site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
अमेरिकाको निर्वाचनमा भण्डारीसहित दुई नेपाली विजयी

वासिङटन डिसी । अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् ।

मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्र्याट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जित हासिल गरेका छन् । उनी कुल १३ हजार ९४९ मत ल्याइ पहिलो निर्वाचित विधायक बनेका छन् । यो कूल खसेको मतको २० दशमलव २७ प्रतिशत हो ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जित हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए । यसका लागि उनले दुवै पटकको निर्वाचनमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सारेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हयारीसहित डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी हासिल गरेका छन् । कार्लले १३ हजार तीन सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गरेका छन् ।

डिस्ट्रिक्ट ८ बाट तीनजना विधायक निर्वाचित हुने व्यवस्थाअनुसार तीनै जना डेमोक्र्याटका उमेदवार विजयी भएका छन् । ह्यारीले सबैभन्दा बढी मत पाएका हुन् ।

उता सोही डिस्ट्रिक्टमा रिपब्लिकन पार्टीका उमेदवारहरू गेलेन गेलहार, टिमोथी नेउवार र क्थालिन स्मेरो पराजित भए ।

यसैगरी न्यूयोर्क स्टेट एसेम्बलीको डिस्ट्रिक्ट १०३ न्यूयोर्कबाट पहिलो पटक उमेदवार बनेकी सराहना श्रेष्ठ विजयी भएकी छन् । 

छोटो समयमा राजनीतिक सफलता हात पारेकी सराहनाले जितसँगै न्यूयोर्क स्टेट एसेम्बलीमा जित हासिल गर्ने पहिलो नेपाली बनेर इतिहास निर्माण गरेकी छन् । 

विजयी भएपछि रासससँग संक्षिप्त कुराकानी गर्दै भण्डारीले आफूलाई सहयोग गर्ने सम्पूर्ण नेपाली अमेरिकीलाई धन्यवाद दिए । 

विगतको कार्यकालमा आफूले १४ वटा बिल पास गर्न सफल भएको र केही बिलहरू विचाराधीन अवस्थामा रहेकाले त्यसलाई प्राथमिकतामा राख्ने भण्डारीले बताए ।

उनले भने, “मैले आगामी चार वर्षमा एकतातिर मेरा मतदातासँग गरेको प्रतिबद्धताअनुसारको काम गर्नुछ भने अर्कोतर्फ नेपाली अमेरिकीको मूलधारको राजनीतिमा थप सहभागिताका लागि संस्थागत ढङ्गले काम गर्नु पर्नेछ ।”

मूलधारको राजनीतिमा एकपछि अर्को सफलता हात पारेसँगै नेपालीमूलका अमेरिकी खुसी भएका छन् ।

“यो जित हाम्रो मूलधारको राजनीतिमा कोसेढुंगा साबित भएको छ”, अमेरिकाको मेरिल्याण्डमा रहेका डा श्याम कार्कीले विजयको खबर सुनेपछि प्रतिक्रिया दिँदै भने, “अमेरिकाको नीति निर्माण तहमा नेपालीभाषीको प्रतिनिधित्वले हामी नेपालीलाई गौरवको अनुभूति भएको छ ।”

कार्कीले सन् २०१४ देखि नै भण्डारीको चुनावी अभियानमा सघाउँदै आएका छन् । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्