जेठको महिना । गर्मीका कारण दलानको एउटा कवलमा आधा मात्र ढिक कोटा लगाएको थियो । तलमाथि गर्न असमर्थ भएकी हुँदा हजुरआमा दलानामै सुत्नुहुन्थ्यो ।
उहाँको हेरचाहका लागि कोही न कोही छेवैमा सुत्ने चलन थियो । आधा रातको समयमा हजुरआमाले अचानक बोलाउनुभयो । उहाँले भन्नुभयो, ‘उता ठूलो कुटमेराको रुखतिरबाट लाखे आयो, आँगनमा नाच्दै नेवारीमा केके बोल्यो, मैले बुझिनँ । अनि फेरि बूढो खनियाँको रुखमुनि गएर नाच्यो ।’
घरपाटाको धरीमा लस्करै २०–२५ वटा खनियाँका रुख थिए । तीमध्ये छेउतर्फ उभिएको एउटाको नाम ‘बूढो खनियाँ’ थियो भने अरू सबै अनाम थिए । त्यस वृक्षले ‘बूढो’ विशेषण पाउनुमा ठूलो अर्थ र महत्त्व थियो ।
उसले २०/३० या ५० वर्षको उमेर पुगेको हुनाले मात्र त्यस्तो विशेषण पाएको होइन । हजुरआमा बिहे भएर घर आउने समयमै उसले आफ्नो नाम पाइसकेको थियो ।
वृक्षहरू मनुष्यजस्तो नामधारी हुँदैनन् । करिब सबका सब नामै नपाई मर्छन् । हाम्रो गाउँभरि ठिंग उभिएका हजारौँ हजार वृक्षमध्ये आठ–दशले मात्र नाम पाएका थिए ।
जस्तो कि ठूलो कुटमेरो, भूताहा सिमल, बाख्रे काफल, तेर्सो पटेसर, फुर्के सल्लो र बूढो खनियाँ आदि । तिनीहरूमध्ये सबैभन्दा प्रख्यातचाहिँ बूढो खनियाँ नै थियो ।
हजुरआमा बोलिरहनुभयो, ‘देउता रिसाएजस्तो छ बाबै ! उखुबारीको धरीमा पच्छिम फर्केर पिसाब नगर भन्दा तिमी साइँदुवाहरू मान्दैनौ । देवतालाई मान गर्यौ भने पो रक्खे गर्ला, अपमान गर्न थाल्यौ भने के खाँचाले रक्खे गर्ला ! ए, जा त एउटा अदुवाको ठुन्को पोलेर ल्या ल्या, मुखमा च्यापेर सुत्नुपरो ।’
हुन त भूतको कथा यत्रतत्र नसुनेको होइन । तर, बाहुनको आँगनमा लाखे भूत किन आयो ? हजुरआमाले भन्नुभयो, ‘तेरो बाले नयाँ घर बनाउँदा हुन्न हुन्न भन्दाभन्दै नेवारको घरमा प्रयोग भएका झ्यालढोका किनेर ल्यायो नि !’
मलाई डर लागिरहेको थियो । भनेँ, ‘आधारातमा आँगनमा लाखे नाच्यो भन्ने, अनि अदुवाको ठुन्को पोल्न पठाउने ? म त जान्नँ, डर लाग्छ ।’
हजुरआमाले फेरि भन्नुभयो, ‘बाहिर जान भनेकी छु र ? भित्र जान केको डर ? तैँले अदुवा पोल्दासम्म म महादेव महादेव भनेर कराइरहनेछु ।’
विष, भाङ, धतुरो खाने, कम्मरमा बाघको छाला बेर्ने, हातीको छाला ओढ्ने र घाँटीमा सर्पको माला भिर्ने भूतनाथको नाम सुन्दा म झनै भयभीत भएँ ।
अग्लो लिंगोेमा कार्तिकभरि आकाशदीप बालेको देखेर मैले हजुरआमालाई सोधेको थिएँ, ‘यो बालेर के हुन्छ ?’
हजुरआमाले भन्नुभयो, ‘देवता खुसी हुन्छन् ।’
डोरीले तान्दै माथिसम्म लगेर घण्टौँ बालिने बत्तीका लागि थुप्रो तेल खर्च हुन्थ्यो । उता हाम्रा लागि पाक्ने रोटीमा भने अलिअलि दल्न पनि धौधौ थियो । तथापि, कुनै गुनासो थिएन । देवताहरू हाम्रो परिवारका खास सदस्य थिए । बाभन्दा पनि ठूला !
बिहान–साँझ पञ्चायन पूजा गर्दा धूप हाल्न घिउ चाहिन्थ्यो भने नैवेद्यका लागि दूध । घरमा खिर पकायो, सर्वप्रथम देवताको भाग छुट्ट्याउनुपर्ने । सेल पकायो पहिलोचाहिँ देवतालाई नै चढायो । गाईभैँसी बियायो, बिघौती देवतालाई । नयाँ अन्न भित्र्यायो, पहिलो भोग देवतालाई ।
त्यस बखत बालबालिकालाई दादुरा होइन, ‘देउता’ आउँथ्यो । बिफर होइन, ‘माई’ आउँथ्यो । पाडो मर्यो, देउता रिसायो । बाख्रो तुह्यो, देउता कुपित भयो । खडेरी पर्र्यो, देवता क्रोधित भयो ।
‘ए ए, चोखो पानी चोखो पानी ! ए छोइएला है, ए उता हट् !’
पाइलापाइलामा देवता । मैले हजुरआमालाई सोधेको थिएँ, ‘देवता यति साह्रै डरलाग्दो किन ?’
उहाँले भन्नुभयो, ‘डरलाग्दो नभए कसले टेर्छ ?’
मैले त्यसै बखत देवता र मनुष्यबीचको सम्बन्धमा भयमिश्रित निष्ठाले काम गर्दो रहेछ भन्ने बुझेँ । एकातर्फ देवताको डर, अर्कोतर्फ सात वर्षको उमेरमै व्रतबन्धको कहर । अझ अघि बढेर बोनसमा आधाराते लाखे र तारेभीरको भूतको भय ।
मेरो बाल्यकाल दुरूह हुँदै गयो । उज्यालोमा हामी भाइबैना बडो उचालिएर गफ गर्थ्यौँ, ‘हाम्रो आँगन अरूको जस्तो होइन, यहाँ आधा रातमा लाखे नाच्छ ।’ तर, अँध्यारो हुनासाथ बोल्ने तागत समेत सेलाएर जान्थ्यो । पिसाब फेर्न एक्लै निस्कने हिम्मत थिएन ।
हजुरआमाले भन्नुभयो, ‘कात्तिकमा अक्कासे बत्ती बालेको हुँदा धेरै रक्खे भयो । ल हेर, देवता खुसी भएको कुरा त्यसै थाहा हुन्छ ! कात्तिकमा भैँसी भरियो । मंसिरमा माली गाई बियायो । भगवान् कृष्ण पनि प्रसन्न हुनुभएछ । पूर्णिमाका दिन आधा रातमा कुबिजा सुन्दरी आएर भगवान्को हातमा फूल र चन्दन दिएको सपना देखेँ ।’
मैले सोधेको थिएँ, ‘को हो कुबिजा ?’
हजुरआमाले भन्नुभयो, ‘कंसको दरबारमा फूल–चन्दन दिने नानी हुन् । भगवान् मथुरा जाँदा चन्दन दिएर खुसी पार्ने उनै हुन् । भगवान्ले उनको उद्धार गर्नुभयो । कुप्रो शरीर सोझो र सुन्दर भयो । उनी परम सुन्दरीमा परिणत भइन् ।’
मैले परिहासमा भनेको थिएँ, ‘त्यसो भए हजुर पनि पूर्णिमाको रातमा आँगनमा निस्केर भगवान्का हातमा हजारीको फूल राखिदिनुहोस् न, कतै फेरि जवानी फर्केर आउँछ कि !’
हजुरआमा हाँस्नुभयो । सायद उहाँको अभिलाषा अर्को जन्ममा कृष्णकी प्यारी ‘कुब्जा सुन्दरी’ भएर जन्मिने थियो । वर्तमान जन्ममा जेजस्तो भाग्य मिले तापनि पुनर्जन्ममा विश्वास गर्ने मान्छेले अर्को जन्म दिव्य बनोस् भन्ने अभिलाषा राख्दछ ।
मलाई कुब्जा सुन्दरीको कथा आकर्षक लाग्यो । फेरि सोधेँ, ‘हजुरलाई कुबिजाको कथा कसरी थाहा भयो ?’
हजुरआमाले थपडी बजाउँदै गाउन थाल्नुभयो, ‘हरे राम हरे राम... राम राम राम हरे हरे... हरे कृष्ण हरे कृष्ण... कृष्ण कृष्ण हरे हरे...।’
हजुरआमाका आँखा रसाइरहेका थिए । आस्थामा तर्कको कुनै स्थान थिएन । कृष्णको नाम मात्र नै उहाँको अटुट र अविचल सहारा थियो । भन्नुभयो, ‘मैले भागवतमा सुनेको कथा हो ।’
भागवतप्रेमी प्रत्येक नारीको मनमा कुब्जाको नाम टक्क अडिएर बस्दो रहेछ । भगवान्को अनुकम्पाले कुरूपबाट सुन्दर हुने कुब्जा र कंगालबाट वैभवशाली हुने सुदामा भागवत कथाका अमर पात्र हुन् ।
कृष्णप्रतिको अगाध लगावले हजुरआमालाई कुब्जाको नाम मात्र याद भएन, सपनामा पनि आफ्नै प्रांगणमा देख्नुभयो । उहाँ भन्नुहुन्थ्यो, ‘सबैभन्दा ठूला देवता राम, कृष्ण र महादेव हुन् । तर, अरू साना देवतालाई पनि भाग छुट्ट्याउनुपर्छ । साना देवताहरू रिसाहा हुन्छन् ।’
अलिपछि स्वाध्यायबाट थाहा भएको कुरा हो । एक दिन मामा कंसले भान्जाहरूको जीवन संहार गर्ने इरादाले बलराम र कृष्णलाई मावलीघर मथुरा आउने निमन्त्रणा पठाए ।
दुई भाइ मथुरा आए । मामालाई भेट्नुअघि उनीहरू मथुरा नगरीका गल्लीगल्ली घुम्न थाले । घुम्दै जाँदा कृष्णले भने, ‘केको सुगन्ध हो भ्राताश्री यो ?’
बलदेवले भने, ‘यो सुगन्ध यतै आइरहेकी कुप्री महिलाले बोकेको पात्रमा रहेको चन्दनको हो ।’
कृष्ण परिहास गर्दै महिलाको बाटो छेक्छन् ।
‘बाटो छोड बाटो छोड !,’ महिला कराउछिन् ।
कृष्ण भन्छन्, ‘के लुकाएर राखेकी छ्यौ सुन्दरी, त्यो पात्रमा ?’
कुब्जाको अनुहारमा क्रोधको लालिमा छाउँछ ।
‘को हौ तिमी यस्तो क्रोधमा झन् सुन्दरी देखिने ?,’ कृष्णको वचन सुनेर कुब्जाको निर्दोष क्रोध झनै उम्लेर आयो ।
‘तिमीले मलाई सुन्दरी भनेर हेला गरेको ? मेरो उपहास गरेको ? मलाई सारा संसारले कुब्जा भनेर घृणा गर्छ । म व्यंग्यवाण सुन्दासुन्दा थाकिसकेकी छु । मलाई यो सुन्दरी शब्द अत्यन्त असह्य भयो आज । आज मेरो भग्न हृदयमा तिमी नवागन्तुक अथितिको वाणीले झनै ठूलो घाउ बनाइदियो ।’
कृष्ण भन्छन्, ‘म जे भन्दै छु, सत्य भन्दै छु देवी ! म कसैको हाडमासुको शरीर मात्र होइन, आत्मा पनि देख्छु । शारीरिक कुरूपता र सुन्दरता अस्थायी र नश्वर हुन् । सुन्दर शरीर पनि बुढेसकालमा असुन्दर हुन पुग्दछ ।’
श्यामसुन्दरले कुब्जाको शरीरलाई तनक्क तन्काएर सुन्दर बनाइदिए । यो समस्त मानव समुदायप्रति एक सन्देश हो । वासुदेवले निर्माण गरेको एक सुन्दर विम्ब हो यो ।
संसारमा कोही पनि कुरूप छैन । कुरूपता हाम्रो विचार र सोचमा छ । यहाँ कोही ठूलो र कोही सानो छैन । यहाँ कोही महान् र कोही नीच छैन । कुरूपता देहाभिमानमा छ । अहंकार र दम्भमा छ कुरूपता ।
