site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिन एमालेको माग 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्वास्थ्य बिमा कार्यक्रमलाई सबै स्वास्थ्य संस्थामा निरन्तरता दिन माग गरेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

“बिमाका सन्दर्भमा सेवा प्रदायक संस्थाबाट हुन सक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरूप नै स्वास्थ्य बिमा कार्यक्रमलाई सुचारु गर्न हाम्रो पार्टी सरकारसँग माग गर्दछ,” उनले भनेका छन्, “साथै, बजेट वक्तव्यमार्फत आएको जनविरोधी नीति फिर्ता लिन पुनः ध्यानाकर्षण गर्दछ ।”

Argakhachi Cement Island Ad

देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढंगले उपयोग गर्न पाउनुपर्ने बिमाका बारेमा आएका विभिन्न समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको उनले बताएका छन् ।

स्वास्थ्य बिमामा निजी कम्पनीहरू प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने षड्यन्त्र गरिरहेको उनको भनाइ छ ।

“बजेट वक्तव्यको १५१ नं. बुँदामा ‘स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सरकारी अस्पतालहरूबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ, यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ, स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन बिमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ’ भनी उल्लेख गरिएको छ,” विज्ञप्तिमा भनिएको छ, “सरकारको यो नीतिले एकातिर बिमा प्रदायक संस्थाको संख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बिमामा निजी कम्पनीहरू प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने षड्यन्त्र गरेको स्पष्ट छ ।”

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्