site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
१३ वर्षपछि इन्टर च्याम्पियन्स लिगको फाइनलमा 

काठमाडौं । दोस्रो हाफमा फरवार्ड लाउटारो मार्टिनेजले गरेको गोलमा इन्टर मिलानले मंगलबार राति च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई १–० ले पराजित गरेको छ । इन्टरले समग्रमा ३–० को नतिजा निकाल्दै इस्तानबुलमा हुने फाइनलको टिकट पक्का गरेको छ । 

पहिलो लेगमा २–० ले पराजित एसी मिलानले गएराति केही सुधारिएको प्रदर्शन गर्न सफल भएको थियो । तर, सान सिरोमा अर्जेन्टिनाका फरवार्ड मार्टिनेजले ७४औँ मिनेटमा ६ यार्ड बक्स नजिकबाट गरेको सशक्त प्रहारलाई मिलानका गोलकिपर माइक मेननले रोक्न सकेनन् । त्यही गोल इन्टरको जितमा निर्णायक बन्यो । 

इडेन जेको र हेनरिक मिखितारियनले गरेको गोलबाट इन्टरले पहिलो लेगमा २–० को अग्रता लिएको थियो । सग्रममा ३–० को नतिजा निकालेको इटालियन क्लब इन्टर मिलानले अब फाइनलमा म्यानचेस्टर युनाइटेड र रियाल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल १० जुनमा टर्कीको इस्टानबुलमा हुनेछ । 

Dabur Nepal
NIC Asia

इन्टरले नकआउट चरण्मा पोर्चुगलका दुई प्रतिद्वन्द्वी पोर्टो र बेनफिकालाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । इन्टरले प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो छैटौँ पटक हो । २००९/१० मा जोजे माउरिन्होको प्रशिक्षणमा उपाधि जितेपछि इन्टरले फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो । इन्टरले १९६४/६५, १९६३/६४ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । 
 
“यस खेलमा धेरै इतिहास थियो । मैले त्यो महसुस गरेँ । हामीले दुवै लेगमा उत्कृष्ट प्रदर्शन गर्यौँ,’’ गत डिसेम्बरमा अर्जेन्टिनाबाट विश्वकप उपाधि जित्न सफल मार्टिनेजले भने, “हाम्रो टिम एकता राम्रो थियो । यसले हामीलाई उत्प्रेरित गर्यो । मैले यो विश्वकपमा पनि अनुभव गरेको थिएँ । टिम एकता महत्त्वपूर्ण पक्ष हो । यदि तपाईंसँग एकताबद्ध समूह छ भने, सफलता हासिल गर्न सजिलो हुन्छ । हामीले देखायौं कि इन्टर यस क्षणका लागि योग्य छ भनेर ।’’

इन्टरका फरवार्ड मार्टिनेजले थपे, “च्याम्पियन्स लिगको फाइनल खेल्नु एउटा सपना हो । हामीले त्यही लक्ष्यका साथ यो सिजन सुरु गर्यौं र आज हामीले धेरै महत्त्वपूर्ण उपलब्धि हासिल गर्यौंं ।’’

इन्टरका प्रशिक्षक सिमोन इन्जाघीले पहिलो लेगमा खेलेको टिममा कुनै परिवर्तन गरेका थिएनन् । मार्टिनेज र जेकोलाई अग्रपंक्तिको जिम्मेवारी सुम्पिएका थिए । दुवै जनालाई इन्जाघिले इटालियन सिरी ‘ए’मा सासउलोविरुद्ध आरम दिइएको थियो । 

मिलान भने मुख्य फरवार्ड राफेल लिओले पुनरागमन गरेका थिए । तिघ्राको चोटका कारण उनले पहिलो लेग गुमाएका थिए । त्यस्तै एलेक्सिस सेलेमेकर्स र साइमन कजायरको स्थानमा जुनियर मेसिआस र मलिक थियावलाई मौका दिइएको थियो । 

मिलानले गोलका केही अवसर पनि सिर्जना गरेको थियो । ब्राहिम डियाजले पेनाल्टी क्षेत्रबाट हानेको दायाँ बार च्यापेर हानेको प्रहारलाई इन्टरका गोलकिपर आन्द्रे ओनानाले बचाइदिएका थिए । लियोले पनि गोलका स्वर्णिम अवसर खेर फालेका थिए । ३८औं मिनेटमा उनले हानेको प्रहार थोरैले मात्र बाहिरिएको थियो । 

इन्टर मिलान यस प्रतियोगिताको नकआउट चरणमा सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई हराएको यो पहिलोपटक हो । यसअघि २००२/०३ को सेमिफाइनल र २००४/०५ को क्वार्टरफाइनलमा मिलानले विजयी नतिजा निकालेको थियो । 

एकै सिजन इन्टरले मिलानलाई चार खेलमा हराएको झन्डै ५० वर्षपछि यो पहिलोपटक हो । यसअघि १९७३/७४ मा मात्र यस्तो भएको थियो । इन्टरले च्याम्पियन्स लिगको दुई वटा लेगबाहेक इटालियन सुपर कपमा ३–० तथा सिरी ‘ए’मा १–० को नतिजा निकाल्न सफल भएको थियो । र, मिलानले इन्टरविरुद्ध लगातार चार खेलमा गोल गर्न नसकेको पनि यो पहिलोपटक हो । 

“यो स्पष्ट छ कि हामीले फाइनलको सपना देखेका थियौँ । र, हाम्रा प्रतिद्वन्द्वीहरूलाई हराउन चाहन्थ्यौं,’’ मिलानका प्रशिक्षक स्टेफानो पियोलीले भने, “तर, सफल हुन सकेनौँ । यसले हामीलाई निराश बनाएको छ । अब हामीले लिगमा ध्यान केन्द्रित गर्नुपर्नेछ । शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्न सकेनौँ भने वास्तविक निराशा त्यो हुनेछ ।’’

मिलानले सिरी ‘ए’को पछिल्ला सातमध्ये दुई खेलमा मात्र विजय हासिल गरेको छ । मिलान अहिले ६१ अंकका साथ लिगको पाँचौँ स्थानमा छ । जुन चौथो स्थानको लाजियोभन्दा चार अंकले पछाडि हो । लिगमा अब ९ अंकको खेलमात्र बाँकी छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro