काठमाडौं । गृह मन्त्रालयले भीभीआईपी तथा भीआईपीको सुरक्षामा खटाउने प्रहरी कर्मचारीको काम, कर्तव्य र मापदण्ड बनाएको छ । २ वर्षभन्दा बढी एकै व्यक्तिकोमा बस्न नपाउने, एक कार्यकाल पूरा गरेको भीआईपीको अर्को कार्यकालमा एकै व्यक्ति बस्न नपाउने, महिनाको एक पटक आफूले गरेको कामको बारेमा प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ गर्ने, आवश्यक तालिमहरु लिने आदि कुराहरु गृहको मापदण्डमा छन् ।
तर, गृह मन्त्रालयबाटै यो मापदण्ड मिच्ने काम भइरहेको छ । ५ जना प्रहरी कर्मचारीलाई गृहले ५ वर्षभन्दा बढी आफैं राखेको छ भने गृहकै अधिकारीका कारण मापदण्ड धरापमा परेको छ ।
सेवा सुरु गरेको दुई वर्षमा सरुवा भएर नयाँ ठाउँमा जानुपर्ने भए पनि भिभीआईपी तथा भिआईपीको सुरक्षामा खटिएका प्रहरी कर्मचारी (पीएसओ) हरु प्रहरी नियम लत्याउँदै एकै स्थानमा बसेका छन् ।
आफू सुरक्षामा खटिएका भिआईपी तथा उच्च अधिकारीको पहुँचका आधारमा उनीहरुलाई चलाउन कसैले पनि सक्दैन । यसले गर्दा सामान्यतया २ वर्ष एकै स्थानमा काम गरेका प्रहरी कर्मचारी स्वतः सरुवा हुने गरेको भएपनि उच्च अधिकारीको सुरक्षामा खटिएकाहरु पहुँच लगाएरै एकै स्थानमा बस्ने गरेका छन् ।
यसरी पहुँच लगाएर ५ वर्षसम्म भिआईपीको सुरक्षामा बस्नेमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलगायतका पीएसओ छन् ।
कसकोमा को कति बसे ?
बाह्रखरीलाई प्राप्त विवरणअनुसार हाल राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षामा खटिएका प्रहरी हवल्दार लगातार ५ वर्षदेखि एकै स्थानमा बस्दै आएका छन् । उनलाई प्रहरी प्रधान कार्यालयको सम्बन्धित विभागले सरुवा गरेपनि पहँुच देखाएरै उनी राष्ट्रपतिको सुरक्षामा बस्दै आएका छन् ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनको सुरक्षामा खटिएका एक प्रहरी निरीक्षक र एक प्रहरी हवल्दार पनि ५ वर्षदेखि एकै स्थानमा छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा रहेका ३ जना प्रहरी नायब निरीक्षक (सई), एक असई र एक प्रहरी कार्यालय सहयोगी गरी ५ जना प्रहरी कर्मचारी लगातार ५ वर्ष भन्दा बढी एकै स्थानमा बस्दै आएका छन् । सरुवा भए पनि उनीहरु पहुँच देखाएर अन्त जान मान्दैनन् ।
त्यस्तै दुई पटक प्रधानमन्त्री बनेका तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका प्रहरी प्रहरी कर्मचारी पनि ५ वर्षभन्दा बढी एकै स्थानमा बस्दै आएका छन् । दाहालको सुरक्षामा खटिएका ३ जना सई, ३ जना असई, ६ जना हवल्दार, एक जना प्रहरी जवान र एक जना सहायक जवान गरी ११ प्रहरी कर्मचारी ५ वर्ष भन्दा बढी ढुक्कका साथ बस्दै आएका छन् । उनीहरुलाई पनि पटक पटक प्रहरी प्रधान कार्यालयले सरुवा गरिसकेको छ, तर पहुँचका आधारमा उनीहरु सरुवा गरिएको ठाउँमा जाँदैनन् ।
अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षामा खटिएका एक जना सई र एक जना प्रहरी हवल्दारको पनि ५ वर्ष नाघेको छ । त्यस्तै भर्खरैमात्र अवकाश पाएकी प्रधानन्यायाधीश सुशीला कार्कीको सुरक्षामा पनि एक जना सई र एक जना असई छन् । उनीहरु पनि ५ वर्षयता एकै स्थानमा बस्दै आएका छन् ।
पूर्व प्रधानन्यायाधीशहरु दामोदर शर्मा, रामप्रसाद श्रेष्ठ, मोहनप्रसाद शर्मा, ओमभक्त श्रेष्ठ, केशवप्रसाद उपाध्यायको सुरक्षामा खटिएका प्रहरी कर्मचारी पनि लगातार ५ वर्ष यता एकै स्थानमा बस्दै आएका छन् ।
संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको सुरक्षामा पनि लगातार ५ वर्ष भन्दा बढी दुई जना असई खटिँदै आएका छन् । त्यसैगरी माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा, एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री भीम रावलको सुरक्षामा खटिएका प्रहरी कर्मचारी पनि एकै स्थानमा ५ वर्षभन्दा धेरै बस्दै आएका छन् ।
कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का, गोविन्दराज जोशी, पूर्वमन्त्री दानबहादुर शाही, माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल, एमाले नेता प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, पिष्णु पौडेल, नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल, कांग्रेसका बालकृष्ण खाँड, लोकसेवा आयोगका पूर्व अध्यक्ष टिकादत्त निरौलाको सुरक्षामा खटिएका प्रहरी कर्मचारी पनि परिवारको सदस्य जस्तै गरी ५ वर्ष भन्दा बढी उनीहरुसँगै बस्दै आएका छन् ।
प्रहरी नियमावली अनुसार एक पीएसओ एकै स्थानमा २ वर्षभन्दा बढी बस्न मिल्दैन, तर भिभीआईपी तथा भिआईपी सुरक्षामा खटिएका विभिन्न दर्जाका ६३ जना पीएसओ ५ वर्षभन्दा बढी र २२ जना ४ वर्षभन्दा बढी एकै व्यक्तिको सुरक्षामा रहँदै आएका छन् ।
पीएसओको काम तरकारी किन्नेदेखि जुत्ता पालिससम्म
भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीले तरकारी किन्नेदेखि जुत्तामा पालिस लगाउने सम्मको काम गर्नुपर्छ । आफ्नै फाइदाका लागि उनीहरुले यस्तो काम गर्ने गरेको जानकारहरु बताउँछन् ।
भिआईपी सुरक्षामा खटिएका प्रहरीका एक सईले बाह्रखरीसँग भने, “खानपिनदेखि विभिन्न सेवा सुविधा पाइने र विभागका उच्च अधिकारीसँग पनि राम्रो सम्बन्ध रहने भएका कारण पिएसओहरु ठूलाको सेवा गर्न तत्पर हुन्छन् ।”
माओवादी केन्द्रका अध्यक्ष दाहालको सुरक्षामा ५ वर्षदेखि बस्दै आएका ती सईले थपे, “म अध्यक्षज्यूकोमा छु, मलाई डीआईजीसम्मले फोन गरी लौन यो काम गर्नुपर्यो भन्छन् । आफूले बोल्ने पर्दैन, इसाराको भरमा काम हुन्छ । सरुवा गर्ने पनि कसैको आँट हुँदैन । प्रमोसनमा पनि ठूलो ठाउँबाट सिफारिस जाँदा गर्नैपर्ने हुन्छ ।”
अर्का एक भीआईपीका पीएसओको अनुभव पनि उस्तै छ । भन्छन्, “घरको सबै काम गर्नुपर्दा केही असहज त हुन्छ तर फाइदा पनि धेरै छन् । कोही नेता चोखो हुँदैनन् । उनीहरुको उठबस कोसँग हुन्छ भन्ने कुरा हामीलाई थाहा हुन्छ । अनि कुरा बाहिर नजाओस् भन्नका लागि पनि हाम्रो सरुवा उहाँहरुले नै थमौती गरिदिनु हुन्छ ।”
यसकारण पीएसओ परिवर्तन गर्दैनन् भीआईपी
दैनिक क्रियाकलापदेखि अन्य विभिन्न गतिविधिसमेत थाहा पाउने भएका कारण भिआईपीले सरकारले सुरक्षाको लागि खटाएका प्रहरी कर्मचारीलाई सधैंभरी काखी च्यापेर राख्ने गरेको जानकारहरु बताउँछन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही भीआईपीले यो भएन, त्यो भएन भन्दै रोजीरोजी सुरक्षाकर्मी माग गर्ने गरेका छन् । स्रोतले भन्यो, “प्रधान कार्यालय सुरक्षा महाशाखाले खटाएका कतिपय कर्मचारी त फिर्ता हुने गरेका छन् ।”
सुरक्षा कम, चाकडी बढी
भीआईपीको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुले सुरक्षा कम चाकडी धेरै गर्ने गरेको बताइन्छ । “सरकारले भीआईपीको सुरक्षाको निम्ति सुरक्षाकर्मी दिने हो तर उनीहरुको काम बिल्कुल फरक हुने गरेको छ,” नेपाल प्रहरीका पूर्वएआईजी नवराज ढकाल भन्छन्, “संगठनको नियम छ, निश्चित मापदण्ड छ तर त्यो पूरा भएको छैन । २ वर्षभन्दा एकै व्यक्तिकोमा बस्न नपाउने नियम भएपनि नेताहरुको चाकडी गरेकै कारण जागिरको आधा उमेर एकै ठाउँमा बिताउने गरेको पनि पाइएको छ । यो गलत हो, यसले राम्रो गर्दैन ।”