इटालीका भिन्चेन्सो अल्बर्टो एनेस अहिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक छन् । विवादस्पद छवि बनाएका अब्दुल्लाह अल्मुताइरीको बहिर्गमनपछि उनको स्थान लिएका हुन्, एनेसले । सुरुका केही दिन अल्मुताइरीजस्तै एनेस पनि विभिन्न विवादमा मुछिए ।
पछिल्लो समय उनी शान्त छन् । कमै बोलेका छन् । एन्फाले गएको फागुन १७ गते एनेसलाई नेपाली राष्ट्रिय टिमको जिम्मेवारी सुम्पिएको थियो । एनेसको प्रशिक्षणमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता र भारतमा सम्पन्न सम्पन्न साफ च्याम्पियनसिप–२०२३ मा प्रतिस्पर्धा गरिसकेको छ । साफमा नेपालको प्रदर्शन निराशजनक रह्यो । भुटान र लाओस सम्मिलित त्रिदेशीय कपको उपाधि भने नेपालले जितेको थियो । साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिँदा नेपालले पाकिस्तानलाई मात्र हराएको थियो ।
एनेससँग यूएईएफए प्रो लाइसेन्स छ । यस हिसाबले उनी नेपाली फुटबलले पाएको माथिल्लोस्तरका प्रशिक्षकमध्येमा पर्छन् । उनले प्रशिक्षकका रूपमा ११ फरक टिम सम्हालिसकेका छन् । ३८ वर्षीय एनेस यसअघि भारतीय आई लिगको क्लब नर्थइस्ट युनाइटेडको जिम्मेवारीमा थिए ।
साफबाट फर्किएलगत्तै उनले विश्वकप छनोटको पहिलो चरणका लागि ३० सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन् । नेपाली टिमले आउँदो अगस्ट १ देखि प्रशिक्षण सुरु गर्नेछ । उनी हाल बिदा मनाउन आफ्नो घर (इटाली) पुगेका छन् । जुलाई अन्तिम साता नेपाल फर्कनेछन् । इटाली जानुअघि एनेससँग बाह्रखरीका आशिष पुडासैनीले साफ च्याम्पियनसिप र फुटबलका विभिन्न विषयमा गरेको कुराकानीको सम्पादित अंश :
यहाँ आउँदा कस्तो महसुस भएको छ ?
तपाईंले मलाई बोलाउनुभयो । त्यसमा म निकै कृतज्ञ महसुस गरिरहेको छु । तपाईंलाई पनि थाहा होला, यसअघि धेरैले अन्तर्वार्ताका आग्रह गरे पनि मैले दिएको थिइनँ ।
तपाईंको नम्र शैली मन परेको हुनाले यस अन्तर्वार्ताका लागि म सहमत भएको हुँ । हामी राम्रो अन्तर्वार्ता गर्नेछौं भन्ने विश्वास छ ।
नेपालमा तपाईंको बसाइ कस्तो भइरहेको छ ?
हालसम्म सहज नै महसुस गरेको छु । एन्फाले मलाई आवश्यक पर्ने सबै सुविधा दिएको छ । म खासै खाली बस्न परेको छैन । खेल र खेलको प्रशिक्षण नहुँदा पनि हामी नेपाली टिमलाई कसरी सबल बनाउने भनेर एन्फाका फुटबल विश्लेषकहरूसँग छलफल गरिरहेका हुन्छौं ।
विशेष गरी म काठमाडौं बाहिर गएको छैन । काठमाडौंवासीहरू समझदार छन्, यसैकारण म उनीहरूलाई सम्मान गर्छु । म नेपाली खेलाडी र एन्फा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्न निकै सहज महसुस गर्छु । यसबाहेक, काठमाडौंबाहिरका ठाउँहरू पनि जाने मेरो इच्छा छ ।
तपाईंलाई इटलीको कति सम्झना आउँछ ?
मलाई इटलीको धेरै सम्झना आउँछ । म इटली नगएको तीन वर्ष भइसक्यो । म फुटबलमा र आफ्नो काममा मात्र केन्द्रित थिएँ । विशेष गरी मलाई मेरो बहिनी र इटालियन खानालाई मिस भइरहेको छ । तर, फुटबललाई नै प्राथमिकतामा राखेको हुनाले घर परिवारलाई समय दिन पाइरहेको छैन ।
इटालियन पिज्जा कत्तिको ‘मिस’ भइरहेको छ ?
‘आई लब इटालियन पिज्जा’ । तर, काठमाडौंमा पनि स्तरीय खानेकुरा पाइन्छ । मलाई मःम, चिकेन मःम मन पर्छ ।
मैले नेपाली खाना एकदम रुचाएको छु । नेपाली खाना भारतीय खानाको तुलनामा कम पिरो र मसालेदार छन् । जसकारण, मलाई नेपाली खाना व्यावहारिक लाग्यो ।
साफ च्याम्पियनसिपमा तपाईंको अनुभव कस्तो रह्यो ?
सर्वप्रथम विजेता भारत र भारतीय फुटबल फेडेरेसनलाई बधाई छ । सँगै प्रशिक्षक इगोर स्टिमाक र खेलाडीहरूलाई पनि बधाई दिन चाहन्छु । उनीहरूले धेरै राम्रो गरे । उनीहरूले लगातार तीन उपाधि जिते (त्रिदेशीय कप, अन्तरमहादेशीय र साफ) । उनीहरूले यी तीनै प्रतियोगिता आयोजना गर्नुको उद्देश्य भारतीय फुटबललाई अझ स्तरीय बनाउनु हो ।
भारतसहितका अन्य साना देशहरूले पनि फुटबल विकासका लागि भारतीय फुटबल संघसँग सहकार्य गर्न सक्छन् । जब भारतले जित्छ, ठूलो देशले जित्यो भन्ने हुन्छ ।
तर, भारतले जितेजस्तै हामीले पनि नेपाली फुटबलमा सुधारको आशा गर्न सक्छौँ । यदि, म गलत छैन भने अबको ‘दुरन्द’ कपमा केही नेपाली टिमसहित सुरु हुनेछ, सेप्टेम्बर–अक्टोबरमा । वास्तविक मिति थाहा छैन । यसले नेपाली फुटबलमा पनि ठूलो सुधार ल्याउन सक्छ ।
र, मलाई विश्वास छ, यदी, नेपाली फुटबल लिगमा एक राम्रो प्रशासन हुने हो भने हामीले राम्रो नतिजा निकाल्न सक्छौं । मैले फुटबल लिगमा राम्रो प्रशासन भनेको हो ।
मैले संस्थाको बारेमा नभइ निजी संस्था जसले फुटबलमा गर्न सक्ने लगानीको बारेमा कुरा गर्न खोजेको हुँ ।
यदी भारतको फुटबल संघलाई हेर्ने हो भने उनीहरूले राम्रो काम गरिरहेका छन् । किनकि उनीहरूले धेरै स्पोन्सरसिप पाएका छन् । र, नेपाली फुटबलमा यो केही मिस भइरहेको छ । म भारतका लागि खुसी छु । किनकि म दुई–तीन वर्ष भारतको एक टिममा प्रशिक्षकको रुपमा थिएँ । त्यसकारण म यो सबै कुराहरू देख्दा खुसी छु ।
नेपाली फुटबलका बारेमा, म हामीले साफ च्याम्पिनयसिपमा देखाएको प्रदर्शनका कारण खुसी छु ।
नेपालसँग यो मेरो एसियामा पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । भारत म पछिल्लो तीन वर्षदेखि काम गरेको पछिल्लो मुलुक थियो ।
तयारीका लागि निश्चित समयबिनै फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलअघि दुई–तीन दिनको प्रशिक्षण गर्यौँ ।
त्यसपछि हामी भारतबाट सोझै भारत गयौं । हामीले राम्रो गर्यौँ । खेलाडीले यो ठूलो प्रतियोगितामा सहभागिताका लागि आफूलाई तयार राखे ।
भारत, कुवेत र पाकिस्तानजस्ता टिमसँग प्रतिस्पर्धा गर्नु त्यहाँ कुनै पनि टिमका लागि सहज थिएन ।
पाकिस्तान पनि एक राम्रो देश हो, जसले पछिल्लो समय विदेशका खेलाडी ल्याएर राम्रो गरिरहेको छ । त्यहाँका धेरै खेलाडीहरू इंग्ल्यान्ड, प्रिमियर लिग र एस्टन भिल्लामा खेल्नछन् ।
धेरै खेलाडीहरू ग्रिसको प्रिमियर लिग, डेनमार्कबाट आएका छन् । मलाई लाग्छ, हामीले निकै राम्रो गर्यौँ ।
साफ च्याम्पिनयसिपमा वास्तविक अपेक्षा के थियो । नेपाली खेलाडीहरूले तपाईंले आश गरेजस्तो प्रदर्शन गरे ?
मेरो अपेक्षा सधैँ जित नै हुन्छ । यदी हामीले रियल मड्रिड, इटाली र ब्राजिलसँग खेलिरहेका छौं भने पनि मेरो अपेक्षा जितको नै हुन्छ । किनकि म विजेताको रुपमा जन्मिएको हुँ । म विपक्षीमा को छ भन्ने हेर्दिनँ । पक्कै पनि हामीले हाम्रो समूहमा दुई ठूला मुलुक कुवेत र भारतसँग प्रतिस्पर्धा गर्यौँ । मलाई थाहा छैन, कुवेत फिफा वरीयतामा १४३, १४५ कति स्थानमा छ । तर, वरीयता नम्बर मात्र हो । उनीहरू राम्रो क्षमता भएको टिम थिए ।
भारत, अहिले पछिल्लो समय फुटबल दिन प्रतिदिन राम्रो हुँदै गइरहेको एसियाको ठूलो टिम हो ।
यो सबैले ध्यान दिन आवश्यक एक नयाँ मुलुक हो । भारत अन्य ठूलो टिम कोरिया, अस्ट्रेलिया, जापान, चीनजस्तै टिम हो । किनकि अहिले इन्डियन सुपर लिग (आईएसएल) सुधारको विन्दुमा पुगेको छ ।
सायद तीन वर्षअघि कोभिडको समयमा त्यहाँ राम्रो भौतिक सुविधा र आईएसएलमा विदेशी प्रशिक्षकहरू थिएनन् ।
तर, अहिले प्रत्येक आईएसएल टिममा विदेशी प्रशिक्षकहरू छन् । उनीहरूसँग खेलको विश्लेषण गर्ने प्रशिक्षक, गोलकिपर प्रशिक्षक, फिजिकल कोच, एकेडेमीमा यूईएफए प्रो प्रशिक्षक, दोस्रो दर्जाको टिममा यूईएफए प्रो कोच, सिनियर टिममा यूईएफए प्रो प्रशिक्षक छन् ।
जसले भारतको राष्ट्रिय टिमलाई अझ माथि लैजान्छ ।
मलाई लाग्छ, नेपाल फुटबलले विदेशी प्रशिक्षक मिस गरिरहेको छ ।
जसले यहाँको फुटबल र खेलाडीलाई विकासको मार्गमा लैजान्छ । दुःखद कुरा हो, तर नेपाली लिगमा मैले केही क्लबका प्रशिक्षण मैदान हेर्दा उनीहरूले प्रशिक्षकसँग पनि वार्म अप गरेनन् ।
धेरै टिमसँग गोलकिपर प्रशिक्षक पनि थिएनन् । मलाई लाग्छ, कति टिमलाई फिजिकल कोच भनेको पनि थाहा छैन ।
खेल विश्लेषण प्रशिक्षक भन्ने थाहा छैन । खासमा हामीसँग तथ्यांक नै छैन ।
हामीसँग फुटबल विकासका लागि खेल विश्लेषण कार्यक्रम नै छैन । यी कुराहरूमा लगानी नेपाली फुटबलका लागि उत्कृष्ट हुन सक्छ ।
धेरै प्रशिक्षकहरूसँग मलाई लाग्छ यूईएफए प्रो लाइसेन्स छैन ।
केही प्रशिक्षकहरूसँग एसियाबाट लिएको बी र ए लाइसेन्स छ ।
मलाई लाग्छ हामीले नेपाली फुटबलमा अझ यूईएफए प्रो कोचको विकासको आवश्यकता छ ।
यी सबै कुराहरू मैले नेपाली फुटबल कहाँ छ र भविष्यमा नेपाली फुटबल पुग्न सक्ने स्तरका बारेमा सुनाएको हुँ ।
साफ च्याम्पियनसिपमा हामी ‘ग्रुप अफ डेथ’मा थियौं । यो कुराले नेपाली खेलाडीको मानसिकतामा प्रभाव पारेको हो ?
प्रभाव पारेको हुन सक्छ । बेंगलुरु यस्तो सहर जहाँका मानिस फुटबल मन पराउँछन्, फुटबल पछ्याउँछन् । पक्कै पनि त्यहाँ केरला, कोलकाता र गोवाजस्ता राम्रो समर्थन भएको टिम र सहर पनि छन् । तर, बेंगलुरु पनि पछिल्लो समय फुटबलमा राम्रो गरिरहेको टिम हो ।
बेंगलुरु सहरभित्रै पनि थुप्रै टिमहरू छन् । त्यहाँ रहेको फुटबलमय वातावरणले भारतीय टिमलाई अझ बलियो बनाउँछ ।
भारत पक्कै पनि समूहको सबैभन्दा बलियो टिम थियो ।
समूह चरणमा उनीहरूसँग वास्तविक क्षमता छ भन्ने थाहा थियो ।
र, हामी फुटबलका ठूलो प्रतिद्वन्द्वी भए पनि र उनीहरूसँग हामीले राम्रो खेल देखाए पनि मलाई भारतको नाम लिँदा खेलाडीमा के कुराले प्रभाव पार्छ भन्ने पनि थाहा छ ।
मैले भनेको उच्च स्तरमा पुग्न हामीले ‘फिजिकालिटी’ पनि मिस गर्यौँ । तर पनि भारतविरुद्ध हामीले राम्रो गर्यौँ ।
कुवेतविरुद्ध, हामीले पहिलो हाफमा राम्रो गर्न सकेनौं ।
व्यक्तिगत रुपमा च्याम्पिनयसिपमा सबै टिमको भन्दिन तर केही खेलाडीको शैली मलाई राम्रो लागेन ।
त्यसकारण, दोस्रो खेलमा मैले खेलाडी परिवर्तन गर्नुपर्यो । मेरो विचारमा आफ्नो देशका लागि शब्द खराव होला तर उनीहरूलाई मार्नका लागि पनि शतप्रतिशत तयार हुनुपर्छ । यो मेरो स्वभाव हो किनकि मैले नेपालका लागि शतप्रतिशत दिएको छु र म उनीहरूबाट पनि यही चाहन्छु ।
उनीहरूले आफ्नो देशप्रति गर्व गर्नैपर्छ । उनीहरूले देशको प्रतिनिधित्व गर्नेपर्छ । मैले ११ फरक देशहरूमा काम गरेको भएकाले म मानिसहरूले भन्ने गरेको सुन्ने गर्छु, म जितका लागि गर्न सक्ने सबैकुरा गर्छु ।
धेरै खेलाडीहरू यसबारे कुरा गर्छन् तर उनीहरूले यो गरिरहेका हुँदैनन् । म मेरो खेलाडीले यो कुरा सुनाउन भन्नेमात्र चाहँदिन । अर्थात उनीहरूले यो गर्नैपर्छ ।
उनीहरूले यसलाई वास्तविकता बनाउनु पर्छ । व्यक्तिगत रुपमा म कुनै पनि देशसँग डराउँदिन । म मेरो खेलाडीबाट सधैँ सबै देशविरुद्ध जितको आश गर्छु । भारतविरुद्ध सायद हामी पहिलो हाफमा गोल गर्न डरायौं ।
त्यसमा सुधार गर्न सक्छौं तर जे भयो सायद अनुभवको कमीले पनि हुन सक्छ । किनकि खेलमा हामीसँग २२ वर्षमुनिका २१ वर्ष मुनिका खेलाडीहरू थिए । नेपालको भविष्यका लागि यो निकै सुधारात्मक हुनेछ भन्ने मलाई लाग्छ ।
पाकिस्तानविरुद्ध मैले गणना गरेअनुसार हामीले किपरअगाडि ५–६ मौका खेर फाल्यौं । हामीले रक्षापंक्ति क्षेत्रमा बल पोसेसनमा राम्रो प्रदर्शन गरेनौं ।
तर, हामीले धेरै मौका बनायौं । म मेरो टिमले मौका बनाएको हेर्न चाहन्छु । हामीले एक युवा १८ वर्षीय चौधरीबाट गोल पनि गर्यौँ । म उसको लागि निकै खुसी छु । र, यसले हाम्रो भविष्य बनाउन सक्छ । एक खेलाडीले पनि देशको भविष्य निमार्ण सक्छ ।
नेपाली टिमको कमजोर पक्ष के थियो ? र, कुन पक्ष सन्तोषजनक रह्यो ?
अनुभव, अन्तर्राष्ट्रिय अनुभव टिमको कमजोर पक्ष रह्यो ।
टिममा एकअर्काप्रति भाव नहुनु पनि कमजोर पक्षको रुपमा रह्यो । किनकि हामीले राम्रो प्रशिक्षण पनि गरेनौं । मैले तीन–चार प्रशिक्षण मात्र गरेँ । यी तीन–चार प्रशिक्षणमा उच्च तिव्रता थाहा हुन्छ । र, मलाई लाग्छ यसले टिमलाई अझ फरक बनाउँछ ।
यो नै एकमात्र कमजोर पक्ष हो । एक प्रशिक्षकले हाम्रोविरुद्ध विश्लेषण गर्दा उनीहरूले हाम्रो सेट पोजिसन, फ्रि–किक, रक्षापंक्ति, कर्नर किकका बारेमा हेर्छन् ।
नेपाली खेलाडीहरूमा हामीसँग अग्लो कद छैन । अहिले हामीसँग म्यान टू म्यान मार्क गर्न सेन्ट्रिमेट्री नै छैन । मैले नेपालको प्रशिक्षण सम्हालेयता सात खेल यही कुराले लिएको छ ।
हामीले कर्नर किकमा तीन गोल बेहोरेको देख्छौं । यसले मलाई निकै दुःख दिन्छ । किनकि मैले हरेक क्षेत्रको अध्ययन गरेको हुन्छु, विशेषगरी रक्षापंक्तिमा । हामीले तीन गोल बेहोर्न सक्दैनौं । किनकि सायद हामीसँग छोटो सेन्ट्रिमेट्री छ । हामीले यसमा काम गर्न आवश्यक छ । मैले अनुभव भने, तर सायद रक्षापंक्तिबाट खेल्नलाई त्यो पर्सनालिटी मिस गरिरहेका छौं ।
बललाई धेरैभन्दा धेरै नियन्त्रणमा राख्ने । हामीलाई कहिले आक्रमण गर्नुपर्छ र कहिले रक्षात्मक बन्नुपर्छ भन्ने नै थाहा भएन ।
कहिलेकाँही खेलाडीले भर्टिकल बलभन्दा होरिजेन्टल बल खेल्न आवश्यक हुन्छ ।
हामीले कहिले ५–६ खेलाडीसहित आक्रमण गर्न र कहिले दुई–तीन खेलाडीसहित आक्रमण गर्न सक्छौं भन्ने बुझ्न आवश्यक छ ।
यी कुरा खेलेपछि गल्तीहरूबाट थाहा हुन्छ । यो प्रतियोगितामा मैले ४–३–३ खेलाउन सुरु गरेँ । त्यसपछि मैले ४–२–३–१ मा परिवर्तन गरेँ । त्यसपछि मैले पाकिस्तानविरुद्ध नेपालको जितका लागि तीन फरक प्रणाली अपनाएँ । मलाई लाग्छ हामीले यसलाई निकै चाँडो अपनाउन सक्यौं । नेपाली खेलाडीहरू रणनीति निकै छिटो सिक्न र मेरो निर्णयअनुसार खेल्न स्मार्ट छन् । हामी भविष्यमा अझ राम्रो गर्न सक्छौं भन्ने मेरो विश्वास छ ।
साफ च्याम्पियनसिपभन्दा अघि लिग जुन १० मा समाप्त भएको थियो, हामीसँग सबै ११ खेलाडी थिए, तर रोहित चन्द थिएनन् ।
हामीले रोहित चन्दलाई फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलका लागि जुन १३ मा मात्र भेट्यौं ।
त्यसपछि मात्र हामीले जुन १५ मा हुने फिलिपिन्ससँगको खेलका लागि तयारी गर्यौँ । हामीले एकसाथ एक वा दुई दिनमात्र पायौं ।
र, सायद यो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हामीले बराबर गर्नुपर्थ्यो । यसले सायद भविष्यमा हामीलाई साफका लागि अझ बलियो बन्न सहयोग गर्न सक्थ्यो ।
मैले यसले साफमा प्रभाव पर्यो भन्न खोजेको हैन, तर म हामीले अरु एक मैत्रीपूर्ण खेल खेल्न पाएको भए हामी साफ च्याम्पियनसिपका लागि अझ तयार हुन सक्थ्यौं ।
किनकि त्यसपछि हामीले उच्च स्तरको कुवेतविरुद्ध खेल्यौं ।
जो दुई अन्तर्राष्ट्रिय खेलपछि आएको थियो । त्यसपछि हामीले भारतसँग खेल्यौं । जसले दुई प्रतियोगितामा खेलेर दुबैको उपाधिसहित सायद छ, सात वा आठ अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
त्यसपछि हामीले पाकिस्तानसँग खेल्यौं । जसले अर्को ठूलो प्रतियोगितामा तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेर आएको थियो ।
मैले भन्न खोजेको यही नै हो । फिलिपिन्सपछि हामीले कुवेत, भारत र पाकिस्तासँग खेल्यौं ।
उनीहरूले गएको महिना धेरै अन्तर्राष्ट्रिय अनुभव लिएका थिए ।
भारतले मे १५ देखि एकसाथ प्रशिक्षण सुरु गरेको थियो ।
कुवेत पनि मे १५ भन्दा अघिदेखि प्रशिक्षण गरेर आएको थियो ।
उनीहरूको लिग समाप्त भइसकेको थियो, त्यसकारण उनीहरूले एकसाथ प्रशिक्षण गरे ।
केही खेलाडीहरू अझ अघिदेखि आएका थिए । कुवेत र पाकिस्तान दुबैको उस्तै हो ।
यदी म गलत छैन भने उनीहरूले मोरिससमा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरे ।
त्यसकारण छोटो समयमा हामीले निकै राम्रो काम गर्यौँ ।
र, मेरो चाहना पनि सेट पोजिसनमा, काउन्टर अट्याकमा र रक्षात्मक क्षेत्रमा टिमलाई विशेष संगठित बनाउन एक महिनाभन्दा बढी समय पाएको भए हुन्थ्यो भन्ने थियो ।
धेरै पटक हामीले रणनीतिक गल्ती गरेनौं । हामीले अनुभव नभएका कारण गल्ती गर्यौँ । हामी खेलमा धेरै राम्रो थियौं । र, मलाई विश्वास छ हामीले पनि हाम्रो पारम्परिक प्रदर्शनमा सुधार गर्न सक्नेछौं । जसले कुवेत र भारतजस्ता ठूला टिमसँग खेल्दा ठूलो फरक पार्न सक्नेछ ।
तपाईंले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका लागि राम्रो टिम बनाउँन २–३ वर्ष लाग्छ भन्नुभएको थियो । अब हामी तपाईंलाई कति लामो समयमसम्म नेपाली टिमको प्रशिक्षकको रुपमा देख्न सक्छौं ?
यो कुरा मेरो हातमा छैन । जुनसुकै टिममा पनि सुधार देखिन टिमलाई प्रशिक्षकले लामो समयसम्म निरीक्षण गरेको हुनुपर्छ ।
नेपालजस्तो देशको सन्दर्भमा फुटबल विकास सहीरुपमा नभइ सक्दा यसमा झनै समय लाग्न सक्छ ।
राष्ट्रिय टिममा केही खेलाडीहरू छन्, जसले नेपाली राष्ट्रिय टिममा मौका पाएका नै छैनन् । हालसम्म मैले धेरै खेलाडीहरू परिवर्तन गरिसकेको छु । समग्रमा सुधारका लागि समय लाग्छ ।
केही खेलाडीहरू विदेशिएका छन् । केही खेलाडी विदेशिने तयारीमा छन् । यो दुःखद हो । खेलाडीमा क्षमता भए पनि राष्ट्रिय टिममा खेल्नका लागि आवश्यक मानसिकता नभएकाले पनि मैले परिवर्तन गरेँ ।
उनीहरूलाई राष्ट्रिय टिम सामाजिक सञ्जालमात्र हो जस्तो लाग्छ । एक खेलाडीको गोल गर्ने र भावनात्मक क्षमता क्लबभित्र देखिन्छ ।
तर, देशका लागि क्षमता देखाउनु क्लबका लागि भन्दा पूर्ण रुपमा फरक हो ।
मैले इटाली र अन्य देशमा पनि राष्ट्रिय टिममा धेरै फरक पार्न सक्ने एक खेलाडी देखेको छु ।
क्लबमा फरक पार्न सक्ने खेलाडी देखेको छु । मैले राष्ट्रिय टिममा केही नयाँ खेलाडी लिँदा केही समर्थकले मलाई व्यक्तिगत रुपमा म्यासेज गर्छन् ।
म आफैँ मेरो सामाजिक सञ्जाल चलाउँदिन । तर, उनीहरूले मलाई यो खेलाडी किन लिएको ? भनेर म्यासेज गर्छन् ।
राष्ट्रिय टिम खेलाडीले क्लबमा कस्तो प्रदर्शन गर्छ भन्ने हैन । राष्ट्रिय टिम खेलाडीले राष्ट्रिय टिममा कस्तो प्रदर्शन गर्छ भन्ने हो । र, कहिलेकाँही राष्ट्रिय टिममा खराव प्रदर्शन गरेको खेलाडीका बारेमा बाहिरबाट पनि उसले नराम्रो प्रदर्शन गरेको छ भन्ने सोचिन्छ ।
तर, सबै व्यक्तिहरूमा सम्मानसहित भन्न चाहन्छु मलाई पनि थाहा हुन्छ उक्त खेलाडीभित्र के चलिरहेको छ भन्ने । म शतप्रतिशत जितका लागि टिम बनाउँछु ।
म ३८ वर्षको भएँ । तर, मसँग २७५ भन्दा धेरै खेलहरूको अनुभव छ । म पाँच फरक देशमा विजयी भएको छु ।
म नेपाली फुटबलमा विश्वास गर्छु । हामी राष्ट्रिय टिमका लागि बलियो मानसिकता भएका खेलाडीमात्र छनोट गर्छौं ।
यो धेरै समर्थकहरूले बुझ्न आवश्यक छ । र, म उनीहरूले खेलाडीको समर्थन गरुन् भन्ने चाहन्छु । यो खेलाडी किन छनोट गरेको ? त्यसलाई किन नगरेको ?भन्नेजस्ता कमेन्टहरू म धेरै पटक पढ्छु ।
यी म्यासेजहरू निकै नराम्रा हुन्छन् । किनकि नेपालजस्तो सानो देशमा मलाई थाहा छ, खेलाडीहरूले पनि यो पढ्छन् ।
यो किन गरेको ? यो किन नगरेको भन्ने कुनै खेलाडीले पढ्नु निकै निराशजनक हुन्छन् ।
र, जो खेलाडी टिममा हुँदैनन्, उनीहरू आफ्नो समर्थक यस्तो हुनुमा कारण रहेको सोच्छन् ।
प्रशिक्षक एनेसले नचाहे पनि अरुले चाहन्छन् भन्ने सोच्छन् ।
जो टिमबाहिर छन्, उनीहरूले आफू किन बाहिर रहेको भन्नेबारे सोच्न आवश्यक छ ।
यदी मैले उनीहरूलाई खेल्ने अवसर दिएको थिएँ र अहिले उनीहरू टिमबाट बाहिर छन् भने यसको अर्थ उनीहरूले पछिल्लो अवसरमा राम्रो गर्न सकेनन् भन्ने हो ।
मैले राष्ट्रिय टिममा कोही खेलाडी छनोट गरे भने मेरो उबाट हरेक खेलमा शतप्रतिशत अपेक्षा हुन्छ ।
यदी मेरो अपेक्षाअनुसार कसैले प्रदर्शन देखाउँदैन भने पक्कै पनि उ राष्ट्रिय टिमबाट बाहिर हुन्छ ।
नेपालमा छनोट गरेको खेलाडीभन्दा छनोट नभएको खेलाडी निकै राम्रो छ भन्ने छैन । नेपाली फुटबलमा धेरै क्षमतावान खेलाडीहरू छन् र सबैसँगै उत्तिकै क्षमता छ ।
यसकारण, मानसिकताले नै एक खेलाडी र अर्को खेलाडीबीच ठूलो फरक पार्न सक्छ ।
नेपाल आउँदा तपाईंले म नेपाली खेलाडीलाई विदेशी लिग खेल्नका सहयोग गर्छु भन्नुभएको थियो । तपाईंले सावित्रा भन्डारीलाई सहयोग गर्नु पनि भयो । यसमा हामीले अझ धेरै आश राख्न सक्छौं ?
पक्कै पनि सय प्रतिशत । इमानदारिताका साथ भन्नुपर्दा म हरेक दिन यसका लागि काम गरिरहेको हुन्छु ।
उदाहरणका लागि भारत । म भारतमा जाँदा भारतीय एजेन्ट वा खेलकुद निर्देशक र अध्यक्ष सँधै बलियो शरीर भएको खेलाडी चाहन्छन् ।
त्यसकारण उनीहरू एसियन कोटाका खेलाडी फरक फरक देशबाट छनोट गर्छन् । तर, उनीहरूले नेपाल र भारतविरुद्धको खेल हेर्दा नेपाली टिममा राम्रो क्षमता भएका खेलाडी रहेको बुझ्न सक्छन् ।
केही खेलाडीहरू नयाँ छन्, खेलेको १, २ वा ३ वर्षमात्र भएको छ । उनीहरू विदेशमा खेल्न सक्छन् । र, हामीसँग अनुभवी खेलाडी पनि छन् ।
सेन्टर ब्याक अनन्त, उनी विदेशी लिग खेल्न सक्छन् । मैले अनन्तबाट अझ धेरै आशा राखेको छु ।
पक्कै पनि उनी विदेशी लिग खेल्न सक्ने खेलाडीमध्ये एक हुन् । उनीसँग पर्सनालिटी पनि छ । हावा उफ्रिनमा उनी राम्रा छन् । उनी राम्रो गोलकर्ता पनि बन्न सक्छन् ।
उनी नेतृत्वकर्ता पनि बन्न सक्छन्, रक्षात्मक नेतृत्वकर्ता ।
मलाई लाग्छ हामीले आशीष चौधरी, आयुष, डांगी र लिम्बुजस्ता नयाँ प्रतिभालाई पनि मौका दिनुपर्छ । साफमा उनले (लिम्बु) राम्रो गरे ।
उनीसँग रहेको शारीरिक क्षमता र एग्रेसनले उनी माथि पुगेका छन् । मिडफिल्डमा धेरै बलहरू इन्टरसेप्ट गरे ।
एरिक विष्ट पनि त्यस्तै छन् । हामीसँग धेरै प्रतिभा छन्, र यसमा अञ्जन विष्टलाई बिर्सन मिल्दैन ।
जसले आफैँलाई एक उदाहरण बनाएका छन् । अञ्जन बिष्ट जसको बारेमा म कुरा गर्न चाहन्छु, जसले साफमा आफ्नो खुट्टामा चोट बोके । नेपालको लागि चोटिल बने ।
किनकि उनी लिडर हुन्, उनी मैदानमा लिडर थिए र उनी निकै उत्कृष्ट खेलाडी हुन् । उनले गत वर्ष भारतमा मुम्बई क्रेन्के एफसीबाट आई लिगमा राम्रो अनुभव बटुल्ने मौका पाए ।
तर, मलाई लाग्छ उनले आई लिग र आईएसएल पनि खेल्न सक्छ । किनकि उ बलियो मानसिकता भएको खेलाडी हो । उ कडा मेहनत गर्ने खेलाडी हो । र, आशा छ उ माथिल्लो स्तरमा पुग्न सक्छ । र, अन्य लिगका लागि नेपाली लिग छोड्ने छ । जुन सायद भारत वा इन्डोनेसिया नजिकको कुनै लिग पनि हुन सक्छ । मैले बताएको विदेशी लिग खेल्ने सक्ने तर नेपालमै रहेको खेलाडीभन्दा अञ्जन बिष्ट बेग्लै खेलाडी हो ।
साफ च्याम्पियनसिपको कुरा गर्दा, के च्याम्पियनसिपमा दक्षिण एसिया बाहिरका टिमलाई बोलाउन राम्रो हो ?
उनीहरूले यसलाई तुलानात्मक रुपमा ठूलो प्रतियोगिता बनाए ।
उनीहरूले साफमा लेबनान र कुवेतलाई साफमा आमन्त्रित टिमको रुपमा बोलाए ।
यदी हामी अर्को समूहमा भएको भए, सायद हामीले हामीलाई अझ राम्रो स्तरमा प्रस्तुत गर्न सक्थ्यौं । किनकि त्यस समूहमा बंगलादेश, लेबनान, माल्दिभ्स र भुटान थिए । त्यहाँ सायद हाम्रो समूहभन्दा केही सहज थियो । उनीहरूविरुद्ध खेल्दा हाम्रो खेलाडीको मानसिकतामा पनि केही सहज हुन्थ्यो ।
टिमको रुपमा उनीहरू सहज भन्न खोजेको हैन, उनीहरूको टिममा पनि राम्रा प्रतिभा छन् । म प्रतिद्वन्द्वी सधैँ प्रतिस्पर्धात्मक होस् भन्ने चाहन्छु । कुनै न कुनै दिन हामीले त्यस्ता टिमविरुद्ध खेल्नै पर्छ ।
तर, साफ च्याम्पियनसिपमा खेलेको भन्दा अझ राम्रो प्रदर्शन देखाउन सक्नुपर्छ ।
तपाईंले फिफा विश्वकप छनोटको लागि प्रारम्भिक टिमको घोषणा गरिसक्नु भयो । आगामी योजना के छ?
मैले छनोटका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरिसकेको छु ।
र, मैले मेरो साथीहरूको सहयोगमा अरु केही खेलाडीहरूलाई पनि निरीक्षण गरिरहेको छु ।
हाम्रो अभ्यास अगस्ट १ देखि सुरु हुनेछ । यसपटक हामीले पहिलो अन्तर्राष्ट्रिय खेलका लागि अभ्यास गर्न केही बढी समय पाएका छौं ।
हामीले बलियो विपक्षीसँग प्रतिस्पर्धा गर्न छलफल गरिरहेका छौं ।
हामीले मैत्रीपूर्ण खेल बाहिर वा नेपालमै खेल्छौं भन्ने चाँही थाहा छैन । र, यो कुराले मलाई फरक पनि पर्दैन ।
त्यसपछि हामी विश्वकप छनोटका लागि तयारी गर्नेछौं ।
जुन होम अवे पद्दतिमा हुन सक्छ र यो हाम्रो लागि राम्रो अनुभव बन्नेछ ।
विश्वकप छनोटमा हामीले साफ च्याम्पियनसिपमा गरेकोभन्दा राम्रो प्रदर्शन गर्न आवश्यक हुन्छ ।
नेपाली फुटबल समर्थकलाई के भन्न चाहनुहुन्छ ?
नेपाली फुटबल समर्थकमाझ म अझ सकारात्मक हुन चाहन्छु ।
जतिबेला पनि मैले सामाजिक सञ्जालमा नयाँ टिमको छनोट वा नयाँ खेलाडीको छनोटको बारेमा पोस्ट गर्दा म उनीहरूले गरेको माफिया, एन्फा माफिया, यो प्रशिक्षकले कसैको प्रभावमा खेलाडी छनोट गरेको जस्ता कमेन्टहरू देख्छु ।
मैले खेलाडी छनोट गर्दा मलाई कसैले पनि एकशब्द बोलेको हुँदैन ।
म मेरो अफिसियलहरूसँग बसेर खेलाडी छनोट गर्छु । मभित्र पनि खेलाडीको भाव छ । कसैले पनि मलाई खेलाडी छनोटमा दबाब दिन सक्दैनन् ।
अध्यक्षलाई पनि मैले नेपाली टिममा को–को खेलाडी छनोट गरे भन्ने थाहा हुँदैन ।
मैले उनीहरूलाई लिस्ट देखाउँदा उनीहरू हस्ताक्षर मात्र गर्छन् र कसैले केही पनि भन्दैनन् ।
यसकारण हरेक पटक म आफैले खेलाडी छनोट गरेको हुन्छु । म यस्ता राजनीतिमा पसेको छैन ।
उनीहरू किन राजनीतिबारे कुरा गर्न मन पराउँछन् मलाई थाहा छैन । मैले खेलाडी छनोट गरेपछि उनीहरू एन्फाको राजनीतिबारे कुरा गर्न सुरु गर्छन् ।
उनीहरूलाई के भएको हो यस्तो ? म र राजनीतिज्ञ बीचको सम्बन्ध शून्य छ ।
कसले यो राजनीति नियन्त्रण गर्छ र को यो भूमिका छ मलाई थाहा छैन । र, म यस्तो कुरामा ध्यान दिन्न ।
किनकि जुन दिन मलाई कसैले तिमीले यो खेलाडी छनोट गर्न आवश्यक छैन, यसको सट्टा अर्को खेलाडी राख भन्छ, म यो काम छोड्ने छु । म नेपाली फुटबलमा कसैले मेरो लागि निर्णय गर्छ भनेर आएको हैन ।
मेरो लागि कसैले कसैलाई छनोट गर्दैन, किनकि मसँग पर्सनालिटी बलियो छ ।
कसैले यो खेलाडी खराव छ भनेर सुझाव पनि दिन सक्दैनन् । धेरै जना यस्ता प्रशिक्षकहरू छन्, जसले बोल्दा उसलाई तपाई माउरिन्हो हो भनेर सोध्छौं ।
म तिनीहरूलाई तिमी को हौ ? तिमीले उपाधि जितेका छौ ? अन्तर्राष्ट्रिय स्तरमा केही गरेका छौ ? यदी तिमीले यति गरेका छैनौं भने म सँग कुरा नगर्दा हुन्छ भनेर जवाफ दिन्छु ।
म उनीहरूसँग निकै कडा छु र उनीहरूले के भन्छन् भन्ने सुन्दिन । म कसैको सुझाव लिन्न र आफ्नो कुरा मात्र पछ्याउँछु ।
र, म राजनीतिमा संलग्न नभएका समर्थक जसले मलाई र एन्फालाई राजनीतिक उद्देश्य राखेको भनेर बारम्बार आक्रमण गर्छन्, उनीहरूबाहेक नेपाली फुटबल पछ्याउनेहरूलाई मैले छनोट गरेका खेलाडीहरूमा समर्थन गरुन भन्ने चाहन्छु ।
म टिममा एकै खेलाडी छनोट भइराखेका छन् भन्ने कुरालाई राम्रो मान्दिन । यो सही होइन, किनकि खेलाडी छनोटमा म कोहीबाट प्रभावित भएको हुँदिन । र, म कुनै पनि माध्यमबाट नकारात्मक कमेन्ट गर्ने व्यक्तिले उनीहरूको कमेन्टका कारण छनोट भएका खेलाडीको व्यवहारमा गम्भीर असर पुर्याउँछ भन्ने बुझुन भन्ने चाहन्छु ।
म उनीहरूबाट सहयोग चाहन्छु ।
उनीहरूको समर्थनले हामीलाई आउँदा खेलमा ठूलो सहयोग पुर्याउनेछ । किनकि हामी ए डिभिजन लिग नभई अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन्छौं ।
तर, तीन महिनाको ए डिभिजन लिगलाई मेरो पूरा सम्मान छ । जहाँ प्रायःजसो प्रशिक्षकहरू ४–२–३–१ को रणनीतिमा खेलाइरहेका हुन्छन् ।
उनीहरूसँग फिजिकल कोच, म्यान एनालाइसिस कोच हुँदैनन् । सबै त हैनन् तर धेरैजसो प्रशिक्षकहरू एक मैदानमा दुई टिमको प्रशिक्षण गरिरहेका हुन्छन् ।
तर, हामी अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन्छौं, जहाँ माथिल्लो स्तर घुलमिल भएका हुन्छन् । यो सबैले बुझ्न आवश्यक हुन्छ । सबैले फरक रुपमा सोच्न आवश्यक हुन्छ । मैले मेरो अनुभव बाढ्न धेरै पटक ए डिभिजन लिगका प्रशिक्षकहरूलाई बोलाएको हुन्छु ।
हामी एकअर्काबाट सिक्दछौं । किनकि हाम्रो विगत र अनुभव फरक–फरक छ ।
लिगमा भएका १४ क्लबका १४ देखि १६ प्रशिक्षक छन्, तर छलफलका लागि ए डिभिजन लिग र महिला टिमका समेत गरी चार–पाँच जना प्रशिक्षकमात्र आउने गर्छन् ।
मसँग नेपाली फुटबलको बारेमा छलफल गरुन् भन्ने चाहन्छु तर कुनै बेला कोही आउँदैनन् ।
म मसँग छलफलका लागि धेरै प्रशिक्षक आउन् र यो किन गरेको, यो किन नगरेको भन्ने प्रश्न गरुन् भन्ने चाहन्छु ।
म नेपाली प्रशिक्षकहरूले सिक्ने इच्छा देखाउन् भन्ने चाहन्छु । किनकि म आफैँले १०–११ वर्ष विश्वविद्यालयको शिक्षकको रुपमा बिताएको थिएँ ।
मैले माध्यमिक तहमा शारीरिक शिक्षाको शिक्षकको रुपमा काम गरेको थिएँ । त्यसपछि म धेरै देशको प्रशिक्षक बनेँ ।
मलाई नेपाली फुटबल सुधारोन्मुख भएको देख्न मन छ । र, मलाई प्रशिक्षकहरू पनि आफू समेतलाई सबल बनाउँदै जाउन् भन्ने हुन्छ । किनकि ए लाइसेन्स, बी लाइसेन्स लिँदैमा यसले उनीहरूको स्तर वृद्धिमा सहयोग गर्दैन ।
बी लाइसेन्स, ए लाइसेन्स मै सन्तुष्ट भएर बस्नु हुँदैन । म सिक्नका लागि व्यक्तिगत रुपमै बार्सिलोना, मिलान, जेनिट गएको थिएँ । र, प्रशिक्षकहरू जो कोहीबाट पनि सिक्नका लागि तत्पर हुनुपर्छ ।
हामी कुराकानीको अन्तिम चरणमा छौँ, अन्त्यतिरको यो अवस्थामा एक प्रश्न राख्न चाहन्छु, एक शब्दमा मेसी कि रोनाल्डो ?
राम्रो प्रश्न । यो प्रश्न सँधै आइराखेको हुन्छ । पक्कै पनि मेसी एक ठूलो प्रतिभा हुन् भन्न मन पराउँछु ।
रोनाल्डो पनि ठूलो प्रतिभा हुन् । तर, यी दुईबीच म कठिन मेहनत गर्ने रोनाल्डोको मेन्टालिटी मन पराउँछु ।
मलाई लाग्छ रोनाल्डो धेरै टिमबाट आफूलाई प्रमाणित गरे । रोनाल्डो म्यानचेस्टरमा उत्कृष्ट थिए ।
देशबाट पोर्चुगलमा पनि उत्कृष्ट छन् । स्पेनिस क्लब रियाल मड्रिड र इटालिमा युभेन्ट्सबाट पनि राम्रो थिए ।
हाल साउदी अरेबियामा पनि रोनाल्डो उत्कृष्ट देखिएका छन् । रोनाल्डोले हामीलाई सधैँ केही धेरै देखाएका छन् ।
जसले टिमको मेन्टालिटीलाई नै फरक बनाउँछ । उनी जुनसुकै समयमा पनि टिमको सबैभन्दा राम्रो गोल स्कोरर बन्न सक्छन् । र, यो कुरा म मेसीमा देख्दिन ।
मेसी फ्रान्समा जाँदा पेरिस सेन्ट जर्मन (पीएसजी) मा उनीभन्दा एमबाप्पे धेरै हाइलाइटमा थिए ।
मेसी र रोनाल्डोमा को उत्कृष्ट भन्न निकै गाह्रो छ । तर, व्यक्तिगत रुपमा म रोनाल्डो मन पराउँछु । किनकि उनी कठिन मेहनत गर्ने खेलाडी हुन् ।
तपाईंलाई मनपर्ने युरोपियन क्लब कुन हो ?
म सानो हुँदा मलाई माल्दिनी, गाटुसो, सेडोर्फ, जोभोनिमिर बोबान, बारेसी मन पर्यो । त्यसकारण मिलान, एसी मिलान । जतिबेला एरिगो साकीको मिलान थियो । जसले विश्व फुटबल र युरोपिय फुटबलमा केही परिवर्तन ल्याए ।
तर, जब म आफैँ व्यावसायिक फुटबलर बन्न लागेँ, जब मैले फुटबल खेल्न लागेँ । त्यस समय म रोनाल्डो निकै मन पराउन थालेँ ।
त्यसपछि मैले इन्टरलाई मन पराउन लागेँ । किनकि इन्टरलाई हामी कहिल्यै हार नमान्ने टिम भन्छौं । हामी पाज्जा इन्टर भन्छौं । क्रेजी इन्टर, उनीहरू कहिल्यै हार मान्दैनन् । उनीहरूले खेलको अन्तिम मिनेटमा ४–३, ५–४ को जित निकाल्न सक्थे । त्यो हेर्न म खुब मन पराउथेँ ।
त्यसपछि मैले मेरो क्लब इन्टर मिलानको रुपमा परिवर्तन गरेँ । यी दुई टिम मेरो मनपर्ने टिम हुन् । सिरी ‘ए’ मा फर्किएर एक प्रशिक्षकको रुपमा उनीहरूविरुद्ध खेल्नु मेरो सपना हो । यो मेरो जिवनको सपनाको एक सपना हो ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
केही छैन । नेपाली फुटबलले हाम्रो खेलाडीलाई मन पराउन सुरु गर्नेछ भन्ने मेरो आशा छ ।
हामीले के गर्यौँ र हाम्रो के उद्देश्य छ भन्ने कुरा मन पराउनेछन् भन्ने आशा छ । म अझ धेरै अट्याकिङ शैलीमा खेल्न चाहन्छु ।
म आफैँ आफ्नो आलोचना गर्छु, हामीले अहिलेसम्म यो देखेका छैनौं । म चाहन्छु, हामी थप आक्रामक शैलीमा खेल्न सकौं ।
म चाहन्छु कि हामीले थप गोल गर्न सकौं । र, नेपाली फुटबलमा पहिले कहिल्यै नभएको उपलब्धि हासिल गर्न सकौं भन्ने कामना गर्दछु ।