site stats
बाह्रखरी :: Baahrakhari
देश
विद्युत् पोलमा रहेका तार व्यवस्थित गर्न सिद्धार्थनगरले दियो अल्टिमेटम

बुटवल । सडक छेउमा रहेका विद्युत् तथा टेलिफोनका पोलहरुमा टाँगिएका तारहरुलाई व्यवस्थित गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले सम्बन्धित कार्यालयहरुलाई सचेत गराएको छ । नगरपालिकाले ती कार्यालयहरुलाई पत्राचार गरेर सात दिनभित्र पोलका तारहरु व्यवस्थित गर्न  अल्टिमेटम दिएको छ ।

पोलमा यत्रतत्र टाँगिएका इन्टरनेट, केबल टीभी, विद्युत् र टेलिकमका तारले नगरको सौन्दर्यमा प्रभाव परेको साथै बजार क्षेत्रसमेत कुरुप देखिएकोले पोलमा टाँगिएका तारहरु व्यवस्थित गर्न सम्बन्धित कार्यालयलाई पत्रचार गरेर अनुरोध गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोलमा सम्बन्धित कार्यालयले वर्षौँदेखि यत्रतत्र तार टाँग्दै आएको तर व्यवस्थित गर्नतर्फ चासो नदेखाउँदा सहर नै कुरुप देखिएको छ । उक्त तारहरुमा चराले गुँडसमेत बनाउने गरेका छन् । सबैभन्दा बढी तार इन्टरनेट एवं केबल टीभी प्रदायकहरुको रहेको छ ।

taar photo 21675777551.jpg

“‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली’ सिटी बनाउने हाम्रो अभियान नै हो,” सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भने, “सोही अभियानअन्र्तगत नै पोलमा यत्रतत्र टाँगिएका तारहरु पनि व्यवस्थित गर्न लागिएको हो ।”

“उक्त समयावधिमा पनि सम्बन्धित कार्यालयबाट अव्यवस्थित तारहरुलाई व्यवस्थित नगरिएमा नगरपालिका आफैँ व्यवस्थित गर्नतर्फ लाग्छ,” प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, “त्यसक्रममा सम्बन्धित सेवाग्राहीहरुलाई असुविधा परेमा सम्बन्धित कार्यालय नै जिम्मेवार रहने छ ।”

पोलमा यत्रतत्र टाँगिएका तारहरु व्यवस्थित गर्न पटकपटक सम्बन्धित कार्यालयलाई मौखिकरुपमा आग्रह गर्दा पनि व्यवस्थित नभएपछि कार्यालयबाट पत्रचार गरेर सात दिनभित्रमा व्यवस्थित गर्न आग्रह गरेको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्