site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाग्यो– अब खसियो सेती खोचमा !
SkywellSkywell

विक्रमाब्द २०८० सालको आरम्भ उपत्यका वरपरकै कुनै रमाइलो डाँडामा गएर बिताउने चर्चा चल्यो । आखिर रमाइलो गर्नु न हो । नपुगेको ठाउँ जाँदा केही नयाँ थाहा हुन्छ । ठाउँ देखिन्छ ।

साथीभाइबीचको सल्लाहले हामी १८ जना (परिवारसहित) ललितपुरको दक्षिण–पूर्वी क्षेत्रस्थित कोटडाँडा पुग्याैँ, चैतको अन्तिम दिन । ०७९ लाई बिदा गर्दै ८० लाई स्वागत गर्न त्यहाँ पुगेका थियौँ ।

साथीहरू श्रीओम रोदन, रामबाबु अधिकारी, सेचन रेग्मी, रमेश शाक्य र म समेतको परिवार रमाइलोको चास्नीमा डुबुल्की मार्न डाँडा उक्लिएका थियौँ ।

KFC Island Ad
NIC Asia

भोलिपल्ट बिहानै नारायण पुरी भाउजूसँगै आइपुगे । अघिल्लो दिन पोखराबाट काठमाडौं आइपुग्न अबेर भएकाले नारायण आउन सकेका थिएनन् ।

गफगाफ र खानपानमै रात छिप्पिँदै गयो । ठिक १२ बजे सिंगो वातावरणमा ‘ह्याप्पी न्यु इयर’ गुञ्जियो । हामी मात्रै होइन, होमस्टेमा रहेका अरू टोली पनि ८० को आगमनमा उत्साहित थिए । त्यसैले गुञ्जायमान थियो त्यो परिवेश, नयाँ वर्षको शुभकामना आदानप्रदानले ।

Royal Enfield Island Ad

हामीले २०८० सालको पहिलो पेग बनायौँ । र, चियर्स गर्दै मित्रताको नशालाई अझै गहिराइमा पुर्यायौँ । फेरि शुभकामनाका शब्दहरूले अँध्यारोलाई चिर्यो ।

लगत्तै ८० सालको पहिलो तस्बिर खिच्ने काम भयो । केटाकेटीले नयाँ सालको पहिलो सेल्फी लिन भ्याए ।

के सुर चढ्यो कुन्नि, डाँडाको कुनाबाट पश्चिम–उत्तर फर्किएर हेरेँ । त्रिभुवन विमानस्थलले बत्तीहरूको उज्यालोमा आँखैअगाडि उभिएको अनुभव गराइरहेको थियो । बाँकी सारा काठमाडौं र ललितपुर किरिङमिरिङ उज्यालोमा शान्त लाग्यो ।

तर, के शान्त थियो होला र ! हामी डाँडामा त होहल्ला गरिरहेका थियौँ । तल पनि होहल्ला उस्तै त होला नि ! एक छिन त्यहीँ उभिएर अँध्यारोमा जुनकिरीझैँ लाग्ने किरिङमिरिङलाई हेरिरहेँ ।

सुत्ने बेला बिहानको एक बजिसकेको थियो । ओछ्यानमा ढलेको मात्रै थिएँ, मुढो लडेझैँ भएँ । अर्धमुदित आँखैले ठम्याएँ, सेचन, श्रीओम, रामबाबु, रमेश सबै आ–आफ्नो ब्ल्याङ्केटमा घुस्रिएको ।

भोलिपल्ट नयाँ वर्षको दिन, स्थानीय मन्दिर दर्शनका लागि जाने कुरो चल्योे । नारायण दम्पती आइसकेका थिए ।

नित्यकर्म सकाएर हामी सबै बसेको ठाउँदेखि करिब ३०/३५ मिनेटको दूरीमा रहेको भीमेश्वर महादेव वैभवधाम दर्शनका लागि पुग्यौँ । निकै उकालो उक्लिनुपर्ने रहेछ, मन्दिर पुग्न । १५० को संख्यामा सिँढी उक्लिएपछि झरेका पात–पतिङ्गरमा चिप्लिँदै उक्लिनुपर्ने ।

जंगलको बीचमा रहेको यो मन्दिर दर्शन गरेर ओर्लिँदा भने मैले सम्झिएँ, बझाङ यात्राको एउटा कहालीलाग्दो प्रसंग । ओर्लिँदा घरी पातमा चिप्लिने त घरी ढुङ्गोमा । मन्दिर उक्लिँदा जति गाह्रो भएको थियो, त्योभन्दा धेरै कठिन अवस्था थियो ओर्लिँदा ।

एक ठाउँमा चिप्लिएर मेरो खुट्टो झन्डै मर्किएको । धन्न केही भएन । त्यो झारपातमा कहिले को चिप्लिने त कहिले को । मेरो मानसपटलमा भने बझाङमा भोगेको डरलाग्दो अनुभव कुनै सिनेमाझैँ घुमिरह्यो ।
०००
अफिसको कामले बझाङ जानुपर्ने थियो । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत रहँदाकै कुरा हो । आन्तरिक लेखापरीक्षण विभागमा भएकाले ठाउँठाउँ जाने मौका मिलिरहन्थ्यो ।

बझाङ जाने कुरो उठे पनि मौका मिलिरहेको थिएन । एकपटक नेपालगन्जमा चार दिन बस्दा समेत बझाङतिर उड्न सकिएन । तत्कालीन आरएनएसीको टिकट काटेका थियौँ । परन्तु, प्लेन उड्ने तारतम्य नमिलेकाले चारै दिन राँझा एयरपोर्ट जाँदै फर्किँदै गर्नुपर्यो । हामी अरूतिरको काम सकाएर काठमाडौं फर्कियौँ ।

तर, बझाङ मेरा लागि जुरेको नै रहेछ । भनौँ, बोलाएकै रहेछ चैनपुरले ।

नेपालगन्जबाट फर्किएको भोलिपल्टै (शनिबार) पुनः नेपालगन्ज जानुपर्ने भयो । आइतबार हुने बझाङ उडानका लागि पारसप्रकाश पाण्डे सर र मेरो नाम चढिसकेको रहेछ ।

बझाङमा नेपालगन्जबाट फन्ड ट्रान्सफर हुने भएकाले यती एयरलाइन्सको प्लेन चार्टर्ड गरिएको थियो । त्यही प्लेनमा चढेर हामी बझाङ पुग्नुपर्ने थियो ।

०६३ सालको वैशाख दोस्रो साता । आइतबार । राष्ट्र बैंकले उपलब्ध गराएको नोटका बाकसहरूसँगै हामी पनि चढ्यौँ १८ सिटे यतीमा । साथमा थिए, बैंकका बझाङ शाखाका क्यासियर र सहायक प्रबन्धक ।

करिब ४५ मिनेटपछि (सायद नौ बजिसकेको थियो) सेती किनारमा रहेको घाँसे एयरपोर्टमा ओर्लियो जहाज । त्यहाँबाट बझाङ, चैनपुर बजार पुग्न आधा घण्टा हिँड्नुपर्ने रहेछ । नोटका बाकसहरू ओरालेर प्लेन आएकै बाटोतर्फ फर्कियो ।

हामीलाई पुग्नु थियो माथि नै । बैंकको शाखा बजारमै थियो । तर, ढुकुटी सेनाको ब्यारेकमा रहेकाले नेपालगन्जदेखि ल्याइएका बाकसहरू बैंकमा नपुर्याई आर्मी ब्यारेकमा पुर्याउनुपर्ने थियो ।

नेपाली सेनाका केही जवानहरू बाकसको सुरक्षाका लागि तम्तयार थिए । क्यासियर साहब केही श्रमिकलाई ‘राजा, ब्यारेकसम्म बाकस पुर्याई दिइबक्सनुपर्यो’ भन्दै दामकामको कुरो मिलाउँदै थिए ।

म छक्क परेँ, राजा सम्बोधन गरेकाले । खजान्चीले गुदी कुरा बताए, ‘अधिकांश ठकुरी भएकाले श्रमिक भए पनि सम्बोधन राजसी नै गर्नुपर्छ यहाँ ।’ उनको कुरा सुनेर पारस सर र म हाँस्यौँ ।

चार–पाँचजनाले बाकस बोके । तिनलाई सेनाका जवानले घेरे । हामी सबैभन्दा पछाडि हिँड्यौँ । अनि, सेती नदीमाथि बनेको पुल तर्दै बजारतिर उक्लियौँ ।

बजार छिरेपछि क्यासियर साहबको टोली दाहिने मोडिएर ब्यारेकतिर उकालो लाग्यो । शाखाको ढुकुटी माओवादी द्वन्द्वकालमा डाँडामा रहेको ब्यारेकमा सारिएको थियो । त्यसैले त्यो समूह उता लागेको थियो । हामी भने शाखातिर लाग्यौँ ।

शाखा प्रबन्धक थिए राधेश्याम योगी । उनीसँग भेटघाट गरेर नजिकैको एउटा होटेलमा ब्याग व्यवस्थापन गर्यौं । अनि, खाना खाईवरी शाखातिर लाग्यौँ । आलेपको काम सक्दो चाँडो सकाउनुपर्ने थियो । कारण, कहिलेकाहीँ बझाङमा पाँच–सात दिनसम्मै प्लेन ओर्लिन्थेन । कहिले दुई–चार दिनमै पनि आउन सक्थ्यो । त्यसैले चाँडोभन्दा चाँडो काम सिध्याउन पाए हिँडेर फर्किनुपर्ने थिएन । अर्थात्, तयारी अवस्थामा हामीले बस्नुपर्थ्यो ।

त्यस दिन साँझ फुर्सद मिलेपछि बझाङ सदरमुकाम चैनपुर बजार घुमेर सिध्यायौँ । तत्कालीन सेती अञ्चलमा पर्ने साइपाल हिमाल बोकेको यो सुदूर–उत्तरी क्षेत्रका बारेमा सुनिएको मात्रै थियो । पुग्ने अवसर मिल्ला नमिल्ला टुंगो थिएन । तर, जुरेको थियो । त्यसैले चैनपुरमा साँझपख हल्लिँदै थियौँ हामी, योगीजीसँग ।

भोलिपल्ट बिहानै हामीले उक्लनु थियो ब्यारेकतिर । बैंकको ढुकुटीमा रहेको नगद र धितोमा रहेको सुनचाँदी पनि निरीक्षण गर्नुपर्ने हाम्रो जिम्मेवारी थियो । त्यसैले सानो गोरेटो बाटो समायौँ र उक्लिन थाल्यौँ ब्यारेकतिर ।

लगभग ३५ मिनेट उकालो चढेपछि ब्यारेक पुग्यौँ । ब्यारेकमा रहेका मेजर साहबसँग परिचयउप्रान्त हामी आफ्नो काममा लाग्यौँ । एक–डेढ घण्टामा सबै काम सिध्याएर फेरि एक कप चिया खाएर बजार झर्ने तर्खर गर्न थाल्यौँ ।

तलबाट माथि डाँडामा उक्लिँदा नै मलाई गाह्रो भइरहेको थियो । तराईवासी, त्यसमाथि उकालो ओरालो गर्ने बानी नभएकाले गाह्रो हुनु स्वाभाविक थियो । पारस सर डोटीको भएकाले उहाँलाई त्यति गाह्रो भएन ।

ओर्लिने बेलामा म सुरुमै आत्तिएँ । स–साना गिट्टी, पात–पतिङ्गरले झपक्क गोरेटेको मुखैमा मेरो खुट्टा चिप्लियो । स्पोर्ट्स जुत्ता लगाए पनि त्यसको ग्रीप घिस्सिएकाले खुट्टो चिप्लिएको चिप्लियै गर्न थाल्यो । म १०/२० पाइला पनि झर्न सकिनँ ।

यति बेला सेती नदीको छ्याङछ्याङ आवाज मेरो कानमा नमिठो गरी बज्न थाल्यो । एकदम कर्कश लाग्यो । लाग्यो– मलाई लाने भयो सेतीले । चिप्लिएर एकैचोटि सेतीमै पो खस्ने हो कि !

अब त झन्झन् अत्यास लाग्दै गयो । र, म त्यहीँ थचक्क बसेँ ।

सबै मलाई ‘विस्तारै हिँड्नुस् न, नडराउनुस्’ भन्दै थिए । तिनको भनाइले मेरो डरको पारो झन्झन् माथि उक्लिँदो थियो । मैले सोधेँ पनि, ‘यो मात्रै बाटो हो कि अर्को बाटो पनि छ ?’

सायद अर्को बाटो लामो पर्थ्यो । त्यसैले तिनले मलाई यही गोरेटोबाट झर्न हौस्याए । म भने फिटिक्कै हिँड्न सकिरहेको थिइनँ । पारस सर निकै तल पुगिसकेका थिए । अरू पनि केही तलै थिए । म जहाँको त्यहीँ ।

बजारमा रहेको शाखासम्म आवश्यक नगद पुर्याउनुपर्ने भएकाले केही सैनिक पनि सँगै हिँडिरहेका थिए । तिनैमध्येका दुईजनाले मलाई ढाडस दिए, ‘केही हुँदैन । हामी दुईजनाको बीचबाट हिँड्नुस् । केही परे हामीलाई समाउनुस् । नभए हामी समाइहाल्छौँ ।’

अलिकति हिम्मत आयो यिनका कुराले । दाहिनेतिरको भित्तोमा हातले टेक्दै म ओर्लिने उपक्रममा लागे । देब्रेतिर सिधै सेतीमा झर्ने भीर थियो सायद । त्यता हेर्न सकिने कुरै भएन । कानमा अझै पनि सेतीको आवाज घन्किँदो थियो ।

मेरो अवस्था दयनीय थियो । म घरी टुक्रुक्क बस्थेँ । घरी छेउको झाडी समाउँथेँ । घरी लाग्थ्यो– चार हातखुट्टा टेकेरै हिँडू । त्यसो गर्न पनि मनले दिइरहेको थिएन । यो त अति नै हुन्छ ! जेनतेन म ओर्लिँदै गएँ ।

उक्लिँदा करिब आधा घण्टा लागेको मलाई ओर्लिँदा एक घण्टै लाग्यो । मसँगै ती सैनिक जवान पनि सुस्तसुस्त ओर्लिरहेका थिए ।

त्यति मात्रै होइन, आधाउधी झर्दासम्म मेरो घुँडा र पिँडुला दुवैले जवाफ दिइसकेको थियो । दुखेर झर्ने हिम्मत पनि खस्किँदो थियो । मसँगै रहेका ती जवानले ‘हिँडौँ सर, हिँडौँ’ भन्दै उकास्दै थिए ।

गोरेटोको पुछारमा पुग्दा अब बाँचियो भन्ने महसुस भयो । दुवै जवानलाई धन्यवाद दिएँ । त्यो धन्यवाद अत्यन्त कम भएको महसुस गरिरहेको थिएँ । तर, मसँग त्योभन्दा अर्को शब्द थिएन ।

पुछारमा पारस सर मलाई पर्खिरहेका थिए । एउटा कहालीलाग्दो गोरेटो पार गरेको थिएँ । तल झर्दा मेरा घुँडा र पिँडुलाले काम गर्न सकिरहेको थिएन । बाँचेकोमा मनमा खुसी त थियो नै, दुखाइको पीडाले बजारसम्म पुग्न पनि कठिन भइरहेको थियो ।

साँझ होटेलकी साहुनी मलाई भन्दै थिइन्, ‘भाइ, तल सेतीमा गएर खुट्टा डुबाउनुभएको भए पिँडुला दुख्न कम हुन्थ्यो ।’ ममा सेतीसम्म झर्ने हिम्मत बाँकी थिएन ।

चार–पाँच दिन चैनपुर बस्यौँ हामी । घुँडो दुखाइ त्यहीँ कम भयो । नेपालगन्ज फर्किएपछि मात्रै मेरो पिँडुला ठिक भएको थियो । नेपालगन्जको तातो वातावरणले होला !

आज १७ वर्ष बितिसक्दा पनि बझाङको त्यो घटनाले मलाई तर्साउँछ र हँसाउँछ पनि । कस्तो हिँड्न नसकेको होला म ! कति काँथर म ! दुईजनाले ‘स्कर्टिङ’ गर्दा पनि दाहिनेतिरको बुट्यान र भित्तो समाउँदै ओर्लनुपर्ने म !
०००
कोटडाँडाको भीमेश्वर धाम ओर्लिएर झर्दा पनि म सम्झिरहेको थिएँ, बझाङकै त्यो कहालीलाग्दो गारेटो ।       
    
         
  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro