त्रिभुवन विमानस्थलमा हरेक दिन लामा लामा लस्करमा युवायुवतीले देश छाड्दै गरेको देख्नु भएको छ ? ती सबै युवायुवती मीनबहादुर हुन् जसको सपनाको हत्या भएको छ । युवायुवतीलाई यो समाजले स्पष्ट बुझ्ने गरी भनिदिएको छ – नेपालमा बसेर काम गर्न पाइँदैन, मेहनत गर्न पाइँदैन, पैसा कमाउन पाइँदैन । ती मीनबहादुरहरू विद्रोह गर्न सक्दैनन्, सपना पछ्याउन सक्दैनन्, सक्छन् त समाजको सर्त स्वीकार गरेर केबल देश छाड्न ।
यो कर्तव्यच्युत, बेइमान, अल्छी र काँतर समाजमा एकजना मीनबहादुर उभिए । उनले यो समाजको सर्त मानेनन् । पिता, पुर्खाजस्तो बेलायतको लाहुरे बन्न गएनन् । उनले बेग्लै सपना देखे र त्यो सपना साकार पार्न दिन रात एक गरे । एक वर्ष, दुई वर्ष होइन, चालीस वर्ष दिनरात केही नभनी मेहनत गरे । उनले बनाएको व्यापारको साम्राज्य केही वर्ष दलाली गरेर, लागु पदार्थ बेचेर वा ठगी गरेर बनेकोे थिएन । त्यसैले समय लाग्यो तर दह्रो बन्यो भाटभटेनी सुपरमार्केट ।
समाजको नजरमा भने उनले अपराध गरे, उनले गर्न नहुने काम गरे । किनभने उनले दसौं हजारलाई रोजगारी दिए, पचासौं हजार परिवारको जीविकोपार्जनमा सहयोग गरे र सरकारलाई अर्बौं राजस्व तिरे । यस्तो अपराधीलाई हाम्रो समाजले गर्ने इज्जत जे थियो उनले त्यही पाए ।
अहिले प्रहरी हिरासतमा रहेर, प्रहरीको रोहबरमा अदालत धाउँदै, अपमानको विष पिउँदै आफूले रोपेको अमृत वृक्षमा विष फलेको देखेर आश्चर्य चकित हुँदैछन् मीनबहादुर गुरुङ ।
यो लेखकले गुरुङसँग पटकपटक कुराकानी गरेको छ । “अरु इटली घुम्दा म इटहरीको घाममा बसेर नयाँ भाटभटेनी बनाउँछु, अरु जापान जाँदा म जनकपुरमा थप हजार जनाका लागि रोजगारी सिर्जना गर्छु । त्यसैले मलाई लाग्छ आफ्नो कामको प्रचार गर्दै हिँड्नु पर्दैन । तर, विशुद्ध मेहनतको कमाइलाई पनि मान्छेले गलत अर्थ लगाई दिन्छन्,” – एक अन्तर्वार्ताका क्रममा उनले भनेका थिए । सायद उनलाई आभास थियो उनको प्रगतिले डढेका काला मनहरू उनीविरुद्ध षड्यन्त्रको गहिरो जालो बुन्दैछन् ।
हाम्रो समाज, हाम्रा सत्ताधारी, हामी पत्रकार, हाम्रा न्यायकर्मी यस्तो लालच, लालसा र कुण्ठाबाट गुज्रिँदै छौँ कि यहाँ कसैलाई राम्रो गर्ने छुट छैन, कोही आर्थिकरूपमा सफल बन्न पाउँदैन, कसैलाई इमानदार बन्ने छुट छैन र कुनै पनि व्यक्ति सही हो भनेर अर्को कसैले छाती ठोकेर भन्नसक्ने अवस्थासमेत छैन ।
सबैलाई औपचारिक स्रोतबाट पारदर्शी आय कमाउनुभन्दा जनता चुसेर, ठगेर, भ्रष्टाचार गरेर करोडौं रुपैयाँ अहिल्यै कमाउनु परेको छ । यो लेख पढ्दै गर्दा एकजना इमानदार पत्रकारको एक व्यवसायीको पक्षमा सही तर्क आयो भन्नेको भन्दा भाटभटेनीले पैसा दिएर लेखाएको होला भन्नेहरूको संख्या ठूलो हुनसक्छ । किनभने इमानदारीको अस्तित्व यो समाजले मेटाइसकेको छ ।
यति भनिसकेपछि स्वाभाविक प्रश्न हुन्छ – के मीनबहादुर गुरुङले ललिता निवास काण्डमा केही बदमासी गरेका छैनन् ? के यो लेखकले त्यसको ग्यारेन्टी गर्नसक्छ ?
ललिता निवास काण्ड के हो ? सुवर्ण शमशेरको जग्गा फिर्ता दिनु उचित कि अनुचित ? कसले के बदमासी गरे ? कसले नक्कली मोही खडा गरे ? तीन वर्षअघि यो मुद्दा किन तामेलीमा गयो ? यो जग्गाको विषयमा सर्वोच्च अदालतले विगतमा के के निर्णय दिएको छ ? प्रचलित ऐनबमोजिमकोे हदम्याद यस मुद्दामा किन नलाग्ने ? एकपल्ट यही मुद्दामा धरौटी बुझाएका आरोपितलाई फेरि किन हिरासतमा राख्नैपर्ने अवस्था भयो ?
यस्ता सयौं प्रश्न छन् । ती प्रश्नको निरुपण गर्न अदालत छ । अदालतले न्याय दिन्छ भन्ने विश्वास पनि छ । अहिले, यसभन्दा बढी मुद्दाको प्राविधिक पक्षमा नजाऊँ । बरु, निजी क्षेत्रले यस घटनालाई कसरी हेर्यो भन्नेतर्फ ध्यान दिऊँ ।
यो देशको पैसा सीमापारी जानबाट रोक्नका लागि दक्षिणी सिमानाका नजिक दसौं अत्याधुनिक सुविधासहितको सुपर मार्केट खोल्ने, दसौं हजार रोजगारी प्रदान गर्ने, अर्बौं कर बुझाउने व्यवसायीको विषयमा बोल्न निजी क्षेत्रका संस्थाहरूलाई केले छेकेको छ ?
आज एउटा ठूलो व्यवसायीले पैसा तिरेर मालपोतमा गएर लालपुर्जा लिएको जग्गाका लागि यसरी अपराधी हुनुपर्ने अवस्था आउँदा निजी क्षेत्र किन मौन ? अरु व्यवसायी किन मौन ? एउटा भनाइ छ, ‘घरमा बुढी मरी भन्नुभन्दा काल पल्क्यो’ भने डराउनु पर्छ । यस्तै अवस्था हो भने भोलि अर्को कुनै अर्बपतिलाई यस्तै मर्का पर्दा उसको पक्षमा पनि कुनै पत्रकारले मात्र बोल्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
अहिले देशको अवस्था कस्तो छ भने कोही पनि केही पनि विरोध गर्न सक्दैनन् । पत्रकारलाई सरकारले जे गरे पनि समाचार भएको छ । धेरै पत्रिका, टीभी, अनलाइनलाई समाचारमात्र चाहिएको छ । सरकारले जे जे गर्यो त्यही नै सर्वस्वीकार्य भएको छ नेपाली मिडियाका लागि । कसैले पनि आरोपित अन्यायमा पर्यो कि भनेर सोच्नसमेत चासो राखेको देखिँदैन ।
एक प्रतिष्ठित बैंकका प्रमुख कार्यकारी भन्छन् – अहिले उनलाई सबैतिरबाट लुछ्ने प्रपञ्च गरिएको छ । कोही राष्ट्र बैंकको धम्की दिने, कोही प्रहरीको अनि कोही सरकारको । त्यतिले नपुगेर पत्रकार पनि तिनै धम्कीहरूको बलमा अनेक तवरले लुछ्न खोज्दैछन् । “व्यवसायीलाई अन्याय परेको बेलामा बोल्न नसक्ने पत्रकारको व्यावसायिक धर्म के हो ?” उनको प्रश्न छ हाम्रा सहधर्मीहरूलाई ।
अवस्था कस्तो छ भने एकजना पत्रकारले घरको भर्याङ बनाउन प्रयोग गरेको सीमेन्ट गुणस्तरहीन भयो भन्ने आरोपमा एक सीमेन्ट उद्योगका उद्योगपति प्रहरी हिरासतमा पुगेका छन् । यो सही हो त ? उद्यमी र व्यवसायीप्रति सराकारले यस्तै रवैया राख्ने हो भने कुनै पनि व्यवसायी अलिकति सफल हुनेबित्तिकै आफ्नो धन, सम्पत्ति किन यहाँ लगानी गर्छ ? यही अवस्था रह्यो भने नेपालमा सधैँ ठग, फटाहा र जनतामाराहरूको जगजगी रहन्छ, इमानदारहरू घोसेमुन्टो लगाएको लगाएै आर्यघाटमा सजिन्छन् ।
जनता उस्तै छौँ । सरकारले कसैमाथि अलिक कडा व्यवहार गर्नेबित्तिकै वा कसैलाई कुनै आरोप लगाउनेबित्तिकै सबैजना एकाएक सो व्यक्तिले गलत नै गरेको हो भन्ने सोच्ने र सोहीअनुरूपको समाचार, टिकटक, रिल्स, टुइट, पोस्ट गर्ने गर्छन् । सबैलाई क्लिक चाहिएको छ, लाइक चाहिएको छ । अनि अदालतले पनि जनताको मत कता छ भनेर मनन गरेर कलम बङ्ग्याउने अवस्था आयो भने न्यायपूर्ण समाज कसरी बन्छ ? विधिको शासन कसरी चल्छ ?
प्रहरी हिरासतकै क्रममा लेखकले एकपल्ट मीनबहादुर गुरुङसँग दुई शब्द बोलेको थियो । यो समाजका लागि योगदान दिने व्यक्तिको यस्तो अवस्था हुनु अत्यन्त खेदजनक भएको हो भनेर सोधेको प्रश्नमा गुरुङको जवाफ थियो – “नखाएको विष लाग्दैन । तर हाम्रो समाज सकारात्मक छ है प्रतीकजी, नेपाल पक्कै परिवर्तन हुन्छ ।”
हेर्दै जाऔं मीनबहादुरहरू नेपालमा नै सफल हुन्छन् कि विदेश जाने लामो लाइनमा उभिन्छन् । अहिलेकै अवस्थामा त बिस्तारै मीनबहादुरहरूको सपनाको मलामी जानुको विकल्प देखिदैँन ।