site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कर्णालीको मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मुख्यमन्त्री शर्माले आज थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

उनले पुस २८ गते बिना विभागीमन्त्रीका रूपमा सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)बाट मंगलबहादुर शाही र नेकपा (एमाले)बाट विनोदकुमार शाहलाई नियुक्त गरी तीन सदस्य मन्त्रिपरिषद् गठन गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही गठित मन्त्रिपरिषद्लाई नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा ९ बमोजिम हेरफेर गरी आज सत्ता साझेदार दल माओवादीबाट भीमप्रकाश शर्मा, कृष्णबहादुर जिसी र एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ललाई मन्त्रीमा नियुक्त गरिएको हो ।

नवनियुक्त मन्त्रीहरूलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनले नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराएका हुन् । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेलगत्तै उनीहरूले आजै पदभार ग्रहण गरेका छन् ।

बिनाविभागीय तथा आज नियुक्त भएका मन्त्रीहरूमा विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना, मङ्गलबहादुर शाहीले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, भीमप्रकाश शर्माले भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा कानुन, टेकराज पछाईले सामाजिक विकास र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएा छन् । रासस

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २०:५४
प्रतिक्रिया दिनुहोस्