
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा दुईजनालाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुशील ज्ञवाली र कुशेन्द्र शाहीलाई आयोगको सदस्य नियुक्त गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका दुई पक्षीय संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी ऊर्जामन्त्रालयअन्तर्गत अमरपुर–ढुंगेसाघु १३२ केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र अधिकारी तोक्ने निर्णय भएको छ । अधिकारीमा आयोजनाका इन्जिनियर नितेश यादवलाई तोकिएको उनले जानकारी दिइन् ।
त्यस्तै, बैठकले नेपाल र युरोपियन युनियनबीचको संयुक्त उपआयोगको फेब्रुअरी २ मा बस्ने बैठकमा परराष्ट्र सचिवलाई नेतृत्व गर्ने जिम्मा दिएको छ ।

उनका अनुसार बैठकले श्रीलंका स्वतन्त्रताको ७५ औँ वार्षिकोत्सवमा जानका लागि परराष्ट्रमन्त्रीलाई सहमति दिएको छ ।
*यसअघि सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकारलाई योजना आयोगको सदस्यमा तीनजना नियुक्त भएको जानकारी दिएकी थिइन् । तर, पछि मन्त्री स्वयंले दुईजना मात्र नियुक्त भएको भनेर सच्याएकाले सोही बमोजिम सच्याइएको छ ।