site stats
बाह्रखरी :: Baahrakhari
विचार
नयाँ अभ्यासको मूल्यांकन कसरी ?

पहिलो प्रश्न – नयाँ अभ्यासलाई स्वीकार गर्ने वा नगर्ने भन्ने छ । स्वीकार नगर्दा यथास्थितिलाई जोड पुग्ने र स्वीकार गर्दा नयाँ वा थप विकृति र राजनीतिक जोखिम बढ्ने हो कि ? भन्ने चिन्ता छ ।

 

मानव सभ्यताको विकास नै नयाँ अभ्यासहरुलाई प्रयोग गरेर अघि बढेको हो । अभ्यासलाई आत्मसात गरेर नै सभ्यता विस्तार भएको हो । आजको मान्छेले कतिऔं नयाँ अभ्यासलाई प्रयोग, उपयोग वा सदुपयोग गर्दै यहाँसम्म आएको होला ? विश्वको रुपान्तरण नयाँ अभ्यासहरुकै देन हो । 

 

सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिकसमेत यावत् विषयमा नयाँ अभ्यासहरु अंगीकार गरेर नै ‘मानिस युग’ वैज्ञानिक उपलब्धिको शिखर पुगेको हो । यहाँसम्म पुग्दा कैयन् उहापोह र विकृति पनि सँगसँगै आएका छन् । तैपनि, मानव सभ्यता अविच्छिन्न अगाडि बढेकै छ । निराशामात्रै र अध्याँरोमात्रै छैन दुनियाँ । समय भनेकै गति हो । गति यथास्थितिमा रहँदैन ।

Global Ime bank

 

पृष्ठभूमिको प्रसंग चाहिँ प्रतिनिधि सभा नै प्रतिपक्ष शून्य देखिनु हो । सत्ता सहकर्मी बदलेर हठात् सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई गत मंगलबार सभाको अभूतपूर्व समर्थन प्राप्त भएको संसदीय अभ्यासलाई कसरी लिने भन्ने हो ।

 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेतृत्वको गठबन्धनतर्फबाट प्रधानमन्त्री बनाइएका दाहाललाई नेपाली कांग्रेसले समेत प्रतिनिधि सभामा समर्थन मत दिएर परम्परा लंघन गर्यो भन्ने तर्क छ । सभाको सबैभन्दा बढी संख्या प्राप्त दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको रचनात्मक र सशक्त भूमिको निर्वाह गर्छ वा गर्नुपर्छ भन्ने सार्वजनिक सोच थियो । तर, भइदियो फरक । 

 

फरक अभ्यास, नयाँ अभ्यास पनि हो । इतिहास यस्तै राम्रा, नराम्रा अभ्यासहरुको फेहरिस्त न हो । एककोणीय विश्व होइन, न चिन्तन नै एककोणीय हुनसक्छ ? यही शाश्वत मान्यतामा प्रतिनिधि सभाको अभ्यासलाई नियाल्नु उचित हुन्छ । 

यसअघि संसदीय सभामा विधिगत प्रतिपक्ष दर्ज हुने वा गराउने सांसद चित्रबहादुर केसी र प्रेम सुवाललाई सलाम भन्नुपर्छ र कांग्रेसको समर्थनको तात्पर्य नियाल्नुपर्छ जहाँ स्थापित परम्परा प्रायः भंग र नयाँ घेरा निर्माण भएको छ । संघीय संसद्मा झन्डै नयाँ अभ्यास अगाडि आएको छ । 

 

नेकपा (एमाले)का नेता मनमोहन अधिकारीलाई प्रधानमन्त्रीमा समर्थन मत दिएको २०५१ सालको र २०७९ सालको नेतृत्वसमेत प्रधानमन्त्री दाहाललाई मत दिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नै गरेको हो । यसबीचका परिणाम सुखद पनि छन् र दुःखद पनि । सुखद यस अर्थमा कि समाज अगाडि बढेकै छ । 

 

कांग्रेसको समर्थनलाई सत्तालिप्सा मात्रै ठान्ने हो भने एमाले र नेकपा (माओवादी केन्द्र)को लिप्सा चाहिँ कुन् हो ? वा तिनमा बद्ध गठजोडभित्र लिप्सा छ कि छैन ? यही एक कारण मान्दा हुन्छ – हालै सम्पन्न निर्वाचनमा सबै दलको मतभार घटेको छ । बढ्यो कता त ? यसपटक मत प्रतिशत नै कममा झर्यो । 

 

सबैले स्वीकार गरेको गाम्भीर्य संविधानमाथि अनपेक्षित दबाब, प्रणालीप्रति बढ्दो जोखिम र नेतृत्वप्रति अविश्वास हो ।

 

विकास र निकास अबरुद्धजस्तै चिन्ताजनक राष्ट्रिय स्थितिलाई समाल्न कतै अहिले कांग्रेसी निर्णय नै उपाय अभ्यास बन्नसक्छ कि ? जोखिम त जतासुकै थियो, छ । भनिन्छ – घटनालाई शंकाको सुविधा हुन्छ रे । 

 

इमानमा बस्ने हो भने सबैभन्दा बढी ध्यान एमालेले दिनुपर्छ । एमालेका अध्यक्ष केपीशर्मा ओली अलि बढी वाचाल छन् । तीतो र तिखो बोलीका वाचाल । अरुलाई घोचपेच नगरी उनमा सिद्धान्तको कुरा फुर्दैन । अरुलाई घोचिरहनुमा शर्मा ओलीलाई सन्तुष्टि मिल्नेजस्तो छ । श्रद्धालुलाई कीर्तनगान । 

 

जनजनको मनमनमा टाँसिएको सम्झनालाई किन कोट्याउनु नै पर्यो र ? ओली ‘घोचपेचको थेसिस–महाग्रन्थ’ कुनै भक्त विश्लेषकले तयार गर्ने नै छन् । एउटै सन्दर्भ सम्झौँ अस्तिको, प्रतिनिधि सभामा बोलेको । उनी यस्तै केही भन्छन्– ‘स्वागत छ, सबै पानी एउटै गिलासमा खन्याए भयो नि ।’

 

के अब उनी केपी शर्मा ओली – सबै पानी एउटै गिलासमा खनिएपछि राज्यका सबै शक्ति सबै गिलासमा बाड्न तयार छन् ? उनको अभिव्यक्तिको सदाशय व्यवहारमा पनि विम्बित छ त ? भनिन्छ, अहिलेको सत्ता गठबन्धन र समर्थन सत्ता ध्येय प्रेरित हो । देखिन्छ पनि त्यस्तै । सत्ताकै लागि हुँदा पनि यसका राजनीतिक प्रभाव र दुष्प्रभाव दुवै पर्नसक्छन् । 

सत्ताकै लागि भए पनि नेपाली कांग्रेसको समर्थन रणनीतिक छ । भित्र जेसुकै होस् । प्रधानमन्त्री दाहाललाई समर्थन दिएर पूर्व सहकर्मी ‘धोकेबाज वा मौकेबाज’लाई समेत सहयोग दिने सन्देश कांग्रेसले दिएको छ । प्रधानमन्त्री दाहाल बलिया भएका छन् । उनलाई टेक्ने, समाउने दुवै डालो प्राप्त भएको छ । यो शक्ति दाहालले इमानसाथ पूरा गर्नुपर्छ ।

 

एमाले र यसका अध्यक्ष केपीशर्मा ओलीको समर्थनमा गठजोडले बनाइएका प्रधानमन्त्री दाहाललाई अंकुश लगाउने र लतार्ने मनसुवा थियो । कांग्रेसले एमाले अध्यक्ष ओलीको त्यो, त्यस्तो मनसुवा भत्काइदिएको छ । कांग्रेस नेतृत्वले अघि त्याग्न नसके पनि पछि क्षमाशील साथ दिन तयार भएको टिप्पणी यो परिघटनाप्रति हुनसक्छ ।  

 

समर्थन पछिका तीन दिनमा कांग्रेसको गतिविधि र मनसायको परख गरौँ । यसबीच सबैजसो प्रदेश सरकार बने । कतै पनि कांग्रेसले कम्युनिष्ट नेतृत्वको गठबन्धनलाई तोड्ने र आफूमा जोड्ने प्रयास गरेको पाइएन । सफल, असफल पछिको कुरा, सम्भव प्रयास त कांग्रेसले गर्न सक्थो नि ?

 

पदमा भाग र बण्डाको बालुवाटार बैठक निरन्तर जारी छ । कांग्रेसले त्यसमा हिस्सा खोजेको सुनिएको छैन । सहज प्रतिपक्षकै शान्ति प्रदर्शित गर्दैछ । यो राम्रो कि नराम्रो ? समर्थन र प्रतिपक्षको दुई कोणीय अभ्यास जो देखिँदैछ त्यो उचित कि अनुचित ?

 

यतिबेला कांग्रेस जुन ‘पोजिसन’मा उभिएको छ त्यसमा प्रत्यक्ष प्रभाव पनि दुईकोणीय नै छ । संघीय संसद् संरचनामा कांग्रेस प्रतिपक्षमा रहनुपर्ने मत पार्टीभित्र जति थियो त्यसभन्दा धेरै बढी देशव्यापी सार्वजनिक त्यो मत थियो । दलीय आधिकारिक संख्यामा भने त्यस्तो प्रत्यक्ष मत कम देखियो । कमको अर्थ मत नै होइन भन्न त मिल्दैन ।

 

सरकारको नेतृत्वलाई समर्थन गर्दै गरेको कांग्रेसले यसपछि प्रतिपक्षकै रबैया अपनाएको छ । अर्थात्, प्रतिपक्षमा बस्नुपर्ने मत विम्बित प्रभाव पनि कांग्रेसको भूमिकामा परेको स्पष्ट नै छ । कांग्रेस कार्यसम्पादन समितिको निर्णायक बैठकमा दुई महामन्त्रीसमेत पाँच नेताले मात्रै प्रतिपक्षमा  बस्ने लिखित राय (नोट अफ डिसेन्ट) व्यक्त गरे ।  ती पाँच नेता प्रशंसनीय छन् । आन्तरिक प्रतिपक्षी धार जोगाएका छन् । 

 

संख्या पाँच । यसका पनि दुई महत्त्व छन् । एक – संख्या, जो कम देखियो । अर्को सन्देश, जो वजनदार देखियो । समर्थनको माध्यमबाट नयाँ अभ्यास । अर्को, प्रतिपक्ष रोज्दा अभ्यासको निरन्तरता, परिमार्जन र सबलीकरण । कांग्रेस यिनै दुईधारे समन्वय प्रयासको अभ्यासमा प्रवेश गर्यो ।

कांग्रेसको आन्तरिक अभ्यासमा पनि निरंकुशता देखिएन । चुनौती वा विपक्षीय मत समेत विम्बित र ‘रेकर्ड’ भयो । कांग्रेसको प्रजातान्त्रिक अभ्यास र सहिष्णुता बढाउने घटना शृंखलामा यो कडी पनि जोडियो । यस कारण ती पाँच प्रतिपक्षी प्रशंसित भए । 

जिज्ञासा, यस्तो अभ्यास पछि कस्तो होला ? भन्ने हो । अभ्यास सफल होस् भनेर नै गरिन्छ । असफल पनि त हुनसक्छ । सबैले यत्नलाई इमानमा उतारे असफल नै किन हुनुपर्ला र ? 

निश्चय पनि कांग्रेसले संसदीय परम्परामा अपवाद भनिने अभ्यास गरेको हो । सत्ताको खेल र राष्ट्रिय राजनीतिमा पनि यो अभ्यास रणनीतिक योजनाअन्तर्गत छ । दलहरुले यस्तो गर्छन् पनि । तर, अभ्यासको सौन्दर्यले परिणाम पनि सुन्दर नै आउँछ भनिन्छ । सँगै अभ्यास भने कहिल्यै वञ्चित हुँदैन । मात्र यो रंग कि त्यो ढंग भन्ने हो ।  

समयको पर्यायवाची ‘गति’लाई मानिनुपर्छ । अभ्यासहरुमा गति, प्रगति अनुदित हुन्छ । समय, समाज अघि बढ्छ । निकै हेर्यौँ । परिणामहरु फेरि पनि हेरौँ, नयाँ अभ्यासको मूल्यांकन हुने नै छ । 

संविधानको व्याख्याता सर्वोच्च अदालतले निक्र्योल गरेको विषयविपरीत धर्ती छोडेर आफ्नो ढिपी गर्ने केपीशर्मा ओलीले धृष्टता पुनः संसद् विघटनसम्म लाने छनकमा प्रस्तुत गरेका छन् । ओली ध्येयमा विघटनको मतियारा प्रखर महत्त्वाकांक्षी प्रधानमन्त्री दाहाल बन्ने, बनाइने हुन् । 

एमाले अध्यक्ष ओलीले दाहाललाई प्रधानमन्त्री प्रस्तुत र समर्थन गर्दा प्रतिनिधि सभामा दिएको मन्तव्यको अधिक हिस्सा आफूले दुईदुई पटक संसद् विघटन गरेको अनधिकृत यत्नलाई वैधानिक भन्ने धृष्टचेष्टा हो । व्यक्त चेष्टा नै आगामी निरन्तरता भन्ने छनक पनि हो । 

यस्तो अधिनायकवादी, अराजक र अवैध ओली चेष्टालाई कांग्रेसले नियन्त्रण गर्नसक्यो र प्रधानमन्त्री दाहालले आफ्नो सार्वजनिक हुटहुटी वा प्रतिबद्धतालाई ख्याल गरे भने संसद्को अवधि रक्षा, संविधानको प्रभावी कार्यान्वयन र राजनीतिक प्रणालीको गतिशील शक्ति अघि बढ्नेछ । सिद्धान्तको कुरा नगरौँ । आशा गरौँ – सिद्धान्त दुबो हो र सामयिकी मूल्यांकन बहुकोणीय छ । तर गर्ने कसरी ? आआफ्नै भुइँ छन् ।                        
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu