site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
घाटाका कम्पनीको आईपीओ किन्दै नकिन्नू 

सेयर बजारको नियमनकारी निकाय हो धितोपत्र बोर्ड ।  लगानीकर्ताको हित संरक्षण गर्नुपर्ने काम भए पनि पछिल्लो समय अध्यक्ष रमेशकुमार हमाल केही विवादमा परेका छन् ।  खास गरेर नयाँ स्टक एक्सचेञ्जसँगै घाटामा रहने कम्पनीको आईपीओ ल्याउने विषयमा उनले गरेका निर्णय आवाज सदनमासमेत उठेको छ । 

सेयर बजारका विषयमा बाह्रखरीका लागि हमालसँग आशीष ज्ञवालीले गरेको कुराकानी :

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया के कारणले रोकियो ?

–नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने अन्तिम निर्णय सरकारको अधिकारको कुरा थियो ।  सरकारलाई यस बारेमा थप अध्ययन गरौँ बुझौँ भन्ने लागेको भएर रोकिएको होला । 

यसबारेमा थप छलफल हुन बाँकी होला । हामीलाई स्टक लाइसेन्स तत्काल रोक्नू भन्नेमात्र आएको छ । थप छलफलपछि थाहा होला । 

बाहिर आएको कुरा त प्रधानमन्त्रीले तपाईँले केही व्यवसायी घरानालाई लाइसेन्स दिन लागेपछि प्रक्रिया रोकेको भन्ने छ नि !

–मलाई त्यो लाग्दैन । नेपालमा यस्ता नभएका हल्लाहरु धेरै छिटो फैलने गर्छन् ।  म यस्ता ‘स्याडो’ कुराहरु बुझ्ने गर्दिन । म २० वर्ष बाहिर काम गरेर आएको हो । मैले बुझ्ने र विश्वास गर्ने भनेको ‘मेरिट’ विधि र प्रणालीमा हो । 

मेरो करिअरको शुरुवात त्यसैबाट भएको हो । 

मेरिट नभएको भए म अहिले यो ठाउँमा हुने थिएन ।  स्वयम् मेरिटबाट आएको व्यक्तिले त्यसको विकल्पमा जाने भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन । 

अहिले चलेको यसको हल्लामा त्यो पहिला बुझ्नुपर्ने कुरा हो ।  सुदूरपश्चिमको सरकारी विद्यालयबाट एसएलसी पास गरेर विदेशी विश्वविद्यालयसम्म पढेको हो । प्रतिस्पर्धाबाट नै संयुक्त राष्ट्रसंघ तथा निजी क्षेत्रमा काम गर्ने अवसर पाए । 

मैले आफ्नो प्रोफाइल बनाएको प्रतिस्पर्धाले गर्दा हो । हाम्रो समाजमा तर्क लगाउने खालको समाज छैन । अहिले पनि नयाँ स्टक एक्सचेञ्जको बारेमा धेरै हल्लाहरु मात्र गरिन्छन् । जानुपर्ने विधि र प्रक्रियामा हो । 

 

rameshhamal31684383902.jpg
केही सांसदहरुले यो विषयमा संसदमा नयाँ स्टक एक्सचेञ्जको बारेमा कुरा उठाउनुभयो ।  त्यसको प्रतिकार सामाजिक सञ्जालमा लगानीकर्ताहरुले गरे । नेपालमा लगानीकर्ताहरुको तीनवटा संस्थालाई मान्यता दिएको छ । जसले लगानीकर्तालाई प्रतिनिधि गर्ने गर्छन् । 

तीनवटै संस्थाको संयुक्त रुपमा नयाँ स्टकको लाइसेन्सको पक्षमा थियो । नयाँ स्टक एक्सचेञ्ज चाहिन्छ । योबिना बजारको विकास सम्भव छैन । अहिलेको स्टक एक्सचेञ्जले समयअनुसार काम गर्न सकेको छैन भन्ने हो । लगानीकर्ताको यो पुरानो माग हो । 

कसलाई दिने नदिने भन्नेमा हाम्रो समाजले नचाहिने विषयमा गर्ने हल्ला हो । अहिलेसम्म गरेको प्रणालीमा कसैले प्रश्न गरेको छैन । अहिलेसम्म नेपालमा नभएको काम यसमा गरेका छौँ ।  भदौको एकीकृत निर्देशिका बनाएका थियौँ । असोज २ गते सार्वजनिक सूचना निकाल्नु अगाडि नै यसमा काम गरेका थियौँ । 

यसमा सबैलाई सहभागिता बढाउन र केही पनि कुरा निवेदन आए पनि नहोस् भन्नेमा थियौँ ।  असोज २ गते गोरखापत्रमा सूचना आउनु अगाडि लाइसेन्सको बारेमा चाहिने नीतिको बारेमा सञ्चालक समितिले पारित गरेको थियो । 

यसमा लाइसेन्स कसरी पाइन्छ भने मूल्यांकन प्रणाली र बनोट र निवेदनको प्रक्रियाको बारेमा सार्वजनिक जानकारी दिएका थियौँ ।  यो ४५ दिनको सूचना जारी गरेको दिन लागिएको हो । पुनर्बिमाको लाइसेन्स ३५ दिनको सूचना राखेर दिइएको थियो । 

निश्चित घरानालाई दिन खोजिएको भए यो हुने थिएन । म मूल्य मान्यता र प्रणाली हिँड्ने मान्छे हो । 

तपाईँले नियमावलीमा एउटै घरानालाई बढी होल्ड हुने गरी व्यवस्था गर्नुभयो । यस्तै नयाँ स्टक एक्सचेञ्ज नभएर नै देशमा सेयर बजारको विकास नभएको हो ?

–हामीले सेयर बजारमा लाइसेन्स दिनको लागि ४५ दिनको समय दिएका थियौँ । 

हामीले २१ दिनमात्र दिए पनि हुने थियो । स्टक एक्सचेञ्जमा कसैको निवेदन बदर नहोस् भनेर हेल्प डेक्स बनायौँ । सबै निवेदकलाई यो जानकारी दिएका थियौँ । केहीले यसको सहयोग लिए पनि । प्रक्रियामा हामी चुकेका छैनौँ । हामी भगवान् त होइन । प्रणाली फेयर बनाउने काम गरौँ । 

कुनै पनि नीति आवश्यकमा पर्फेक्ट हुँदैन । नयाँ स्टक एक्सचेञ्ज चाहिन्छ भन्ने मभन्दा अगाडिको अध्यक्षले भनेको कुरा हो ।  २०७४ सालमा धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले अर्को स्टक एक्सचेञ्ज खोलेपछि मात्र बजारको दायरा विस्तार हुन्छ भनेर भनेको छ । 

rameshhamal41684383907.jpg

यसको लागि पहल गर्ने निर्णय भएको छ । यो म भन्दा अगाडि भएको निर्णय हो ।  अर्थ मन्त्रालयसँग २०७४ सालमा सहमति माग भएको थियो । २०७५ सालमा अर्थ मन्त्रालयले स्टकको लाइसेन्स दिने भनेर सहमति दिएको थियो । 

मेरो चरित्रमा दाग लगाउने काम गरिएको छ । यो मलाई स्वीकार्य छैन ।  हामीले प्रणालीभित्र रहेर स्टक एक्सचेञ्जको लाइसेन्सको प्रक्रिया अगाडि बढाएका थियौँ । हामीले लाइसेन्स लिने प्रक्रिया सुरु गर्दा सबै कुरा पारदर्शी रुपमा वेबसाइटमा राखेका थियौँ । 

यसमा केही पनि सुझाव आएको थिएन । हामी नेगेटिभ ‘माइन्डसेट’मा छौँ ।  निर्णय हुने अन्तिममा मात्र हल्ला गर्ने काम छ । अहिले ‘शो कल्ड’ विज्ञले भ्रष्टाचार भयो भनेर हल्ला गर्दैै अहिले विज्ञहरु हिँडेका छन् ।  बैंक तथा वित्तीय संस्थामा र बिमामा एउटै व्यक्तिले १५ प्रतिशत सेयर स्वामित्व लिन पाउने व्यवस्था छ । 

यसलाई हामीले राखेको हो । यो भन्दा अगाडि बैंक तथा वित्तीय संस्थामात्र स्टक एक्सचेञ्जको लगानीकर्ता हुन पाउने व्यवस्थालाई परिवर्तन गरेर सबै कम्पनीहरु पाउने व्यवस्था राखिएको हो ।  हाम्रोमा बैंक तथा वित्तीय संस्था र व्यापारी एउटै छन् । 

स्टकमा लगानीकर्ताको दायरा फराकिलो बनाउन खोजिएको हो । 

तपाईँले प्रतिस्पर्धामा लाइसेन्स दिने कुरा भन्नुभयो । बोर्डका कर्मचारी मर्चेन्ट बैंकरको मौरिसस भ्रमणमा कसरी आवेदनको प्रक्रिया सुुरु नहुँदै एउटा अमुक कम्पनीसँग मौरिससको स्टक एक्सचेञ्जले सम्झौता भएको कुरा आयो । जबकि यहाँ लाइसेन्स दिने प्रक्रिया सुरु भएको थिएन... 

–म मौरिसस भ्रमणमा गएको थिइन । सञ्चालक समितिका कोही पनि भ्रमणमा गएका थिएनन् ।  बोर्डका दुईजना कर्मचारी गएका हुन् यसबाहेक मर्चेन्ट बैंकरहरु थिए ।  त्यहाँ कसैले नेपालमा स्टक एक्सचेञ्जसँग सम्झौता भएको बताएको होला । 

तर कुन विषयमा के बतायो भन्दैमा यसलाई अर्कोमा लगेर जोड्न मिल्दैन ।  कोही प्रविधि खोज्न गएको हो । नेपालमा २०६६ सालमा नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स चाहियो भनेर निवेदन परेको थियो ।  २०६६ सालमा परेको निवेदनको जिम्मा पनि मैले लिनुपर्ने । 

म नेपालमा नै नभएको बेला २०७४ सालमा नै स्टक एक्सचेञ्ज ल्याउने भनिएको थियो ।  म नेपाल लगानीकर्ताको रुपमा फर्किएको हो । मैले गरेको रिफर्मको कुराको बारेमा कुरा गरौं । मैले गरेका राम्रा कामको चर्चा नै नहुने भयो । 


तपाईँले आश्वाको शुल्कमा एकरुपता ल्याउनुभयो । इन्साइडर ट्रेडिङमा कारवाहीसँगै पहिलोपटक मुद्दा नै दर्ता गर्नुभयो । यो राम्रो काम भयो । तर यो देखाएर घाटामा गएका र नाफा नै हुने सम्भावना नभएका कम्पनीको आईपीओको अनुमति दिनुभयो । सेयर बजारको नियामक निकायले जनताको पैसाको बारेमा बेवास्ता गर्न मिल्छ ?
 

–सेयर बजारको इको सिस्टमको बारेमा धेरैले कुरा बुझेका देखिएन । खाली हामीले मात्र अनुमति दिएको मात्र कुरा बुझेँ । सेयर बजारमा प्रणालीगत कमजोरी छ ।  एक सय रुपैयाँसम्मको अंकित मूल्यमा सेयर निष्कासन हुने न्यूनतम व्यवस्था गरेका छौँ । 

७० रुपैयाँ नेटवर्थ भएको कम्पनीलाई एक सय रुपैयाँ आईपीओ ल्याउन हामीले वर्षौँदेखि दिएका छौँ ।  यो अहिलेबाट भएको काम होइन । यदी कागज सबै पुगेर आएको छ ।  चार्टर्ड एकाउन्टेन्टले साइन गरेको छ । एक सय रुपैयाँमा होस् या प्रिमियम मूल्यमा यसमा धेरै सरोकारवाला निकाय जोडिएका हुन्छन् । 

आईपीओ शाखाबाट आएपछि बोर्डको अध्यक्षले हस्ताक्षर गर्ने हो ।  आईपीओ ल्याउनु अगाडि निष्कासनकर्ताले जनताले सेयर नकिनेमा किन्ने प्रत्याभूतिको सम्झौता अन्डरराइट गरिसकेको हुन्छ ।  नेपालमा १० कित्ते नीतिले कमजोर कम्पनीको समेत आईपीओमा मागभन्दा बढी आवेदन पर्छ । 

हामी पनि एक पटक जनताले घाटामा भएको कम्पनीको आईपीओ नकिनुन् र किन्नु हुँदैन भन्ने चाहन्छौँ ।  यो अन्डरराइट गर्ने कम्पनीले अहिलेसम्म यस्तो घाटामा गएका कम्पनीको आईपीओ बिक्री नभएको कारण किन्नु परेको छैन । 

rameshhamal21684383899.jpg

जबसम्म साधारण लगानीकर्ताले घाटामा गएका कम्पनीको आईपीओ किनेको कारण अन्डरराइट गर्ने कम्पनीले निष्कासनकर्ता कम्पनीसँग फि मात्र असुल्ने काम गरेका छन् ।  अन्डरराइट गर्ने कम्पनीले घाटामा गएको कम्पनीको सेयर नै किन्छु भन्ने ग्यारेन्टी गरेपछि आईपीओको प्रक्रिया अगाडि बढ्ने हो । 

अन्डराइट कम्पनीले जनताले सेयर निकनेमा किन्ने ग्यारेन्टी गरेको छ । सय गुणा बढी आवेदन पर्ने हुँदा अन्डरराइट कम्पनीको दायित्व नै निभाउन परेको छैन ।  अन्डरराइट कम्पनीको दायित्व लिन नसक्ने अवस्था परिवर्तन नभएसम्म यो क्रम रोकिने छैन । हामीले यसको रिफर्ममा काम गरेका गर्न लागेका छौँ । 

सेयर बजार जोखिमको क्षेत्र हो । हाम्रोमा चेतना बढेको छैन । विगतमा पनि रियल सेक्टरका कम्पनीले नै जनताको पैसा डुबाएका छन् । जनताको सेयर पाउने इमोसनमा खेलेर यो क्रम झनै बढ्ने होइन ?

–अब इस्यु म्यानेजर अन्डरराइटको कामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने क्रममा छौँ ।  अन्डरराइटरले बिक्री नभएमा सेयर किन्छु भनेर फाइल अगाडि बढाएको हुन्छ ।  अन्डरराइट गर्ने कम्पनीहरु नेपाल सरकार तथा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनी छन् । 

जसलाई राष्ट्र बैंकले नियमन गर्छ । घाटामा रहेको कम्पनीको आईपीओ उनीहरुले किन्ने ग्यारेन्टीपछि र सबै प्रक्रिया पूरा गरेपछि धितोपत्र बोर्डले यसको अनुमति दिनुपर्छ ।  मैले दिएन भने घुस खाएको आरोप लाग्ला । हामीले कानुन बमोजिम काम गर्ने हो । 

सेयरमात्र चाहिएको जनतालाई कस्ता कम्पनीको आईपीओमा आवेदन दिने कस्तामा नदिने भनेर कसरी बुझाउने हो त ?

–यसको लागि जनचेतना बढाउने काम गर्ने हो । आईपीओ प्रक्रिया कागजलाई चेकजाँच गर्ने हो ।  यसमा हामीमात्र छैनौँ । अरु नियमनकारी निकाय पनि संलग्न छन् ।  धितोपत्र बोर्डले अन्तिममा अनुमति दिने हो । अरु निकायले कागजलाई प्रमाणीकरण गर्दै आएपछि त हामीले दिनु नै पर्छ । 

जस्तोसुकै कम्पनीको पनि आईपीओ बिक्री हुने र जनताले सेयर लिने भएपछि अहिले क्रम बढ्न थालेको हो ।  त्यही भएर अहिले घाटामा भएका कम्पनीको आईपीओ जनताले नकिनुन् भन्ने हाम्रो चाहना हो ।

भारतमा हरेक आईपीओ बिक्री हुँदैन ।  अन्डरराइट कम्पनीहरु नेपालमा जिम्मेवार भएनन् । आईपीओ बिक्री हुन्छ भने पनि नेटवर्थ नै कमजोर भएका कम्पनीको पनि उनीहरुले अन्डरराइट गरेका छन् । अन्डरराइटमा मिस भएपछि धितोपत्र बोर्डले धेरै काम गर्न सक्दैन । 

अन्डरराइट कम्पनीलाई नियमन कसले गर्ने र धितोपत्र बोर्डको दायित्व के हुन्छ ?

–हाम्रो पनि दायित्व हुन्छ । अन्डरराइट कम्पनीलाई व्यवसायिकरण गर्नुपर्छ ।  तर जहिलेसम्म जनताले कम्पनीको अवस्था नबुझेर आवेदन गर्छन् ।  त्यो बेलासम्म यसमा परिवर्तन ल्याउन हामीले चाहेर पनि नसक्ने अवस्था छ । 

सेयर बजारमा चासो जनता चासो हुनु निकै राम्रो हो ।  तर यहाँ नराम्रो कम्पनीको आईपीओमा नै मागभन्दा अत्यधिक आवेदन भयो ।  यसले अरुलाई पनि आईपीओमा जाने बाटो खुलायो ।  १० कित्ते नीतिले समृद्धि बाँड्यो । तर अहिले यसले गर्दा घाटामा गएका कम्पनीले पनि सेयर सबै बेच्न सक्ने स्थिति देखियो । 

ramesh11684383896.jpg

सेयरबाट धनी बनाउने नीति बनाउन वैदेशिक रोजगारको आरक्षणसमेत दिएका छौँ । त्यही गर्दा बुझ्दै नबुझेका जनतालाई डुबाउने खेल हुने भएन र ?

–हामीले त्यसमा काम गरिरहेका छौँ । मैले भने अन्डरराइट कम्पनी जिम्मेवार बनाउने भनेका छौँ ।  यसबाहेक जलविद्युत् कम्पनीमा पछिल्लो समय देखिएको बेथिति हटाउन समिति बनाएका छौँ ।  रियल सेक्टरका कम्पनीलाई जिम्मेवार बनाउन काम गर्दैछौँ । 

कमजोर भएका कम्पनीको आईपीओमा जनता ठगिनु भएन म आफैंले बोलेको छु । आईपीओ निकिन्नू । अन्डरराइट कम्पनीलाई जिम्मेवार बनाउन एकपटक यस्ता कम्पनीका आईपीओ नकिन्नू भन्ने मेरो आह्वान हो । त्यसपछि उनीहरु जिम्मेवार हुन्छन् । सबै कुरा व्यक्तिगत रुपमा मैले मात्र गर्न सक्ने कुरा हुँदैन । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro