काठमाडौं । खोटाङको रुपाकोट मजुवागढी–८ घर भएकी रजनी राई ह्विलचेयनबिना हिँड्न सक्दिनन् । ९ वर्षअघि रुखमा चढेर घाँस काट्दै गर्दा उनी एक्कासी लडेकी थिइन् । होस खुल्दा उनी धरानस्थित अस्पतालमा छट्पटाइरहेकी थिइन् ।
धरानमा अप्रेसन हुदाँ उनलाई लडेर आफू अपांग भएको भन्ने थाहा थिएन । जब काठमाडौं आइन् अनि थाहा भयो मेरुदण्डमा चोट लागेको छ भनेर ।
उनलाई थाहा भयो जिन्दगीभर हिड्न सक्दिन भनेर अनि त्यसपछि सुरु भयो जीन्दगीको कठिन मोडहरू । गाउँमा वस्तुभाउ चराउने, घाँस काट्ने, साथीहरूसँग खेल्ने उनी अब यी काम गर्न सक्दिनन् ।
कसैको सहाराबिना जीवनभर हिड्डुल गर्न नसक्ने भइन् । उनको सहारा ह्विलचेयर बन्यो । अस्पताल रहँदा फिजियोथेरापी, परामर्श लिइन् । ह्विलचेयर गुडाउने, त्यसको व्यवस्थापन गर्ने, आफ्नो दैनिक कामबारे सिकिन् ।
एक्कासी ह्विलचेयरमा बस्नुपर्दा सुरूसुरूमा अफ्ठ्यारो लाग्यो, गाह्रो भयो, असहज भयो तर दैनिकी सहजताका लागि त्यो एकदमै आवश्यक थियो ।
२०७० सालको त्यो दुःखदायी पीडा उनले सम्झन चाहदिनन् । १४ वर्षको उमेरमा घटेको घटनाले उनलाई सदैव पिरोल्छ । जब घटना भयो सुरुका तीनवर्ष उनका लागि सयौँ वर्ष बिताए जस्तै भयो । गाउँघरमा हिँडिरहने, साथीसँग खेलिरहने, उकालोओरालो गरिरहने उनलाई दिनहरू सयौँ वर्र्षजस्तो लाग्यो ।
मनमा धेरै सोचाइ आयो । जीवन आफ्नै लागि भारी भयो । धेरै रोइन्, कराइन्, तर पूरानैवाला जीन्दगी फर्किएन । “जब आफूजस्तै अपांगता भएका अन्य व्यक्तिलाई देखे, उनीहरूले गरेका क्रियाकलापलाई नजिकबाट नियालिन् अनि आफैबाट प्ररेणा मिल्यो । अनि अगाडि बढे । मैले केही गर्नुपर्छ, मैले देखाउनुपर्छ,” उनले सुनाइन् ।
जब उनी जोरपाटीको होस्टलमा आइन्, त्यहाँ उनीजस्तै अपांगता भएका व्यक्तिहरू देखिन् । आफ्नो काम आफै गरेका, खेल खेलिरहेका, रमाइरहेको देख्दा उनलाई लाग्यो मैले गर्न सक्छु । खेल्न सक्छु । उनीहरूलाई हेरेर खेल्नुपर्छ भन्ने लाग्यो । २०७२ सालमा काउन्सिलर दिदीसँग बास्केटबल खेल्न सिकिन् । त्यसपछि उनले खेललाई निरन्तरता दिइन् ।
समाजबाट त्यति सहयोग नपाएपनि परिवारको सहयोग सदैव छ । घटनापछि पूराना साथीसँगको दुरी छोट्टिदै गइरहेको छ, नयाँनयाँ साथी बन्दै गइरहेको छ । आफूजस्तै अपांगता भएका साथीहरूको भोगाइ एकआपसमा सेयर हुन्छ अनि त्यसैबाट हौसला थपिन्छ ।
अपांगता भएपछि पढाइलाई निरन्तरता दिन सक्दिन भन्ने उनलाई लाग्थ्यो तर पढाइसँगै खेल, अतिरिक्त क्रियाकलापलाई साथमै अगाडि बढाइन् । आफै पनि सक्रिय हुनुपर्छ, अरुको भरमा नपरौँ, आफै स्वतन्त्र भएर अघि बढ्नुपर्छ भन्ने सोच बनाएर अघि बढ्न थालिन् ।
उनले अन्तर्राष्ट्रिय प्रतियोगिताका खेल पनि खेलिसकेकी छन् । तीन महिना अघि भारतमा भएको ह्वीलचियर बास्केटबल प्रतियोगितामा सहभागी भएकी थिइन् । नेपाली टोली दोस्रो हुदाँ उनको खुसीको सीमा रहेन । नेपालमै भएको खेलमा अन्तर्राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्दा सफलता हासिल भएको उनले सुनाइन् । बास्केटबल तालिम लिन थाइल्याण्ड, बंगलादेश पुगेकी छन् ।
अपांगता भएका व्यक्तिका लागि सरकारी तबरबाट सहयोग नभएको उनी गुनासो गर्छिन् । “अपांगता भएकाहरूलाई बजेट छुट्टाउनुहुन्छ तर हामी अपांगता भएका खेलाडीलाई बजेट छैन, खेल खेल्न उपयुक्त तालिम छैन, सडक छैन, शौचालय छैन, अपांगतामैत्री खेलमैदान छैन,” उनी गुनासो गर्छिन् ।
बास्केटबलसँगै नृत्य गर्छिन् । उनी पहिलो डिसाबलिटी क्विन नेपालको विजेता पनि हुन् । सात वर्षदेखिको खेलमोहप्रतिको लगावको सफलतालाई गर्व महसुस गर्छिन् । खेलले डिप्रेसन हुनबाट बचाएको उनी बताउँछिन् ।
“मैले खेल नखेलेको थिएँ भने डिप्रेसनको सिकार हुन्थे होला । जब अपांगता भए, त्यसपछि मैले एक्लिएको महसुस गरे । मनमा अनेक तर्कतर्कना आउँन्थ्यो । जीवनप्रति हरेस खाइसकेकी थिए,” उनी भन्छिन्, “खेलमा लागेपछि दिमाग ताजा (फ्रेस) हुन्छ । नयाँ ठाउँ, नयाँ साथी हुनाले आत्मविश्वास बढेको छ ।”
खोटाङमा उनका बुबा, आमा र भाइ छन् । उनलाई भेट्न बेलाबेलामा आमाबुबा काठमाडौं आइरहन्छन् । होस्टलमा बस्ने उनी आफ्नो काम आफै गर्छिन् । अरुमा निर्भर हुन चाहदिनन् । त्यहि भएर उनले जागिर पनि गरेकी छन् । अपांगता भएर पनि हरेक कुरामा अब्बल भएको भन्दै आजकाल छरछिमेकीहरुले खुसी साट्छन्, अझै अगाडि बढ्न हौसला दिदाँ खुसी लाग्ने उनले सुनाइन् ।
सात वर्षको अवधिमा बास्केटबलसँगै ह्विलचेयर रेस, टेबलटेनिस, पावरलेफ्टिङमा सहभागी भएर मेडलसमेत जितेकी छन् । बास्केटबलको मात्रै २० भन्दा बढी मेडल उनको साथमा छ । सबै खेलबाट पाएको ५० भन्दाबढी मेडल हेर्दै उनी मुस्कुराइरहन्छिन् । अनि भन्छिन्, “सफलता खोज्न कहीँकतै जानु पदैन, आफैसँग छ ।”