मस्को पुग्नुभन्दा पहिले नै येभगेनी प्रिगोझिनले वाग्नर ग्रुपका भाडाका लडाकुलाई रोकेर सैनिक विद्रोहको प्रयास स्थगित गरे पनि विद्रोहीहरूले भ्लादिमिर पुटिनको सत्तालाई भने कडा चुनौती दिए । यो विद्रोह पूरा उजागर हुन महिनौ लाग्यो तर पनि कुनै त्रुटि देखिएन । यस्ता प्रत्येक सङ्कट कुनै समाधानविना अन्त्य हुँदा तिनले पुटिनको प्रभाव थप घटाउँछ भने त्यससँगै रसियाली समाजमा बाँकी रहेको समर्थन पनि ह्रास हुन्छ । सायद, उनका प्रतिद्वन्द्वीले गद्दीमा आँखा लगाइसकेका छन् ।
तत्कालका लागि त पुटिनले विद्रोहको विफलतालाई आफ्नो पक्षमा पार्न पनि सक्लान् । किनभने प्रिगोझिनले अपेक्षा गरेजसरी जनसमूहले विद्रोहको पक्ष लिएन भने आधामनले नै सही रुसको फौजले क्रेमलिनलाई साथ दियो । यथार्थमा रोस्तोव अन डोनमा प्रिगोझिनका लडाकुको सामना गर्न चेचेन पल्टन पठाउनु परेको थियो । समय बितेपछि थाहा हुनेछ यी कुनै कुराले पनि पुटिनको सत्ताको शक्तिको झलक दिनसक्ने छैनन् ।
कस्तो लाग्छ भने अर्को पक्षलाई हराउने आत्मविश्वास कुनै पक्षमा पनि थिएन । प्रिगोझिनले रुसी सैनिक अधिकारीहरूको चर्को आलोचना गरे पनि उनले आफूले सैनिक विद्रोहको प्रयास गरेको अस्वीकार गरे । बरु उनले त वाग्नर लडाकुहरूको मस्को कुचलाई रुसी सैनिक नेतृत्वका कारण युक्रेनमा ज्यान गुमाएका सिपाहीहरूका लागि ‘न्यायको यात्रा’को संज्ञा दिएका थिए र त्यही यात्रालाई पनि निकै छोट्याए । कारण, मस्कोमाथिको आक्रमणलाई उनले धेरैबेर धान्न सक्तैनन् भन्ने प्रिगोझिनले बुझेका थिए ।
प्रिगोझिनले रुसी जनताको समर्थन नपाएकाले पनि सहज भएन । उनी र उनका सिपाहीहरूले उनीहरूले सैनिक चौकी कब्जा गरेको ठाउँ रोस्ताेभ ओन डोन छाड्दा भिडले ताली बजाएको भए पनि त्यो ‘युद्ध नायकहरू’ नै रुसी सेनाविरुद्ध जाइलागेको विसङ्गति देखेर गरिएको बेमनको प्रदर्शन थियो । अधिकांश रुसीहरूले अझै पनि प्रिगोझिनका सनकी नारालाई स्वीकार गरेका छैनन् । उनको रुसलाई भ्रष्टाचार मुक्त बनाउने र रक्तपातका सम्बन्धमा अलमलप्रति व्यापक आकर्षण देखिँदैन ।
परन्तु, सैनिक विद्रोहप्रति पुटिनको प्रतिक्रिया भने न शक्तिशाली नेताको जस्तो थियो न रणनीतिक कौशल नै देखियो । उनले विद्रोहको निन्दा गर्दै त्यसमा संलग्न हुनेहरूमाथि निर्ममतापूर्वक कारबाही गरिने घोषणा त गरे तर यो अलि ढिलो आयो भने उनका भनाइमा पनि क्रोधभन्दा बढी अत्यास देखिन्थ्यो । उनले घटनाको नियन्त्रण होइन त्यसमाथि टिप्पणी गरिरहेजस्तो लाग्थ्यो ।
अझ खराब त के भयो भने विद्रोहको दमन गरेर प्रिगोझिनलाई समाप्त पार्नुको साटो उनले त बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को मध्यस्थतामा प्रिगोझिनलाई उम्कन दिने सहमति गरे । वाग्नर सेनाको नाइके अब बेलारूसमा बस्नेछन् भने उनीविरुद्धका सबै फौजदारी अभियोग खारेज गरिनेछ । कतिपय रुसीहरू पुटिनलाई यो सम्झौता मान्न बाध्य पारिएको देखिएकाले उनी अत्यन्त कमजोर साबित भएको ठान्छन् । अझै पनि पुटिनले आफूलाई महान् शान्तिदूतका रूपमा प्रस्तुत गर्न खोज्छन् भन्ने अनुमान गर्न कठिन हुँदैन । लुकासेन्कोको मध्यस्थतामा भएको प्रिगोझिनसम्बन्धी सम्झौतापछि लामो समयसम्म पुटिन मौनले उनी आफ्ना सहयोगीको भर पर्न सकिनेमा ढुक्क हुन नसकेको देखाएको छ । यसबाहेक ‘राजद्रोही’ प्रिगोझिनलाई किन यसरी क्षमादान दिइयो भन्ने जानकारी पुटिनबाट पाउन रुसी जनता आतुर छन् । विद्रोह समाप्त पारियो होला तर विश्वले त पुटिनको शक्ति पनि सकिएको देख्यो ।
विद्रोही सैनिकहरूलाई रोक्न आफ्नो सेना मस्को पठाउने तयार हुने चेचेन गणतन्त्रका नेता रमजान केडिरोवजस्ता सहयोगी अझै पुटिनका साथमै छन् । संसद् डुमाका अध्यक्ष भ्यासेस्लाव भोलोडिन, विदेशमन्त्री सर्गेइ लावारोव र अधिकांश प्रदेशका प्रशासकहरू सत्ताका प्रतिरक्षामा उभिएका थिए ।
रुसका जनताले गरेको विद्रोहको विरोध भने पुटिनको समर्थन नभई प्रिगोझिनको विरुद्धमा थियो । रुसलाई एक्ल्याउने र चीनमाथि निर्भर बनाउनेजस्ता पुटिनका कतिपय निर्णयहरूमा असहमत हुनेहरू उनलाई कमजोर र विवेकहीन ठान्छन् तैपनि उनीहरू अपराधी गुण्डा भाडाका लडाकुहरूको सनकी नाइकेभन्दा त पुटिन नै उपयुक्त मान्छन् ।
अर्कातिर, केही रुसी नेताहरू प्रिगोझिनको पक्षमा भएको भान पनि पर्छ । उदाहरणका लागि रोस्तोभ ओन डोनकाे छिमेकी प्रान्तका गभर्नर जेनरल अलेस्की डुमिनसँग प्रिगोझिनको कुनै न कुनै प्रकारको समझदारी भएको हुनसक्छ । मस्कोमा केहीले पहिले पुटिनको सुरक्षा प्रमुख रहिसकेका र कुनै बेला पुटिनको राजनीतिक उत्तराधिकारी हुनसक्ने ठानिएका डुमिनले नै प्रिगोझिनका तर्फबाट लुकासेन्कोसँग वार्ता गरेको र वाग्नर लडाकुका नाइकेलाई भविष्यमा सेनाको कुनै पद दिने वाचा गरेको हुनसक्ने ठान्छन् ।
प्रिगोझिनका मुख्य शत्रु सर्गेइ सोइगुका स्थानमा डुमिन रक्षामन्त्री भए भने उनलाई दिइएको आश्वासन पूरा गर्न पनि सजिलो हुने केहीले ठानेका छन् । डुमिनको नेतृत्वमा रुसी सेनाले युक्रेन युद्धमा अझ बढी क्रूरता देखाउने हुनाले प्रिगोझिनले खोजेजस्तै हुनसक्छ ।
प्रिगोझिनको विद्रोहलाई सहयोग वा उठान नै क्रेमलिन निकट फौज वा युक्रेन युद्धका लागि पुटिनलाई दोष दिने रुसका आन्तरिक सुरक्षा निकाय एफएसबीका सदस्यहरूको योजनाअनुसार भएको देखिए पुटिनका लागि थप हानिकरक हुनसक्छ । त्यसो भएको रहेनछ भने पनि पुटिनकाे यस्तो सार्वजनिक अवज्ञा गर्ने प्रिगोझिन आफ्नो ‘बहादुरीको गाथा’ सुनाउन जीवित रहनुले रुसको नेतृत्व अपदस्थ गर्ने नयाँ प्रयत्नहरू प्रेरित हुनसक्छ ।
रुसको गद्दी कस्ले खोस्ला त? दुईवटा बलिया सम्भावना हुन् - रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पत्रुसेव र उनका छोरा कृषिमन्त्री डिमित्री । अर्का हुन् पुटिन क्रेमलिन छाडेर भल्डाइमा लुकेका बेला सङ्कटमा मेहनतसाथ काम गरेको देखाउन पटकपटक टेलिभिजनमा देखिने प्रधानमन्त्री मिखाइल मिसुस्तिन । यस्तै डुमिन पनि छन् भने आफ्नै मातहतमा शक्तिशाली सेना भएका मस्कोका मेयर सर्गेइ सोब्यानिन पनि छन् ।
यसको तात्पर्य पुटिनको पतन भइहाल्छ भन्ने चाहिँ होइन । रुसका प्रभावशाली व्यक्तिहरू पुटिनलाई हटाउन चाहन्छन् भन्ने खासखुस चलेको धेरै नै भयो । तर, परिवर्तन भने कहिल्यै होलाजस्तो देखिँदैन । युद्ध जित्ने विश्वास नभएपछि प्रिगोझिनले विद्रोह रोकेजस्तै पुटिनका उत्तराधिकारीहरूमा पनि आफ्ना प्रतिस्पर्धीलाई हराउन सक्ने आत्मविश्वासको अभाव छ ।
(अन्तर्राष्ट्रिय मामिलासम्बन्धी प्राध्यापक)
Copyright: Project Syndicate, 2023.