काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा उदाएका नयाँ दलका कारण विदेशिनेको संख्यामा वृद्धि भएको आरोप लगाएका छन् ।
उनले 'विदेश गएकाहरूलाई देश फर्काउँछौँ' भन्नेहरू राजनीतिमा उदाएपछि देश छाड्नेहरू बढेको बताएका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गरेर अभिव्यक्ति दिएका हुन् । यद्यपि उनले रास्वपाको नाम उल्लेख गरेका छैनन् ।
"नेकपा (एमाले) सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्छ । तर, तथ्यहीन रूपमा पुराना पार्टीका कारणले विदेशिने बढे भनेर एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो," उनले फेसबुकमा भनेका छन् ।
"विदेशमा गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए । तर, उनीहरू राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशिनेको संख्या झनै बढ्यो," पोखरेलले भनेका छन् ।