site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिला गाडीमा ईट्टा अनि गोली, रमेश बाहुनको समूहमाथी आशंका

काठमाडौं । निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको सोमबार काठमाडौंमा गोली हानी हत्या गरिएको छ ।  उनी चढेको गाडीमा पहिले ईट्टा प्रहार गरिएको थियो । त्यसपछि मोटरसाइकलमा आएका समूहले गोली हानी भागेको थियो ।

घटनास्थलमा रहेका प्रतक्षदर्शी लेखनाथ सापकोटाका अनुसार गौचन बानेश्वरस्थित ओमशान्ती चोकबाट प्रयागमार्गतर्फ आउँदै थिए । सानो गल्लीबाट निस्केर प्रयागमार्ग हुँदै मिनभवन निस्कने बाटोमा आउँदै गरेका बेला बाटोमा कुरेर बसेका एकजनाले पहिले गाडीमा ईट्टाले हानेका थिए ।

गौचन सवार गाडीको अघिल्लो सिसा हानेर फुटाएपछि नजिकै रहेका अर्का व्यक्तिले उनीमाथी गोली हानेका थिए । गौचनको टाउको र छातीमा दुई राउण्ड गोली हानीसकेपछि उनीहरु भिमसेनागोलाको बाटो हुँदै भागेका थिए ।  गोली  र ईट्टा प्रहार गर्ने दुवै जनाले माक्स लगाएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “ईट्टाले हानेको देख्दा हामी अचम्म पर्यौँ, इट्टासँगै ड्याङ, ड्याङ दुई राउण्ड गोली हानेर बिस्तारै सुटर साईड लागेको देख्दा हाम्रो सातो गयो । उनीहरु भागेपछि हामीले बिरामीलाई उहाँकै गाडीमा अस्पताल लग्यौं ।”

बाहुन समुहले गोली हानेको हुन सक्ने प्रहरी आशंका 
 

जेलमा रहेका गुण्डा नाईके रमेश बाहुन समुहले अध्यक्ष गौचनमाथी गोली प्रहार गरेको प्रहरीले आशंका गरेको छ ।  मृतक गौचन प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैँटेका पार्टनर भएको र उनलाई रमेश बाहुन समुहले गोली प्रहार गरेको हुन सक्ने एक प्रहरी अधिकृतले बाह्रखरीलाई जानकारी दिए । 

“घटनाको अनुसन्धान हुँदैछ, सबैकुरा अहिले भन्न मिल्दैन,” एक प्रहरी अधिकृतले भने, “बाहुन समुहले नै उनलाई गोली हानेको हाम्रो आशंका छ । लेनदेनमा कुरा नमिलेका कारण हत्या भएको हुनुपर्छ ।” 

‘सुटर’ भाग्न नदिन नाकामा सील 
 

प्रहरीले घटनास्थलसँगै उपत्यका बाहिरिने नाकामा कडाईका साथ चेकजाँच गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको टोली परिचालन गरिएको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले बताए । “घटनामा संलग्न व्यक्ति पहिचान भईसकेको छ,” उनले भने, “नभागुन् भन्नका लागि हामीले चेकजाँच कडा बनाएका छौं ।”
 

प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  १७:०२
प्रतिक्रिया दिनुहोस्