काठमाडौं । एक दिन दीपकराज गिरी पत्रिका पढिरहेका थिए । पत्रिकामा एउटा समाचार थियो– आफू विदेशमा रहेका बेला साथीले आफ्नो श्रीमती भगायो । उसले घर फर्किएर त्यही साथीकी श्रीमती भगाएर बदला लियो । दीपकलाई लाग्यो, यो विषयमा त सिनेमा बनाउन सकिन्छ । त्यही समाचार पढेर उनले ‘छक्का पञ्जा’को पहिलो सिरिज लेखे । त्यो सिनेमाले ऐतिहासिक कलेक्सन गर्यो । दीपक सानो पर्दाबाट ठूलो पर्दामा थप दरिए ।
अक्सर सिनेमाका लागि कथा छनोटको दीपकको विधि यस्तैयस्तै हुन्छ । कहिले समाचारको एक लाइनलाई सिनेमाको कथा बनाउन सकिन्छ भन्ने उनलाई लाग्छ । कहिले कसैले सुनाएको कथाको कुनै सन्दर्भले उनलाई छुन्छ । कहिले कुनै चलचित्र हेर्दा त्यसको एउटा सिनमा कथा बनाउन सकिन्छ भन्ने दीपकलाई लाग्छ । कहिले आफैँले देखेको घटनालाई उनी सिनेमाको कथाको आकार दिन्छन् ।
दीपक र दीपाश्री निरौलाको समूहले बनाएको चलचित्र अहिलेसम्म नेपालमा सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने सिनेमा बन्दै आएका छन् । उनीहरूका चलचित्र दर्शकका लागि प्रतीक्षित हुने गरेका छन् । अधिकांश चलचित्र असफल हुँदा दीपक–दीपाका हरेक चलचित्र कसरी सफल हुन्छन् ? कसरी बनाउँछन् उनीहरू सिनेमा ?
लेखन प्रक्रिया प्रत्येक लेखकको फरकफरक हुन्छ । विषयवस्तुको गाम्भीर्यले समय निर्धारण गर्छ । कुनै चलचित्रको कथा चाँडै लेखिसकिने त कुनैलाई लामो समय लाग्ने दीपक बताउँछन् । पटकथा चलचित्रको सबैभन्दा ठूलो हतियार हो । कथाबिना पनि चलचित्र बन्न सक्ने तर पटकथाबिना चलचित्र बन्न नसक्ने उनको जिरिह छ ।
लेखन प्रक्रिया लेखकअनुसार फरकफरक हुने दीपकको अनुभव छ । कोही नेचुरल राइटर हुन्छन्, जसले चाँडै सिनेमाको कथा लेख्न सक्छन् । कसैले समय लिएर विस्तारै लेख्छन् । आफू सुरुमा नेचुरल राइटर रहेको तर अहिले समय लिएर लेख्न थालेको उनी सुनाउँछन् ।
आफूले चलचित्र बनाउँछु भनेको विषयमा सिनेमा बन्न सक्छ/सक्दैन, त्यसमा पहिला दीपक अध्ययन गर्छन् । बन्न सक्छ भन्ने लागे त्यसको आयतन बढाउँदै जान्छन् । जब राम्रो विषय हो र राम्रो चलचित्र बन्छ भन्ने निष्कर्षमा पुग्छन्, तब उनी त्यसलाई कथा बुन्न थाल्छन् । कहाँबाट सुरु गरेर कहाँ अन्त्य गर्ने निर्धारण गर्नतर्फ लाग्छन् । यो प्रक्रियाअन्तर्गत उनी दुईदेखि तीन पेजको स्टोरीलाइन लेख्छन् ।
त्यसो त उनीसँग सधैँ आफ्नै कथा हुन्छ भन्ने हुँदैन । कहिलेकाहीँ दीपकसामु अरू लेखक तथा मेकर कथा लिएर यसमा सिनेमा बनाउनुपर्यो भनेर आउँछन् । कोही मेरो चलचित्रमा खेल्दिनुपर्यो भनेर आइपुग्छन् । कथा मन परे दीपक एउटा सर्त राख्छन्– कथा तपाईंको भए पनि पटकथा मेरो हुनुपर्छ । कारण, उनको आफ्नो न्यारेटिभ छ, उनी आफ्नै तरिकाले कथा भन्छन् । त्यसैले उनले कथा अरूको लिए पनि पटकथा र संवाद दीपक र उनको समूहले आफैँ तयार पार्छ ।
आफैँले कथा लेख्दा उनी स्टोरीलाइन तयार पर्दासम्म कसैसँग सल्लाह गर्दैनन् । एक्लै लेख्छन् । “सबै कथा सुन्दा सधैँ सुन्दर लाग्छन् । तर, त्यसको पटकथा र संवादले सिनेमा राम्रो हुने/नहुने निर्धारण गर्छ,” दीपक भन्छन्, “नेपाली सिनेमामा सबैभन्दा धेरै खड्किने पक्ष नै पटकथामा हो । अरूले बनाएका पटकथालाई गाली गर्ने तर आफू निद्रा लाग्ने पटकथा लेखेर बस्ने लेखक नेपाली सिनेमामा धेरै छन् ।”
पटकथा नै चलचित्रको प्राण हो । यो कसिलो हुनुपर्छ । कथा र संवादमा मात्र रमाउने तर पटकथामा ध्यान नदिए चलचित्र राम्रो बन्दैन । पटकथा लेखनका लागि लामो समय लाग्छ । पटकथा लेखनमा दुई महिनादेखि वर्षौँसम्म लाग्ने गरेको उनी सुनाउँछन् । यसमा जति धेरै मिहिनेत गर्यो, त्यति राम्रो चलचित्र बन्ने दीपकको भनाइ छ ।
“जबसम्म दर्शकलाई एक मिनेट पनि बोर हुँदैन भन्ने मलाई लाग्दैन, तबसम्म म लेखिरहन्छु । दर्शक बोर हुँदैनन् भन्ने हन्ड्रेड पर्सेन्ट भएपछि मात्रै म स्टोरी लक गर्छु,” दीपक भन्छन् ।
दीपक कथा लेख्छन् । कथाअनुसारको सिन हुन्छ । सिन त तयार भयो, तर त्यसबारे ज्ञान छैन । के गर्ने ? त्यसपछि दीपक निस्किन्छन् रिसर्चमा । सम्बन्धित विषयका विज्ञ, सरोकारवाला पक्षलगायत व्यक्तिसँग उनी आफैँ भेट्छन् । छलफल गर्छन् ।
‘छक्का पञ्जा–३’ मा सरकारी र सामुदायिक विद्यालयका बारेमा कथा थियो । सामुदायिक विद्यालयमा हुने कोरा राजनीति र प्राइभेट स्कुलले विद्यार्थीका लागि गर्ने राजनीतिबारे सिन थियो । तर, उनलाई यसबारे धेरै जानकारी थिएन । त्यसैले यो विषयमा बुझ्न निस्किए । विद्यालयमार्फत हुने राजनीतिबारे बुझ्न राजनीतिज्ञलाई भेटे । सामुदायिक विद्यालयको शिक्षाको स्तर र निजी स्कुलमा विद्यार्थी पठाउने राजनीतिबारे आफैँ गएर सरोकारवालासँग भेटेर पटकथामा उतारे । आफूले तयार गर्ने पटकथामा बस्नुअघि गर्ने रिसर्चका लागि दीपक सम्बन्धित व्यक्ति वा पक्षलाई स्वयं भेट्छन् । पत्रपत्रिका, रेडियो टेलिभिजन, आफन्त तथा सोसल साइटमा रिसर्च गर्छन् । आवश्यक ज्ञान र सामग्री जुटाएपछि पटकथा लेख्न थाल्छन् ।
तीन दशक लामो कलायात्राबाट दीपकले सिके, नेपाली सिनेमा हलिउड र बलिउडजस्तो हुनु हुँदैन । आफ्नै कथ्यशैली हुनुपर्छ । “दर्शकका रूपमा तपाईं हलमा गएपछि कि तपाईंले त्यहाँ आफैँलाई पाउनुपर्छ । हैन भने छिमेकी वा साथी अथवा चिनेजानेको इष्टमित्रलाई पाउनुपर्छ । कतै न कतै तपाईंले देखेको चिज पाउनुपर्छ,” दीपक भन्छन्, “आफूले देखेको कुरा पाए त्यसमा दर्शकले अपनत्व फिल गर्छ । होइन भने दशर्कले मन पराउँदैन ।”
कथ्यशैलीले ठूलो असर गर्ने उनको अनुभव छ । “बच्चामा हजुरआमाले सुनाएको कथाले कोही भुसुक्क निदाउँछ भने त्यही कथा हजुरबाले सुनाउँदा झिजो लाग्न सक्छ,” दीपक अगाडि भन्छन्, “त्यही कथा हजुरआमाले भन्दा मिठो लाग्ने तर हजुरबुवाले सुनाउँदा ‘बूढाले मलाई चाँडो सुताउनलाई झारा टारिरहेका छन्’ भन्ने लाग्छ । त्यसैले कथा भन्ने शैली आफ्नै हुनुपर्छ । मन्त्रमुग्ध पारेर कथा भन्नुपर्छ ।”
कस्तो चलचित्र दर्शकलाई मनपर्छ, यसबारे गहिरोसँग बुझ्नुपर्नेमा उनी जोड दिन्छन् । त्यसैले उनी कैयौँपटक आफ्नै चलचित्र हेर्न हल जान्छन् । दर्शकसँगै बसेर चलचित्र हेर्छन् । काठमाडौंभित्र, काठमाडौंबाहिर र विदेशमा गरेर दीपकले ‘छक्का पञ्जा’को पहिलो सिरिज ३०० भन्दा धेरैपल्ट हलमा हेरे । दर्शक केमा कहाँनेर हाँस्छन्, कहाँनेर खुसी हुन्छन्, उनी विचार गर्छन् ।
“कमेडी जानराको सिनेमामा दर्शकको प्रतिक्रिया बुझ्न पनि सहज हुन्छ । अरू सिनेमा कस्तो लाग्यो भनेर सोध्नैपर्छ । तर, कमेडी सिनेमामा हाँसेको सुनिने र अनुहारमा भाव प्रस्टै देखिने भएकाले सहजै फिडब्याक लिन सकिन्छ,” दीपक भन्छन्, “कुन पञ्चमा दर्शक हाँसिरहेका छन्, कुनमा चित्त बुझाइएरहेका छैनन्, छेउमा बसेको दर्शकको फेसियल रियाक्सन के छ, म नियालिरहेको हुन्छु ।”
मास्क र क्याप लगाएर उनी दर्शकसँगै सिनेमा हेर्छन् । प्रतिक्रिया बुझ्छन् । दर्शकको प्रतिक्रिया बुझेर उनी कहिल्यै थाक्दैनन् । त्यसैले त उनी भन्छन्, “म दर्शकको प्रतिक्रिया बारबार बुभ्न चाहन्छु । दर्शकको फेसियल रियाक्सन हेर्न चाहन्छु । कारण, मलाई अर्को चलचित्रका लागि यो महत्त्वपूर्ण फिडब्याक हो । दर्शकको मन बुझ्ने माध्यम हो ।”
दीपक दर्शकबाहेक कसैको कुरा सुन्दैनन् । रमाइलो फिल्म मात्र बनाउँछ, सिरियस फिल्म बनाउँदैन भन्ने आरोप उनले व्यहोरेका छन् । “म यी आरोपलाई एउटा कानले सुन्छु र अर्को कानले उडाइदिन्छु । कारण, सँगै बसेर हेर्दा दर्शकले लिएको मजा मलाई थाहा छ । मेरो उद्देश्य नै त्यही हो,” दीपक भन्छन्, “एकैजनाले चार/पाँचपटकसम्म हेरेको मैले देखेको छु । नेपालमा कुनै पनि चलचित्र लामो समय चल्छ भने एकैजनाले पटकपटक नहेरी चल्दैन । त्यसैले म समीक्षक र आलोचकका लागि होइन, दर्शकको स्वाद बुझेर दर्शकका लागि चलचित्र बनाउँछु । दर्शक नै मेरा समीक्षक हुन् ।”
आफ्नो चलचित्रका उपभोक्ता को हुन्, बुझेर मात्र चलचित्र बनाउनुपर्ने उनको धारणा छ । यसलाई आफूले सधैँ आत्मसात् गर्ने गरेको उनको भनाइ छ ।
दीपक आफूलाई ओस्कार र कान्समा जानु नरहेको भन्दै दर्शकसामु पुग्न पाए हुने बताउँछन् । “म मेरो उद्देश्यमा क्लियर छु । विदेशी अवार्डका लागि मैले मेरा चलचित्र उत्कृष्ट बनाउनु छैन । म व्यावसायिक सिनेमा निर्माता हुँ । मलाई मेरा दर्शक खुसी बनाउनु छ । पैसा पनि कमाउनु छ,” उनी स्पष्ट पार्छन्, “मेरो चलचित्रमा लगानी गरेका निर्माता डुब्नु हुँदैन । आज मेरो सिनेमा विदेशमा किनेर चलाउनेहरूले मजाले पैसा कमाइरहनुभएको छ । म यसमै खुसी छु ।”
एउटा चलचित्रको कथा लेख्न दीपकलाई सामान्यतः आठ महिना लाग्छ । सुरुका ६ महिना घरमै बसेर लेख्छन् । रिसर्च आवश्यक परे सम्बन्धित पक्षलाई भेट्छन् । दोस्रो स्रोतबाट लिन सकिने सूचना लिन्छन् । पाँचदेखि ६ महिनामा पटकथा लक भएपछि संवाद लेख्न थाल्छन् । संवाद लेख्न दीपक प्रायः आफ्नो टिमसहित काठमाडौंबाहिर कतै शान्त ठाउँमा निस्किन्छन् । टोलीमा दीपाश्री निरौला, केदार घिमिरे हुन्छन् । उनीहरूसँगै बसेर संवाद लेख्छन् । यसका लागि करिब दुई महिना समय खर्चने गरेको दीपक सुनाउँछन् । छायांकन र पोस्ट प्रोडक्सनमा करिब चार महिना सकिन्छ ।
स्क्रिप्ट लक गरेपछि कसैलाई पढ्न दिएर फिडब्याक लिँदैनन् । दीपकको आफ्नै समूहमा मात्र स्क्रिप्ट सीमित हुन्छ ।
स्क्रिप्ट लक गरेपछि कलाकार छनोटको काम सुरु हुन्छ । धेरैजसो त कथा लेख्दै उनको दिमागमा यो पात्रका लागि यो कलाकार उपयुक्त हुन्छ भनेर दिमागमा आइसकेको हुन्छ । तर, दीपाश्री र केदार घिमिरेसँग बसेर उनी आफूलाई उपयुक्त लाग्ने पात्र प्रस्ताव गर्छन् । दीपकको प्रस्तावमाथि छलफल गरे कसलाई लिने तीनैजनाको सहमतिपछि कलाकारलाई अफर गर्छन् ।
पोस्टको काम सकाएपछि भने केही व्यक्ति, जसलाई चलचित्र देखाउँछन् र फिडब्याक लिन्छन् । सिनेमाका केही एडिटर र कलरिस्टलाई बोलाएर दीपक चलचित्र देखाउँछन् । र, त्यसलाई आम दर्शकबाट आएको रियल फिडब्याक मानेर गर्न सकिने र मिल्नेजति काँटछाँट गर्छन् । अनि, आउँछ हलमा दीपक–दीपाको चलचित्र ।