यो भनाइ गाउँले मूल्यांकन हो । अहिले प्रविधि युगको कुनै सम्भ्रान्त किसानले सयौं एकड समथर जमिन ट्याक्टरले जोताउँथ्यो भने उसले –‘नजोत्ने ट्याक्टर’को के काम भन्न सक्थ्यो ? गाउँका कान्ले सुर्का र फोगटा जोत्न अझै हलोगोरु चलाउने किसानले गोरुकै उदाहरण दिए । पुख्र्यौली सम्झना उद्धृत गरे । राजनीतिमा पनि त्यस्तै काम नआउने कार्यकर्तालाई इंगित गरे ।
प्रसंग उपनिर्वाचनको हो । तनहुँ क्षेत्र – १ को चुनावी सभाको कार्यक्रमको दिन साँझ । अग्रज, सहकर्मीबीच छलफल भयो । चुनावी माहोल र मत परिणामको अनुमान र अनुभूति व्यक्त गरिए । कार्यक्रम स्थल दमौलीको अनशन चौतारीबाट फर्किएर एउटा घरआँगनमा भएको छलफलमा नजोत्ने गोरु र मत नदिने कार्यकर्ताको तुल्यता समान जोखिएको थियो ।
कुरैकुराबीच अग्रज शमशेरबहादुर कुँवरले बडो दृढ आवाजमा त्यो उपमा दिए । भने – ‘पर्दा बारी नजोत्ने गोरु र चुनावमा मत नदिने पार्टी कार्यकर्ताको के काम ? त्यो गोरु र यो कार्यकर्ता उस्तै हुन् । तिनलाई ठेगान लगाउनुपर्छ । नभए यी काम नलाग्नेहरु चुनावपछि कांग्रेस नै हूँ भन्दै हिँड्ने छन् ।’ उनको भनाइ सार यस्तै थियो ।
त्यो छलफल व्यास नगरपालिका – ७ क्यामिन क्षेत्रका बासिन्दाबीच भएको हो । आफू पनि यहीँको परियो । त्यो मिटिङमा बोलावट भएर पुगेको थिएँ । शमशेर दाइ क्यामिन पन्थेका । नेपाली सेनाको सेवाबाट निवृत्त । सैनिक व्यक्तित्वको स्पष्टता र अडान हुने नै भयो ।
धेरै कुराबीच मलाई कुँवर दाइको उपमाले निकै छोयो । एउटामात्र प्रश्न गरेँ – किन यस्तो भयो ? उनको अनुभवजन्य त्वरित उत्तर थियो – नेताले बिगारेका कारणले । मुन्टो हल्लाएर छोडेँ । मतदानको दिन नजिकै, समूहबीच धेरै कुरा गर्न खोजिन । तर, उनीहरुसँग बिदा भएर निस्केदेखि नै कुँवर दाइको भनाइले गहिरो कौतुहल मच्चायो । बेलाबेला आजसम्म पनि ।
किन यस्तो भयो ? उनीसँग थप सोधेको भए थप कारण के भन्थे कि कुन्नि ? तर, आफैँसँग सोध्दा चाहिँ केही कारण यिनै हुन् भन्ने ठम्याइ छ । हाम्रो ठम्याइ समान छ भन्ने लाग्छ । अरुको जस्तै । यसअघि पनि त हामीबीच बातचित भएकै हो ।
प्रसङ्ग नेपाली कांग्रेसका उमेदवार, कार्यकर्ता जो मतदाता पनि हुन् तीसँग सम्बन्धित हो । सबैले थाहा पाएजस्तै उनले पनि आफूलाई कांग्रेस भन्नेहरु केहीले प्रतिपक्षी उमेदवारको बखान र प्रचार गरेको सुनेकै कारण उक्त उपमा दिएका हुन् ।
कारण, दलपतिहरुको कृत्यको दुष्प्रभाव हो । कथनी र करनीको फरक । कार्यकर्ता र जनताको अपेक्षित आवश्यकता पूरा नभएको व्यापक गुनासो । भएका भ्रष्टाचार र अनियमितताको व्यापक प्रचार । सेवा प्रवाह शून्य । सरकारी अड्डा, अदालतको काममा ढिलासुस्ती । सेवाग्राहीलाई झुलाउने र घुस माग्ने, खाने । आदि विकृति ।
नागरिक जीवनमा अनगिन्ती अप्ठेरो । जो राज्य संयन्त्रले हटाउन सक्थ्यो, त्यो पनि नगर्ने संयन्त्र वा कर्मचारी तन्त्र । मानिसले कतै सकारात्मक सन्देश भेटेकै छैन । मान्दैन । नेताको इमान र विश्वसनीयता फुस्की सकेको छ । यही भानमा परेकोे मानिस विकल्प खोज्दैछ । ऊसँग दलका मठाधीशहरुप्रति विरोधको बाढी सुसाएको सुनिन्छ ।
अनगिन्ती गुनासा र कठिनाइ व्यक्त हुन्छन् । यी गुनासो वा ठाडो टिप्पणीको प्रतिवाद गर्ने उपाय पनि छैन । सामथ्र्य पनि रहेन । देश सर्वत्रमा पथभ्रष्ट भएको छ । दलपतिका आसेपासे, बिचौलिया र सत्ताको मह चाट्नेबाहेक अरु कार्यकर्ता र जनतासँग दलहरुप्रति क्रोधसिबाय केही बाँकी छैन । सम्मानको त्यान्द्रो पनि टुक्रे धुजाधुजा भएकोछ ।
नेपाली राजनीतिको यही कुहीगन्धे हिलोमा कोही भने मसान उधिन्न, जाग्रत पार्न उद्यत छन् । तिनले वातावरणमा विष छर्कने काम गरेकै छन् । सामाजिक सञ्चार (सञ्जाल)को चटपटे जानकारी र उपद्रो प्रचारले दिग्भ्रमित मानिस आफैँले ठानेको सत्यबाहेक केही नदेख्ने हँुदो छ । सामाजिक कुण्ठा जमेर बसेको छ । भौगर्भिक विस्फोट ज्वालामुखीको जस्तै पर्खाइमा ?
आफूलाई पठित, जानकार र ज्ञानी ठान्ने पुस्ताले राजनीतिको कठिन यात्रा र इतिहास सायद बुझेकै छैन, पढेकै छैन । पढेकै भए नि दलपतिहरुले ‘मेरो हात सुँघसुँघ्’ भनेर सधैँ चल्ने पनि त होइन । यात्रा र इतिहासको मर्यादा यिनै दलपतिले राख्नुपर्ने हो । यिनीहरु त राजनीतिलाई दलदल पार्नेमा पो चिनिए ।
प्रजातन्त्रले दिएको स्वतन्त्र अवसरमा जनतालाई उमेदवार रोज्ने र छान्ने अर्थात् चुन्ने स्वतन्त्रता पनि त छ । स्वतन्त्रताको विरोध गर्ने कुरै भएन । परिणामको कारण चाहिँ खोज्न सकिन्छ । प्रभावको आकलन पनि गर्न मिल्छ ।
समाजसँग दलका पतिहरुको दुष्कृत्यको लामो फेहरिस्त छ । त्यसको रौँ अंश पनि सुकृत्यको अनुभूति नागरिकले गरेकै छैन । किन होला ? राम्रो केही नगरेकै कारण वा राम्रो केही हुँदै नभएको कारण हो त ? मुस्लो गुनासो उठेको ?
अर्को कारण चुनावअघिको दलीय गठबन्धन हो । कारबाहीको डण्डा तेस्र्याएर कार्यकर्तालाई कहिले कुनै पार्टी र कहिले अर्को पर्टीको चिन्हमा मत दिन बाध्य पारिएको छ । यसको उद्देश्य र प्राप्ति नेतालाई सत्ता र तिनका आसेपासेलाई सुविधा रहेछ भन्ने कार्यकर्ताले देखे, भोगे ।
नेता आफ्नो मतलबमा यता र उता गर्छन् भने हामी हाम्रै विवेक र इच्छाले आफ्नो छनोट गर्न किन नपाउने ? कार्यकर्ताको सोझो दाबा सुनिन्छ । मतदान सत्ताको खेलमात्रै होइन, निष्ठाप्रतिको प्रतिबद्धता मुख्य हो । स्खलित नेताले कार्यकर्ताको निष्ठाको सतीत्व पनि स्खलित पारेपछि हुने त यस्तै हो । जो राष्ट्रिय चुनावमा पनि देखिएको थियो । हालै उपनिर्वाचनमा स्पष्ट भयो ।
खासगरी उक्त उपमा, उक्ति र कृत्यको दोष नेपाली कांग्रेस लक्षित हो । तै पनि अझै गाउँगाउँमा शमशेरबहादुर कुँवरजस्ता कार्यकर्ता जोगिएकै छन् । निष्ठाले बाँधिएका कार्यकर्ता शून्य भइसकेका छैनन् । कुँवर दाइको भनाइमा उत्तर खोतल्दा यस्तै चित्र, विचित्र कारण देखियो । यस्तै कुँवरको दोहन र शोषणमा दलपतिको मोज, भोज चलिरहेछ । तर कहिलेसम्म ?
कुनै पनि पार्टीको कर्ता किन नहोस् तर चुनावको दिन मत चाहिं अन्तै हाल्ने । बाँकी अरु दिन कांग्रेस वा अमुक कुनै पार्टीको दाबा गर्ने कार्यकर्ता मान्छे कुँवर दाइको ‘काम नलाग्ने’ टिप्पणीभन्दा फरक के नै रहन्छ र ? यस्ताले कुनै पार्टीको हुँ, दाबा गर्नु नै सत्य होइन । स्वतन्त्र हुन चाहिँ सकिन्छ नै । राजनीतिमा निष्ठाको स्खलनपछि हुन्छ के ? रहन्छ के ? उत्तर छ नेता हो ?