site stats
बाह्रखरी :: Baahrakhari
देश
एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्ने अस्पतालका लागि सरकारले छुट्ट्यायो ५० लाख

काठमाडौं । सरकारले एसिड आक्रमणमा परेका पीडितहरूको कस्मेटिकबाहेक सबै उपचार आजीवन निःशुल्क गर्दै आएको छ । निःशुल्क उपचारका लागि काठमाडौं उपत्यकाका चार ठूला अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रूपमा तोकिएको छ । ती अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गरेबापत सरकारबाट शोधभर्ना रकम पाउँछन् ।

यो वर्ष एसिड आक्रमणमा परेका पीडितको औषधि उपचारबापत अस्पतालहरूलाई शोधभर्ना शीर्षकमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निःशुल्क उपचार हुने चार अस्पताल 
एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि, २०७८ अनुसार एसिड आक्रमणमा परेकाहरूको निःशुल्क उपचारका लागि पहिलो चरणमा चार अस्पताल तोकिएको छ । वीर, त्रिवि शिक्षण अस्पताल, पाटन र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पताल तोकिएको छ ।

निःशुल्क उपचार पाउन के गर्नुपर्छ ? 
एसिड आक्रमणमा परेका पीडितलाई नजिकैको जुनसुकै अस्पतालले अनिवार्य निःशुल्क प्राथमिक उपचार गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । सोहीअनुसार पीडितले घटना भएको नजिकैको स्वास्थ्य संस्थामा सहजै सेवा पाउन सक्छन् । थप उपचारका लागि सो स्वास्थ्य संस्थाले रिफर लेटरसहित डेडिकेटेड अस्पतालमा पठाउनुपर्नेछ ।

यसरी रिफर गरी पठाइएका अस्पतालमा उपचार सम्भव नभए सो अस्पतालबाट पनि विशिष्टिकृत सेवासहितको अस्पताल वा डेडिकेटेड अस्पतालमा रिफर गर्नेछन् । डेडिकेटेड अस्पतालहरूमा कस्मेटिकबाहेक एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण उपचार सरकारले आजीवन निःशुल्क गर्नेछ । उपचार प्रक्रिया प्रहरीले दिएको प्रतिवेदनका आधारमा हुने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्