site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय खुला टेबलटेनिसमा सुस्मितालाई स्वर्ण

काठमाडौं । प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण पदक जितेकी छन् ।

बिहीबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी यशस्वी अवाललाई ११–९, ११–३, ११–९, ११–८ को सोझो सेटमा पराजित गरिन् । स्ट्याग च्याम्पिन्स टीटी एकेडेमीकी सुरम्य शाक्य र प्राइम ग्लोबलकी प्राज्ना महर्जन तेश्रो भए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा आदर्श विद्या मन्दिर (एभीएम) का सुजन गडालले एपीएफ क्लबका राजीव चिकवन्जरलाई ११–६, ११–८, ११–९, ९–११, ११–७ तथा बुटवल टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतले गोड स्पिन टेबलटेनिस एकेडेमीका समिप श्रेष्ठलाई ११–९, ११–९, ११–७, ११–७ को सेटमा हराउँदै फाइनल भेट पक्का गरे ।

प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र समाजसेवी सुमन खड्गीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । सो अवरसमा आयोजक संघका अध्यक्ष एवं ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, ओलम्पिक कमिटीका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

क्यान्सर पीडित टेबलटेनिस खेलाडी सेलिशा खड्गीको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न आयोजित प्रतियोगितामा १७५ खेलाडीले विभिन्न सात स्पर्धामा सहभागिता जनाएको प्रतियोगिता संयोजक एवं आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्