site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्पत्ति कमाउन महासंघ नेतृत्त्वमा आउन खोजेको हैन
Tiktok banner adTiktok banner ad

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा चैत २८ र २९ गते  हुँदैछ ।   साधारणसभाले तीन वर्षपछि अध्यक्ष बन्नको लागि वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी चयन गर्ने छ । 

निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि तीनवटा प्यानलले उमेदवारी दर्ता गराएको छ ।  महासंघमा वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी उमेशलाल श्रेष्ठले उमेदवारी मनोनयन दर्ता गराएका छन् । 

उनै वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठसँग बाह्रखरीका लागि आशीष ज्ञवाली बलराम बुढाथोकीले गरेको कुराकानी :

महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएको छ । तपाईंको उमेदवारी किन ? 

उमेदवारी दिनुका दुईवटा पक्षहरू छन् । एउटा व्यक्तिगत आकांक्षा अर्काे अहिलेको अवस्था । 

अवस्था मैले किन भनेको हो भने अहिले जुन किसिमको व्यवसायीलाई समस्या परेको यो मैले समाधान गर्न सक्छु । जहाज डुब्न लाग्दा कुसल पाइलटको आवश्यकता पर्छ । 

त्यो खोजेको मान्छे म नै हुँ जस्तो लाग्छ । अहिलेको च्यालेन्जले पनि मलाई तानेको हो । म च्यालेन्ज लिन सक्ने मान्छे हुँ । 

त्यसकारण मलाई लाग्छ, जुन क्षेत्रमा हामी लागिन्छ । त्यसको हामीले उच्चतम तहमा पुग्ने आशा गरिन्छ । जस्तै राजनीति गर्नेलाई प्रधानमन्त्री बन्न मन लाग्छ । मेरो अहिलेको आकांक्षा पनि महासंघको पदमा बसेर व्यवसायीको हितमा काम गर्नु हो । 

विभिन्न समयमा आएको विपद्ले अर्थतन्त्रमा समस्या पार्‍यो । त्यसमा पनि व्यवसायीलाई ठूलो क्षति पनि भएको छ । तर, महासंघले सरकारलाई व्यवसायीका समस्या बुझाउन सकेन भन्ने आरोपहरू पनि छन् नि ? 

बुढापाकाले भन्नु भएको उखान छ नि ‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बिउ जोगाउनु’, त्यस्तै अहिले सबैलाई समस्या छ । 
यहाँबाट पार लगाउनैपर्छ । यसको लागि असल नेतृत्त्वको आवश्यकता पर्छ । तर, म ज्ञापनपत्र लिएर फोटो खिचाउने अनि काम चाहिँ केही नगर्ने गर्दिन । 

ज्ञापनपत्र लिएर म जान त जाउँला । तर वार्तामार्फत् समाधान खोज्छु । 

कुनै पनि समस्याको समाधान वार्ताबाट नै टुंगिएको छ । अहिले अर्थतन्त्रमा क्राइसिस छ भनेर पनि भन्न चाहेको छैन ।

अहिले आधा नीति त्यो पनि बांगिएको छ । राष्ट्र बैंक, बैंक र अर्थ मन्त्रालयको आ–आफ्नो लय छ । यी निकायको अहिलेको परिदृश्य हेर्दा कुनैले कुनैको कुरा नमानेको जस्तो देखिन्छ । यी तीनवटा निकायलाई महासंघले सँगै लैजानुपर्‍यो नि । यही हो हाम्रो समस्या ।  राष्ट्र बैंकले आफ्नो काम गरिरहेको वस्था छैन । राष्ट्र बैंकले बैंक र व्यवसायीलाई लडाउने र भिडाउने काम गरेको छ । 

बैंकहरूले उत्पादन वृद्धिमा लगानी बढाउन सकेका छैनन् । यो राष्ट्र बैंकको कमजोरी हो ।  अहिले पनि कृषिमा ६० प्रतिशत जनता कृषिमा आश्रित छन् ।

जीडीपीमा यो वर्षको महत्त्वपूर्ण योगदान छ । अनुदानको नाममा अनुत्पादन क्षेत्रमा ऋण बढेको छ । कृषिलाई नै हो प्राथमिकता दिनुपर्ने । तर, अहिलेको हाम्रो नीति नै गलत छ । 

अहिले महासंघले व्यवसायीका समस्या बुझेन, राजनीति केन्द्रित भयो भन्ने पनि आरोप लाग्दै आएको छ । महासंघमा बढी नै राजनीति भयो जस्तो लाग्दैन ? 

राजनीति भनेको सत्ताका लागि गरिने होडबाजी हो । तर, म यसलाई राजनीति भन्दिन । अहिले पनि केही आश्चर्य भइहाल्छ जस्तो मैले देखेको छैन । उमेदवारहरू चुनाव केन्द्रित हुनु स्वाभाविक पनि हो । 

पहिले पहिले तीनवटा टिम हुँदैनथिए जस्तो लाग्छ मलाई । अहिले हाम्रो तीनवटा टिम बनेको छ । यसलाई बाहिरबाट आश्चर्य मानिएको होला । 

महासंघमा सानो–सानो व्यवसाय गर्नेदेखि करोडौंको कारोबार गर्ने सदस्य छन् । तर, चुनावमामात्र केन्द्रित हुँदा साना व्यसायीका मुल मुद्दा अहिलेको अवस्थामा ओझेलमा त परे नि ? 

महासंघको सुन्दरता भनेको नै सबैलाई समेट्नु हो । यसरी सबैलाई समेट्दा चुनावमा समस्या पनि ल्याएको छ । साना–साना व्यवसायीका हितमा काम भएन भन्ने त सुन्दै आएका नै छौं । 

त्यो भावलाई सकारात्मक ऊर्जा दिन पनि मेरो उमेदवारी खास हो ।  हाम्रो अर्थतन्त्रको मूख्य आधार मझौला तथा साना उद्योगीहरू हुन् भन्ने कसैले बुझेको छ जस्तो लाग्दैन । 

कुर्सीको लागि मात्र हामीले राजनीति गर्ने हैन । हामीले ती साना व्यवसायीको लागि हित हुने काम पनि गर्नुपर्छ । मेरो लक्ष्य नै साना व्यवसायीलाई माथि उठाउनु हो । 

शक्तिमा पुगेपछि पदाधिकारीहरूले लाइसेन्स लिने र लाभ लिनेमात्रै काम गरे भन्ने आरोप पनि छ नि ? यसलाई कसरी हेर्नु भएको छ ? 

जब नेतृत्व स्वार्थी हुन्छ, उसको पतन हुन्छ । उदाहरण नेपालको राजतन्त्र नै हो । मेरो उमेर समूहका मानिसले क्रान्तिभन्दा केही पनि देखेको छैन । 

मैले २०३३ सालको आन्दोलनदेखि २०६३ सालको क्रान्तिसम्म देखेको छु ।  यो बीचमा धेरै आन्दोलनहरू देखेको छु । यसरी महासंघको जिम्मेवार पदमा बस्ने साथीहरूले लोभ बढी नै गरेको देखिन्छ । 

म सामान्य मान्छे हुँ । मैले यसअघि नै पद र इज्जत पाएको र अब पनि फेरि पाउँदैछु । मेरो त्योभन्दा ठूलो आशा नै छैन । मलाई कुनै अर्बपति बनौँला भन्ने पनि छैन । म नयाँ व्यापार केही पनि गर्दिन ।  मेरो उमेर पनि बढ्दै गएको छ । म कुनै व्यापारिक घरना पनि हैन ।

मलाई कुनै लोभ पनि छैन । म साथीका लागि काम गर्न आएको हुँ । 

अहिले व्यापारिक क्षेत्रमा देखिएको जालो तोड्न आएको हुँ । सरकारले ल्याउने गलत नीतिको खबरदारी गर्न पनि आएको हुँ । 

भर्खरै सरकारले ल्याएको लघुबिमा र बिमा नीति गलत थियो । 

अहिले बिमा कम्पनीहरू धमाधम पुँजीवृद्धि गर्न लागेका छन् । यसमा हाम्रो नेतृत्वले यो गलत हो । हामी सहभागी हुदैनौं भन्न सक्नुपर्थ्यो । तर हाम्रो नेतृत्व नै अगाडि लागेर गएको देखियो । 

Umesh_shrestha_12khariphotos (3)1680675874.jpg

चुनावको समयमा ब्याजदरलाई लिएर गाली गर्नु भनेको चुनावको रणनीति पनि हो भन्छन् नि ? तपाईंले कसरी लिनु भएको छ ? 

बैंकहरूले कोभिडभन्दा पहिले बढी नै मार्केटिङ गरेर आफ्नो कर्जा लगानी घर जग्गा र सेयरमा गरेको थियो । 

यसले नै समस्या निम्त्याएको हो । हाम्रोजस्तो अर्थतन्त्र भएको र अप्ठ्यारो परेको समयमा २५ प्रतिशत वर्किङ क्यापिटलले काम गर्नुपर्ने राष्ट्र बैंकले नीति ल्याउनु भनेको यो राष्ट्र बैंकले आफ्नो स्वविवेकले काम गरेको हैन भन्ने देखिन्छ । 

राष्ट्र बैंकले स्वायत्त भएर काम गर्नुपर्छ । अल्लारेपारामा काम गर्दा समस्या भएको हो ।

सरकार र राष्ट्र बैंकले के गरिदिएमा व्यवसायीका समस्या हल हुन्छन् ? जसले अर्थतन्त्रमा सहयोग पनि पुग्नुपर्‍यो ...

सबैभन्दा पहिले राष्ट्र बैंकको तर्फबाट सरकारले बैंकहरूलाई दुई/तीन करोड रुपैयाँ दिनुपर्‍यो । बैंकहरूलाई पनि भन्नुपर्‍यो, यो क्षेत्रमा पनि लगानी गर भनेर । 

त्यसैगरी सरकारले बजारबाट उठाउने पैसा बन्द गर्नुपर्‍यो । यसले व्यवसायीलाई समस्या पार्छ । अहिले पैसा उठाउने बेला हैन ।

सरकारले अनावश्यक खर्च घटाउनु पर्‍यो । ठूलो आकारको बजेट ल्याउनु भएन । विकास खर्च बढाउनु पर्‍यो । व्यवसायीलाई दिएको ऋणलाई रि–स्टक्चर गर्नुपर्‍यो । अहिले सबै क्षेत्रमा समस्या पारेको छ । 

साना व्यवसायीको त झन् हालत खराब छ । यसरी ऋणको रि–स्टक्चर गर्दा बैंकको खराब कर्जा पनि बढ्दैन । नत्र असारसम्म खराब कर्जा बैंकहरूको धेरै बढ्छ । व्यापारलाई तहसनहस पारेर विकास हुँदैन । 

महासंघको चुनावमा नेताहरूको आशीर्वाद पनि चल्छ भन्छन्, तपाईं चाहिँ कहाँ–कहाँ पुग्नुभयो ? 

म यो प्रथाको विरोधी हुँ । म सांसद भएको भए मन्त्री हुन्थें । तर, म भोट माग्न कहिँ पनि गएको छैन । मैले चिनेको जानेको धेरै छन् । तर, भोट माग्नकै लागि भने जान्न । 

महासंघको चुनाव धेरै खर्चिलो हुन्छ भन्छन् । मनोनयन खर्चबाहेक कति खर्च लाग्छ ? 

खर्चको म हिसाब राख्दिन । तर, साथीभाई भोटघाट र एक ठाउँबाट अर्काे ठाउँमा जाने खर्चबाहेक कुनै खर्च हुँदैन । 

अरूले कसरी के गर्नुहुन्छ मलाई जानकारीमा छैन । ठूलो खर्च गरेर म कमाउन पदमा जाने मान्छे हैन । तर, खर्च गरेरै चुनाव जित्न्पर्छ भन्ने मान्यता राख्ने मान्छे म हैन । 

तपाईंले व्यवसाय गरेकै ४५ वर्ष भइसको छ । पछिल्लो समय किन व्यवसायी निराश छन् ? 

व्यवसायीमा समस्यामाथि समस्या थपिएको छ । हिजो २०७२ सालमा भूकम्प गयो । आर्थिक क्षेत्र समस्या त्यत्ति धेरै देखिएन ।

त्यसपछि नाकाबन्दी भयो, त्यो समयमा पनि त्यतिधेरै समस्या देखिएन । 

कोभिडमा पनि त्यतिधेरै समस्या देखिएन । समस्या पछिल्लो समय देखिएको हो । सबैभन्दा ठूलो समस्या भनेको तरलताको अभाव हो ।  त्यसले गर्दा पनि बजारमा क्रयशक्ति घट्दै गयो । बैंकले ७ प्रतिशतमा दिइरहेको ब्याज बढायो । 

त्यसले पनि समस्या निम्त्यायो । बिजनेश जेनेरेट त रिटेलबाट हुन्छ नि त ।  व्यवसाय भनेको उत्पादनले सन्तुलन गर्नुपर्ने हो । हाम्रो उत्पादन पनि खुम्चियो । एकै चोटी समस्या निम्तियो । अहिले बैंकहरूले पनि यो समस्यालाई बुझेन ।

बैंकहरूको पनि व्यावसाय हो । तर, भोलि हामीले पैसा लिएनौँ भने के हुन्छ ? त्यो पनि सोच्नु पर्‍यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro