site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यका ८९१ कर्मचारी गएनन् खटाएको ठाउँमा, बिना दरबन्दी थपिएका कर्मचारीको तलब अन्योलमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ८९१ कर्मचारी काजमा रहेको पाइएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार खटाइएको ठाउँमा नजानेमा अधिकांस समायोजन गरिएका कर्मचारी छन् । समायोजनका क्रममा स्थानीय तहहरूले मनोमानी ढंगले दोहोरो सहमतिदिँदा दरबन्दीभन्दा बढी भएका २५० जनाको तलबको यतिखेर मन्त्रालयका लागि टाउको दुखाईको विषय बनेको छ ।

८९१ कर्मचारी अझै काजमा, एउटै पालिकामा ५० जना बढी
स्वास्थ्य मन्त्रालयले विभिन्न चरणमा गरी पहिलो चरणमा चौथोदेखि दसौँसम्म गरी २६ हजार ७१७ कर्मचारी समायोजन गरेको तथ्यांक छ । सो क्रममा घरपायक सेवा गर्न पाउने ‘स्वास्थ्य सेवा ऐन’मा रहेको व्यवस्थाको फाइदा उठाउँदै कर्मचारीले खटाइएको ठाउँमा जान नमानेको मन्त्रालयको बुझाइ छ ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख तुलसीनाथ गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ३६ कर्मचारी काजमा छन् भने सुर्खेतको एकै पालिकामा स्वास्थ्यका ५३ कर्मचारी छन् ।

काजमा कर्मचारी बढी रहनेमा कञ्चनपुरको भीमदत्त, बाँकेको कोहलपुर, पोखरा, धनगढी, हेटौँडालगायत १६ जिल्ला छन् । समायोजनपछिको ऐन नबन्दा कर्मचारीलाई खटाइएको ठाउँमा पठाउन बाध्यात्मक अवस्था बनाउन नसकिएको गौतम बताउँछन् ।

“अहिले नयाँ मन्त्री आएपछि ८९१ बाट काजमा खटिने कर्मचारीको संख्या मन्त्रालयले थपेको छैन तर तत्काल नयाँ ऐन बनाएर व्यवस्थापन नगरे स्वास्थ्यमा कर्मचारीको अवस्था भयावह हुने देखिएको छ,” उनले भने ।

दरबन्दीभन्दा २५० कर्मचारी बढी
मन्त्रालयले समायोजनका क्रममा दुई पालिकाबीचको सहमतिमा दरबन्दी मिलान गर्ने व्यवस्था गरेको थियो । सोही क्रममा दरबन्दीभन्दा थप गरी कर्मचारी नलिन पटकपटक स्थानीय तहहरूलाई सूचित गरिएको थियो ।

तर, अहिले करिब २५० कर्मचारी दरबन्दीभन्दा बढी भएपछि तिनको तलब निकासा गर्न मन्त्रालयलाई समस्या परेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को बजेटले बढाएको कर्मचारीको १५ प्रतिशतले तलब संघसहितका कर्मचारीले अझै पाएका छैनन् । बढेको रकम पाउन दरबन्दीका कर्मचारी असार मसान्त कुरिरहेका छन् ।

त्यसमा विभिन्न पालिकाले आफूखुसी कर्मचारी नियुक्त गर्दै उनीहरूको तलब भने मन्त्रालयमा माग गरेका छन् ।

कर्मचारी सरुवा गर्दा वडाध्यक्षदेखि सांसदसम्म आतंकित हुन्छन्
खटाइएको ठाउँमा नजाने र पावर पहुँचकै भरमा काजमा बसिरहने मन्त्रालयको रोग नै भएको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको बुझाइ छ । समायोजनका क्रममा स्थानीय तहहरूले मनोमानी निर्णय गर्दा चाहिने ठाउँमा कर्मचारी नभएको र नचाहिने ठाउँमा खचाखच भएको उनी बताउँछन् ।

“अहिले भएका ८०० बढी कर्मचारी सबै पावर र हैसियत भएका कर्मचारी हुन्, एउटा कर्मचारीलाई मात्रै सरुवा गरे वडाध्यक्षदेखि मेयर, सीडीओ हुँदै त्यो क्षेत्रका सांसदसम्म आतंकित हुन्छन्” मन्त्री बस्नेत भन्छन् ।

“तर त्यसो भनेर म चुप लागेर बसेको छैन तत्काल दरबन्दी र कर्मचारी थप गर्ने अवस्था छैन भएका कर्मचारीलाई मिलाएर गरेरै लैजाने हो, तीनै तहको समन्वयमा जनशक्ति व्यवस्थापन गर्दै लैजान्छौँ”, उनले थपे ।

स्वास्थ्यमा तीन तहका सरकारको समन्वयको अभावमा नै कर्मचारी सरुवा तथा व्यवस्थापनमा समस्या देखिएको स्वास्थ्य सचिव डा. रोशन पोख्रेलको निष्कर्श छ । स्थानीय तहले संघलाई नटेर्ने र मनोमानी गर्ने प्रवृतिले कतिपय स्थानीय तहमा कर्मचारी समायोजनमा बेथिति देखिएको उनी बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro