site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘पैसा सापटी’ बद्रीको आफ्नै कथा हो ?  
Sarbottam CementSarbottam Cement

काठमाडौं । भिन्न–भिन्न विषय र परिस्थितिलाई टपक्क टिपेर गीतका शब्दमा ढाल्न सक्नु बद्री पंगेनीको विशेषता नै हो । जति मिठो उनको स्वर छ, शब्द चयनमा पनि उनको कलमको निप त्यति नै तिक्खर छ । त्यसैले त सांगीतिक दुनियाँमा उनको नाम उचो छ ।

प्रसंग हो, ‘पैसा सापटी’को । अर्थात्, बद्री पंगेनीको भर्खरै सार्वजनिक भएको गीतको । ६ दिनअघि रिलिज भए पनि यो गीत उनले चार वर्षअगाडि लेखेका थिए ।

गीत कसरी लेखिन्छ ? व्यक्तिअनुसारको अनुभव फरक–फरक । बद्री राजनीतिदेखि सामाजिक, मायाप्रेमका गीत लेख्छन् । गाउँछन् । कतै आँखाले देखेको विषयले दिमागलाई हिर्काउँछ । कतै कल्पनाको संसारमा विचरण गर्दा गीत हरफ जन्मिन्छन् । कतै आफैँले भोगे र अरूले सुनाएका अनुभवले दिमागको बत्ती बल्छ । परिणामः गीत तयार हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समय कति लाग्छ ?
कहिले कति कहिले कति भरै हुन्न । मनमा लामो समय खेलिरहेको भए छोटै समयमा गीत लेखिसकिन्छ । दिमागमा त्यति धेरै घर गरेको विषय नभए समय लाग्छ । होइन भने चाँडै ।

लागौँ ‘पैसा सापटी’तर्फ । कति आफैँले भोगेको, कति देखे/सुनेको विषय थियो । दुई दिनमा गीत लेखे बद्रीले । अक्सर बद्रीको पहिलो पाठक/स्रोता उनकी श्रीमती र छोरी हुन् । सुन्छन् र मनमा लागेको कुरा बद्रीलाई भन्दिन्छन् । “उनीहरूलाई म्युजिकको त्यति धेरै नलेज त छैन, तर मेरा सल्लाहकार उनीहरू नै हुन् । आफूलाई जस्तो लाग्छ, त्यस्तै प्रतिक्रिया दिन्छन् । इमानदार स्रोताका रूपमा उनीहरूको प्रतिक्रिया आउँछ,” बद्री भन्छन्, “यो गीतमा पनि उनीहरूको प्रतिक्रिया राम्रो छ भन्ने नै थियो ।”

Global Ime bank

बद्रीले अक्सर गीत लेखेपछि कस्तो छ भनेर पहिलोपटक प्रतिक्रिया माग्नेचाहिँ गीतकार एकनारायण भण्डारीसँग हो । उनले योपटक पनि सोधे । एकनारायणले भने, ‘शब्दभन्दा पनि मलाई यो गीतको म्युजिक मन पर्‍यो । लभ सङका लागि यो म्युजिक अझ राम्रो हुन्छ ।’

पछि एकनारायणले केही सल्लाह पनि दिए । राम्रोका लागि दिएको सल्लाह बद्रीले नलिने कुरै थिएन ।

बद्री सधैँ गीत लेख्दा स्वैरकल्पनामा मात्र डुब्दैनन् । आफ्नै भोगाइलाई पनि शब्दमा उतार्छन् । उनले आफ्नो जिन्दगीमा थुप्रै साथीभाइलाई सहयोग गरेका छन्, जो दुःख टारिदिन आग्रह गर्दै आए । उनले थुप्रैको खाँचो टारदिएका छन्, जो अभावमा सहाराको अपेक्षा लिएर ढोका ढक्ढक्याउन आइपुगे । ‘पैसा सापटी’ पनि उनले आफ्नै भोगाइलाई समेटेर लेखे ।

कस्ता–कस्ता भोगाइ छन् बद्रीसँग पैसा सापटी दिँदाका ? “मैले त्यति धेरै पैसा लिन बाँकी त छैन, तर गीत गाएर दुःख गरेर कमाएको थोरै नै भए पनि पैसा दिएको छु । त्यसरी दुःखले जम्मा गरेको पैसा पनि फिर्ता नगर्दा मेरो चित्त भने दुखेकै हो,” बद्री अगाडि थप्छन्, “पचासौँ लाख नहोला मैले लिनु, तर धेरैजनाको मैले दुःख टार्दिएको छु । तर, गीत कहाँबाट सुरु भयो भने मसँग सापटी माग्नेले सुरुमा मसँग जसरी दाइ दाइ, भाइ भाइ भने, नाता लगाए । मन पग्लिने किसिमका व्यवहार गरे । तर, जब पैसा फिर्ता गर्ने बेला भयो, उनीहरूले मलाई चिन्दै नचिनेजस्तो, शत्रुजस्तो व्यवहार गरे । पैसा दिने र लिने बेलाको मान्छेमा देखिने परिवर्तनमा चित्त नबुझेपछि मैले एउटा गीत गाऊँ भनेर गाएको हुँ ।”

गीत नगाउँदासम्म बद्रीलाई यो समस्या आफ्नो मात्र होला भन्ने लाग्थ्यो । तर, गीत बजारमा पुगेपछि उनले अनुभूत गरे– यो समस्या त मेरो मात्रै होइन। धेरैको पो रहेछ ।

गीत सार्वजनिक भयो । प्रतिक्रियाहरू आउन थाले । “प्रतिक्रिया दिनेहरूमध्ये धेरैले मलाई भन्नुभयो– लौन बद्रीजी, पैसा फिर्ता नगर्नेहरूको जस्तै उधारो खाएर नतिर्नेहरूको पनि गीत गाइदिनुपर्‍यो ।” समाजले सर्जकबाट गर्ने अपेक्षा सुनाए ।

बद्री फेरि आफ्नै समस्या सुनाउँछन्, “गीतले भनेजस्तै पैसा फिर्ता नदिएपछि कतिपय सम्बन्ध बिग्रिएको पनि छ । कतिपय माग्दामाग्दा थाकिसकेर माया मारिसकेको घटना पनि छन् । कतिपयसँग पैसा फिर्ता नगरे पनि राम्रै सम्बन्ध छ । कतिपय भने दयनीय अवस्थाका कारण चाहेर पनि तिर्नै नसक्ने व्यक्ति छन् । त्यसमा भने मेरो गुनासो छैन । किनभने, कहिलेकाहीँ चाहेर पनि व्यक्ति परिबन्धमा पर्छ ।” 

तर, बद्रीलाई त्यति बेला अचम्म लाग्छ, जति बेला उनको पैसा वर्षौँदेखि नतिरेर उनकै अगाडि सान र फुर्तीका साथ ठूलठूला कुरा गर्छन्, त्यो पनि पैसाकै । भलै, उनले पुलिस केस आजसम्म गरेका छैनन् । “पुलिस केससम्म म जान्नँ । मेरो चित्त दुखाइ मात्रै हो । व्यवहारमा परिवर्तन नआओस् भन्ने मात्रै हो,” उनी स्पष्ट पार्छन् ।

गीत लेखेको चार वर्षपछि बद्रीले रेकर्डको सुरसार गरे । उनको पहिलो रोजाइमा परिन्, रचना रिमाल । कारण हो, आफूले गाएको गीतप्रति उनले देखाउने लगाव । गीत प्रोमोसन गर्ने इमानदारिता ।

“आफूले गाएको गीतमा यति धेरै इमानदार हुन्छिन् रचना, उनी एउटा अन्तराको लिप्सिङका लागि कञ्चनपुरबाट काठमाडौं आइन् । भोलिपल्ट बिहान लिप्सिङ गरेर धनगढीको कार्यक्रममा गइन्,” बद्री भन्छन्, “लिप्सिङ मात्रैका लागि उनी नआएर धनगढीको कार्यक्रम सकेर पनि आउन सक्थिन् । तर, उनी त्यसो गर्दिनन् । आफू जोडिएको गीतमा उनले देखाउने इमानदारिता साँच्चै अतुलनीय हुन्छ ।” सामाजिक सञ्जालमा उनले गर्ने प्रोमोसन पनि धेरै संगीतकर्मीको रोजाइमा रचना पर्नुको अर्को कारण हो ।

रचनाकै लागि बद्रीले यो गीत रेकर्डिङका लागि एक महिना कुरे । रचना कार्यक्रमको सिलसिलामा क्यानडा, जापान पुगेकी थिइन् । उनी फर्किएपछि बद्रीले ‘पैसा सापटी’ रेकर्ड गराएका थिए ।

गीतको भिडियोमा बद्रीले सागर लम्साललाई रोजेका छन् । कमेडी विधाबाट आए पनि सागर म्युजिक भिडियोमा रुचाइएका पात्र हुन् । टिकटकमा हिट सन्तोष पौडेल, अनु रेग्मी, नन्दा बस्याललगायत कलाकार भिडियोमा छन् । विश्वास नेपालले संगीत संयोजन गरेको गीत यति बेला धेरैले रुचाइरहेको बद्री बताउँछन् ।

अन्तिममा एउटा संयोग
आजकाल धेरैले चाहिने/नचाहिने ‘फन्डा’ गर्छन् । अनावश्यक फन्डाले वास्तविक तथा तथ्यगत कुरा पनि फन्डा नै त होइन भनेर धेरैले सोच्नुपर्ने अवस्था आइसकेको छ । त्यसैले बद्रीले केही कुरा चाहँदाचाहँदै पनि बाहिर ल्याएनन् । नाम त उनले भनेनन्, तर घटना यस्तो थियो– एकजना भाइ विदेश जानुअगाडि ‘दाइ, विदेश जाने तयारी गरेको ५० हजारले रोकिने भएँ, म गएको एक महिनामै पठाउँछु, सापटी दिनु न’ भन्दै आइपुगे । आर्थिक अवास्था कठिन भएको बद्रीले थाहा पाएका थिए । त्यसैले बद्रीले एक बचनमै ५० हजार दिएर पठाए । एक महिना भने पनि उनले आठ महिनासम्म पैसा पठाएनन् । “तर, पैसा सापटी गीत रिलिज भएकै दिन उनले पैसा फिर्ता गरे,” बद्री भन्छन्, “तर, उसका लागि भनेर मैले यो गीत लेखेको थिइनँ । मलाई चित्त दुखेको अरूसँगै थियो ।”

उसले ‘सरी दाजु, ढिलो भयो’ भन्दै पैसा फिर्ता गरेको बद्री स्मरण गर्छन् ।

“मेरो उद्देश्य सरसापट गर्नै हुँदैन भन्ने होइन । तर, कारोबार गरेपछि इमानदार हुनुपर्छ भन्ने हो,” गीतको उद्देश्यबारे बद्रीले प्रस्ट्याए । उनले अहिले हरेक स्टेजमा यो गीत गाइरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC