
काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम मंगलबार साँझसम्म सार्वजनिक भइसकेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएर आयोगले आफ्नो वेबसाइटमा मतसहितको विवरण राखेको छ ।
“आयोगको वेबसाइटमा राखिएको मत नै अन्तिम मत हो । केही जिल्लामा कतै छुटपुट भेटिए भने छुट्टै कुरा हो । एक करोड ५ लाख ६० हजार ६७ मत नै कुल मत हो,” उनले बाह्रखरीसँग भने ।
आयोगको अन्तिम परिणामअनुसार सात दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन सात दल सफल भएका छन् ।
निर्वाचन प्रकृयामा भाग लिएका दलहरूमध्ये समानुपातिकतर्फ नेकपा(एमाले) पहिलो दल बनेको छ । उसले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत एमालेले पाएको आयोगले जनाएको छ । यस्तै दोस्रो दल बनेको २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ ।
अयोगका अनुसार ११ लाख ७५ हजार ६८४ मत सहित माओवादी केन्द्र माओवादी तेस्रो बन्दा चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी बन्यो ।
उसले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाउँदौ पाँचौ दल तथा ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको जनता समाजवादी पार्टी नेपाल छैटौँ दल बनेको छ ।
राष्ट्रिय दल बनेको सातौ दल जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
समानुपातिक सूची सार्वजनिक भएसँगै सत्ता समिकरण मिलाउन दलहरुलाई सहज भएको छ । ५७ सिट प्रत्यक्षमा जितेको नेपाली कांग्रेस र ४४ सिट जितेको नेकपा एमालेलाई सत्ता समीकरण मिलाउने बाटो खुलेको हो ।
निर्वाचन अयोगको तथ्यांक अनुसार लगभग ८९ सिट सहित कांग्रेस पहिलो दल र करिव ७८ सिटसहित नेकपा एमाले दोस्रो दल बनेको छ ।
यी दुई दलमध्ये एक सत्ता पक्ष र एक प्रतिपक्षमा बस्ने निश्चित छ ।
उनीहरुले तेस्रो दल माओवादी, चौथो राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौ दल राप्रपा छैटौ दल जनमत पार्टीसँग मिलेर सत्ता समीकरणलाई पूर्णता दिनुपर्ने हुन्छ ।
साथै १० सिट प्रत्यक्षमा जितेको नेकपा(एकिकृत समाजवादी) पार्टीको पनि अंकगणित सरकार बनाउन महत्वपूर्ण छ ।
निर्वाचन परिणाम आउँदा नआउँदै सरकार बनाउने प्रयासमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गृहकार्य थालेका छन् ।
कांग्रेससहित नेकपा माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाले गठबन्धन गरेर चुनाव लडेका थिए ।
कांग्रेस र माओवादीले मिलेर सरकार बनाउने भनेपनि कसको नेतृत्वमा बनाउने भने यकिन भने भइसकेको छैन ।
मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले वर्तमान गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय गरे पनि कसको नेतृत्त्वमा भागबण्डा गरेर कसरी सरकार बनाउने भन्ने टुंगो भने गठबन्धनभित्र भइसकेको छैन ।
नेकपा एमालेले भने सरकार बनाउने विषमया आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकार बनाउने विषयमा एमाले परिस्थिति हेरिरहेको र हेरिरहने प्रतिकृया दिएका छन् ।
२०७२ सालमा जारी भएको नेपालको संविधानको धारा ७६ मा सरकार बनाउने स्पष्ट व्यवस्थालाई उल्लेख गरिएको छ ।
७६ (१) अनुसार सरकार बनाउन कुनै पनि दलको बहुमत भए उक्त दलले सक्ने व्यवस्था उल्लेख गरिएको छ ।
अर्को धारामा भने कुनै पनि दलको स्पष्ट बहुमत नभए गठबन्धन गरेर सरकार बनाउन सकिने व्यवस्थाको विषयमा उल्लेख गरिएको छ ।
मंसिर ४ को चुनावबाट कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेन । गठबन्धन गरेर चुनाव लडेका दलहरुसँग पनि बहुमत छैन ।
कांग्रेस, माओवादी गठबन्धनले पनि १३२ सिट मात्र पाएका छन् । जसमा नेकपा एसको १० र राष्ट्रिय जनमोर्चासँग १ सिटमात्र छ ।
त्यसकारण सरकार बनाउन सत्ता गठबन्धन बाहेक अन्य दलले पनि सहयोग गर्नुपर्ने देखिन्छ । संसद्मा ५ जना स्वतन्त्र सांसद छन् ।
लोसपा सत्तामा जाने, जसपा प्रस्ताव कुर्दै !
दलहरुले भनेजस्तै अहिलेकै ४ दलको सत्ता गठबन्धनले निरन्तरता पाए ६ सिट सरकार बनाउन आवश्यक पर्छ ।
निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध भएर चुनावी गठबन्धन गरेको दल लोकतान्त्रिक समाजवादी पार्टीसँग चार सिट छ ।
तर, लोसपा राष्ट्रिय पार्टी भने बन्न सकेन । महन्थ ठाकुर नेतृत्त्वको लोसपालाई सत्ता गठबन्धनको अनौपचारिक प्रस्ताव गएको नेताहरु बताउँछन् ।
लोसपा नेता शरतसिंह भण्डारी लोसपा सत्ता गठबन्धनकै दल भएको बताउँछन् । उनी नेपाली कांग्रेसको नेतृत्त्वमा सरकार बन्नुपर्ने भन्दै लोसपा सरकारमा जाने तयारीमा रहेको बताउँछन् ।
“हिजो अन्तिम समयमा आएर हामी गठबन्धनमा प्रवेश गरेपछि सरकारमा जान सकेनौं । अहिले हामी गठबन्धनकै एउटा घटक भएको कारणले गठबन्धनकै नेतृत्वमा सरकार बनोस् भन्ने मान्यता हो,” भण्डारीले बाह्रखरीसँग भने, “नेपाली कांग्रेसको नेतृत्वमा सराकार बनोस् र त्यसमा हामी सहभागि जान्छौं । हामी सरकारमा आउँछौं भनिसकेका छौं ।”
संसद्को छैटौं पार्टी बन्ने निश्चित भएको जनता समाजवादी पार्टीले भने सत्तामा जाने वा बाहिर बस्ने निर्णय गरिसकेको छैन ।
उपेन्द्र यादवले नेतृत्त्व गरेको जसपा स्थानीय तह निर्वाचन पश्चात् पनि सत्ता गठबन्धनमै थियो । तर, संघ र प्रदेशको चुनावमा भने एमालेसँग गठबन्धन गरेको जसपा यसपटक १२ सिटमा खुम्चिएको छ ।
स्वयम् पार्टी अध्यक्ष यादवलेनै चुनाव हार्नुपर्यो । केही दिन अघि गृहनगर विराटनगमार पत्रकार सम्मेलन गर्दै पार्टी अध्यक्ष यादवले एमालेसँगको सहकार्य तोडिएको घोषणा गरेका थिए ।
यादवको घोषणालाई हेर्दा जसपा सत्ताको पर्खाइमा रहेको बुझ्न कठिन छैन ।
पार्टी प्रवक्ता मनिष सुमन अनौपचारिक च्यानलबाट सत्ताका लागि ‘अफर’ आइरहेको स्वीकार गर्छन् । तर, अहिलेको सत्ता गठबन्धन वा एमाले कताबाट अफर आएको भन्ने प्रश्नमा भने उनले जवाफ खुलाउन चाहेनन् ।
“अनौपचारिक प्रस्तावहरु सबैतिरबाट आएको छ । शीर्ष तहमा भने प्रस्ताव आइसकेको छैन,” उनले भने, “कुन दलबाट आएको भन्ने चाहिँ खुलाउन सकिँदैन । यति बुझ्नुस् शीर्ष तहमा औपचारिक प्रस्ताव आएपछि मात्र केही भन्न सकिन्छ ।”
प्रवक्ता सुमन जनताले प्रतिपक्षमा बस्ने ‘म्यान्डेट’ दिएको भन्दै सत्तामा जाने विषयमा अहिले निर्णयमा पुगिनसकेको उल्लेख गर्छन् । सत्तामै जानुपरे पनि आफ्ना एजेन्डाको विषय सुरुमै ‘डिल’ गर्ने भनाई उनको छ ।
“किसानलाई मलखादको विषय, संविधान संशोधन, खर्चिलो निर्वाचन प्रणालीलगायत हाम्रा एजेन्डाको सम्बोधन हुन्छ भने सत्तामा जान हामी तयार हुन्छौँ,” उनले बाह्रखरीसँग भने, “तर पहिले औपचारिक प्रस्ताव आउनुपर्यो । अनि छलफल सुरु हुन्छ ।”
के हो रास्वपा र राप्रपाको लाइन ? सीके के गर्छन् ?
मंसिर ४ को चुनावबाट उदाएको दल हो राष्ट्रिय स्वतन्त्र पार्टी ।
रवि लामिछानेको नेतृत्त्वको पार्टीले प्रत्यक्ष र समानुपातिक गरेर २० सिट जित्ने निश्चित छ । यो संसदको चौथो पार्टी बन्दैछ । ७ सिट प्रत्यक्षमा जितेको रास्वपाले १३ सिट समानुपातिक तर्फ हासिल गरेको छ ।
संसद्को चौथो ठूलो दल भए पनि उसले सत्ताको विषमया आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।
सो पार्टीका प्रवक्ता डा. मुकुल ढकाल दलको एजेन्डा मन्त्रालयभन्दा पनि आफूहरुले जनतासँग गरेको बाचा प्राथमिकता भएको उल्लेख गर्छन् ।
सरकारमा जाने विषयमा पार्टीले धारणा बनाइनसकेको भन्दै उनी अहिले दलका नेताहरु भेट्दा परिचयात्मक कार्यक्रम मात्र भइरहेको बताए ।
“हामी नयाँ शक्ति हौँ । दलका नेताहरूसँग भेट्दा परिचय गर्ने र हाम्रा एजेन्डा राख्ने काम भइरहेको छ,” उनले भने, “हाम्रो अहिले मन्त्रालयभन्दा पनि एजेन्डा प्राथमिकतामा छ । भ्रष्टाचारको पुराना फाइल खोल्नुपर्ने, शिक्षा स्वास्थ्यलगायत सुशासनको प्रत्याभुति गरेमात्र सरकारको विषयमा हामी कुरा गर्छौैँ । हालसम्म औपचारिक प्रस्ताव आइसकेको छैन ।”
संसदमा प्रत्यक्षतर्फ ७ र समानुपातिकबाट ७ गरेर १४ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकार बनाउन निर्णायक देख्रिन्छ ।
महामन्त्री भुवन पाठक राप्रपा सरकारमा नजाने बताउँछन् ।
आफूहरुलाई सत्ताको अफर आए पनि प्रतिपक्षमा बसेर आफ्ना एजेन्डा स्थापित गर्ने उनको भनाई छ ।
“राप्रपा सरकारमा जाँदैन । हामी प्रतिपक्षमा बसेर हाम्रा एजेन्डा स्थापित गर्छौँ,” उनले भने, “अफरहरु अध्यक्षज्यूलाई नआएको हैन । अब, सत्ता भनेर एजेन्डामा हामी सौदावाजी गर्न सक्दैनौं । जनताले दिएको म्यान्डेट पुरा गर्छौँ ।”
उपेन्द्र यादवलाई हराएर चुनाव जितेका सिके राउतले प्रत्यक्षमा एक सिट मात्र जिते पनि समानुपातिकमा थप पाँच सिट पाएका छन् ।
उनीसँग ६ सिट छ । उनले सत्ता गठबन्धनलाई साथ दिए सरकार बन्न गाह्रो छैन । राउत दिन प्रतिदिन सबै दलका नेताहरुसँगको संवादमा छन् ।
उनले सत्ता गठबन्धनमा रहेर सरकारमा जान लागि परेको दाबी गठबन्धन घटकका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत गर्छन् ।
तर, राउतले केही बोलेका छैनन् । उनको ६ सिट निर्णायक बन्ने निश्चित छ ।
यस्तो छ दलहरुको अन्तिम अंकगणित
बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरिसकेको छ ।
जसमा एमाले समानुपातिकतर्फमात्रै ३४ सिटसहित पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले समग्रमा भने दोस्रो दल बन्यो । उसले ७८ सिट आफूले जितेको छ ।
समानुपातिक र प्रत्यक्ष गरेर कांग्रेस पहिलो दल बन्यो । यो निर्वाचनबाट वाम शक्तिसँग मिलेर कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ सिट जित्यो ।
अर्थात् ८९ सिटसहित पहिलो दल बनेको छ । तेस्रो बनेको दल नेकपा(माओवादी केन्द्र) सँग ३२ सिट छ । यस्तै, २० सिट सहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो, राप्रपा १४ सिटसहित पाँचौँ, १२ सिटसहित जसपा छैटौं दल बनेको छ ।
प्रत्यक्षमा १ र समानुपातिकमा पाँच सिट जितेर नागरिक उन्मुक्ति पार्टी सातौं दल बनेको छ । यी सात दल राष्ट्रिय पार्टी बनेका छन् ।
प्रत्यक्षमा १० सिट जितेको नेकपा(एस) सातौं दल बनेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३ सिट र नेमकिपाले १ सिट जितेको छ ।
राष्ट्रिय जनमोर्चाले पनि १ सिट जित्दा ५ जना स्वतन्त्र सांसद विजयी भएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरु बाहेक स्वतन्त्र उमेदवार मिल्ने हो भने पनि सरकार बन्न सक्छ ।
गठबन्धनमा रहेकाबाहेक दलहरु एक जुट भए १४३ सांसदसहितको एमाले सरकार बन्ने अवस्था छ । सत्ता गठबन्धन मात्र मिल्ने हो भने १३२ सिट पुग्छ । यसमा लोसपा थपिँदा ४ सिट बढेको छ ।
यसमा गठबन्धनलाई सरकार बनाउन कुनै दल वा २ स्वतन्त्र सांसदले साथ दिनुपर्ने हुन्छ ।