site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूस–युक्रेनबीच शान्तिका लागि वार्ता आयोजना गर्न दक्षिण अफ्रिका तयार
फाइल तस्बिर ।

जोहानेसबर्ग । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्यका लागि अफ्रिकी नेताहरूको शान्ति अभियानको स्वागत गरेपछि दक्षिण अफ्रिकाले बिहीबार रूस र युक्रेनबीच वार्ता आयोजना गर्न तयार रहेको बताएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले गत महिना पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ६ सदस्यीय अफ्रिकी शान्ति टोलीलाई स्वागत गर्न सहमति भएको बताएको थियो । यो वार्ता यसै महिना सुरू हुने अपेक्षा गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपति कार्यालयका एक मन्त्री खुम्बुद्जो एनतशाभेनीले प्रिटोरियामा पत्रकारहरूसँग भने, “हामीले दक्षिण अफ्रिकाले यहाँ शान्ति शिखर सम्मेलन आयोजना गर्ने सम्भावनालाई ग्रहण गर्नैपर्छ ।”

यसअघि बिहीबार दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पुटिनसँग रामाफोसाको फोनमा कुराकानी भएको जनाएको थियो । उक्त अवसरमा रूसी नेताले अफ्रिकी राष्ट्रप्रमुखहरूको पहलको स्वागत गर्दै शान्ति अभियानलाई स्वीकार गर्ने इच्छा व्यक्त गरेका बताइएको छ ।

रामाफोसाले गत महिना घोषणा गरेको प्रतिनिधिमण्डलमा कङ्गो गणतन्त्र, इजिप्ट, सेनेगल, दक्षिण अफ्रिका, युगान्डा र जाम्बियाका राष्ट्रपतिहरू रहेका छन् ।

गहुँ र अन्य कृषिजन्य वस्तुहरूको प्रमुख विश्वव्यापी स्रोत युक्रेनमा रूसले गरेको आक्रमण र विश्व व्यापारमा युद्धको व्यापक प्रभावपछि अफ्रिकी देशहरू अन्नको बढ्दो मूल्यवृद्धिबाट नराम्ररी प्रभावित भएका छन् ।

दक्षिण अफ्रिकाले क्रेमलिनतर्फ ढल्केको आरोप लागेपछि आफ्नो तटस्थताको साखलाई चम्काउन खोजिरहेको बेला शान्तिवार्ताको तयारीबारे जानकारी आएको हो । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २२:३३
प्रतिक्रिया दिनुहोस्