नेपाली कांग्रेस निष्ठा, आदर्श र मूल्यमान्यतापूर्ण लोकतान्त्रिक संस्कारको पर्याय थियो । त्यस कालखण्डसम्म यसका संस्थापक तथा क्रान्तिकारी नेताहरू परिवर्तनकारी इतिहासका स्रष्टा तथा संवाहकमात्र नभई जनताको भरोसाका प्रतीक थिए भने पार्टी जनआस्थाको संस्था थियो । नैतिक उत्कृष्टता तथा सिद्धान्तप्रति निष्ठावान् नेतृत्वकै कारण नेपाली कांग्रेसलाई इतिहासले उच्चसम्मान दिएको हो ।
यही पार्टी २००७ सालदेखि आजसम्म युगान्तकारी परिवर्तनको धरातल बनिरहेकै छ र हरेक परिवर्तनका कदमले पदार्पण गर्ने पहिलो थलो कांग्रेस नै हुँदैआएको छ । कांगेस पार्टी त आज पनि छ र यसप्रति जनताको माया ह्रासोन्मुख भए पनि व्यापक नै छ । तर, आजको नेतृत्व भने तुलनायोग्य रहेन ।
बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्यायजस्ता दर्जनौं नेता छन् जसको रगत र सुखको बलिदानले कांग्रेस हुर्कियो र जनतामा जरा गाड्न सफल भयो । कांग्रेसलाई बाँचेका नेताहरूले मरणासन्न बनाए पनि मरेर गएका राजनेताहरूले बचाइरहेका छन् ।
देश र जनताको चिन्ता बोकेका, आफ्नो चिन्ता पन्छाएका नेताहरूले जुम्ल्याहा रूपमा कांग्रेस पार्टी स्थापना गरे पनि राष्ट्रको आवश्यकतालाई बुझेर दुवै पार्टीलाई एकीकृत शक्तिको रूपमा स्थापित गरे । यिनै राजनेताका समकालीन तथा समकक्षी राजनेता हुन् मधेसबाट उठेका अहिंसावादी तथा गान्धीवादी राजनेता महेन्द्रनारायण निधि जसले अरूलाई उपदेश दिएर होइन स्वयं उदाहरण बनेर हरेक लोकतन्त्रवादी मनमा विराजमान भए ।
महेन्द्रनारायण निधि नेपाली कांग्रेसको असाधारण विरासत र धरोहरको नाम हो जसलाई मान्नभन्दा जान्न जरुरी छ । म यहाँ अरू प्रसंग छोडेर अहिंसा, लोकतन्त्र, त्याग र आदर्शका प्रतीक राजनेता महेन्द्रनारायण निधिको बारेमा केन्द्रित हुन चाहन्छु ।
विसं २००३ सालबाट राजनीतिमा लाग्नुभएका निधिजी २००४ सालमा राणाशासनको सक्रिय विरोध गर्दा गिरफ्तार भएपछि राजबन्दीका रूपमा जेलचलान हुनुभयो र २००६ सालमा रिहा हुनुभयो । विसं २०२९ सालमा राजालाई कालो झन्डा देखाउँदा होस् वा २०४२ सालमा पार्टीले गरेको देशव्यापी सत्याग्रहमा भाग लिँदा उहाँ हरेक पटकका आन्दोलनमा गिरफ्तार भएर जेल जानुहुन्थ्यो । स्पष्टवक्ता, इमानदार, मूल्यमान्यतामा आधारित सादगीपूर्ण राजनीति र अठोटमा अद्भूत अडान राजनेता निधिजीको परिचय र विशेषता थिए ।
निधिजीको जन्म विसं. १९७८ साल फागुन १३ गते जनकपुरमा भएको थियो । त्यसकारण फागुन १३ गते उहाँको जन्मजयन्ती र यो वर्ष १०१ औं जन्मजयन्ती । मधेसमा जन्मिएर सिङ्गो नेपाल र नेपालीको सम्मान कमाउन सफल राजनेता महेन्द्रनारायण निधिलाई श्रद्धाका साथ सम्झिइन्छ । दुई वर्षअघि २०७७ सालमा उहाँको जन्मदिवसको अवसरमा राजधानी काठमाडौंले उहाँकै नाममा एक अस्पताल पायो । त्यसै दिन सो अस्पताल परिसरमा उहाँको शालिक अनावरण पनि भयो । तराई मधेसबाट उठेका कुनै राजनेतामध्ये उहाँको उक्त शालिक राजधानी वा पहाडतिर स्थापित आजसम्मकै पहिलो शालिक हो ।
महात्मा गान्धीका दर्शन, विचार र आचरणका निष्ठावान समर्थकमात्र होइन स्व. नेता निधि कांग्रेसको स्थापनाकालदेखि नै पार्टीका लक्ष्यमा गान्धीवादी संस्कारका साथ दृढनिश्चयी भएर क्रियाशील रहनुभयो । त्यसो त, उहाँका पिता राजेश्वर निधि पनि गान्धीवादी विचारधाराबाट ओतप्रोत हुनुहुँदो रहेछ ।
विहारमा रहँदा समाजवादी नेता डा. राममनोहर लोहियासँग भेट भएको र उनकै हुटहुटीले युवावयी निधि राजनीतिमा सक्रिय हुनुभयो । डा. लोहियाको प्रेरणालाई निधिजीले आजीवन बिर्सनुभएन । सत्य र अहिंसाको जगमा राष्ट्रको पुनर्निर्माण गर्नुपर्छ र त्यो पुनर्निर्माण आत्मनिर्भर गाउँको रूपमा त्यहाँबाट प्रारम्भ गर्नुपर्छ भन्ने गान्धी विचारबाट ओतप्रोत देखिन्थ्यो निधिजीको बुझाइ पनि ।
उहाँ सिद्धान्त र मान्यतालाई ब्यवहारमा लागु गर्नुपर्ने, उपदेश दिनेभन्दा उदाहरण बनेर देखिनुपर्ने पक्षमा जोड दिनुहुन्थ्यो । मधेसी भूमि मूख्यरूपमा पहाडी समुदायको बिर्ता, मौजा, कामत र जीवनको मूख्य स्रोत रहेको थियो भने गुठीको रूपमा छुट्याइएको जग्गा पनि त्यति नै थियो । विसं २००९ सालमा निधिजी राजनीतिमा सक्रिय हुनथाल्दा मधेसका जग्गाहरू बकस बिर्ता, कुश बिर्ता, दाइजो बिर्ता, फिकदार बिर्ता, रकमबेगर बिर्ता, गुठी बेगर बिर्ता, खरिदी बेगर बिर्ता, तिरुवा बेगर बिर्ता, पोता बेगर बिर्ता, राज्य बेगर बिर्ता, भरौटे बेगर बिर्ताजस्ता अनगिन्ती किसिमका बिर्ताको रूपमा २१ लाख ३९ हजार बिघा जग्गा ओगटिएको थियो । त्यसैगरी अस्पताल, मन्दिर, विद्यालय, धर्मशाला आदिको नाममा गुठीको रूपमा राखिएको जग्गा ६६ हजार बिघा थियो । यसैले जमिनमा धर्तीपुत्रहरूमाथि नै अन्याय भएको ठहरका आधारमा नेपाली कांग्रेसले बिर्ता उन्मूलनको क्रान्तिकारी कदम चलाएको हो ।
बिर्ता उन्मूलनभन्दा अगाडि निधिजीको नेतृत्वमा अरूको जग्गामा खेती गर्ने भूमिहीन किसानले जोतेको खेतमा आधा उपज पाउनुपर्छ भन्ने ‘खडेबटैया’ आन्दोलन चलाइयो । उहाँले त्यस्तो आन्दोलनको सुरुआत आफ्नै खेतीबाट गर्नुभयो । सरकारले उहाँलाई २०२५ सालमा राजनीतिक पीडितको रूपमा निर्वाहको लागि जग्गा दिने इच्छा गरेको थियो तर उहाँले आफू राजनीतिक पीडित होइन राजनीतिक योद्धा भएको हुनाले त्यस्तो जग्गा नलिने घोषणा गर्नुभयो ।
निधिजीको व्यक्तित्वमा बहुआयामिक छवि छ । राजनीतिमा उहाँ नेपाली कांग्रेसको लोकतन्त्रवादी र क्रान्तिकारी नेता हुनुहुन्थ्यो । शिक्षाको क्षेत्रमा उहाँ शिक्षासेवीको रूपमा सुपरिचित हुनुहुन्थ्यो । उहाँको सक्रियतामा २००४ र २००९ सालमा जनकपुरस्थित सरस्वती हाइस्कुल, यदुकोहास्थित हाइस्कुलजस्ता चारवटा हाइस्कुल (माध्यमिक विद्यालय) स्थापना भए । विसं २०२८ सालमा नयाँ शिक्षा लागु गर्दा निधिजीले स्वभावगत निर्भीकताका साथ नयाँ शिक्षानीतिको खुलेर विरोध गर्नुभयो । उहाँले मातृभाषामा शिक्षाको ग्यारेन्टी गर्न माग गर्नुभएको थियो ।
२०३३ सालमा उहाँले गान्धी स्मारक गुठी स्थापना गर्नुभयो । राजनीतिमा सक्रिय रहँदा पनि पनि निधिजी कृषि गतिविधिमा सक्रिय रहनुहुन्थ्यो । सिँचाइको लागि पैनी, कुलो, नहर बनाउन सरिक रहनुहुन्थ्यो । जीवनसन्ध्यामा पुगेपछि निधनपर्यन्त बृहत्तर जनकपुर विकास आयोजनाको अध्यक्ष हुनुभयो ।
विसं २००७ सालको जनक्रान्तिमा उहाँ महोत्तरीको मोर्चामा हुनुहुन्थ्यो र महोत्तरी कब्जा गरेपछि जनसरकारको स्थापना गर्नुभयो । विसं २०१५ सालमा उहाँ नेपाली कांग्रेसका उम्मेदवार भई प्रतिद्वन्द्वी तराई कांग्रेसका ठकाइ साहुको भन्दा तीनगुणा बढी मत पाएर प्रतिनिधि सभाको सदस्य हुनुभयो । त्यसबेला निर्वाचित भएर आएपछि उहाँ संसदीय समितिका सचिव भएर केही समय काम गर्नुभयो । उहाँलाई प्रतिनिधि सभाको उपसभामुख बनाउने निर्णयमा पुग्नुअघि नेपाली कांग्रेसले योगेन्द्रमान शेरचनलाई बनाउने कुरा पनि चलेको थियो । शेरचनजीले उपसभामुखमा जान अस्वीकार गरेपछि निधिजी उपसभामुख हुनुभएको हो ।
विसं २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र मास्ने कदम चलाएपछि निधिजी निर्वासनमा भारत जानुभयो । त्यही बेला पार्टीको पटना सम्मेलनमा उहाँ पनि सहभागी हुनुभयो । विसं २०४६ सालमा जनआन्दोलन सुरू हुनुअघि ‘जनजागरण अभियान’ का सिलसिलामै उहाँ पहिले नजरबन्द र पछि जेलचलान हुनुभयो र पञ्चायतको समाप्तिको पूर्वसन्ध्यामा रिहा हुनुभयो । विसं २०४७ सालको एघार सदस्यीय अन्तरिम मन्त्रिपरिषद्मा उहाँ जलस्रोत तथा स्थानीय विकासमन्त्री हुनुभयो । झापाको कलबलगुडीमा २०४८ साल फागुनमा भएको आठौं महाधिवेशनपछि पार्टीको महामन्त्री हुनुभयो ।
निधिजीको फरक मत
निधिजी आफ्नो ब्रह्म र विवेकले देखेको सत्य एक्लै भए पनि बोल्न नहिच्किचाउने नेता हुनुहुन्थ्यो । यसरी बोल्नेगर्दा कहिलेकहीँ उहाँ एक्लो बृहस्पति बन्नुहुन्थ्यो । देखेको सत्यको पक्षमा बोल्दा आफ्नो पक्षमा कति समर्थक छन् भन्नेमा उहाँ पर्वाह गर्नुहुन्नथ्यो ।
नेपाली कांग्रेसको पटना आकस्मिक सम्मेलनले २०१८ सालमा पञ्चायती शासनविरुद्ध ‘सशस्त्र कारबाही’ गर्ने निर्णय लियो । तर, अहिंसावादी निधिजीले हिंसात्मक गतिविधिको विरोध गर्नुभयो । त्यसपछि पटनाबाट नेपाल फर्केर गिरफ्तारी दिनुभयो र करिब तीनवर्ष बन्दी बनाएपछि २०२० सालमा रिहा गरियो । एउटा पत्रिकामा पञ्चायतविरोधी लेख लेखेर प्रकाशित गरेको कारणले २०२३ सालमा उहाँ फेरि गिरफ्तार हुनुभयो । सक्रिय राजनीतिक जीवनमा निधिजी १२ पटक गिरफ्तार र जेल चलान हुनुभयो । बीपी कोइराला र गणेशमान सिंह नेतृत्वको कांग्रेसले २०२५ सालपछि सशस्त्र कारबाही जारी राख्दा त्यसको पनि उहाँले विरोध गर्नुभयो ।
विसं २०४७ सालको ११ सदस्यीय अन्तरिम मन्त्रिपरिषद्मा निधिजी जलस्रोत मन्त्री हुनुहुन्थ्यो । कोसीको पानी बाँडफाँटको विषयमा तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरसँग निधिजीले राष्ट्रिय हितको पक्षमा देखाएको अडानले चन्द्रशेखरलाई चकित बनाएछ । उनले प्रधानमन्त्री किसुनजीलाई यो कुरा बताएका छन् ।
विसं २०४८ सालको पहिलो आमनिर्वाचनपछि निधिजी सक्रिय राजनीतिबाट क्रमशः सन्यास लिने पक्षमा देखिनुहुन्थ्यो । प्रजातन्त्र पुनःस्थापना पछि सत्ताबाट आफ्ना लालसा र स्वार्थ पूरा गर्ने क्षुद्र राजनीतिक सोच लिनुभएन । कलबलगुडी (झापा) मा सम्पन्न नेपाली कांग्रेसको आठौं महाधिवेशनबाट निर्विरोध सभापति निर्वाचित हुनुभएका कृष्णप्रसाद भट्टराई (किसुनजी) ले निधिजीलाई महामन्त्री बनाएर थप जिम्मेवारी सुम्पिनुभयो । निधिजीले एकदिन परिहास शैलीमा भन्नुभयो, “मैले त अब विश्राम लिन चाहेको छु भनेको किसुनजीले थप जिम्मेवारी लिन्छु भनेको सुन्नुभएछ । महामन्त्रीको भारी भिडाइदिनुभयो ।”
मैले सुरूमा निधिजीले २०२१ सालमा जनकपुरमा पञ्चायतको कार्यक्रममा बोल्दा व्यक्त गर्नुभएको विचारको अंशबाट सुरू गरेँ । तर, त्यो विराट व्यक्तित्वलाई मेरो छोटो आलेखले निश्चय नै साङ्गोपाङ्ग रूपमा समेटेको छैन ।
विसं २०७८ पुस २९ गते शुक्रबार मधेस प्रदेश सरकारले महेन्द्रनारायण निधि विपन्न आवास योजनाअन्तर्गत दलितलाई मात्रै नभई गरिब, विपन्न, असहाय, एकल महिलालगायतका जुनसुकै समुदायको व्यक्तिलाई ५ लाखको लगानीमा दुई कोठे भवन, भान्सा कोठा र शौचालयसहितको घर निर्माण गरिदिने निर्णय गरेको छ । यस योजनाअन्तर्गत प्रत्येक वर्ष प्रदेश सभामा ६४ वटै निर्वाचन क्षेत्रमा १० वटाका दरले वार्षिक ६ सय ४० वटा घर निर्माण प्रदेश सरकारले गरिदिने निर्णय भएको छ । महेन्द्रनारायण निधि विपन्न आवास योजनाको संयोजकमा भौतिक पूर्वाधारमन्त्री रहनेछन् भने प्रदेशका ८ वटै जिल्लामा जिल्ला संयोजकमा प्रदेश सांसद नै तोकिने प्रावधान छ ।
निधिजीको निधन ७९ वर्षको उमेरमा जनकपुरको मिल्स एरियामा हृदयाघात भई २०५६ बैशाख २० गते (४ मई, १९९९) दिउँसो भयो । त्यो विराट व्यक्तित्वलाई जन्मजयन्तीको अवसरमा यिनै शब्दावलीका साथ भावपूर्ण श्रद्धासुमन !