site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनी प्रतिआक्रमणका लागि रुसले सशक्त पारिरहेको ‘फ्रन्टलाइन’
फाइल तस्बिर ।

काठमाडौं । रुसले कब्जा गरेको भूमि फिर्ता ल्याउन युक्रेनले महिनौँदेखि प्रतिआक्रमण (काउन्टर अफेन्सिभ)को तयारी गरिरहेको छ । यसै समयमा रुसले करिब एक हजार किलोमिटर लामो क्षेत्रमा आफ्नो अग्रपंक्ति (फ्रन्टलाइन) बलियो बनाएको छ ।

फाइनान्सियल टाइम्सले समीक्षा गरेको र सैन्य विज्ञहरूले विश्लेषण गरेको भूउपग्रहबाट लिइएका तस्बिरले रुसले बहुस्तरीय रक्षा नेटर्वक निर्माण गरेको देखाएको छ ।

लडाइँका ट्यांक फस्ने एन्टी–ट्यांक खाडल, खाडलको भुलभुलैया, ट्यांक एवं सेनाको आगमनमा बाधा पार्ने कंक्रिटको ‘ड्रागन टिथ’ छेकवार, स्टिलको ‘हेजहग’ अवरोध, रेजर तारको बार र जमिनमुनि गाढेका विस्फोटक ल्यान्डमाइनसहितका रक्षा रेखा र घेरा रुसले बनाएको छ ।

रुसको यो रक्षात्मक निर्माणलाई निगरानी गरिरहेका ओपन सोर्स इन्टेलिजेन्स अनुसन्धानकर्ता एवं अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका विश्लेषक ब्राडी अफ्रिकले भनेका छन्, “रुसी सेनाले आफ्नो नियन्त्रणमा रहेको धेरै भू–भागको रक्षा गर्न निकै कठिन छ भन्ने महसुस गरेको देखिन्छ ।”

यस्ता छन् रुसी रक्षा घेरा र लाइन
रुसले युक्रेनबाट कब्जा गरेको करिब एक लाख वर्गकिलोमिटर क्षेत्रलाई काउन्टर अफेन्सिभबाट जोगाउन महिनौँ लगाएर करिब एक हजार किलोमिटरको रक्षा रेखा निर्माण गरेको छ ।

रुसको सबैभन्दा ठूलो सुदृढ फ्रन्टलाइन दक्षिणी जापोरिझिया प्रान्तमा रहेको छ । युक्रेनले त्यहाँबाट आक्रमण सुरु गर्ने र रुसलाई क्रिमियासँग जोड्ने भूभाग ‘ल्यान्ड ब्रिज’ नियन्त्रणमा ल्याउने प्रयास गर्ने ठानिएको छ ।

सन् २०१४ मा रुसले क्रिमियालाई कब्जा गरेको थियो । किम्रिया क्षेत्रमा पनि खाडल र ट्यांक जालसहित बलियो रुपमा रक्षात्मक लाइन निर्माण गरिएको छ ।

रुसले अजोभ सागर नजिकैको बर्दियान्स्क एयरफिल्डमा पनि विशेष ध्यान दिएको छ । यो एयरफिल्ड रुसी सैन्य विमानको ‘हब’का रूपमा चिनिन्छ ।
 
रातो घेरा–घेरा दिएर बनेको लाइन रुसले निर्मार्ण गरेको रक्षात्मक रेखा हो । फिक्का गुलाबी रङसहितको क्षेत्र रुसले कब्जा गरेको युक्रेनी भुभाग हो ।

यातायातको हब र प्रायद्धीपको प्रवेशद्वारका रूपमा उत्तरमा रहेको आर्मीयान्स्कदेखि उत्तर पश्चिममा रहेको झान्कोईसम्म पनि रक्षात्मक लाइन निर्माण गरिएको छ ।

महत्वपूर्ण सडक सञ्जालको जंक्सनका रूपमा रहेका तोक्माक, पोलोही, बिल्माक र ओचेरेतुवाटे सहरलाई पूर्णरूपमा सुरक्षा घेरा दिइएको छ ।

पूर्वी सहर सेभेरोडोनेत्स्क, लिसिचान्स्क र पोपस्न्ना आसपासको क्षेत्रमा पनि ड्रागन टिथ अवरोध, खाडल र अन्य अवरोधको रेखा निमार्ण गरेको छ । यो क्षेत्र रुसले सन् २०२२ को जुनमा कब्जा गरेको थियो । युक्रेनी सेनाले प्रतिआक्रमणका बेला यो क्षेत्रमा पनि महत्वपूर्ण चुनौतीको सामना गर्नेछ ।

रुसले पूर्वी लुहान्स्क प्रान्तको सीमादेखि उत्तरसम्मको क्षेत्रमा पनि बलियो रक्षात्मक लाइन निमार्ण गरेको छ । यस क्षेत्रकै कुप्यान्स्क सहर आसपासबाट युक्रेनी सेनाले आक्रमण थाल्ने आँकलन गरिएको छ ।

युक्रेन सफल होला कि रुस अझैं अघि बढ्ला ?
रुसी सेनाले गत नोभेम्बरदेखि अग्रपंक्ति सुदृढीकरणको कामतलाई तीव्रता दिएको थियो । त्यतिबेला सेनाले ट्यांक फसाउने खाडल र भुलभुलैया खन्न थालेका थिए ।

यस विषयमा अफ्रिकाले भने, “जमिन चिसो हुँदन खन्न कठिनाइ भएको कारण हुनसक्छ हिउँदमा गति सुस्त थियो । तर, पछिल्ला महिनाहरूमा किल्लामा खन्ने काम नाटकीय ढंगले बढेको देखिन्छ ।”

यी किल्लाहरू युक्रेनी सेनालाई अगाडि बढ्नबाट रोक्न पर्याप्त नभए पनि महत्वपूर्ण अवरोध सिर्जना गर्ने र आक्रमणको गतिलाई सुस्त पार्ने सैन्य विश्लेषकहरू बताउँछन् ।

लडाइँमा युक्रेनको लागि सम्भावना उच्च छ । सफल आक्रमणले रुसी सेनालाई पछाडि फर्काउनेछ, पश्चिमी सैन्य सहयोग जारी रहनेछ र मास्कोसँगको भविष्यको वार्तामा किभलाई फाइदा दिनेछ ।

यसले १५ महिनादेखि युद्धको डरलाग्दो स्थितिमा बाँचिरहेका युक्रेनी सेना र नागरिकको मनोबल पनि उच्च पार्नेछ ।

रुसका लागि पनि यो लडाइँ उत्तिकै महत्वपूर्ण छ । यदि राष्ट्रपति भ्लादिमिर पुटिनले गत सेप्टेम्बरमा रुसमै गाँभेको घोषणा गरेका डोनेट्स्क, लुहान्स्क, खेरसन, जापोरिझिया र सन् २०१४ मा कब्जा गरेको क्रिमियालाई युक्रेनले आफनो नियन्त्रणमा ल्यायो भने रुस र रुसी सेनाका लागि यो ठूलो पतन हुनेछ ।

युक्रेनको पूर्ण काउन्टर अफेन्सिभ अघि पछिल्ला दिनका आक्रमणहरुलाई हेरिएको छ । दुई हप्तायता युक्रेनी सेनाले रुसी कमाण्ड, कब्जा केन्द्र, हतियार डिपो र आर्टिलरी सिस्टममा मिसाइल आक्रमण र तोडफोड गरेका छन् ।

कीभले अस्वीकार गरे पनि रुसमा सैन्य सुविधा लक्षित आक्रमणमा युक्रेनको संलग्नता रहेको विश्लेषकहरूको भनाइ छ ।

मस्कोले आइतबार बाख्मुट कब्जा गरेको घोषणा गर्नुअघि युक्रेनी सेनाले उत्तरी र दक्षिणी भागमा आक्रमण गरेको थियो । सो क्रममा केही वर्ग किलोमिटर क्षेत्रमा युक्रेनी सेनाले फेरि आफ्नो नियन्त्रण पाएको छ र यसलाई सुरुवाती लाभका रुपमा हेरिएको छ ।

तर, गत शरद ऋतुमा युक्रेनी काउन्टर अफेन्सिभले उत्तर पूर्वी खार्किभ क्षेत्रबाट प्रवेश गरी खेरसनको दक्षिणी सहर फेरि नियन्त्रणमा ल्याएयता खासै उपलब्धि नदेखिएको पर्यवेक्षकहरूको भनाइ छ ।

रुसको तीन चार तहको रक्षा लाइनलाई ठूलो घाटा नव्यहोरेरै ताड्न सक्नु निकै कठिन हुने कीभ आधारित राष्ट्रिय रणनीतिक अध्ययन संस्थानका रिसर्च फेलो माइकोला बिलेस्कोभको भनाइ छ ।

सफलताका लागि सशस्त्र सवारी, आर्टिलरी, विष्फोटक माइन हटाउने र वायु रक्षालाई सँगसँगै अघि सार्नसक्नु पर्ने उनको भनाइ छ । अवरोध मात्रैले भने सेनालाई अघि बढ्नबाट नरोक्ने उनी बताउँछन् ।

अमेरिकी थिंक ट्याङ्क विदेशी नीति अनुसन्धान संस्थानका वरिष्ठ फेलो रोब लीले सुदृढ गरिएका रुसी किल्लाले चरम गोलीबारीका बेला युक्रेनी सैन्य क्षति गर्ने बताए ।

‟दुई भन्दाबढी रक्षा घेरा हुँदा युक्रेनले पहिलो तोडिरहँदा दोस्रो र तेस्रोलाई बलियो बनाउन रुससँग पर्पाप्त समय हुनेछ,” उनले भने ।
हालसम्म युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र उनका सैन्य लिडरले प्रतिआक्रमणको योजना गोप्य राखे पनि दक्षिणमा मुख्य लक्ष्य हुने ठानिएको छ ।

समथर र खुला फाँटहरू हुँदा रुसी सेनाले गत नोभेम्बर र नयाँ वर्षको समयमा दक्षिणी युक्रेनी क्षेत्रमा रक्षात्मक घेरा बनाउन थालेका थिए । रुसी सेनाले दक्षिणी जापोरिझिया प्रान्तमा पनि बलियो रक्षात्मक स्थिति बनाएको छ । किनकी यो क्रिमियासँग जोडिन्छ जुन रुसी सैन्य लजिस्टिक र आपुर्तिका लागि महत्वपूर्ण छ ।

रुसले यस क्षेत्रमा एन्टी–ट्यांक खाडलहरू, खाडलहरू, कंक्रीट र स्टिलका अवरोधहरू, रेजर तार र माइनफिल्डहरूको विस्तृत भूलभुलैया निर्माण गरेको छ ।

मेलिटोपोल र बर्दियान्स्क रूसी किल्लाका महत्वपूर्ण विन्दु हुन् । यदि युक्रेनले कुनै पनि आफ्नो नियन्त्रणमा लियो भने यो महत्वपूर्ण हुनेछ । किनकी त्यहाँबाट यसले आफ्नो सेनालाई अझ प्रभावकारी रूपमा अगाडि बढ्ने अभियान चलाउन सक्षम बनाउनेछ ।

युक्रेनले युद्धमैदानमा रुसी सेना र रक्षा रेखाको आकारलाई नै फाइदाका रुपमा प्रयोग गर्ने ठानिएको छ । किनकी लामो रक्षात्मक लाइन हुँदा रुसी सेना लामै लाइनमा फिजिएर रहनेछ भने, सेनाको संख्या पातलो हुनेछ । यसैमा युक्रेनी सेनाले बलियो आक्रमण गर्नसक्ने आँकलन गरिएको छ ।

“फ्रन्टलाइनको लम्बाइले हाम्रो फाइदाको लागि काम गर्छ,” युक्रेनी सेन्टर फर डिफेन्स स्ट्राटेजीजका अध्यक्ष र युक्रेनका पूर्वरक्षामन्त्री एन्ड्री जागोरोडन्यूकले भने, “रूसी सेना यो फ्रन्टलाइनको वरिपरि छरिएका छन् र हामी उनीहरूले अपेक्षा नगरेको ठाउँ फेला पार्न सक्षम हुनछौं ।”

रुसको प्रदर्शन यसको सेना, उनीहरुको अवस्था, आपूर्तिलगायतका विभिन्न कुरामा निर्भर रहने अमेरिकी वैश्विक नीति थिंक–ट्याङ्क र्यान्ड कर्पोरेसनका वरिष्ठ नीति अनुसन्धानकर्ता डारा मेसिकोट बताउँछिन् । रुसी सेनाको मनोबल कसैको खराब, कसैको कमजोर भएर फरक–फरक रहेको र यो महत्वपूर्ण हुने उनको भनाइ छ ।

यस्तै रुसले देखाउने नतिजा यसको नयाँ सेना लडाइँका लागि तयार छ वा छैन् भन्ने कुरा निर्भर हुने लीको भनाइ छ । युद्ध सुरु भएयताकै सबैभन्दा लामो बाख्मुटको रक्तपातपूर्ण लडाँइमा रुसले आफ्नो हतियार एवं गोलाबारुद सके, नसकेको बिषयमा पनि रुसी सेनाको पराकर्म निर्भर हुने उनी बताउँछन् ।

नयाँ भर्ना भएका रुसी सेनाबारे ली भन्छन्,‟तिनीहरुसँग लडाइँको धेरै अनुभव छ भन्ने छैन् । धेरैजसो भर्खर मात्रै लडाइँ गर्ने खाडल (ट्रेन्चेज)मा आएका छन्, उनीहरू लडाइँमा रहलान् कि भाग्लान्?” (फाइनान्सियल टाइम्सका लागि क्रिस्टोफर मिलर)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro