site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
जसपाको घोषणापत्र : सहरी क्षेत्रमा ‘हाइब्रिड’ सवारी मात्र चलाइने, यसरी समेटियो रेल

काठमाडौं । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहितको व्यवस्था अवलम्बन गर्ने गरी जनता समाजवादी पार्टी (जसपा) नेपालको घोषणापत्र सार्वजनिक गरिएको छ । आसन्न निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरिएको हो ।

जसपाको बहुमत आएको अवस्थामा विभिन्न कार्यहरू गर्ने घोषणापत्रमा उल्लेख छ । शनिबार काठमाडौंमा एक कार्यक्रम गरी प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्र सार्वजनिक गरिएको हो ।

प्रतिबद्धतापत्रमा मुलुकका सहरी क्षेत्रहरूमा ‘हाइब्रिड’ सवारीसाधन मात्र चलाउने व्यवस्था गरिने उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, काठमाडौंको चन्द्रागिरिदेखि धुलिखेलसम्मका आसपासका नगरपालिकाहरूलाई समेटी मेट्रो रेल वा अरू उपयुक्त वैकल्पिक यातायातको एकीकृत सञ्जाल विकास गरिने जनाइएको छ ।

पूर्व–पश्चिम लोकमार्गलाई स्तरोन्नति गरी चार लेनको बनाउने र काठमाडौंको रिङरोडलाई पाँच वर्षभित्र साइकल लेनको समेत व्यवस्था गरी आठ लेनको बनाउने घोषणापत्रमा उल्लेख छ ।

अबका पाँच वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, एक परिवार एक रोजगारको नीति अवलम्बन गरिने जनाइएको छ ।

चीनसँग जोडिएका केरुङ नाकाबाट भारत जोड्ने उत्तर–दक्षिण रेलमार्ग तथा देशको पश्चिमी भेगमा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी, तराई/मधेसका विभिन्न सहरहरूलाई जोड्ने गरी पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी पाँच वर्षभित्र काम अगाडि बढाइने उल्लेख छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी पोखरा विमानस्थललाई पनि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन गरिने जनाइएको छ ।

निजगढ (टाँगिया बस्ती) विमानस्थल निर्माणकार्य सुरु गरी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने जसपाको लक्ष्य छ ।

विराटनगर, जनकपुर, नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास र विस्तार गरिने जनाइएको छ ।

चलचित्र उद्योगको विकास र सम्वर्द्धन गर्न समयानुकूल राष्ट्रिय चलचित्र नीति निर्माण गरिने तथा मातृभाषाहरूमा बनाइने चलचित्रहरूका लागि विशेष सहुलियत दिइनेलगायत विषय जसपाको घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्