site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आत्मसमीक्षामा चुकेको कांग्रेस, मौलिकता गुमाएका केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक झण्डै एक वर्षमा बसेको छ । एक वर्षसम्म पार्टीको विधान नेतृत्वले कुल्चिएको भनेर अनौपचारिक रुपमा असन्तुष्टि पोख्दै हिँडेका केन्द्रीय सदस्य समेत केन्द्रीय समितिको बैठकमा भने सभापति शेरबहादुर देउवाकोे रक्षाकवच बनेर उभिए । उनीहरुले विधानअनुसार नभएका पार्टी काम, १४औँ महाधिवेशनपछि गर्ने भनिएको नीति महाधिवेशन, विधानअनुसार हरेक वर्ष बस्ने महासमिति बैठकलगायतका विषयमा प्रश्न उठाएनन् । बरु सभापतिको कमजोरी कसैले बोल्न नसकोस् भनेर देउवानिकट केन्द्रीय सदस्यहरुले हुल बाँधेका देखियो । उनीहरुले देउवाका कमीकमजोरी बैठकमा उठिहाले भने पनि त्यसलाई ढाक्ने गरी बोल्नुपर्छ भन्ने मत बनाएको देखियो ।

देउवाको सबैभन्दा बलियो कवच त मनोनीत केन्द्रीय सदस्यहरु देखिए । उनीहरुमध्ये धेरै यसअघि केन्द्रीय समिति बैठकमै सहभागी हुन नपाएकाले नियुक्तिका लागि देउवालाई धन्यवाद दिनतर्फ लागे । त्यो औपचारिकता पूरा गर्दैगर्दा उनीहरुले देउवा खुसी हुने अर्को विषय रोजे– महामन्त्रीद्वयलाई चुनौती गर्ने ।

महाधिवेशन प्रतिनिधि हुन पनि चुके पनि केन्द्रीय सदस्य मनोनीत भएकाहरुले महामन्त्रीको पनि विकल्प खोज्नु नपरोस् भनेर चुनौती गरे । सभापतिसँग मिलेर अघि नबढे भोलि तपाईँको विकल्प खोज्छौँ भनेर उनीहरुले बैठकमै उद्घोष गरे ।

Dabur Nepal
NIC Asia

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सभापतिको विकल्प खोज्छौँ भन्दै नहिँड्न महामन्त्रीहरुलाई चेतावनी दिँदै त्यस्तो भन्न नछोडे आफूहरुले महामन्त्रीको विकल्प खोज्ने बताइन् । केन्द्रीय सदस्यहरु चन्द्र केसी र उर्मिला केसीले महामन्त्रीको विकल्प खोज्ने बहसलाई बेमौसमी नाराको संज्ञा दिँदै सभापतिलाई काम गर्न दिन अग्रह गरे ।

महामन्त्रीको, सभापतिको विकल्प खोज्ने बहसमा प्रश्न उठ्नु स्वभाविक छ कि यसबेला नेतृत्वको विकल्प किन खोज्नुपर्यो । तर, प्रश्न गर्ने र उनीहरुका तर्कमा बहस गर्नेभन्दा धम्क्याउने शैलीले कांग्रेसभित्रको प्रवृत्ति छताछुल्ल बनाइदिएको छ । अझ पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गरेका कारण कांग्रेसभित्रको बहसको स्तर धेरैले हेर्न पाएका छन् ।

कांग्रेसभित्रको बहस कसरी अघि बढिरहेको छ भनेर हेर्न झापाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी र त्यही जिल्लाबाट प्रतिनिधित्व गर्ने कोसी प्रदेशका सभापति उद्धव थापाको विवादले पनि स्पष्ट पार्छ ।

बुधबार बहसका क्रममा बुढाथोकीले प्रदेशका सभमुखको भूमिकामा प्रश्न उठाउँदा थापाले कांग्रेस सरकारविरुद्ध उभिएको भन्दै कारबाही माग गरे । बुढाथोकीले झापा सभापतिले विधानविपरीत १०० जनाको कार्यसमिति अनि ५३ जनाको सल्लाहकार समिति बनाएको भन्दै विधानअनुसार चल्नुपर्छ भन्ने महामन्त्रीहरुले के हेरेको भनेर प्रश्न उठाए । जवाफमा थापाले सभापतिलाई चुनाव हराउन लागेको भन्दै पार्टीबाटै बुढाथोकीलाई निष्कासन गर्नुपर्ने बताए । केन्द्रीय सदस्यलाई पदेन केन्द्रीय सदस्यले गरेको कारबाही माग रोचक देखिएको थियो ।

गत वर्ष असार अन्तिममा केन्द्रीय समिति बैठक बस्दा ६ महिनाभित्र गर्नुपर्ने सबै कामका लागि प्रस्ताव लैजान नसक्नु र सभापतिलाई जिम्मेवार बनाउन नसक्नु महामन्त्रीहरुको कमजोरी थियो । त्यस आधारमा उनीहरु पनि प्रश्नकर्ता नभएर उत्तर दिनुपर्ने जिम्मेवारी भएका व्यक्ति हुन् । तर, प्रश्न त्यता गरिएन । महामन्त्रीहरुका गतिविधि नियन्त्रण नभए विकल्प खोज्ने चेतावनी भयो । सभापतिका पक्षबाट सभापतिको कमजोरीको ‘क’ पनि उच्चारण हुन सकेन ।

जिल्ला सभापतिहरुले पनि पार्टीलाई विधानअनुसार सञ्चालन गर्न नसकेको, पार्टीले कार्यक्रम दिन नसकेको, गुटबन्दीको शिकार भएको जस्ता विषय उठाएका थिए । तर, एमसीसी अनुमोदनका समयमा एकढिक्का देखिएको कांग्रेस त्यसअघि वा पछि एकढिक्का देखिएको छैन । यस्तो हुनुका पछाडि के कारणहरु छन् भन्ने समीक्षा पनि कांग्रेसको बैठकमा भएन । एकले अर्कोलाई प्रश्न गर्नेमा बैठक केन्द्रित भयो ।

केन्द्रीय सदस्य उदयशमशेर राणाले पार्टीभित्रको हिलो छ्यापाछ्यापले युवाहरुको आकर्षण अन्यत्र देखिएको भन्दै महामन्त्रीहरुलाई नै सच्चिन आग्रह गरे ।

महामन्त्री गगन थापाले संसदीय दलको नेता परिवर्तनका लागि प्रयास गर्छु भनेको विषय, महामन्त्री विश्वप्रकाश शर्माले संसदीय र राजकीय फाँट छोडेर देउवाले सभापतिका रुपमा मात्र निरन्तरता दिनुपर्ने भन्दै दिएका अभिव्यक्तिलाई लक्षित गरेर सभापतिनिकट र मनोनीत सदस्यहरुले प्रहार गरे । तर, उनीहरुले पार्टीहितको बहस गरेनन् ।

केन्द्रीय समिति बैठक पार्टीलाई सही गन्तव्यमा पु¥याउनका लागि पहल लिनेभन्दा सभापतिको बचाउका लागि महामन्त्रीहरुमाथि प्रहार गर्न र आफूलाई सभापतिको असली विश्वासपात्र दर्ज गर्नेमा केन्द्रित देखियो ।

केही केन्द्रीय सदस्यले बालकृष्ण खाँणको निलम्बनमा पार्टीलाई के अप्ठेरो छ भनेर प्रश्न उठाए । त्योभन्दा धेरैले खाँणको बचाउमा पार्टी लाग्न नसकेको बरु नेताहरुले गृहमन्त्रीलाई प्रोत्साहन गरेको भनेर आपत्ति जनाए । बाँकी ठूलो संख्याले त्यो विषयमा बोलेन । रोचक पक्ष त मनोनीतहरु महामन्त्रीविरुद्ध लागेकै थिए, देउवापक्षका निर्वाचित केन्द्रीय सदस्यको पनि चाहना देखियो गल्ती महामन्त्रीबाटै भएको हो भन्ने कुरा स्थापित गर्नमा ।

कांग्रेस केन्द्रीय समिति अझै केही दिन चल्नेछ । प्रत्यक्ष प्रसारणका कारण औपचारिक बनाइएको केन्द्रीय समिति पार्टीको आन्तरिक समस्या समाधान गर्दै नागरिकमा आशा जगाउने गरी सामूहिक कार्यक्रम लिएर निस्कने, नेताहरुबीच मन माझामाझ गरी विश्वास र हार्दिकता बढाउने तथा कार्यकर्तामा उत्सह सञ्चार गर्ने काममा चुक्ने निश्चितजस्तै देखिएको राजनीतिक विश्लेषक बताउँछन् ।

“महाधिवशेनमा विचारको बहस नगरेको कांग्रेसमा केन्द्रीय समितिमा विचारको बहस हुने अपेक्षा पनि थिएन । सभापतिले सुरक्षा खोज्दा चाकडी गर्नेहरुको हुल तयार हुनु पनि अस्वाभाविक होइन,” प्राध्यापक डा. लोकराज बरालले बाह्रखरीसँग भने, “कांग्रेस आफ्ना समस्याको पहिचान र सुधारका पक्षमा पनि उभिन नसक्नुले उसको शाख थप गिर्ने अवस्था देखिँदै छ ।”

प्राध्यापक बराल देउवाले आफू शारीरिक र मानसिक रपमा गले पनि संख्याको राजनीतिमा अब्बल सावित गरेको भन्दै अब गगन थापाहरुले पनि नेतृत्व फेर्छौँ, संसदीय दलको नेता फेर्छौँ भन्न छोडेर संगठन निर्माणमा जुट्नुपर्ने अवश्यकता औँल्याउँछन् ।

“गगनले पनि संसदीय दलको नेता फेर्छु, फेरि चुनाव लड्छु भन्नेभन्दा देशव्यापी संगठन निर्माणमा लाग्नुप¥र्यो । संसदीय दलको नेता बन्छु मात्र भन्दा व्यक्तिगत स्वार्थमा हिँडेजस्तो देखिन्छ,” बरालले भने, “संख्या पु¥याएर फेर्न सके त्यही क्रान्तिकारी कदम हुन्थ्यो होला । तर, नसक्ने अवस्थामा त्यो कुरा उठाउनुभन्दा संगठन निर्माण गरेर अर्को चुनावमा पार्टी जोगाउन लाग्नु उपयुक्त होला ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro