site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घनश्यामको प्रवेशसँगै एकीकृत समाजवादीमा फर्किएको आशा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले) परित्याग गरेको तीन महिनापछि कम्युनिस्ट नेता घनश्याम भुसालले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । गएको असोज २२ मा एमाले छाडेर प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएका भुसाल शुक्रबार एकीकृत समाजवादीमा समाहित भए ।

पार्टी कार्यालय आलोकनगर जानुअघि उनले बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रममा पार्टी प्रवेशको स्वघोषणा गरे । बानेश्वरमा पत्रकार सम्मेलन भनिएको थियो । तर, नेता कार्यकर्ताहरुको घुइँचो लागेको थियो । स्वघोषणा गरेपछि उनी पार्टी सदस्यदता रिन्यूका लागि भन्दै पार्टी कार्यालय आलोकनगर पुगे । 

अरु बेलाभन्दा पार्टी कार्यालयमा नेता कार्याकर्ताहरुको उपस्थिति बाक्लो थियो ।  उनीहरुको मुहारमा एक खालको उत्साह देखिन्थ्यो । कार्यकर्ता तत्कालीन एमालेका १० भाइप्रति इंकित गर्दै भन्दै थिए– एकजना नेता आउँदा त यस्तो उमंग छ, अरु पनि आइदिएको भए । 

केहीले भुसाले अगाडि नै एकीकृत समाजवादीमा आएको भए उचित हुने भन्दै आपसमा कुराकानी गरिरहेका थिए । प्रभावशाली नेता भुसालको प्रवेशले शीर्षस्थ नेताहरु पनि प्रफुलित देखिन्थे । पार्टीका अध्यक्ष माधवकुमार नेपालले हर्षित मुद्रामा उनलाई फूलमालाले स्वागत गरे । त्यसपछि क्रमशः पार्टीका पदाधिकारीहरुले उनलाई खादा लगाए । 

May be an image of 6 people, people sitting and text that says 'संसारका ग्रमजीवाहरु हैं| 父 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) Pare (Un (Unifed Com lialis'

अध्यक्ष नेपालले घनश्यामको प्रवेशलाई नयाँ सुरुआतको रुपमा अथ्र्र्याए । संगठनलाई नयाँ उचाइमा पुर्याउन हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । उनले एमालेमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शैलीका कारण अरु नेताहरु पनि आउने र स्वागत गर्दैै जाने बताए ।

“यो एउटा नयाँ सुरुआत हो भन्ने ठानेको छु । यो पार्टीलाई नयाँ उचाइमा लानुछ । कम्युनिस्ट आन्दोलनलाई अझै व्यापक बनाउनुपर्नेछ,” नेपालले भने, “यो पार्टी निर्माण गर्ने अभियानमा, यो पार्टी देशव्यापी फैलाउने अभियानमा ,नयाँ उचाइमा पुर्याउने अभियानमा अब हामी हातेमालो गर्र्दै एउटै संगठनमा आबद्ध भएर हामी अघि बढ्दै छौँ ।” 

सम्मानित नेता झलनाथ खनालले युवा नेताको प्रवेशले पार्टीमा आशाको सञ्चार भएको बताए । 

“कमरेड घनश्याम भुसालको प्रवेशले एकीकृत समाजवादीमा आशाको सञ्चार छाएको छ । नयाँ तरंग सिर्जना गरेको छ,” खनालले कार्यक्रममा भने, “हाम्रा देशका युवाहरुको ढुकढुकी बढेको छ । देशभर आशाको सञ्चार भएको छ ।”

पहिलेभन्दा आत्मविश्वासको साथ पार्टी निर्माणमा लाग्न हौसला पैदा भएकोसमेत उनको भनाइ छ । 

“पहिले जति गरिएको थियो । त्योभन्दा शक्तिका साथ, त्योभन्दा आत्मविश्वासका साथ, त्योभन्दा बढी गतिका साथ पार्टी निर्माण गर्ने,” खनाल भन्छन्, “पार्टीलाई रुपान्तरण गर्ने पार्टीलाई सुदृढीकरण गर्ने र कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध गर्ने अझ बढी सफलताहरु प्राप्त गर्दै गर्दै हामी अगाडि बढ्नेछौँ ।”

तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गर्दा भुसालले साथ दिएनन् । सोही समूहका भुसाल १० बुँदे सहमति गरेर एमालेमा नै रहे । 

२०७८ सालको मंसिरमा भएको पार्टीको दशौँ महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका भुसालले ०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाएनन् । त्यसपछि उनले एमाले छाडेर रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवारी दिए  । एमालेका छविलाल विश्वकर्मासँग पराजित भए । 

उनी एकीकृत समाजवादीमा प्रवेश गरेसँगै तत्कालीन १० भाइमध्येका नेताहरु पनि पार्टीमा आउने र संगठन विस्तारलाई तीव्रता दिन सकिने भन्दै आशाको सञ्चार भएको नेताहरु बताउँछन् ।

घनश्यामले भने– अपेक्षाका सीमा हुन्छन्, ठिकै राखौँ

एमालेबाट विभाजित भएर निर्माण भएको एकीकृत समाजवादी पार्टीले २०७८ साल भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाएको थियो । तत्कालीन पाँचदलीय गठबन्धनमार्फत गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएको उक्त पार्टीले थे्रस होल्ड कटाउन सकेन । निर्वाचनमा तीन लाख मत पनि प्राप्त गर्न नसकेको पार्टी अप्ठ्यारोमा रहेको टिप्पणी हुने गरेको छ । 

पार्टी प्रवेश गरेका भुसालले पनि थेस्र होल्ड नकटाएको पार्टीमा जानु खतरनाक भएको भन्दै आफूलाई धेरैले सम्झाएको स्मरण गरे । खतरनाक चुनौतीसँग लड्नका लागि उक्त पार्टी रोजेको उनको भनाइ छ । 

“कतिले भन्छन्, नेकपा (एकीकृत समाजवादी) अफ्ठ्यारोमा छ । त्योभन्दा धेरै अफ्ठ्यारो हाम्रो राजनीति छ,” भुसालले भने, “त्योभन्दा धेरै अफ्ठ्यारो हाम्रो क्रान्ति छ । त्योभन्दा धेरै क्रान्तिको सिद्धान्तमा अफ्ठ्यारो छ ।”

भुसालले आफूसँग धेरै अपेक्षा नराख्न पनि आग्रह गरे । आफू एकजना व्यक्ति मात्रै भएकाले गर्न सक्ने कामको सीमा हुने उनको भनाइ छ । भुुसाललाई अहिले कुनै जिम्मेवारी दिइएको छैन । केही समयमा नै महासचिवको जिम्मेवारी दिइने सम्भावना रहेको नेताहरु बताउँछन् ।

“क्रान्ति धेरै गाह्रो कुरा हो । तर, सबै मिल्दा सम्भव कुरा हो । यो यात्रामा सबैका सीमा छन् । मेरा पनि सीमा छन्,” भुसालले कार्यक्रममा भने, “धेरै साथीहरु एकदम खुसी भएको देख्छु मैले । अपेक्षाका पनि सीमा होलान् । त्यसलाई ठिकै राखौँ । सम्पूर्ण हिसाबले मैले गर्ने कन्ट्रिब्युसन हुनेछ । सम्पूर्ण तागतका साथ पार्टी निर्माणमा लगाउनेछु । त्यति गर्दा पनि व्यक्ति व्यक्ति नै हुनेछ ।”

ओलीमाथिको आक्रोश

एकीकृत समाजवादीमा प्रवेश गर्दा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित देखिन्थे । अर्याल होटेलमा स्वघोषणा गर्र्दै भुसालले एकीकृत असाध्यै राम्रो ठाउँमा रहेको भन्दै ओलीप्रति आरोप नै आरोप लगाए । उनले एमाले र नेकपा (माओवादी केन्द्र) पुरानै ठाउँमा फर्किसकेको भन्दै नेकपाको उत्तराधिकारीको रुपमा एकीकृत समाजवादीलाई अथ्र्याए । उनले ओलीकै कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परको आरोप लगाए । 

“ओलीवाद, ओली विचार र ओली सिद्धान्त, संगठन । संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो,” भुसालले कार्यक्रममा भने, “सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो ।”

एमालेमा ओलीवाद हावी भएकै कारणले आफू एमालेमा बस्न नसकेको उनको भनाइ छ । चुनावमा टिकट नदिएका कारणले आफू पार्टी छाड्न बाध्य भएकोसमेत बताए । 

“मेरो निर्वाचन क्षेत्रमा अरु कसैलाई ल्याएर उठाइँदै छ भन्ने मलाई थाहा थियो । मैले सबैलाई भनेको थिएँ, मलाई उमेदवार बन्न दिइँदैन,” उनले भने, “यो समान्य कुरा थियो । तर, मैले अघिल्लो चुनावमा हराएको मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा म सहेर बस्नु हो भने जिउँदै बस्नुपर्छ कि पर्दैन । जो सुकैले पनि सोच्ने कुरा हो जस्तो लाग्छ मलाई । त्यसैले मैले प्रतिवाद गरेको हुँ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro