site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समृद्धिका लागि खर्च गर्ने क्षमता बढाउन आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् ।  

प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोसी प्रदेश समृद्धिका नवीन आधार’सम्बन्धी कार्यशाला गोष्ठीमा कार्कीले प्रदेशको प्रथम आवधिक योजना सकिन लागेको र दोस्रो आवधिक योजना निर्माणको समय आइसकेको भन्दै प्रदेश समृद्धिका आधारहरू तय आवश्यक भएको बताए । 

“प्रदेशले बनाउने योजनाहरू प्रदेशकै तथ्यांकमा आधारित हुनुपर्ने भएकाले प्रदेशको वास्ताविक तथ्यांक संकलन गर्ने कुरामा ध्यान पुग्न जरुरी छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेशमा बजेट निर्माण र  बजेट निर्माणपछि प्राथामिकताहरू तय गर्ने सन्दर्भमा पहिले नै चुकेको भन्दै उनले यसबाट अझै केही वर्ष केही क्षेत्रहरूमा असन्तुलन हुने अवस्था आउने बताए । प्रदेशको  संरचनागत कुरामा ध्यान दिदाँ अन्य क्षेत्रका कामहरू छुटेको उनको भनाइ छ । 

उनले भने, “प्रदेश केही क्षेत्रहरूको अवस्था खस्किएको छ । औद्योगिक उत्पादन, निर्माण सामग्रीको उत्पादन र राजस्व संकलनमा समेत गिरावट आएको छ ।”

कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेको कोसी प्रदेशलाई पर्यटनको पहिलो गन्तव्य बनाउन सकिने बताए । 

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङबोले वर्तमान संविधानले समाजवादको गन्तव्य तय गरेकाले प्रदेश समृद्धिका आधारहरू पनि सोहीअनुरूप निर्माण गरिनुपर्ने बताए । 

उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेशभित्रको प्राकृतिक स्रोतसाधनको रूपमा रहेको जल र जङ्गलको भरपुर प्रयोग गर्न सकेमात्र समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए । 

प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीको सभापतित्वमा भएको कार्यक्रमा कार्यक्रममा कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी, उपसभामुख सिर्जना दनुवार, प्रदेशसभा सदस्य गणेश उप्रेती लगायतका व्यक्तिहरूले प्रदेश समृद्धका आधारहरूको बारेमा बोलेका थिए । कार्यक्रममा अर्थशास्त्री प्रा.डा. शिव अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्