कमेडी जानराका सिनेमा नै धेरै बनाइने र यस्तै चलचित्र चल्ने उनको आकलन छ । ठूलो बजेटमा चलचित्र बनाउन सम्भव नहुँदासम्म कमेडी जानराका सिनेमा चल्ने खगेन्द्र बताउँछन् ।

निर्देशक मीन भाम आधा दशकयता नै नेपाली चलचित्र उद्योगमा कमेडी जानराकाको व्यापार राम्रो रहेको बताउँछन् । दर्शकले पूर्ण मनोरञ्जन खोजिरहेको उनको बुझाइ छ । कमेडी जानराको सिनेमाको ब्रान्डको लिगेसीका कारण पनि यसलाई दर्शकले रुचाइरहेको मीन बताउँछन् ।

“जब छक्का पञ्जा र कबड्डी आए, त्यसयता नै निरन्तर नेपालमा कमेडी सिनेमाको व्यापार राम्रो देखिएको छ । एउटा कारण त ब्रान्डको लिगेसी पनि होला,” मीन अगाडि थप्छन्, “यी सिनेमाको जति सिरिज आइरहेको छ, व्यापार पनि त्यति नै बढ्दै गएको देखिन्छ ।”

काम गर्दै जाँदा ‘कबड्डी’ र ‘छक्का पञ्जा’ टिममा आएको निखारता पनि अर्को कारण हुन सक्ने उनी बताउँछन् । “मैले यी दुईवटै सिनेमाका सबै सिरिज त हेर्न पाएको छैन, तर केही सिरिज भने हेरेको छु,” उनी भन्छन्, “टिमको काममा आएको निखारता पनि अर्को कारण हो, कमेडी सिनेमाको बजार बढ्नुको ।”

कमेडी जानराको सिनेमाको व्यापारको करिब ५० प्रतिशत कलेक्सन भने ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिजको छ । नेपाली सिनेमाको कुल व्यापारको करिब आधा हिस्सा यी दुई सिनेमाको मात्र छ । गएको आर्थिक वर्षमा ‘कबड्डी’को टिमले बनाएको ‘जारी’ र ‘छक्का पञ्जा’ले करिब ३५ करोड रुपैयाँ कलेक्सन गरे । जबकि, त्यो अवधिमा नेपाली सिनेमाको कुल कलेक्सन ७६ करोड ७२ लाख मात्र हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC