site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
'नेताज्यू' का पाराले दुःख पाए साराले

नवलपुरको मध्यविन्दु नगरपालिकामा पर्ने मेरो गाउँ हरेक वर्ष बाढीले डुबानमा पर्छ र जंगली जनावरले मानव र बालीको क्षति उत्तिकै गर्छ । नयाँ संविधान घोषणापछि पाँच वर्षको कार्यकालमा संघीय सरकारले करिब दुई किलोमिटर तटबन्ध गरिदियो र स्थानीय सरकारले बाली जोगाउन तारबार तथा बाटो निर्माण गरिदियो ।

प्रदेशले भने ‘मुख्यमन्त्री कृषि अनुदान’को स्टिकर टाँसेर चार हजारमा मौरीको घार (बाकस) बेच्यो । ‘बाढीबाट गाउँलाई जोगाइदिनुस्’ भनेर म आफैँले मुख्यमन्त्रीलाई दुईपटक भेटेँ। पहिलो भेटमा ८ करोड जति बजेट हाल्ने आश्वासन दिए । अर्को भेटमा भने मुख्यमन्त्रीले ‘म आफैँ जोगिने कि नजोगिने भन्ने छ’ भनेर उल्टै गुनासो पोखे । हुन पनि प्रदेश सरकार बन्ने र ढल्ने क्रम भूकम्पको परकम्पनजस्तै छ । बाढी गाउँमा पस्नासाथ विभिन्न तहका नेता आउँछन् आश्वासन र चाउचाउ (राहत) बोकेर । सँगसँगै प्रजिअ र सुरक्षाप्रमुख पनि आउँछन् । प्रायः सेल्फी लिएपछि हिँड्छन् र अर्को वर्ष फेरि सेल्फी लिन आइपुग्छन् । यो मैले देखे भोगेको कुरा हो । बितेका पाँच वर्षमा गाउँमा प्रदेश सरकारको अनुपस्थिति हेर्दा लाग्छ - नेपालमा स्थानीय र संघीय सरकार भए पुग्छ । प्रदेश भएपनि प्रादेशिक सरकार आर्थिक भारमात्र हो ।

विगत तीन दशकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी तीनै दललाई जनताले बहुमत दिएर हेरे । राजा ज्ञानेन्द्रले पनि जननिर्वाचित सरकार फालेर एकछत्र शासन गरे । शक्तिमा हुँदा राजासहित सबैले अधिनायकवादी शैली अपनाएकै हुन् । विपक्षीको अवहेलना गरेकै हुन्, वाक् स्वतन्त्रता धरापमा पारेकै हुन्, अल्पमतमाथि निर्मम पनि भएकै हुन् र स्वार्थमा मध्यावधि गरेर देशलाई आर्थिक बोझ लादेकै हुन् । राजाको शासनकाल भने निकै कडा थियो । राजाले देशलाई सञ्चारविहिन बनाएर मिडियामा बन्दुकधारी सेना राखेरै पत्रिका सम्पादनसमेत गरे बिरोध आलोचना दवाउन । अझै डरलाग्दो पक्ष त यि सबैले आफू जोगिन संवैधानिक निकाय तथा उपल्लो तहमा आआफ्नालाई नियुक्ति दिएर संविधान मिच्ने कार्यसमेत गरे र नीतिगत भ्रष्टाचार फस्टाएको त सर्वविदितै छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तीस वर्षमा कुनै पनि सरकार पाँच वर्ष टिकेन । नेतृत्वमा जवाफदेहीको कमी, सत्तालोलुपता, नीतिगत भ्रष्टाचार तथा जनतामा निरक्षरता, गरिबीका कारण देशमा बहुमतको सरकार टिक्न सकेन । एकले अर्कोलाई भ्रष्ट र अक्षम देखाइ देखाइ राज गरे । आमनागरिकको समय निर्वाचनको लाइन र मतगणनामा बित्यो ।

अहिले संसद्को तेस्रो दलका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री छन् । गत महिना एक भेटमा मैले उनलाई भनेको थिएँ - ‘पछिल्लो सरकार गठनमा तपाईंको भूमिका पाको देखियो’। उनले ‘धन्यवाद’ भने । उनको पाको भूमिका यस अर्थमा कि उनले यो गठबन्धन् सरकार दिर्घकालिन् बनाउन शिर्ष तह मात्र नभइ गगन थापालगायतका तहसम्म वार्ता र सम्झौता गरेका छन् । नेपालले अब अस्थिरताको राजनीति झेल्न सक्दैन र यो गठबन्धन पाँच वर्ष टिक्नेछ भन्ने विश्वास गरौं । यसपालीको निर्वाचन गणितले दाहाललाई ‘किङ्गमेकर’ बनायो । उनले यो बुझेका छन् । उनी एमालेसित मिलेको भएपनि लामो अवधिका लागि प्रधानमन्त्री हुन सक्थे । तर, केपी ओलीलाई छोडी शेरबहादुर देउवा र माधवकुमार नेपालसित हात मिलाए । तीनै नेतासँग लामो समय उठबस गरेका दाहालले यसपाली ओलीलाई विश्वास गर्न सकेनन् ।

Royal Enfield Island Ad

पछिल्लो भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमार्फत एक हदसम्म दाहाल र नारायणकाजी श्रेष्ठ ‘हिरो’ देखिएका छन् । अहिले सत्ता हाँकेको मौकामा कुनै ठोस ‘डेलिभरी’ दिन सकिएन भने आफ्नो राजनीतिक भविष्यको अधोगति यिनलाई थाहा छ । नेताहरूमध्ये दाहाल उहिलेदेखि नै ‘आर्टिकुलेट’ हुन् । शिक्षक न परे । उनि कसले के खोजेका हुन्छन् बुझ्न र खुल्नमा प्रखर छन् । मेरो लागि भने दाहाल हत्याहिंसामार्फत मूलधार राजनीति प्रवेशको अवसरप्राप्त ‘प्रचण्ड’ हुन् ।

हिंसात्मक द्वन्द्वमा पाँच हजार मृत्युको जिम्मा त उनी आफैंले लिएका छन् । जबसम्म उनी त्यसको छानबिन प्रक्रियामा जाँदैनन् या पीडित परिवारले माफी दिँदैनन् तबसम्म राजनेता हुन सक्दैनन् । ढिलोचाँडो दण्डहीनताको अन्त्य हुनैपर्छ । द्वन्द्वकालका दोषिमाथि कस्तो छानबिन होला, कारबाही होला वा नहोला त्यो न्यायिक बहसले निर्क्योल गर्छ ।

तर, जिम्मा नै लिएपछि न्यायिक प्रक्रियामा प्रवेश त गर्नुपर्यो नि । हुन त यिनी विगतको हिंसात्मक द्वन्द्व बिर्साउन माओवाद शब्द नै निमिट्यान्न पार्नसमेत लागे । दलको नामै परिवर्तन गरे पनि सर्वोच्चले फेरि थमाइदियो । हिंसाको ‘ट्याग’ माओवादमा झुण्डिएको छैन, ‘प्रचण्ड’ बाबुराममा झुण्डिएको छ । त्यो बुझुन् । माओवाद बिलाए पनि ‘ट्याग’ रहिरहन्छ । विगतको हिंसा पीडितको मनमस्तिष्कबाट तबसम्म हट्दैन जबसम्म दोषी निष्पक्ष सत्य निरुपण तथा छानविन प्रकृयामा जाँदैनन् । तरपनि संवैधानिक विधिअनुसार जननिर्वाचित संसद्को हैसियतमा प्रतिनिधि सभाले चयन गरेको हुनाले उनलाई देशको कार्यकारी प्रधानमन्त्री त मान्नै पर्यो ।

खड्ग प्रसाद ओली प्रधानमन्त्री भए यो सदन सरकार ढाल्ने राजनीतिमै व्यस्त रहन्छ र मध्यावधिको सम्भावना पनि उत्तिकै रहन्छ । ‘म नभए तँ पनि हुन्नस्’ भन्ने उनको विचार झल्कियो दुईतिहाइका मालिक छँदा । ओलीको पछिल्लो कार्यशैली र दम्भले उनीमाथि भरपर्ने अवस्था उनैले तुहाएका हुन् । राजनेताको बोलीवचन शालीन, परिपक्व र विश्वसनीय हुनुपर्छ । छुद्र, अव्यावहारिक र दम्भी हुनुहुँदैन । एमालेमा ओलीको विकल्प परिकल्पना पनि हुनसकेको छैन । ओली नभए एमालेलाई चौथो दल हुन पनि हम्मे हुन्छ । अधिनायकवादमा ‘कमाण्डर’को कार्यसम्पादनमाथि विश्लेषण बहस हुँदैन र हुन पनि दिइँदैन ।

शेरबहादुर देउवा भने नबोलीकनै आफू जित्छन् काँग्रेसलाई हराएर भएपनि । बहसमा जाने क्षमता छैन । झिनामसिना आलोचनामा अलमलिन्नन्, जाइलाग्दैनन् । सत्तोसराप गर्दैनन् । उनको ठूलो कमजोरी भनेको सत्ताको लागि जुनसुकै सम्झौता गर्न नहिच्किचाउने हो ।

यिनले 'प्रजातन्त्र जोगाउन' भन्दै प्रतिनिधिसभा राजालाई बुझाएनन् कि 'प्रजातन्त्र जोगाउन' माओवादीसँग लड्न पर्यो भनी जर्ज बुशसँग हतियार मागेनन् कि 'प्रजातन्त्र जोगाउन' भनी तिनै माओवादीसँग मिलेर चुनाब लडेनन् ? 'प्रजातन्त्र जोगाउन' सांसदलाई बैंकक लगेनन् कि, के पो गरेनन् ? अनि उनि देशकै 'प्रजातान्त्रिक' दलका सभापति । उनै पाँच पटक प्रधानमन्त्री । उनको यो मतिबाट क्षति भने नेपाली कांग्रेसले मात्र नभई देशले नै भोग्दै आएको छ दुई दशकदेखि । अब भने उनलाई दलभित्रै थुप्रै चुनौती देखिन्छन् । दलभित्र उनको खुलेरै आलोचना हुन्छ । उनकी पत्नी आरजु देउवा पनि उत्तिकै विवादित छिन् । पार्टीको नेतृत्वबाट देउवादम्पतीको गमनले मात्र पनि कांग्रेसलाई गहकिलो सफलता दिनेछ ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी उदाइरहेको छ । रवि लामिछानेले आफ्नो लोकप्रियतालाई राजनीतिमा परिणत गरे हाताहाती । सही समय सही निर्णय गरेछन् । नयाँ दल दर्ताको चार महिनामा चौथो ठूलो दल हुनु चानचुने विषय होइन । यो सफलतामा रविको लोकप्रियतामात्र नभई परम्परागत दलका विवादित अनुहारले पनि निकै मद्दत गर्यो । रविको दिमाग तेज छ । उनमा केही गर्ने हुटहुटी बढी देखिन्छ भने धैर्य र सम्यमताको कमी ।

राजनीतिमा नयाँ युवाशक्ति उदाउनैपर्छ । रास्वपाले स्थापित पुराना दललाई चुनौती दिएको छ । चुनौतीले नै समृद्धिलाई डोर्याउँछ गतिमा । पुराना दलले मध्यावधि त सपनामा पनि नचिताए हुन्छ । गठबन्धन नटिकाई सुखै छैन । गठबन्धनको फाइदा भनेको यिनमा एकआपसप्रति डर हुन्छ । डरमा अधिनायकवादी शैली सोच निस्क्रिय रहन्छ र ‘डेलिभरी’मा होड हुन्छ । जब असल नियतमा होड चल्छ तब विकासले फड्को मार्छ ।

तत्काल निर्वाचन हुने हो भने रास्वपा दुई नम्बरमा त पक्कै आउला अन्य दलले चुनावी तालमेलको रणनीति गरे पनि । पुराना दलले आगामी एक वर्षभित्र आफूलाई नसुधारे, र बाँकी तीन वर्ष डेलिभरी नगरे अर्को निर्वाचनमा टिक्न सक्दैनन् । नेता/कार्यकर्ताको पलायन नभोगी सुखै हुनेछैन। सबै दललाई २०८४ को कार्तिकमा हुने निर्वाचन चुनौतीपूर्ण छ । रुख, सूर्य, हँसिया हथौडाजस्ता स्थापित ब्राण्डको मिति खस्किँदै गएको सन्देश लौरो र घन्टीले दिइसक्यो । नेतालाई निर्वाचनको डर हुनैपर्छ । हारिने डरले गरिने चुनावी तालमेल भने मतदाताप्रति धोखा हो । यसले गलत नेतृत्वको प्रभुत्व हुन्छ । सोझो अर्थमा भन्ने हो भने - ‘तिम्रा मतदाता शक्ति हुन् भक्त होइनन्। जनमत कुनै दलको पेवा होइन।’

प्रतिनिधि सभा नै सर्वोच्च निकाय हो । अहिलेको संविधानले पनि यसै भन्छ । राजनीतिक बहस हुने सदनमा हो, सडकमा होइन । यो विधिलाई बालेन हर्कजस्ता लोकप्रिय नवागन्तुक राजनीतिकर्मीले आत्मसात गर्न नसक्नु भने विडम्बना हो । एकाध सांसद अगतिला हुँदैमा सबैलाई एकै घानमा हालेर संविधानको प्रणालीमाथि नै तुच्छ व्यंग्यवाण चलाउनु राजनीतिक चेतको कमी हो, अपरिपक्वता हो ।

जिम्मेवार व्यक्तिले कुनैपनि जनप्रतिनिधिको कमिकमजोरीमाथि तर्कहीन् स्तरहीन् वचन लगानुअघि तिनका मतदाताको अवहेलना हुन्छ कि हुँदैन सोच्नुपर्छ । विकृति र भ्रष्टलाई उजागर गर्ने हो, कारवाहीको काम हामी आफैंले स्विकारेको प्रणालीलाई छौडौं । ‘जति धेरै शक्ति उति ठुलो जिम्मेवारी’ भन्ने उक्ति बिर्सनु समाज र प्रणालीकै लागि घातक हुनसक्छ । त्यो त तानाशाहले गर्छन् ।

राप्रपाको बहस राजतन्त्र या लोकतन्त्र भन्नेमा देखिन्न, राजा वा नेता भन्नेमा बढी देखिन्छ । उहिलेको राजालाई अहिलेको नेतासँग तुलना गरेर आज सफल भइन्न । संवैधानिक राजतन्त्र चाहनेले अहिलेका नेतालाई भ्रष्ट देखाएर पुग्दैन । भ्रष्ट नेता त राप्रपामै पनि होलान्- सिसाको घरभित्रबाट ढुंगा हाने झैं हुनेछ ।

‘हिन्दु राजतन्त्र’ चाहनेले यो गणतान्त्रिक संविधान र प्रणालीलाई खराब सावित गर्नुपर्छ । नेतालाई भ्रष्ट प्रणालीले बनाउँदैन, शक्तिको लोभले बनाउँछ चाहे सक्रिय राजतन्त्र नै किन नहोस् । तर्क राख्नुपर्छ कुनै पनि मध्यममा । गम्भीर प्रश्न हुनुपर्छ सदनमा । नागरिकले सुन्दैछन् । आज कुनै पनि प्रमुख समयको समाचारभन्दा संसद्को टीभीमा बढी स्रोता छन् । मिडिया र सामाजिक सञ्जाल कति शक्तिशाली छन् भन्ने गत उपनिर्वाचनलाई हेरौं । स्वर्णिम वाग्लेले चैत्र १६ गते काँग्रेस छोडे, चैत्र १८ रास्वपा प्रवेश गरेर चैत्र २० गते उमेदवारी दर्ता गरेको १९ दिनभित्र ऐतिहासिक ३५ हजार मत ल्याई विजयी । एक महिना पनि कुर्न परेन ।

तसर्थ राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्रहरूले विचार पस्कुन्, बहस गरून् जनतामाझ जाऊन् । विचारबाटै मत बटुलुन् । आज कुनै पनि नागरिक संविधानमाथि छैनन् ‘श्री ५’ जस्ता । राजा संविधानमुनि बस्छन् कि बस्दैनन् बुझेर बहसमा जानु उचित होला । तरल राजनीतिक अवस्थामा ‘बेबीकिङ्ग’को अवसर लत्याउनेले आजको दिन संविधानमाथि नै बस्ने सपना देख्नु पनि सपनै हुन जाला । परिवर्तनको लागि जनमत बटुल्न यो संविधानले छेक्दैन कसैलाई पनि ।

‘राष्ट्रवाद’ गाली नारा र पोसाकमै सीमित हुनुहुन्न । ७१ वर्षीय केपी ओली ६० को भएपछि दौरासुरुवालमा ठाँट्टिन थालेका हुन् अर्थात एक दशक भयो । बहुमतले अल्पमतलाई सम्मान गर्न जान्नु ‘राष्ट्रवाद’ हो ।
त्यो पनि हाम्रोजस्तो विविध समाजमा त झनै । आर्थिक विकासमा फड्को मार्दै गरेको शक्तिशाली छिमेकीहरूसित जति फाइदा लिनसक्यो उति राष्ट्रलाई हित हुन्छ नै । राष्ट्रियहितका लागि विदेशीलाई अंगालो मार्नु पनि राष्ट्रवाद हो । बेतुकको अडान देखाउनेलाई ‘राष्ट्रवादी’ भन्ने कि ‘राष्ट्र-बर्बादी’ ? दैलोमा आएका विश्वकै धनाड्यमध्येका व्यवसायी ज्याक मालाई सरकारले बेवास्ता गर्नुको अर्थ हामीमा दूरदर्शीता नहुनुको प्रमाण हो । राष्ट्र हितको चेत छैन ।

चीनको लागि उनी सामान्य नागरिक हुन् । चीनलाई विश्वासमा लिने हो, चापलुसी जरुरी छैन । यहाँनिर हाम्रो राष्ट्रवाद हरायो । अमेरिकी इन्टेल टेक्नलजीको उत्पादन इजरायलमा पनि हुन्छ र उसले १३ हजारलाई रोजगार दिएको छ र वर्षेनी करिब चार अर्ब डलरको निर्यात गर्छ । त्यहाँ ‘चर्का राष्ट्रवादी’ उम्रिएनन् । आज शक्ति बन्दुकमा होइन पैसामा छ । नेपाली सेनामा कार्यरत एक आफन्त बन्दुक बिसाएर दुबई हिँडे । उनमा राष्ट्रभक्ति हराएको होइन, राष्ट्रले शक्ति गुमाएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro