site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सौन्दर्य र सुगन्ध

आज तिर्खा लागेर खोला धाएको । तृप्त भएर प्यास मेटियो । खोला खहरे पनि भेटियो । बाख्राका बथान र पाठापाठी पनि देखियो । प्यास मेटाउने कति थरी पानीका मूल मुहानहरू ।

जरुवा पानीको स्वादै बेग्लै । कुवा, इनार, ट्युबेल, बोरिङका पानीको स्वाद फरक । झरना, खोला, खहरे, तालतलैयाहरूका पानीको अर्कै स्वाद । पानी त पानी नै हो, तैपनि स्वाद फरक–फरक हुने रहेछ ।

अरू त अरू फूलैफूलको सुनजस्तै बारी पनि पुगियो । चाँदीजस्तै बारीका पाटा पनि टेकियो । देख्नु, हेर्नु र आनन्दित हुनुको एक प्रीतिकर क्षणलाई सम्झनामा उनेर पनि राखियो ।

Dabur Nepal
NIC Asia

फूलहरू, रङहरू, रहरहरू, कहरहरू । सहरमा कहाँ भेट्नु कलिला, कमनीय मायालु रूपहरू, रङहरू ! मायाको बहानामा लुछेर, चुँडेर फाल्ने मनहरू छन् यहाँ । मायाले जोगाउने, हुर्काउने मनहरूको कमी छ यहाँ ।

फुल्नु मात्र जीवन होइन । त्यससँगै सौन्दर्य र सुगन्ध आउनुपर्छ । तर, यतिमात्रै पनि पर्याप्त हुँदैन । त्यसमा उत्सुकता जागृत हुन सक्नुपर्छ । शब्दमा जीवन खोज्दै छौँ हामी । तर, जीवनबाट शब्दहरूको अभिव्यक्ति उत्पन्न गराउन सक्नुपर्छ ।

ज्ञान भएर मात्र पनि हुँदैन । सम्प्रेषण, संवाद र सञ्चार पनि हामीले गर्न सक्नुपर्छ । ज्ञान तटस्थ भएर बस्छ, हामीले त्यसलाई ‘एक्टिभ’ गराउन सक्नुपर्छ । यस्तो जीवन फुलेको फूलजस्तै सुन्दर र सुगन्धमय हुन्छ । जसले हामीलाई सधैँ सकारात्मक सोच र सिर्जनाको धनी बनाउँछ ।

परन्तु, आज हामीमा नकारात्मक विचारले बास बस्दा जीवन तनाव र हैरानीले व्यथित छ । यसबाट मुक्त हुन हरेक क्षण हामीले खुसी र सन्तुष्टि महसुस गरिरहनुपर्छ । तब फूल फुल्नुको उपलब्धि र सुगन्ध बाँड्नुको ध्येय पनि पूर्ण हुन्छ ।

फुल्नु र उड्नु परिवर्तनको एक नियमित प्रक्रिया । सकारात्मक सन्देश र परिणामको दसी । ऐन मौका मौलाउँछन् अनेक अनुभूतिका आलेखहरू ! मुर्झाउँछन् मौन रहेका चेतनतत्त्व । अनि, पुष्पित र पल्लवित हुन थाल्छन् जिन्दगीका नवीनतम् खुसीका अभिव्यक्तिहरू ।

फुल्नुको उपलब्धि फुल्नुमै मात्र सीमित भइरहनु उचित होइन । फुलिसकेपछि उसको सुन्दरतम् कर्तव्य ‘शोभायमान’ हुनु । जस्तो कि प्रायः फूलले पवित्र कर्मको कर्तव्य पूरा गर्छ । माला बनेर गलामा सजिनु त सामान्य भयो ।

भगवान्को शिर र पाउमा समेत फूलले महत्त्वपूर्ण स्थान पाउँछ । कति भाग्यमानी फूल ! तब फूल फुल्नुको सार्थक स्वरूप छर्लंग हुन्छ, जब फूलको सौन्दर्य र सुगन्धका साथै फूल ‘प्रसाद’ बनेर एक दिव्य सनातन संस्कृतिको प्रतिनिधित्व गर्छ ।

त्यसैले हरेक परिवर्तन र कर्महरू हाम्रा जीवन–संस्कृतिका धरोहर हुन् । फुलेर खुसीका मुस्कान बाँडिरहेका परागहरू । फुल्नुको परिवर्तन र खुसीको मुस्कान बाँड्नुको कर्महरू । परिवर्तनले सुधार ल्याउँछ । परिवर्तनले राम्रोपन सिर्जना गर्नुपर्छ । परिवर्तन भइरहन्छ, भइरहनु नै यसको विशेषता । परिवर्तन शून्यत जीवन शून्य हो ।

राम्रोका लागि हुन्छ परिवर्तन । सकारात्मक परिणामका लागि परिवर्तन हुन्छ । कहिलेकाहीँ परिवर्तनले नराम्रो परिणाम पनि ल्याउँछ । तर, त्यसलाई सहज रूपमा ग्रहण गरी बरु त्यसबाट हुने सम्भावित जोखिम थाहा पाउने कोसिस गर्नुपर्छ । यसो गरिँदा भवितव्यको भयबाट मुक्त हुन सजिलो हुन्छ ।

वास्तवमा परिवर्तन प्राकृतिक कुरा हो । यो प्रक्रिया सधैँ भइरहेको हुन्छ । परिवर्तनलाई हामीले व्यवस्थापन गर्न सक्नुपर्छ । व्यवस्थित परिवर्तनले खुसियालीको वातावरण निम्त्याउँछ । खुसी र सुख भन्ने कुरा हाम्रै बोली, व्यवहार र आनीबानीमा भर पर्छ ।

जीवनमा कहिल्यै कोही पनि सुख र खुसीमा मात्रै आनन्दित भइरहेको हुँदैन । सुखी मानिस झन् बढी अनेकौँ पीडा र तनावले ग्रस्त भइरहेको हुन्छ । दुःखी मानिस बरु हाँसेर बाँचिरहेको हुन्छ ।

यस्तोमा फूलले दुःखी मनहरूलाई सान्त्वना दिन्छ । किनकि, काँडैकाँडाका बीच हुर्केर, बढेर पनि फूलले आफ्नो मौलिकता कायम राखेको हुन्छ । कुनै कमी हुँदैन रङ, रूप र सुगन्धमा । घामले पोले पनि असिना, झरीले पिटे पनि । कोपिला फक्रिहाल्छ, फुलिहाल्छ फूल ।

फुलेपछि कति सन्तुष्टि र सुख ! त्यही सन्तुष्टि र सुख हामीलाई बाँड्छ । आफ्नो खुसी अरूलाई बाँडेर आनन्दित हुने, धन्य फूल ! हामी पनि आफ्ना तनाव र पीडाहरू फूलको सौन्दर्य देखेर बिर्सिने कोसिस गर्छौँ । फूलका अनेक रङ र सुगन्धले लट्ठिन्छौँ ।

यता, परेवा–पक्षीका उन्मुक्त उडान वास्तवमा खुसी जिन्दगीको अभिव्यक्ति । सुन्दर परिवर्तन र सुखद जीवनको विम्ब । कुनै पनि सौन्दर्य अन्तर्मनदेखिको साँचो आवरण हो । त्यही आवरण हेरेर व्यक्ति र वस्तुका सारतत्त्व हामी महसुस गर्छाैँ ।

अन्ततः फुल्नु र उड्नुको अर्थ परिवर्तनको एक नियमित निरन्तरता । जसले हामीलाई अलग्ग ज्ञानको सागरमा लैजान्छ । त्यहाँ हामी बल्ल आफूलाई चिन्ने प्रयत्नमा लाग्छौँ । र, विस्तारै हामीभित्रका ज्ञानचक्षु बाहिरसम्म विस्तारित हुने कोसिसमा लाग्छन् ।

फलतः हामी पनि उन्नति–प्रगतिको चुली–चुचुरामा पुगेर यौटा आह्लादित स्वप्न–संसारमा हराउँछौँ । यसरी हराउनुमा अलग्गै सुख मिल्छ । यसरी अलग्ग सुखमै सांसारिक आनन्द भेटिन्छ । यसकै निम्ति मरिहत्ते । यही प्राप्तिमा हत्तेहैरानी । भेट्नुसँगै बचाउनु र जोगाउनुको उपक्रम थाल्नुपर्ने भएको छ । यौटा अभियान संरक्षणको । यौटा आन्दोलन सुरक्षाको ।

अलिकति बाँकी राखौँ चिनोचपेटा, चिर्कटो भए पनि । सबै सिध्याए, जिलीगाँठी समाप्त पारिदिए के बाँकी रहन्छ र, रहँदैन केही । नरहेपछि के देख्नु, के भेट्नु आफ्नै पाइला–पदचापहरू !

गुराँस फुल्ने अलिकति पाखो, उन्युँ उम्रिने अलिकति खोल्सो, डाँफे नाच्ने, मयूर रमाउने वनपाखा । सुनाखरी, गुनकेसरी, पारिजात, बेगमबेली आदि अनेकौँ फूलहरू । यी सबैको अस्तित्व बाँकी नराखी सकेपछि केही रहँदैन चिनोबानो ।

बरु, चौतारा, पँधेरो, भञ्ज्याङको बिसौनी । अलिकति सुसेली, बयली र गोधूलिका गुनगुन बाँकी राखौँ जतनले भोलिका निम्ति । जतनले जोगाऔँ हाम्रै आफ्नै सन्ततिका लागि ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro