site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सूचना स्रोतसँग यौन सम्बन्धमा स्पेनी प्रहरी, सरकारको व्यापक आलोचना

बार्सिलोना । स्पेन सरकारले सूचना सङ्कलनका लागि परिचालन गरेका सादा पोशाकका प्रहरीको रणनीतिको व्यापक आलोचना भएको छ । बार्सिलोना प्रहरीले यौनलाई हतियार बनाएकामा त्यसको घोर विरोध भएको फ्रान्स २४ ले लेखेको छ ।

हालैका दिनमा सादा पोशाकका प्रहरीले विपक्षी राजनीतिक दल र समूहहरूमा घुसपैठ गर्ने, उनीहरूको विश्वास जित्न र सूचना सङ्कलन गर्न कार्यकर्तासँग यौन सम्बन्ध राखेको आरोपमा सरकारको व्यापक आलोचना भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्याटलान मिडिया ला डिरेक्टाले गत जनवरीमा ड्यानियल हर्नान्डेज नामका एक प्रहरी अधिकारीले सन् २०२० देखि बार्सिलोना स्क्वाट र फार लेफ्ट आन्दोलन समूहका विभिन्न सदस्यसँग यौन सम्बन्ध कायम गरेर सूचना फुत्काएको समाचार सार्वजनिक गरेको थियो । 

एउटा मुद्दाका निम्ति सूचना सङ्कलन गर्ने क्रममा हर्नान्डेजले करिब एक वर्षसम्म त्यस्तो सम्बन्धलाई निरन्तरता दिएको खबर उक्त पत्रिकाले छापेको थियो ।

उनीविरुद्ध ६ जना महिलाले उजुरी दिएका छन् । झूटको सहारा लिएर ती प्रहरीले उनीहरूलाई यौन सम्बन्धका निम्ति सहमति दिन बाध्य पारेको बताएका छन् । महिला कानुन व्यावसायी मिरिया सालाजारले प्रहरीका त्यस्ता घृणित अभ्यासको कानुनी आधार र औचित्य नभएको बताएकी छन् ।

सूचना सङ्कलनका निम्ति पुरुष प्रहरी अधिकृतमात्र होइन महिला प्रहरी पनि संलग्न भएपछि गलत अभ्यासलाई सरकारले प्रश्रय दिएको उजागर भएको छ । 

गत साता जलवायु परिवर्तनका कुप्रभाव कम गर्नेतर्फ सम्बद्ध पक्ष लाग्नुपर्ने आवाज उठाउँदै आएको एक्स्टिङ्सन रिबेलियन समूहका एक सदस्यसँग एकजना महिला प्रहरीले घुसपैठ गरी सम्बन्ध कायम गरेको समाचार बाहिर आएपछि स्पेन सरकारको आलोचना तीव्र भएको छ । यो घटनाबाट  स्पेनका नागरिक आक्रोशित भएका छन् ।

यसअघि, स्पेन सरकारले इजरायली ‘स्पाइवेयर’ पेगासस प्रयोग गरेर १८ जना क्याटालान पृथकतावादी नेताको मोबाइल फोनमार्फत जासुसी गरेको स्वीकार गरेको थियो । क्याटलान नेताहरूले प्रधानमन्त्री पेड्रो सान्चेजलाई अनैतिक भन्दै राजनीतिक स्वतन्त्रता र वैचारिक स्वतन्त्रताजत्तिकै यौन स्वतन्त्रतको रक्षा हुनुपर्ने माग गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्