हजुरआमाले आफ्नो जीवनका ९४ वर्ष पूरा गरेकै कार्तिक महिनाको कुरा हो । एक दिन उहाँले बालाई भन्नुभयो, ‘ए कान्छा, एउटा कुरा भन्छु है !’ बाले हजुरआमातर्फ हेर्नुभयो ।
‘गण्डकी नुहाउन रिडी जान मन लाग्यो ।’
बा हाँस्नुभयो । त्यही मंसिरमा एक दिन हजुरआमा सिकिस्त हुनुभयो । हजुरआमा रिडी नगएको र कालीगण्डकीमा स्नान एवं हृकेशव भगवान्को अर्चना नगरेको २० वर्ष पुगिसकेको थियो । उहाँले जीवित अवस्थामै गण्डकीको स्पर्श गर्ने इच्छा व्यक्त गर्नुभयो ।
उहाँको इच्छा पूरा भयो । बाले हजुरआमालाई अर्धजल लैजाने व्यवस्था मिलाउनुभयो । पूर्ण आयु बाँचेको र इच्छाअनुसारको परिस्थिति पाएको मानिसका लागि मृत्यु पनि दिव्य र सुखदायी हुँदो रहेछ ।
देहावसानका बखत हजुरआमाको अनुहारै उज्यालो देखियो । यस्ता कुरा नमान्नेलाई मानेको देख्दा अचम्म लाग्छ, मान्नेलाई नमानेको देख्दा अचम्म लाग्छ । यहाँ विश्वासजस्तो ठूलो अरू केही रहेनछ ।
बूढो खनियाँको प्रसंग त अझै बाँकी नै छ । केही मानिसहरू अरूभन्दा ज्यादा विख्यात हुन्छन् । वृक्षको जीवनमा पनि त्यो नियम लागु हुँदो रहेछ । बूढो खनियाँ नामी हुनुका अनेक कारण थिए । सर्वोपरि कुरा त ऊ चिरायु हुनु नै हो । अर्को, ऊ पारिलो घाम लाग्ने ठाउँमा उभिएको थियो । उसका डाला गाईभैँसीले मिठो मानेर खान्थे ।
बूढो खनियाँको लहरा र भूमि दुवैतर्फ फल्ने फलहरू असाध्यै स्वादिला हुन्थे । उसको फेदमा मकैका थुप्रै ढोडहरू ठड्याएर राखिन्थ्यो, जो निखुर्कोका बखतका लागि असल पशु आहार बन्दथ्यो ।
उसको छहारीमा साउनको महिनामा प्रशस्त मिठो च्याउ उम्रन्थ्यो । ‘बाहुनले च्याउ खाउस् न मुख बाउस्’ भन्ने समयको कुरा हो यो । बाहुनले च्याउ खायो कि जात जाने जमानाको ।
त्यो मिठो च्याउ टिप्न नेवारनी साहुनीहरू आउँथे र बाहुनको परित्यागमा बडो प्रसन्न हुन्थे । उनीहरूले त्यस च्याउको नाम नै ‘बूढो खनियाँको च्याउ’ राखेका थिए ।
त्यसै छहारीमा बाथ, जरो र जुकाको औषधि रुदिलोको सानो झाडी पनि थियो ।
अर्को झनै महत्त्वपूर्ण कुरा, बूढो खनियाँ चिलहरूको गर्भादानको केन्द्र थियो । कहिल्यै नदेखिने रजोवती चिलनीहरू कतै दूर देशबाट आएर ‘चुइँइँइँ हररर्र’ को आवाज गर्दै बूढो खनियाँको हाँगामा बस्थे । अनि, कतैबाट चिल आउँथ्यो र चिलनीलाई गर्भवती बनाएर जान्थ्यो ।
भाले र पोथीको संगमका बखत कामातिरेकमा रोमाञ्चित चिलनी कराएको आवाज टाढाटाढासम्म सुनिन्थ्यो । बूढो खनियाँको टुप्पोमा कौवाले गुण बनाएर बच्चा हुर्काउँथ्यो । यदाकदा बगालबाट परित्यक्त एक्लो बाँदर त्यही वृक्षको डालीभित्र लुकेर बस्थ्यो ।
त्यो छहारीमा थाकेका खेतालाहरू बसेर खुदेपानी खान्थे । जोत्नेहरूले हलगोरु बिसाएर थकाइ मार्थे ।
अलि पछिल्लो समयको कुरा हो । बाले नौरथाको मौकामा भागवत कथाको आयोजना गर्नुभयो । सबैलाई सप्ताह सुन्ने अवसर दिने उद्देश्यले सधैँ मंसिर÷पुसमा काट्ने गरिएको बूढो खनियाँको घाँस त्यो वर्ष असोजमै झार्ने निधो भयो । बूढो खनियाँको घाँसले सप्ताहभरिलाई धान्यो पनि ।
वसन्त लागेपछि सबै वृक्षहरूमा नयाँ मुजुरा लाग्न थाले । पुष्पहरू फुल्न थाले । माहुरीहरूले वातावरण नै रमणीय बनाए । परन्तु, आश्चर्य भयो । त्यो साल बूढो खनियाँ पलाएन ।
बा त्यसै साल भागवत सुनेको वर्ष दिन नपुग्दै दिवंगत हुनुभयो । उता, बरा बूढो खनियाँ संसारी नश्वरताको निसानीझैँ पल्लवहीन, कालो र मैलो ज्यान लिएर एक वर्षसम्म नांगै प्राणहीन उभिइरह्यो ।
हिजोसम्म सबैलाई आश्रय दिने चिरायु वृक्ष आज निर्बल र निरालम्ब भएर तिरस्कार र तमासाको केन्द्र बन्यो । कमजोर र अनुत्पादक मानिस जसरी विवश र लाचार हुन्छ, त्यही गति त्यस वृक्षको पनि भयो ।
आउँदो हिउँदमा बूढो खनियाँलाई फेदैबाट ढाले । उसले आफ्नो अवसानमा पनि दाउरा बनेर मनुष्यलाई योगदान गर्यो । ढालेर दाउरा चिर्दा बूढो खनियाँ धोद्रो भएको पाइयो, कमिला र धमिराले चौतर्फी आक्रमण गरिरहेका । कमजोर र वृद्ध भएको थाहा पाउनासाथ मौका कुरेर बसेकाहरूले कसरी आक्रमण गर्छन् भन्ने कुराको ज्वलन्त प्रतीक थियो बूढो खनियाँ ।
दुर्दिनको मारमा परेपछि एउटा सघन र खँदिलो व्यक्तित्व पनि धोद्रो र निम्छरो हुनपुग्छ । चाहे मनुष्य होस् या वृक्ष नै किन नहोस्, कुदिनको बखतमा धोद्रो भएर लाचार हुनैपर्छ ।
बूढो खानियाँ मरेर गयो । तीन÷चार वर्षसम्म ठुटो मात्र बाँकी थियो । हरेक वसन्तको आगमनसँगै चिलनी आएर त्यही ठुटोमा बसेर प्रेमीको प्रतीक्षा गरिरही । परन्तु, चिल आएन । कुर्दाकुर्दा थकित र विह्वल भएर पश्चिमतिर उडेकी चिलनी त्यसपछि कहिल्यै फर्केर आइन ।
बूढो खनियाँको मृत्युसँगै त्यहाँ च्याउ पलाउन छाड्यो । लाखे भूत र मथुराकी कुब्जा नाच्दै आउने जमाना सकियो । प्रफुल्ल कुब्जाले कुशको घाँसमा विश्राम गर्ने प्रतीकात्मक सप्नमय रात्रिहरूको क्रम पनि भंग भयो ।
वनस्पति, पशु र मनुष्यबीचको तारतम्यको प्रतीक थियो बूढो खनियाँ । उसको देहावसानमा सुरम्य र रसिलो भूमि उजाड, सुक्खा र असुन्दर भयो । चिरकालदेखिको चिलको प्रेमस्थली लुप्त भएर हरायो ।
पशुले मिठो घाँस खान पाएनन् । कुश पलाउन छाड्यो । रुदिलोको झाडी पनि चर्को घाममा टिक्न सकेन । मरेर गयो ।