गत २-३ दिन यता बिर्सिसकेको पुरानो घाउ बल्झेर आएको छ, कोरोना एकाएक प्रकट भएको छ । छापा, सामाजिक संजाल र टिभीहरूमा यसको व्यापक चर्चा परिचर्चा हुन थालेको छ । एकदुई साता यता चीनमा संक्रमण अनियन्त्रित भएको समाचार बाहिरिएको छ । चीनमा जे भइराखेको छ त्यसको यथार्थ जानाकारी त्यहीँका जनतालाई त हुँदैन भने दुनियालाई थाहा हुने कुरै भएन । तैपनि लुकीछिपी बाहिर आएको 'भिडियो फुटेज' र सूचनाले खतराको जनाउ दिएकै छ ।
'जिरो कोभिड पोलिसी' अर्थात् शून्य कोभिड नीतिविरुद्ध चिनियाँ जनता सडकमा उत्रनु र त्यसपछि एकाएक त्यो नीति फिर्ता लिइनु तथा अस्पताल र मुर्दाघरहरूमा जीवित र मृतक कोभिडका बिरामीको लाम देखिनु भयावह अवस्थाको 'सानो ट्रेलर' हो । विश्वका धेरै देशमा २-४ दिनदेखि कोरोनाको संक्रमणमा अप्रत्याशित वृद्धि भएको छ । चिसो मौसम, चाडपर्वको बेला, घरैभित्रैका गतिविधि पनि बढ्नुका यसका सहायक कारण हुन् । असली कारण त संक्रमितहरूको अनियन्त्रित र निर्बाध यात्रा नै हो ।
नयाँ प्रकार 'बीएफ ७' अहिलेसम्म भेटिएका प्रजातिभन्दा छिटो र धेरै फैलिने आकलन गरिएको छ । ओमिक्रोनभन्दा २ गुणा बढी छिटो फैलिने र संक्रमण काल पनि थोरै हुने अनुमान छ । एक व्यक्तिले १६ जनासम्मलाई सार्न सक्ने भयावह तथ्य पनि जानकारीमा आएको छ । चीनमा आएको यो नयाँ लहरमा ५० विभिन्न प्रजाति भेटिए पनि मुख्यतया 'बीएफ ७' नै भएको चिनियाँ स्वास्थ मन्त्रालयका अधिकारीले जनाएका छन् । भारतको बडोदरामा समेत एक जनामा यो नयाँ प्रजाति भेटिएको छ । चीनसँग पनि हाम्रो प्रत्यक्ष हवाई सम्बन्ध छ भने भारतको विभिन्न सहरमा त दैनिक अनेकौं उडान हुन्छ र सडकबाट निर्बाध आवागमन हुन्छ । बेलायत, जापान, कोरिया, अमेरिकालगायत विश्वका अनेकौं देशमा अप्रत्यक्ष सम्पर्क छ । तसर्थ यो बहुरूपी जीवाणु हाम्रो देशमा छिट्टै आउँदैन भन्ने ठान्नु मूर्खता हुन्छ ।
भ्याक्सिन र संक्रमण
कोभिड विरुद्धको खोप (भ्याक्सिन) लगाई सकेपछि फेरि के को संक्रमण भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । अब म भ्याक्सिन र संक्रमणको चक्रलाई सामान्य शब्दमा स्पष्ट पार्ने प्रयास गर्नेछु ।
कुनै पनि नयाँ संक्रमण हुँदा हाम्रो शरीरले बाह्य तत्त्वको आक्रमण भएको जानकारी पाउँछ र त्यससँग लड्न वा त्यसलाई शरीरबाट निकाल्न प्रयास गर्छ । त्यसैको संकेत हो ज्वरो आउनु वा स्वेत रक्त कोषिकाको संख्या बढ्नु ।
कोरोनाजस्तो प्राणघातक संक्रमण हुँदा त्यो बाह्य शत्रु के हो ? कस्तो हो ?भन्ने जानाकारी संकलन र आफ्नो परम्परागत हतियारले लड्दैमा कमजोरहरू हार्छन् । जसले जिते तिनको शरीरमा प्राकृतिकरूपमा संक्रमणसँग लड्ने क्षमता बन्ने हुन्छ । एक हिसाबले यो एक प्राकृतिक भ्याक्सिनको एक मात्रा डोज हो ।
भयाक्सिन लगाउनु भनेको हाम्रो शरीरमा नियन्त्रित मात्रा र रुपमा या त जीवित कीटाणु ( स्पाइक प्रोटिन वा संक्रमण गर्ने तत्त्व हटाइएको ) वा भाइरसको मुख्य अवयव वा बन्ध्याकरण गरिएको भाइरस हुल्नु हो । शरीरमा यसले रोग विकसित नगरे पनि शरीरले भने यसलाई पनि शत्रुको रूपमै ग्रहण गर्छ र त्यसको विरुद्ध लड्ने तत्त्व 'एन्टीबडी' विकास गर्छ । त्यसैले तोकिएको मात्रामा भ्याक्सिन लगाउनु नै संक्रमणबाट बच्नु हो ।
भ्याक्सिन लगाइसकेपछि पनि किन संक्रमण हुन्छ त ? प्रश्न जटिल भए पनि उत्तर सरल छ । मानौ हाम्रो शरीर एउटा सामरिक किल्ला हो । भ्याक्सिन हाम्रो शरीरको सेनालाई निश्चित शत्रुसँग लड्ने तालिम हो । अब शरीरका लडाकुले त्यस्तो वैरी आयो भने च्याप्प समाएर किल्लाको ढोका बाहिरै काम तमाम गरिदिन्छ तर ,… ।
