site stats
बाह्रखरी :: Baahrakhari
देश
‘मनसुन ब्रेक’ तत्काल नतोडिने !
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा अहिले ‘मनसुन ब्रेक’को अवस्था छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । यस्तो अवस्थामा मनसुनी गतिविधि कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले नेपालमा मनसुनको आंशिक प्रभाव मात्र परेको अवस्था हो । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहँदा नेपालमा कम पानी पर्ने हुन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मनसुनको न्यूनचापीय रेखा अहिले नर्मल (सरदर) स्थानभन्दा दक्षिणतर्फ सरेको छ,” उनले बाह्रखरीसित भने, “जब भारततिर मनसुनको न्यूनचापीय रेखा सर्छ, यहाँ पानी कम पर्छ ।”

मनसुनको न्यूनचापीय रेखाको सरदर स्थान भारतको दिल्ली, कोलकाताको आकाश क्षेत्रलाई मानिने उनले बताए । त्यहाँबाट उत्तरतर्फ मनसुनको न्यूनचापीय रेखा सर्दा नेपालमा बढी पानी पर्ने उनले जानकारी दिए ।

“भारततिर न्यूनचापीय रेखा सर्दा यहाँ मनसुन ब्रेकको अवस्था छ । यस्तो बेलामा पानी नै नपर्ने भन्ने त हुँदैन, पर्छ । तर, कम पर्छ । मनसुनको गतिविधि कम हुन्छ,” उनले भने ।

मनसुनको आंशिक प्रभाव मात्र रहेकाले विशेष गरी नेपालको तराई क्षेत्रमा उल्लेख्य वर्षा नभएको उनको भनाइ छ ।

मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ सर्नेबित्तिक्कै नेपालमा पानी पर्ने क्रम बढ्ने उनले बताए । तर, तत्काल त्यस्तो स्थिति नदेखिएको उनले जानकारी दिए । उनका अनुसार सोही कारण नेपालमा अझै एक/दुईभित्र मनसुन पूर्ण रूपमा सक्रिय हुने अवस्था छैन ।

“हामीले दैनिक रूपमा मोनिटरिङ (निगरानी) गर्छौँ, अब तीन दिनसम्मको अवस्थालाई हेर्दा मनसुनको न्यूनचापीय रेखा उत्तरतर्फ सर्ने देखिँदैन,” मौसमविद् झाले भने, “अझै तीन दिनसम्म मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन । यो समयमा उल्लेख्य मात्रामा मनसुनी वर्षा हुने सम्भावना छैन ।”

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्