काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापतिको घरबाटै पार्टी चलाउने भन्दै प्रश्न उठेको छ । केन्द्रीय सदस्य बलबहादुर केसीले सभापतिले घरबाटै पार्टी चलाउने अनि युवा महामन्त्रीहरु त्यहीँ गएर पार्टी चलाउने भन्दै प्रश्न उठाए ।
त्यसको जवाफमा महामन्त्री विश्वप्रकाश शर्माले आफू काठमाडौंमा हुँदा कार्यलयमै आउने गरेको भन्दै सभापतिलाई पनि शुक्रबार–शुक्रबार पार्टी कार्यालयमा आउन अनुरोध गरिएको जानकारी दिए ।
शर्माको जवाफलगत्तै देउवाले आफू पार्टी कार्यालय आउन जहिले पनि तयार रहेको बताए ।
“सभापतिज्यूले यति भनेपछि शुक्रबार उहाँ आउनुहुन्छ, चिन्ता लिनुपरेन,” शर्माले थपे ।
शर्माले त्यसो भन्दै गर्दा देउवाले ‘मिटिङ हुँदा जहिले पनि आउँछु’ भनेका थिए ।
शर्माले मिटिङ हुँदा मात्र होइन, नहुँदा पनि हप्तामा एकदिन आउनुपर्यो भनेपछि देउवाले भनेका थिए– आउँछु आउँछु ।
महामन्त्री र सभापतिको सवालजवाफले केन्द्रीय समितिमा हाँसो फैलिएको थियो ।