अतिक्रमणकारीको संख्या धेरै भए त जति नै तालिम प्राप्त सिपाही भए नि, हातहतियारले सुसज्जित भए नि केही न केही शत्रु किल्लाभित्र छिर्छन् र विध्वंश मचाउन थाल्छन् ।
हो, हाम्रो सेनाले त्यसलाई पनि खोजी खोजी मार्छन् तर त्यतिन्जेल संक्रमणको असरले आक्रान्त पारिसकेको हुनेछ र कमजोर शरीर त हार स्वीकार्न बाध्य हुन्छ ।
स्मरण होस्, कुनै पनि संक्रमणको गहिराइ र गाम्भीर्य सक्रमण गर्ने जीवाणुको संख्यामा भर पर्छ । भ्याक्सिन नलिँदा थोरै भाइरसले संक्रमण गर्न सक्थ्यो भने अहिले धेरै चाहिने हुन्छ । अझ यसमा पनि ध्यान दिऊँ - एउटा सियोको टुप्पोमा हजारौं भाइरस नाच्न सक्छन् बाँच्न सक्छन् र संक्रमित हुनको लागि भाक्सिन नलगाएको मानिसला लागि २-४ भाइरस नै काफी हुन्छ ।
यसैगरी थप मात्रा (बुस्टर डोज) वा (प्रिकसनरी डोज)लाई पनि यसरी बुझ्न सकिन्छ - ब्यारेकको सिपाहीलाई नियमित तालिम वा नयाँ नयाँ रणनीति वा हतियारबारे जानकारी दिइएन भने त्यो सेना चुस्त र तन्दुरुस्त रहन सक्दैन । नयाँ नयाँ भेरिअन्टको पहिचान गर्ने सक्ने क्षमता र लड्ने रणनीति बनाउन 'बुष्टर डोज' लगाउने गरिन्छ ।
हो, आवश्यक छैन भने कुनै पनि औषधि वा खोप लगाउनु वा खानु उपयुक्त हुँदैन । तर. कोरोना कतै गएको छैन । कम भएकोमात्र हो, कमजोर देखिएकोमात्र हो । दुवै विशाल छिमेकीबीच रहेको हाम्रो मुलुकमा छिमेकमा जे हुन्छ त्यसले असर गर्छ । चीनमा भनिएको अनियन्त्रित संक्रमणको छिटा हामीलाई पनि पर्छ । भारतसँगको खुला सीमाना र हवाई सघनताले त अझ बढी असर गर्छ । तसर्थ हामी सजक र सतर्क हुने बेला आएको छ ।
अब गर्नुपर्ने काम
हाम्रो देशको स्थिर सरकारको त भर गर्न सकिन्न भने अहिले नयाँ बन्ने सरकारमै अलमलमा रहेको प्रशासनले केही गर्ला भनेर आशा गर्नसक्ने ठाउँ खासै छैन ।
तसर्थ घरघरमै, व्यक्तिव्यक्तिमै सतर्कता र सजकता अपनाउनुपर्ने देखिन्छ । अब पहिलो चरण र दोस्रो चरणको जस्तो कहालीलाग्दो अवस्था नआउला । त्यतिसाह्रो बन्देजमा रहनु नपर्ला तर पनि संक्रमण हुन सक्छ । नमरे पनि मार्ला मार्ला भन्ने त्रास रहिरहन्छ नै ।
यसैले : -
१. बुष्टर डोज उपलब्ध छ भने लगाउने ।
२. भिडभाड खास गरी घर वा कोठाभित्रको भिडबाट जोगिने, त्यस्तो ठाउँमा जान परे मास्क लगाएरमात्र जाने ।
३. अपरिचित व्यक्ति र शंकास्पद बिरामीसँग सामाजिक दूरी कायम गर्ने, दुवैले मास्क लगाएरमात्र र चाहिने जतिमात्र कुरा गर्ने ।
४. अनावश्यक 'फल्चा' गफ नगर्ने ।
५. बेला बेलामा हात धुने ( २० सेकेन्डसम्म साबुन पानीले )।
६. संक्रमित भएको शंका भए परिक्षण गराउने, एक्लै (आइसोलेसन)मा बस्ने, अरूको प्रत्यक्ष भौतिक सम्पर्कमा नआउने ।
७. सामान्य लक्षणमात्र देखिए घरमै सामान्य उपचार गर्ने र तागतिलो प्रोटिनयुक्त खाना खाने ।
८. संक्रमित नभएकाले मासुजन्य वा प्रोटिनयुक्त खाना धेरै खानाले संक्रमणबाट जोगिइन्छ भन्ने भ्रम त्याग्ने । तथ्यांकले देखाउँछ - संक्रमित नभएका तर धेरै प्रोटिनयुक्त खाना खाइरहेका पनि धेरैलाई संक्रमण भएको छ ।
९. कोरोना 'भ्रम' हो, भ्याक्सिन 'षड्यन्त्र' हो भनेजस्ता सामाजिक संजालमा फैलिएका भ्रामक सामग्री नपढ्ने ।
किनभने, कोरोना सत्य हो । विगत २-३ वर्षमा धेरैले आफन्त गुमाएका छोँ । त्यो घाउ अझै आलो छ । भ्याक्सिन लगाइसकेको छु भनेर पनिलापरबाही नगरौँ । हिजोजस्तो लसको गन्ती हुँदैन होला तर एकपल्ट बिरामी भयो भने हुने मानसिक क्षति र आर्थिक क्षति अपूरणीय हुनेछ ।
सतर्क रहौँ, सजग रहौं, सुरक्षित रहौं । स्वस्थ रहे पो जीवन रंगीन र जीवन्त हुन्छ ।