site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनी जनतालाई जेलेन्स्की सरकारबाट मुक्त गराउँछौँ : रुसी विदेशमन्त्री

किभ । रुसी फौजले युक्रेनका विभिन्न सहरमा निरन्तर हवाई आक्रमण गरिरहेका बेला एकजना वरिष्ठ रुसी कूटनीतिज्ञले मस्कोको लक्ष्य युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सरकार अपदस्थ गर्नु रहेको बताएका छन् । 

युक्रेनले नयाँ सम्झौताअनुसार ब्ल्याक सीका बन्दरगाहहरूमार्फत पुनः अन्न निर्यात गर्ने प्रयास गरिरहेका बेला रुसी विदेश मन्त्री सर्गेइ लाभ्रोभले यस्तो बताएका हुन् । उक्त अन्न निर्यात सहजताले विश्वव्यापी खाद्यान्न अभावको समस्यालाई केही हदसम्म सुल्झाउन सक्छ । 

Argakhachi Cement Island Ad

आइतबार राति इजिप्टको राजधानी कायरोमा आयोजित अरब लिग शिखर बैठकलाई सम्बोधन गर्ने क्रममा लाभ्रोभले भनेका छन्, “मस्को युक्रेनी जनतालाई यस पूर्णतः अस्वीकार्य सरकारको बोझबाट मुक्ति दिलाउने काममा सहयोग गर्न प्रतिबद्ध छ । किभ र यसको पश्चिमी गठबन्धनले युक्रेनलाई रुसको कट्टर शत्रु बनाउनका लागि प्रोपागान्डाहरू गरिरहेका छन् । रुसी र युक्रेनी जनता निरन्तर साथ साथ बाँच्नेछन्, हामी पक्कै पनि जनता विरोधी र इतिहास विरोधी सरकारबाट युक्रेनी जनतालाई मुक्ति दिलाउन मद्दत गर्नेछौँ ।”

तर, लाभ्रोभको यस भनाइ युद्धको शुरुवाती दिनको क्रेमलिनको लाइन भन्दा विपरीत देखिएको छ । त्यतिबेला रुसी अधिकारीहरूले बारम्बार आफूहरूले जेलेन्स्कीको सरकार ढाल्न नखोजेको बताउने गरेका थिए । 

लाभ्रोभले स्मरण गरेका छन्, “रुस गत मार्चमा नै शत्रुता त्यागेर वार्तामार्फत किभसँग सम्झौता गर्न तयार थियो । तर, किभले बाटो परिवर्तन गर्‍याे । किभले रुसलाई युद्धभूमिमा नै हराउने घोषणा गर्‍याे । पश्चिम जगत पनि रुसले पराजय नभोगेसम्म युक्रेन लडि नै रहोस् भन्ने चाहन्थ्यो ।”

यता युक्रेनका राष्ट्रपति जेलेन्स्की भने थुप्रै प्रतिबन्ध खेपिरहेको रुसलाई पराजित गर्न पश्चिम जगतसँग निरन्तर थप शक्तिशाली हातहतियार मागिरहेको देखिन्छ । रुसमाथि युद्धको दौरान तेल र प्राकृतिक ग्यासको राजनीति गरिरहेको आरोपहरू पनि लगाइने गरिएको छ । 

एपीबाट । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २२:०३
प्रतिक्रिया दिनुहोस्