
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि उमेदवारको टुंगो लगाएको छ ।
शुक्रबार रास्वपाले चितवन–२ मा पार्टी सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता मुकुल ढकालले दिएको जानकारी अनुसार शुक्रबार उमेदवार छनोटका लागि भएको आन्तरिक प्रतिस्पर्धामा अन्य उमेदवारले खरेल र वाग्लेलाई छनोट गरेका हुन् । चितवन–२ का लागि भने लामिछानेको एकल नाम थियो ।
“उमेदवारहरूको छलफलपछि अन्य उमेदवारहरूले वाग्ले र खरेललाई समर्थन गर्नुभएको छ,” उनले भने, “बारामा रमेश खरेल र तनहुँमा स्वर्णिम वाग्लेको उमेदवारी निश्चित भएको छ ।”

खरेलले गएको मंसिर ४ मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । उनी नेपाल सुशासन पार्टी दर्ता गराएर चुनावी मैदानमा होमिएका थिए । तर, सफल हुन सकेनन् ।
अर्थशास्त्री वाग्लेले बिहीबारमात्र नेपाली कांग्रेसबाट राजीनामा दिएका थिए ।