
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको बताए । उनले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताए ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यस बेला संसद्मा रहेका दलहरूले अकर्मण्यता देखाएको उनको भनाइ छ । उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए ।
उनले वैवाहिक अंगीकृतका हकमा पनि नागरिकता विधेयकले बोलोस् भन्ने चाहे पनि संसद्मा नलगी प्रमाणीकरणमा पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताए । आफ्नो पार्टीले नेपाली नागरिकले नागरिकता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको उनले स्पष्ट पारे ।
“तपाईंहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ । तर, सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ । तर, हामी डराउँदैनौँ,” उनले भने, “२०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । तर, त्यो अनुमानलाई बाधा पुर्याउन अहिलेदेखि नै प्रयासहरू सुरु भएको छ । त्यसमा हामी चनाखो हुँदै जानुपर्छ ।”
सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताए । उनले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गरे । उनले सबै ठाउँबाट पार्टीलाई जिताउन आफ्नो पार्टीले काम थालिसकेको पनि जिकिर गरे ।